विदेशबाट फर्किएर कृषि कर्म, वार्षिक ७ लाख आम्दानी

पांचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँका सफल कृषक हुन रोमन चम्लागाई । बैदेशिक रोजगारीमा काम गरेर स्वादेश फर्किएका उनले गाउँमै व्यवसायीक कृषि कर्मबाट मनग्य आम्दानी गर्दै आएका छन । आठ रोपनी जग्गामा टमाटर खेती गरेर बार्षिक ४ देखि ७ लाखसम्म आम्दानी गर्न सफल भएका हुन ।
२०७८ सालबाट ३ रोपनी जग्गामा व्यवसायीक टमाटर खेती लगाउन सुरु गरेका उनले ८ रोपनी जग्गामा खेती गर्दै आएका छन । गत वर्ष चार हजार टमाटरको बिरुवा लगाएका उनले खर्च कटाएर वार्षिक ४ लाख आम्दानी गर्न सफल भए । पहिलो वर्ष उत्पादन र आम्दानी राम्रो भएपछि यो वर्ष ८ रोपनी जग्गामा टमाटर खेती बिस्तार गरे । आठ हजार टमाटरको बिरुवा लगाएका उनले ७ लाखसम्म आम्दानी गर्न सफल भएका छन । बिदेशमा वर्षको मुस्किलले ३ लाख आम्दानी हुन्थ्यो । गाउँमै अहिले ७ लाखसम्म आम्दानी हुन्छ । कम मुल्यमा बिक्री भए पनि घाटा छैन । त्यसैले टमाटर खेतीमा चासो दिएको हुँ चम्लागाइले बताए ।

गत वर्ष टमाटर प्रति केजी ४० रुपैयाँले बिक्री भएको थियो । यो वर्ष प्रति केजी ६० रुपैयाँले घरबाटै बिक्री भएको छ उनले भने् । मेहेनत र परिश्रमले चार महिनाको अवधिमा ६ लाख रुपैयाँ कमाइ भयो । जस्ले गर्दा थप जोस र उर्जा बढेको छ । उनले थपे बर्खाको सिजनमा टमाटरको माग र उत्पादन राम्रो भएकाले धेरै जग्गामा खेती लगाएको हँु । तर हिउँदको समयमा माग कम हुने भएकाले कम उत्पादन गर्ने गरेको छु ।’

टमाटरको सिंचाईको लागि प्लाष्टिक पोखरी निर्माण गरिएको छ । आधुनिक तरिकाले लगाएको टमाटरको एउटा बोटबाट डेढ देखि दुई केजीसम्म उत्पादन दिन्छ । जस्ले गर्दा राम्रो आम्दानी गर्न सफल भएको चोम्लागाइ बताए । यता कृषि ज्ञान केन्द्र पाँचथरले २०७८÷०७९ मा १ लाख रुपैयाँको कृषि सामाग्री अनुदान दिएको थियो । त्यस्तै फिदिम नगरपालिकाले दुई वटा ट्रनेल र कुम्मायक गाउँपालिकाले प्लाष्टिक पोखरी उपलब्ध गराएको उनि बताउछन् ।

बारी जोत्न अहिले हलगोरु पाइदैन । मैले गाउँपालिकामा पटक पटक हाते ट्याक्टर माग गरे । तर दुइ वर्ष भयो अहिलेसम्म पाएको छैन दुखेसो पोख्दै उनले सुनाए । चेम्लागाइले उत्पादन गरेको टमटर स्थानीय बजारदेखि झापा, मोरङ, सुनसरी र भारतसम्म हुने गरेको छ ।

जन्मदिनमा नयाँ घर उपहार

पाँचथर । पाँचथरको फिदिम–५ का दिपेन्द्र कटुवाल (गणेश) लाई समाज सेवी देबिराज कुरुम्बाङले नयाँ घर बनाइ दिएका छन । तीन वर्ष अघि ट्याक्टर दुर्घट्नामा परी अपाङ्गता भएका कटुवाललाई जन्म दिनको अवसरमा कुरुम्बाङले नयाँ घर बनाइ दिएका हुन । कमजोर आर्थिक अवस्थाका कारण जीर्ण घरमा बस्दै आएका कटुवाललाई कुरुम्वाङले जन सेवा समाज पॉचथरको समन्वयमा एक लाख २० हजार रुपैंयाको लगानीमा घर बनाइ उपहार स्वरुप दिएका हुन ।

जन्म दिन मनाउँदा ठुलो खर्च गरी रमाइलो गर्ने र केक काट्ने क्रम बढ्दै गएको समयमा आफुले जन्म दिन सृजनात्मक रुपमा मनाउन कटुवालको घर बनाएको कुरुम्वाङले बताए । उनले कटुवाललाई नयाँ घरको चावी बुझाउँदै घर निर्माणको लागि समन्वय गर्ने स्थानीयबासी, जनप्रतिनिधि र जनसेवा समाज पाँचथरको प्रशंसा गरे । स्थानीय युवाहरुले उदाहरणीय काम गरेको भन्दै कदर पत्र सहित खादा ओढाएर कुरुम्बाङको सम्मान गरेका थिए ।

कुरुम्बाङले निर्माण गरिदिएको घरको पहिलो तलामा ढुङ्गाको गारो लगाइएको छ । दोस्रो तलामा बाँस र काठको सेन्टरवेरा लगाएर जस्तापाताले छानो लगाइ घर निर्माण गरिएको छ । उनले आफ्नो जन्म दिनको अवसर पार्दै घर हस्तान्तरण गरेका थिए । कुरुम्वाङ सफल व्यवसायी पनि हुन । उनले फिदिम बजारमा पुर्वाञ्चल फ्रेस हाउसका सञ्चालन गर्दै आएका छन । कटुवालको तीन वर्ष अघि ट्याक्टर दुर्घट्नामा परी हात र खुट्टा सहित मेरुदण्ड मुनीको भाग नचल्ने अवस्थामा पुगेको थियो । लामो समयको उपचारपछी कटुवाल बैशाखीको सहारामा सामान्य हिडडुल गर्छन ।

अपाङ्गता भएका कटुवालले जीर्ण घरमा बस्नु परेको दुखेसो पोख्दै घर बनाइ दिन केहि महिना अघि वडा कार्यालयमा निवेदन दिएको फिदिम–५ का वडाध्यक्ष भरत तुम्बापोले बताए । वडा कार्यालयबाट प्रकृया पुरा गरेर घर निर्माण गर्न केहि समय लाग्ने भएकाले जन सेवा समाज पॉचथर मार्फत दाताको पहिचान गरिएको उनको भनाइ थियो ।

घर निर्माणमा लाग्ने सामग्री र श्रमिक सहित सबै खर्च कुरुम्वाङले व्यक्तिगत व्यहोरेका थिए । त्यस्तै स्थानीय सुजन तुम्वापो सहित १५ जनाले घर निर्माणमा सहयोग गरेको जन सेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । तत्कालको लागि नवनिर्मित घरमा खाट ओढ्ने ओछ्याउने र लगाउने एकसरो कपडा कुरुम्वाङले हस्तान्तरण गरेका छन ।

ब्राजिलमा विमान दुर्घटनाः चालक दलसहित सवार ६१ जनाकै मृत्यु

काठमाडौँ । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ ।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

उक्त दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्। विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने,’धेरै दुखद घटना भयो। पीडित परिवारप्रति मेरो गहिरो समवेदना।’ विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बीबीसी

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य केही घट्दा अरु कतिपय विदेशी मुद्रको मूल्य भने बढेको छ। हिजो बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६३ र बिक्रीदर ३५७ रुपैयाँ २२ पैसा थियो।

निजामति ऐन तत्काल जारी गर्न माग गर्दे हस्ताक्षर अभियान

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै बृहत हस्ताक्षर अभियान सुरु गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबारदेखि बृहत हस्ताक्षर अभियान सुरु गरेको हो ।

रुपन्देहीको कर्मचारी अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान सुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

उनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हानसमेत गरेका छन् ।

३५ जिल्लामा न्यायाधीश नियुक्तका लागि सिफारिस, २१ जिल्लाका न्यायाधीसको सरुवा

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रन्तबहादुर बागचन्दलाई नियुक्त गरेको छ । बागचन्द्र यसअघि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश राजनप्रसाद भट्टराईलाई बागचन्दको ठाउँमा सरुवा गरिएको छ ।

त्यसैगरी विभिन्न २१ जिल्ला अदालतमा न्यायाधीशहरुको सरुवा गरिएको छ ।

त्यस्तै न्याय परिषद्को बैठकले रिक्त रहेका ३५ जिल्ला न्यायाधिशको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।

मदिरा सेवन गरेका उपसचिव दीपक आचार्यले धनगढी विमानस्थलमा देखाए रमिता

काठमाडौं । धनगढी विमानस्थलमा एक उपसचिवले मापसे सेवन गरेर रमिता देखाएका छन् । कर्णाली प्रदेशमा सरुवा भएर पुगेको उपसचिव दीपक आचार्यले विमानस्थलमा हदै सम्मको हर्कत देखाएको बुझिएको छ ।

१५ दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्णाली प्रदेशमा सरुवा भएर पुगेका आचार्यलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ तर उनको पदस्थापन भइसकेको छैन ।

शुक्रबार अपरान्ह ३ बजे बुद्ध एयरलाइन्सको धनगढीबाट काठमाडौँ आउन लागेका आचार्यले अत्याधिक मदिरा सेवन गरेको भेटिएसँगै एयरलाइन्सका कर्मचारीहरुले बोर्डिङ पास नदिएर फर्काएको थियो । उनले नेपाल सरकारको कर्मचारी भएको कार्ड देखाए । परिचपत्र देखाउँद पनि विमानस्थलका कर्मचारीहरुले बोर्डिङ पास दिएनन् ।

आचार्यले बोर्डिङ पास नपाएपछि उनले तत्काल त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई टेलिफोन गरे । प्रजिअसँग धनगढीबाट काठमाडौं जान खोज्दा एयरलायन्सका कर्मचारीहरुले दुर्व्यवहार गरेको भनेपछि प्रजिअ तत्काल विमानस्थल पुगेका थिए ।

उनले घटना स्थिति बुझ्दा उपसचिव आचार्यले अत्याधिक मदिरा सेवन गरेको र एयरलायन्सले बोर्डिङ पास नदिएको जानकारी पाए । प्रमुख जिल्ला अधिकारीले सम्झाउन खोजे । त्यतिखेर मुखमुखै लागे । प्रमुख जिल्ला अधिकारीले नै बोर्डिङ पास नदिन लगाएको झैं गरी उनी सँग झगडा गर्न तम्सिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर प्रजिअदेखि प्रहरीका प्रमुखहरुलाई तथानाम बोल्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

राशिफलः आज यी राशिको चम्कने छ भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमस् यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।मंगल ग्रहको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

विना अवरोध हनुमानको झण्डी निकालियो, तोडियो ४१ वर्षको इतिहास

रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित घिउरा गाउँबाट हरेक वर्ष हनुमानको झण्डी निकाल्ने परम्परा छ ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन आज शुक्रवार ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजासहित त्यहाँ बाट झण्डी निकाल्ने परम्परा छ ।

यसपटक झण्डी लिएर सैयौंको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँ गएका थिए । छोटका घिउरा गाउँमा झण्डी मिलान गरी भारतीय क्षेत्र नरकतिया पोखरीमा पुर्याईएको थियो । परापूर्वकालमादेखि घिउरा बाट हनुमानको पूजा गरी झण्डी गएपछि मात्र भारतीय गाउँ नरकतियामा मेलामा लग्ने गरिएको समाजसेवी आमाज्ञा ठाकुले जानकारी दिए ।

४१ वर्षिय इतिहासमा शान्तिपूर्वक भण्डी निकालियो

हरेक वर्ष भण्डी निकाल्दा यहाँ केही न केही तनाव उत्पन्न हुने गरेको थियो । भण्डी निकालेर नरतकिया पुर्याउदा बीच बाटोमा मुस्लिम समूदायको वाहुल्यता भएका कारण केही न केही समस्या उत्पन्न हुने गरेको थियो ।

यसपटक रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको सक्रियताले घिउरा गाउँबाट शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो ।

पर्सा जिल्लाबाट रौतहट आएका प्रजिअ रेग्मीको काम एकपछि अर्को गर्दै लोकप्रिय बन्दै गएको जिल्ला वासीहरुले बताउने गर्छन् । उनको शुक्रबार भएको भण्डी निकाल्ने विषयमा सुरक्षालाई सहज बनाएर उनी अझै प्रसंसाको उचाइमा पुगेका रौतहटका अगुवाहरु बताउछन् ।

भनिन्छ मधेसमा काम गर्न धेरै कठिन छ । रौतहट आउने कतिपय प्रजिअ विवादमा मात्रै तानिएका थिएनन् । आफनै कर्मचारीलाई संरक्षण गर्न नसक्दा समस्या खेप्नुपरेको इतिहास रौतहटसँग छ । यो बीचमा गृह मन्त्रालयले प्रजिअहरुको कार्यसम्पादन मुल्यांकन गर्दा रौतहट प्रदेश कै दोश्रो स्थान हासिल गर्न सफलसमेत भएको छ । कामको हिसाबले रौतहट पहिलो हुनुपर्ने यहाँ स्थानीय नागरिक समाजका अगुवाहरु बताउने गर्छन् ।

यसपटक भण्डी निकाल्नका प्रजिअ रेग्मीकै योजनामा सफल भएको हो । घिउरा स्थित हिन्दु समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय घटना नहोस भने बिहानैदेखि करिव ५०० को सख्यामा प्रहरी परिचालन गरिएको थियो । ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिमबीच साम्प्रदायिक सद्भाव विग्रिन नदिन विशेष सतर्कता अपनाइएको थियो ।

प्रजिअ रेग्मी, नेपाली सेनाका कर्णेल किशोर श्रेष्ठ, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह समेत फिल्डमा खटिएका थिए ।

शुक्रवार मन्दिरमा पूजा अर्चना पछि अपरान्ह झण्डीसहित गाउँ घुम्दै गन्तब्यसम्म पुग्दा कुनै बाधा अड्चन बादविवाद नभएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रीयोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

४१ बर्ष अघि तत्कालीन सिडियो पुण्य प्रसाद लुइटेलले बिभिन्न राजनीतिक दवाबमा परेर घिउरा गाउँबाट झण्डी लिएरजाने टोलीमा बढीमा ४१ जना मानिस सहभागी हुने र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने निर्णय गरेका थिए ।
सोही निर्णयको आधारमा प्रत्येक बर्ष हुने बिबादलाई जरा देखिनै हटाउन केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेर उक्त निर्णय खारेज गरि मूलबाटो बाटै सानो घिउरा जाने निर्णय गरेको थियो ।

साथै ईशनाथ नगरपालिकाको समन्वयमा स्थानिय नागेन्द्र ठाकुरको संयोजकत्वमा ११ सदस्यीय झण्डी मेला व्यवस्थापन समिति गठन गरिएको उनले बताए । पूर्व गाविस अध्यक्ष सेख पहाडीका साथै मुस्लिम समुदायका अगुवाहरुलाई सम्झाइ बुझाइ गर्दा अवस्था अझ सहज बनाउन सफल भएको एसपी दिलीप घिमिरेले जानकारी दिएका छन ।

उनले झण्डी मेला शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुक्रवार विहानै देखि ईशनाथ नगरपालिका र भारतीय नाकामा अघोषित नाकाबन्दी गरिएको थियो ।

ईशनाथ नगरपालिकाकी मेयर प्रत्यासी अन्जु झाले ४१ बर्ष पछि झण्डी लिएर मात्र ४१ जना जान पाउने ऐतिहासिक निर्णय खारेज हुँदा दुबै समुदायको लागि राम्रो भएकाले स्थानीयहरू खुसी भएको बताएकी छिन् ।

गत वर्ष भएको थियो झडप

गत वर्ष फागुन महिनामा घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएको थियो । त्यतिखेर स्थिति नियन्त्रणभन्दा बाहीर भएकाले प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका स्थित विगतमा झण्डीको बिषय लिएर दुई समुदायबीच बिवाद भएपछि हजारौँ भारतीय नागरिक आएर विवाद चर्काएका थिए ।

हिन्दुहरुमाथिको दमन रोक्न नेपालस्थित बंगलादेशका राजदूतलाई ज्ञापन पत्र

काडमाडौं । बंगलादेशमा हिन्दुहरुमाथि भएको अमानविय व्यवहार बन्द गराउन नेपालस्थित बंगलादेशको राजदूतलाई ज्ञापनपत्र बुझाइएको छ ।

शुक्रबार विश्व हिन्दु महासंघ केन्द्रीय समितिले बंगलादेशमा भइरहेको हिन्दुहरुकमाथिको दमनलाई रोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

समितिका महासचिव शम्भुहरि बास्तोलासहितको टोलिले राजदूततलाई ज्ञापनपत्र बुझाएको हो ।

बास्तोलाको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा भनिएको छ – ‘अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस लगायत सम्पुर्ण शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीको समाज अत्यन्त मर्माहत भएको ब्यहोरा मिति २०८१ साउन २३ गतेको यस महासंघको प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण गराइएको जानकारी गराउँदै, बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं’ ।

‘ विश्वास छ, महामहिम राजदूतज्यू मार्फत बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द भइ धार्मिक अल्पसंख्यकहरुलाई पुर्ण सुरक्षाको प्रत्याभूति दिने वातावरण तयार गरी शान्ति पुनःस्थापना हुनेछ ।, ’ ज्ञापन पत्रमा भनिएको छ ।

आफुले जिम्मेवारी सम्हाले यता प्राधिकरणलाई ८२ अर्ब नाफा कमाएको कुलमानको दाबी (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफुले प्राधिकरणको जिम्मेवारी सम्हाले यता ८२ अर्ब रुपैयाँ नाफा गराएको दाबी गरेका छन् । दोस्रोपटक प्राधिकरणको जिम्मेवारीमा आएको तीन वर्ष पुगेको अवसरमा प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै उनले ८ वर्ष अघि घाटामा रहेको प्राधिकरणलार्य सो रुपैयाँ नाफा गराएको दाबी गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले आठ बर्ष अघि घाटामा रहेको प्रधिकरणको सञ्चित मुनाफा ४७ अर्ब ४१ करोड रहेको र पछिल्ला ८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको जनाएका दाबी उनको छ ।

प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको पनि उनले स्पष्टीकरण दिएका छन् । ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको उल्लेख गर्दै उनले कूल नाफा ८२ अर्ब पुगेको सुनाए । यो नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै नभएको उनको भनाई छ ।

आफ्नो दोस्रो कार्यकालमा प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिक घरमा बिजुली पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फको संरचना विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बढाउने तथा अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखेर काम गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए ।

आठ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युत ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् ।

आगामी संसद बैठकमा टीआरसी विधेयक पेश गर्न पत्र

काठमाडौं । आगामी संसद बैठकमा टीआरसी विधेयक पेश गर्न कानून, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भइसेको छ ।

समितिका सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो ।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् ।

मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभाको पाँचौँ अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।

कांग्रेस सांसद दिनेश कोइरालाको प्रस्ताव– ‘भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा सदस्य दिनेश कोइरालाले भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गर्न प्रस्ताव राखेको छन् ।

आज पनि जारी रहेको बैठकमा कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

आफ्नो धारणा राख्ने क्रममा कोइरालाले भ्रष्टाचारको छानबिन गरी सम्बन्धित निकायलाई कारबाहीको सिफारिस गर्न नागरिक उच्चस्तरीय आयोगको आवश्यकता रहेको बताए ।

वर्तमान सत्ता गठबन्धन बनाउनु पर्नुको कारण जनतालाई बुझाउन आवश्यक रहेको बताउँदै पार्टी बैठकमा कोइरालाले भने, ‘भ्रष्टाचार नियन्त्रणको काम नगरी संविधान संशोधनको प्रयास गरियो भने त्यसले अपेक्षित जनसमर्थन हासिल गर्न सक्दैन ।’

काँग्रेस सबैभन्दा ठूलो पार्टी हुनुका नाताले नागरिकप्रतिको जिम्मेवारी स्वतः बढी रहेको उनले बताए ।

पशुपतिको कोटिहोममा आचार्य कृष्ण दमाईको कथा वाचन, भन्छन्– पशुपतिको चरणमा स्वर्गको महसुस भयो

काठमाडौं । पशुपतिनाथ क्षेत्र परिसर भित्र चलिरहेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले व्यासबाट सम्बोधन गरेका छन् । आचार्य कृष्ण दमाई कोटिहोममा सहभागि मध्ये पहिलो दलित समूदायको कथा वाचक हुन् ।

उनलाई समारोहमा भव्य स्वागतसमेत गरिएको छ । व्यासमा बसेर सम्बोधन गर्दै उनले आफुलाई यो स्थानसम्म पुर्याउन योग्य बनाउने गुरुहरु प्रति नमन व्यक्त गरेका छन् ।

दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन उनले बर्षन गरेका छन् ।

उनले कथा वाचनको सुरुमा पशुपतिको चरणमा स्वर्गको महशुस भएको समेत बताएका छन् ।

उनको सम्बोधन

मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरूप्रति आभार प्रकट गर्न चाहन्छु । एउटा सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु । म विद्यालयमा पढ्दा सधैँ प्रथम हुन्थे । २०६४ सालमा एसएलसी उत्तीर्ण गरेँ । हरेक ठाउँबाट बधाई आयो । साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डोर्‍यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान् गुरु ईश्वरदत्त भट्टलाई सधैँ सम्झिरहनेछु । ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो । भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखाउनुभयो । त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरूको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगेँ । गुरुहरूलाई पुनः शिर झुकाइ अर्पण गर्न चाहन्छु । कतिपय मानिसहरूले धरै कुरा भने । यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ । मैले धेरै भन्नुपर्ने अवस्था छन् । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ । मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो । १२ मा पढ्दा माताको मृत्यु भएको थियो । साह्रै भतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो । बुवाले भन्नुहुन्थ्यो( कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू । म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु । मैले प्रस्ट रूपमा गुरुजीलाई भनेको थिएँ । मलाई यहाँसम्म पुर्‍याउनुभयो, यसरी बिराजमान गराउनुभयो । पूर्वतयारी नगरेको अवस्था थियो । यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मूर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन । हामीमा धार्मिक रूपले विध्वंस मच्चाइ एक अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दु संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौँ शब्दले पूर्व पश्चिम, उत्तरऔदक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । मेरा लागि यो ऐतिहासिक कोटीहोम स्वर्गमय बनेको छ ।’