ट्राफिक चेकिङमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु, गठ्ठाघर तनावग्रस्त

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ। अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्। यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ।

चेकजाँचमा संलग्न ट्राफिक प्रहरीहरूलाई भने सर्वसाधारणबाट आक्रमणको प्रयास भएपछि प्रहरीले सुरक्षा दिएर त्यहाँबाट भगाएको छ।  मृतकको सनाखत हुन सकेको छैन। दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए।

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको ज्यान गयो

काठमाडौं । बिपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ चियावारीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ५ जना घाईते भएका छन्। गोलन्जोर गाउँपालिकाबाट तरकारीसहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

आज कति छ सुनको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १५ अधिकृतहरूको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १५ अधिकृतहरूको सरुवा भएको छ ।

विशेष स्रोतका अनुसार ६ जना शाखा अधिकृतको गृह मन्त्रालय सरुवा गरिएको छ । अन्य अधिकृतहरूको अर्थ, उद्योग तथा आयोगहरूमा सरुवा गरिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका शाखा अधिकृत सिर्जना पौडेल, सञ्चार तथा सूचना मन्त्रालयका शाखा अधिकृत सावित्रा देवकोटा पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत मान सिं धामी गृह मन्त्रालयमा आएका छन् ।

यसैगरी सूचना तथा प्रशासन विभागका शाखा अधिकृत गंगा पौडेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सन्देश प्रसाद जोशी, नेपाल ट्रष्टको कार्यालयका नरेन्द्र सिंह कुँवर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका भानुभक्त भट्टलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समुुहका शाखा अधिकृत सहनशिला पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, सञ्चार तथा सूचना मन्त्रालयका शाखा अधिकृत केदार मणि भण्डारीलाई विद्युतीय सुशासन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत विष्णु प्रसाद भुषालको विद्युतीय सुशासन आयोगमा सरुवा भएको छ ।

मंगलवार मात्रै मन्त्रालयले १४ जना उपसचिवको सरुवा गरेको थियो ।

बेचन झाविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । झाले बुधबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको उनले बताएका थिए ।

कुलमानले प्रधानमन्त्री ओलीलाई प्राधिकरणको वार्षिक उत्सवमा दिए निम्तो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन वर्तमान सरकार लागि परेको विषय छताछुल्ल छ । यसको उदाहरण प्राधिकरणका दुई सदस्यलाई ठाडो आदेशमा निष्काशन गर्नु र अदालतले पुनरबहाली गर्नु नै हो । यसैबाट प्रष्ट हुन्छ की कुलमानलाई हटाउन सरकारले विभिन्न तिकडम गरिरहेको छ ।

कुलमानले विद्युतको महसुल नतिरेका ६ वटा उद्योगलाई बारम्बार महसुल तिर्न आग्रह गरेपछि पनि नतिरेका कारण विद्युत काटिदिएका थिए । ति उद्योगमा विद्युत काटिएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको बागडोर सम्हालेका थिए । दाहालको सत्ता ढलेपछि र नयाँ सरकार बनेपछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली सत्तामा आउने वितिकै लाइन काटिएका उद्योगमा विद्युत जोड्न निर्देशन दिए । कुलमानले विद्युत जोडिदिए तर, समय अवधि नै दिएर बक्यौता नबुझाए फेरि विद्युत काट्ने चेतावनी नै दिएका छन् ।

विद्युत बक्यौताका विषयमा छानबिन गरिरहेको लेखासमितिले महसुल सम्बन्धी विल नै मागेपछि एक ट्रक विल पठाइदिएका थिए । त्यसको भोलीपल्ट कुलमानले आफ्नो कार्यकालको तीन वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर कम्पनीलाई नाफामा लगेको दाबी गर्दै तथ्याङनै सार्वजनिक गरे । उनले विद्युत महसुल घटाउदा पनि कम्पनी फाइदामा गएको तथ्याङ्क प्रस्तुत गरेका छन् । कुलमानको १० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्ने तयारी समेत गरिरहेका छन् ।

कुनै विवाद विना फाइदामा गराएका कुलमानविरुद्ध सरकार निरन्तर लागेपछि कुलमानका पक्षमा आन्दोलन सुरु भएको छ । कुलमानको पक्षमा शनिवार माइतिघरमा युवा जमातले आन्दोलन सुरु गरेपछि सरकार अलिक झस्केको धेरैले टिप्पणी गर्न थालेका छन् । आन्दोलनका क्रममा केहीलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

कुलमानको कार्यकाल २०८२ भदौ सम्म छ । तर प्रधानमन्त्री भने उनीविरुद्ध सार्वजनीक रुपमै उत्रीएपछि लोडसेडिङ हटाउने नायकका पक्षमा ठूलो युवा जमात सडक तताउन तयार भएको छ । राम्रो गर्छु भन्नेलाई राज्यले काम गर्न नदिएर सरकारले बंगलादेशको स्थिति निम्त्याउन खोजेको भन्दै आन्दोलन गर्न तयार छन् ।

वार्षिक उत्सवमा कुलमानले दिए प्रधानमन्त्रीलाई निम्तो

नेपाल विद्युत प्राधिकरणको भदौ १ गते वार्षिक उतसव हो । प्राधिकरणले वार्षिक उत्सवलाई भव्य तवरले मनाउन तयारी गरिरहेको छ ।
वार्षिक उतसवमा कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो पनि दिएको हाम्रो स्रोत बताउछ । तर, कुलमानलाई जुनसुकै कदममा हटाउन लागि परेका ओली कार्यक्रममा जान्छन या जादैनन् यो भने हेर्न बाँकी छ । यस अघिका उत्सवमा प्रधानमन्त्रीहरु सहभागि हुने गरेका छन् । तर ओली र घिसिङको टकराव चलिरहेको छ ।

कुलमानका विरुद्धमा लागेका प्रधानमन्त्री ओली उक्त कार्यक्रममा गएभने कुलमानका पक्षमा आन्दोलनरत युवालाई कस्तो ढाडस दिन्छन् त्यो भने १ गतेको कार्यक्रमसम्म पर्खनै पर्ने हुन्छ ।

स्थितिलाई काबुमा राख्ने प्रयासमा सरकार

कुलमानका पक्षमा आन्दोलन बढ्न थालेपछि सरकारले स्थिति काबुमा राख्न सत्तारुढ दलका शिर्ष नेताहरुले घिसिङलाई कार्यकाल भर काम गर्न दिने औपचारी सहमति गरेको बुझिएको छ । एमाले–कांग्रेसबीच कुलमानको कार्यकाल भरी नै व्यावसायिक रुपमा काम गर्न दिने सहमति भएको बुझिएको छ ।

आन्दोलन सुरु भएपछि सरकार झस्केर कुलमानकाविरुद्ध थप कदम नचाल्ने मनस्थितमा पुगेको स्रोतको भनाई छ ।

भ्रष्टचार मुद्दामा गोदावरी नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ दिएको छ। मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी सहित १४ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेको हो।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५र७६ देखि २०७९र८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।

संक्षिप्त आदेशमा भनिएको छ, ‘निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानुनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ ९ख० को कसुर हुने देखिँदैन।’

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त० बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

शक्ति आर्जन गर्न माधव नेपालको साथ खोज्दै प्रचण्ड

काठमाडौं । पार्टीभित्र र बाहिर अप्ठ्यारो’ मा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सोमबार ‘गोप्य’ भेटवार्ता गरे।

‘पार्टी एकता गरौं, तपाईं (माधव नेपाललाई) प्रधानमन्त्री बनाउन म पहल गर्छु,’ प्रचण्डको प्रस्ताव थियो। पार्टी एकताप्रति नेपाल सकारात्मक देखिए। तर, प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावप्रति विश्वस्त बनेनन्।

प्रचण्डको चलखेलकै कारण ‘मुखको प्रधानमन्त्री’ पद गुमेको र पटक–पटक ‘धोखा’ खाएको नेपालको बुझाइ छ। ‘पार्टी एकताका विषयमा त हामी सकारात्मक नै छौं। तर, प्रधानमन्त्रीका लागि प्रचण्डले राख्नुभएको ‘ललिपप’ मा विश्वस्त हुने आधार छैन,’ नेपाल निकट स्रोतले भन्यो।

तत्कालीन नेकपा विवाददेखि माओवादी प्रतिपक्षमा पुग्दासम्म प्रचण्डकै साथमा उभिएका पूर्वप्रधानमन्त्री नेपाल ‘प्रचण्डलाई सहजै विश्वास गर्ने’ अवस्थामा भने नरहेको उनी निकट नेताहरू बताउँछन्। कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्दा प्रचण्डले ‘धोखा’ दिएको नेपालको बुझाइ छ। कांग्रेससहितको गठबन्धनमा ‘एक वर्ष नेपाललाई प्रधानमन्त्री’ बनाउने सहमति थियो। तर, प्रचण्डले रातारात कांग्रेससँगको सहकार्य तोड्दा उक्त अवसर गुमेको नेपाल पक्षधर नेताहरूको बुझाइ छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब र प्रतिपक्षमा पुगेपछि शक्ति प्राप्तिका लागि प्रचण्डले नेपालको साथ खोजेको उनी निकट नेताहरू बताउँछन्। ‘भित्र बाहिर अप्ठ्यारोमा परेपछि शक्ति आर्जनका लागि गरिएको अर्को मञ्चन मात्रै हो,’ नेपाल निकट स्रोतले भन्यो, ‘आफू अप्ठ्यारोमा पर्दा साथ खोज्ने, तर आफूलाई फाइदा हुँदा जति बेला जोसुकैलाई पनि लात हान्ने प्रचण्डको बानी हामीले पनि नचिनेको होइन।’

यो समाचार आजको अन्नपुर्ण दैनिकमा छ

मौसमः आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आजको राशिफलः कस्तो छ तपाईको दिनचर्या

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिश्रित खालको दिन रहेको छ। दिनारम्भमा सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको पुरानो काममा सफलता हात लाग्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा भने खर्छ गर्नुपर्ने हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आर्थिक तथा कार्यगत हिसाबले दिन सामान्य नै बित्नेछ तर सुर्यको प्रभावले टाउको दुख्ने,मानसिक तनाव तथा परिवारमा झमेला होला किरु भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान। व्यवसायीक तथा प्रसासनिक काममा भने मंगलको प्रभावले सफलता मिल्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रिस उठ्ने झर्को लाग्ने तथा मिथ्या आरोप लाग्ने जस्ता समस्या आउन सक्छ्न। मनलाइ नियन्त्रण गरि कार्य गर्न उचित देखिन्छ। कुकुर , बिषालु जनवार बाट बचेर चल्नु होला। विपरीत लिङ्गका मित्रहरुबाट विशेष सहयोग मिल्ला।दिनको उत्तरार्ध फलदायी रहेको छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ। शुभ अंक ४ शुभ दिशा उत्तर इष्ट देवता गणेश शुभ रंग रातो

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
योजना विहिन दिनको पुर्वार्ध वित्न सक्छ। उत्तरार्धमा भने कुनै धार्मिक यात्रा तथा धार्मिक कार्यमा सहभागी हुन पाइने देखिन्छ। पति पत्नी अथवा विपरित लिङ्ग मित्रको सहकार्यमा मात्र काम बन्ने देखिन्छ। खर्चमा नियन्त्रण गर्न जरुरी छ। आय आर्जनको बाटोमा शत्रुको आँखा लाग्न सक्छ।गुरुदेवको कृपा , मान्यजनको आशिर्वाद बाटमात्र काम बन्न सक्छ। संकट मोचन हनुमानाष्टक पाठ गर्नु समाधान मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

टीआरसी विधेयक संसदबाट पारित

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलिमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ (टीआरसी विधेयक) प्रतिनिधि सभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा कानुनमन्त्री अजयकुमार चौरासियाले छलफलका लागि संसद्मा पेस गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालले सम्बोधन गरेका थिए । त्यस्तै दलीय आधारमा सो विधेयकका विषयमा धारणा राखेका थिए ।

उक्त विधेयक पारित गर्दा नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवाल बाहेक अन्य दलका सांसदहरुले समर्थन गरेका थिए ।

मन्त्री चौरासियाले उक्त विधेयक पारित गर्नका लागि राखेको प्रस्तावमा हलले समर्थन गरेर पारित गरेको हो ।

नेपालमा शान्ति प्रक्रिया टुंगिएको १८ वर्षपछि शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न हुने भएको भन्दै शीर्ष नेताहरुले खुसी व्यक्त गरेका छन् ।

सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट खारेज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । बुधवारको संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सहितको संवैधानिक इजलासले रिट खारेज गरेको हो । इजलासमा प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मी रहेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेकामा त्यो निर्णय संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । २०८१ साउन १४ गते तीन फरक फरक रिट दर्ता भएकामा बुधवार सर्वोच्च अदालतले रिट खारेज गरिदिएको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ हुँदा न्यायाधीश बालकृष्ण ढकालको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

बढ्यो नेप्से, २९५७ को विन्दु कायम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४.२९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।

आज नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

स्वास्थ्य विमाः मन्त्री कार्यान्वयन भन्दा ‘स्टण्ड’मा व्यस्त, देख्दैनन् त्यसभित्रको वेतिथि

काठमाडौं । स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार हो । विकसित देशहरुमा मानिसको स्वास्थ्यलाई अत्याधिक महत्वका साथ हेरिन्छ । त्यस्ता मुलुकमा सरकारले पनि स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकता दिने गर्छ ।

तर, हाम्रो देश नेपालमा भने स्वास्थ्य क्षेत्रमासमेत राजनीति शिवाय अरु केही देखिदैन् । सरकारमा पुगेका राजनीतिक दलका नेताहरुले आफ्नो ‘स्टण्ड’ मात्र देखाउदै जनतामा विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएर लोकप्रिय बन्न खोज्ने गरेका छन् ।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले)को समिकरणमा बनेको नयाँ सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बन्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य विमालगायत चाप बढ्ने अस्पतालका विषयमा निकै राम्रो ‘स्टण्ड’ गरेर आफु लोकप्रिय बन्न खोजेका छन् ।

उनले मन्त्री बन्दा बन्दै घोषणा गरेका थिएकी सरकारी अस्पतालमा बिरामीले लाइन बस्नु पर्दैन । उनले प्रतिबद्धतागरेका थिए एक महिनाभित्र यो कार्यान्वायानमा ल्याउछौं ।

तर उनको प्रतिबद्धता कार्यान्वयनमा आउन सकेको छैन । र तत्काल उनको उक्त प्रतिबद्धता लागू हुने सम्भावना देखिदैन ।
मन्त्री पौडेलको पद बहाली हुँदा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न त सकेका छैनन् फेरि उनले अर्को महत्वकांक्षी योजना थपेका छन् ।

हाल लागू भइरहेको विमा बापतको रकम अस्पतालाई भुत्तानी गर्न नसकिरहेको बेला उनले दायरालाई बढाएर आफ्नो लोकप्रियता बढाउन खोजेको धेरै बताउने गरेका छन् ।

अहिले एउटा परिवारको वार्षिक ३५ सय रुपैयाँले एक लाख रुपैयाँको स्वास्थ्य बिमा हुन्छ । अब पाँच लाख पुर्याउने कुरा सुन्नलाई कर्णप्रिय नै छ । तर, त्यसको कार्यान्वयन हुनेमा शंका गर्ने धेरै ठाउँहरु छन् ।

यसका लागि एउटा मात्र उदाहरण काफि हुन्छ । सरकारले स्वास्थ्य विमा वापतको रकम टिचिङ अस्पताल महाराजगञ्ज लाई रु ६५ करोड भन्दा बढी भुक्तानी गर्न सकेको छैन । देशभरका सबै सरकारी अस्पताल र कतिपय नीजि अस्पतालहरुले स्वास्थ्य विमा कार्यक्रम लागू गरेर काम गरिरहेका छन् । देश भरका धेरै अस्पतालहरुमा सरकारले करोडौं रुपैयाँ दिन सकेको छैन । सरकारले अस्पताललाई विमा रकम उपलब्ध गराउन नसक्दा अस्पतालहरु सेवा दिनसमेत नसक्ने स्थितमा भए पनि बाध्य भएर सेवा दिइरहेको धेरै अस्पतालका सञ्चालकहरु बताउछन् ।

स्वास्थ्य विमाको नाममा चरम वेथिति

सरकारले विमा कार्यक्रम लागू गर्दै गर्दा र उक्त विमा मार्फत उपचार गराउन आउनेको चाप धेरै देखिन्छ । सायद सबै विरामी नै भएर आएका होलान । अस्पतालमा विरामीको लाइन देख्दा आफ्नो उपचार गराउन खोज्ने मानिसहरु लाखौं छन् ।

विमा कार्यक्रम अन्तरगत कतिपय अस्पतालहरुमा विरामी उपचार गर्न जादा अमानविय व्यवहार समेत खेपिरहनु परेको छ । विमा लागू गर्ने तर विरामीलाई झन विरामी बनाउने खालका भन्झड अस्पतालहरुले दिने गरेका छन् ।

स्वास्थ्य संस्थामा बिमाका बिरामीले दोस्रो दर्जाको नागरिकको व्यवहार सहनुपर्छ । घण्टौंघण्टा छुट्टाछुट्टै लाइनका लाइनमा उभिनुपर्छ । पालो पाउन मुस्किल छ । उपचार गर्न अस्पतालहरुमा हप्तौ धाउनु पर्ने हुन्छ । सामान्य विरामी अस्पताल भर्ना हुने सम्मको स्थितिमा पुग्छ । त्यतिमात्र हैन भिडियो एक्सरे र एक्स्रे गर्नलाई २ देखि पाँच दिन पछि बोलाइने लगायतमा समस्या विरामीले भोग्नु परेको छ । कतिपयले उपचार गर्न झन्झट भएका कारण विमाबाट उपचार नै गर्न छोडेको पाइन्छ ।

अनि विमाबाट उपचार गरे पनि औषधि पाइदैन विमाको गर्नुको अर्थ नहुने गरी पैसा खर्चनुपर्छ ।

त्यस्तो चरम समस्या देखि देखि विमाको दायर बढाउनु भन्दा अहिले भइरहेको समस्यालाई पहिलो प्राथमिकता दिएर जनतलाई सहज उपचारको व्यवस्था मिलाउन लाग्नु उचीत हुने सरोकारवालाहरु बताउछन् ।