सेयर बजारमा करेक्सन, २९२३.४६ विन्दुमा कायम

काठमाडौं । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज नेप्से परिसूचक आठ दशमलव १८ अंकले घटेर दुई हजार ९ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बीमा एक दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार ९ सय सात कित्ता शेयर किनबेच भएको छ ।

बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ पुर्जी जारी

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवरसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि। को बिरुवा सेवा केन्द्रबाट रकम अपचलन गरेको आरोपमा उनीहरुमाथि पक्राउ पुर्जी जारी भएको हो । रकम अपचलन भएको घटना बाहिरिएपछि सहकारीको आन्तरिक अनुसन्धानमा ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको भेटिएको स्रोतको भनाइ छ ।

पक्राउ पुर्जी जारी हुनेमा कुँवरसहित सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव एवं हालका अध्यक्ष तारेन्द्रबहादुर के.सी. र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।

देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक : महामन्त्री राणा

काठमाडौं । राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रीत सुशासन कायम गर्न देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।

‘देशको राजनीतिलाई सही मार्गमा ल्याउन, राष्ट्रियता, प्रजातन्त्र तथा जनताको हित अनुकूल शासन संचालन गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको छ । हर क्षेत्रको अवस्था हेर्दा देश चुनौति र असफलताको जंजालमा फसेको छ, त्यसैको देश र जनताको हित अनुकूल परिवर्तन अपरिहार्य भएको हो,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले मंगलबार एक कार्यक्रममा बताए ,

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट गरे ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ती शाहीले युव र महिलालाई अग्रपंक्तिमा राखेर आन्दोलनमार्फत देशले मागेको परिवर्तन प्राप्त गर्ने बताइन् । वडा तहसम्म गएर जुझारु युवा तरुणको अगुवाईमा युवा दस्ता निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गरिन् ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देश परिवर्तन सन्मुख रहेको धारणा राखे ।

‘युवा पलायन रोक्न, भ्रष्टाचार अन्त्य गरेर सही अर्थमा राम राज्य कायम गर्न राप्रपाले परिवर्तनको मार्गचित्र अघि सारेको हो । जनताको बलमा परिवर्तन प्राप्त गरेर जनचाहना बमोजिम राजसंस्था, हिन्दु अधिराज्य पूनःस्थापना गर्ने आन्दोलनको लक्ष्य हो,’ लावतीले भने ।

शंखरापुर नगर समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले स्थानीय तहको संगठनको बलमा राजासहितको प्रजातन्त्र तथा हिन्दुराज्य प्राप्त गर्ने धारणा राखे ।

राप्रपाको संगठन विभागले आन्दोलनलाई केन्द्रमा राखेर काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ ।

कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी परेको छ । कुलमानले दुई कार्यकालमा भ्रष्टचार गरेको भन्दै पूर्वडीआईजी रमेश खरेल अख्तियारमा उजुरी दिएको बताएका छन् ।

खरेलले मंगलबार प्रमाण्सहित अख्तियारमा उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन ।

कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको खरेलको आरोप छ ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यस क्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।

‘विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्रै प्राधिकरणले पीपीए गर्न पाउँछ । तर प्राधिकरणका प्रबन्ध निर्देशकले ऐनलाई नै माथ खुवाउँदै आफूखुसी पीपीए गरेका हुन्’, खरेलले भनेका छन्, ‘आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ ।

दुई सहसचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले दुई जना सहसचिवको राजीनामा स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमल प्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल पारवहान तथा गोदाम व्यवस्थापनको महाप्रबन्धकमा पोखरेल नियुक्त

काठमाडौं । नेपाल पारवहान तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिष्द्को बैठकले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य नहुने रास्वपाको निष्कर्ष

काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ। संसदीय दलको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने बताए।

उनले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन। भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ। त्यो स्वीकादैनौं।’

मधेश प्रदेश : चौतर्फी आलोचनापछि मुख्यमन्त्री सिंहले हटाए आठजना राज्यमन्त्री

काठमाडौं । मधेश प्रदेशका आठ जना राज्यमन्त्रीलाई पदबाट हटाइएको छ । ठूलो मन्त्रीमण्ड विस्तार गरेपछि मुख्यमन्त्री सतिशकुमार सिंहको चौतर्फि विरोध र आलोचना भएपछि आठ राज्यमन्त्री हटाएको बुझिएको छ ।

केन्द्रको सत्तारुढ दलहरुको सहमतिमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा सहभागी ८ जानै राज्यमन्त्रीलाई हटाएका हुन् ।

हटाइएका राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

जसमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग रहेका छन् ।

५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए । २२ साउनमा मात्रै उनले पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए ।

टीआरसीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । दलहरुले सहमति जुटाएर तयार पारिएको संक्रमणकालिन न्यायको लागि सत्य निरुपण सम्बन्धी विधयक (टीआरसी) विरुद्ध सर्बोचच अदालतमा रिट परेको छ ।

दलहरुले सहमति जुटाएर संसदमा टीआरसी विदेयक पेश गर्ने तयारी छ ।

विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको भन्दै सर्वोच्चमा रिट पुगेको परेको हो ।

विधेयकविरुद्ध रिट लिएर अधिवक्ताद्वय डा ज्ञान बस्नेत र श्यामकृष्ण मास्के अदालत पुगेका हुन् ।

मुख्यसचिव अर्यालको मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेशी

काठमाडौं । भ्रष्टचारमा मुद्दामा निलम्बनमा परेका मुख्यसचिव डा. बैकुण्ठ अर्यालको आज विशेष अदालतमा पेशि तोकिएको छ ।

न्यायाधीशहरू खुशीराम थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासमा उनीहरूको निवेदनमा पेशी तोकिएको हो ।

२०८१ असार ९ गते दर्ता भएको मुद्दामा निलम्बित मुख्यसचिव अर्याल यसअघि नै धरौटीमा छुटी सकेका छन् । उनी साउन १३ गते विशेष अदालत उपस्थित भएर ५० हजार धरौटीमा छुटेका थिए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू जितेन्द्र थापा र रामबहादुर थापाको इजलासमा करिब ४ घण्टा बयान लिएको थियो भने त्यसपछि भएको थुनछेक बहसपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो । उनी सोही दिन अदालतले माग गरेको धरौटी बुझाएर छुटेका थिए ।

मन्त्रीको निर्देशन पछि अस्पतालहरुले सिफ्ट बनाएर दिन थाले सेवा

काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालमा देखिएको भिडभाडलाई व्यवस्थापन गर्नका लागि अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न ९ बुँदे निर्देशन दिएका थिए ।

मन्त्रीले निर्देशन दिएपछि संघीय राजधानीका भिड देखिने अस्पतालहरुले दुई सिफ्टमा सेवा सुरु गरेका छन् ।

कुन अस्पताललले कसरी सुरु गरे सेवा

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको जनाइएको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ ।
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ ।

वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ । अस्पतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ ।

बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ, वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ ।

बढ्यो सुनको भाउ, कसरी हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज दुई हजार एक सय रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

आज रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू बारे छलफल हुने छ ।

यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको बारे पनि बैठकमा छलफल हुन लागेको रास्वपाले जनाएको छ ।

कर्मचारीको तलब बढाउदै सरकार, अर्थ मन्त्रालयलाई व्यवस्था मिलाउन दियो जिम्मेवारी

काठमाडौं । कर्मचारीको तलव समायोजन गर्न सरकारले प्रकृया अघि बढाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कर्मचारीको तलव वृद्धि गर्ने विषयमा प्रस्ताव पेश गरेको बुझिएको छ ।

सर्वोच्च अदालतले गत असार १० गते न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो । सोहि परमादेश लागू गर्ने शिलशिलामा सरकारले आफ्नो गृहकार्य अघि बढाएको छ ।

मन्त्रीपरिषद्को बैठकमा कर्मचारीको तलबमान समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पेस भएसँगै ठोस निर्णय गर्नुअघि अर्थ मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

अदालतको आदेश कार्यन्वयन लैजादा अधिकृतदेखि सहसचिवसम्मको तलब बढाइनु पर्नेछ । समान मर्यादाक्रममा रहेका सहसचिव अर्थात् राजपत्रांकित प्रथम श्रेणीका अधिकृत १६ औं नम्बरमा र नेपाली सेनाका सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक १७ औं नम्बरमा छन् ।

यस्तै नेपाली सेनाको सहसेनानी र नेपाल सरकारका शाखा अधिकृतको मर्यादा क्रम एउटै २० औंमा राखिएको छ तर, अहिले सहसेनानीको सुरु तलब ४७ हजार २०८ छ भने शाखा अधिकृतको ४३ हजार ६८९ मात्रै छ । यसले मर्यादामा बराबर हुँदा पनि शाखा अधिकृतले ३ हजार ५१९ कम तलब पाइरहेको देखाउँछ ।

यो हिसाबले अदालतको आदेश कार्यान्वयनमा लैजाँदा अधिकृतको १४१४, उपसचिवको ३,५४२ र सहसचिवको ४,१६३ रुपैयाँ तलब बढ्नेछ।

कालिमाटीमा आज तरकारीको दर भाउ

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार मंगलबार गाजर प्रतिकिलो ११५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै बन्दा ७५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भान्टा ५५, तने बोडी ११०, घिउ सिमी ११५, टाटे सिमी ८५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ३५, घिरौंला ३५, झिगुनी ७५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ७५, भिण्डी ३५, पिडालु ८५, स्कुस ५५, रायो साग ८५, पालुङ्गो साग १४० र तोरीको साग ६५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ९५, सानो गोलभेडा ५५, टनेलको सानो गोलभेडा ६५, रातो आलु ६७.६७, सेतो आलु ५३.६७, प्याज ९५, कन्ये च्याउ १५६.६७, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २१०, भेडे खुर्सानी ६५, अदुवा २१० र स्वदेशी लसुन २३३.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।