जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिण पश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ ।

यद्यपि भूकम्पले पुर्याएको क्षति विवरण भने आइसकेको छैन ।

मनसुनजन्य घटनामा १६८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार दिउँसोसम्म प्राप्त विवरण अनुसार, विभिन्न घटनामा परी १६८ जनाले ज्यान गुमाएका छन्।

बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जना गरी कुल १६८ जनाको मृत्यु भएको छ।

यसैगरी, विभिन्न विपद्का घटनामा २०१ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। साथै, ११० जनाको उद्धार गरिएको छ। विपद्का घटनामा परी ५० जना वेपत्ता भएका छन्, जसको खोजी कार्य जारी छ।

राजेन्द्र महतोले पार्टी घोषणा गर्ने तयारी

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले कात्तिकमा नयाँ पार्टीको घोषणा गर्ने भएको छ । नयाँ पार्टी बनाउनका लागि राष्ट्रिय मुक्ति क्रान्तिले कार्ययोजना तयार गरिसकेको हो ।

उक्त कार्ययोजना कार्यकारिणीबाट पारित भएपछि कात्तिकमा पार्टी घोषणा गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । यसअघि बसेको राष्ट्रिय मुक्ति क्रान्तिको बैठकले दिएको कार्यादेश अनुसार कार्ययोजना तयार गरिएको हो ।

‘लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि’

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि गरेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। ‘हिजो पनि हेलिकप्टर दुर्घटना भयो, र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा यसले पुष्टि गरेको छ,’ उनले भने।

अहिलेसम्मका सरकार दुर्घटनाबारे जाँचबुझ समिति बनाउनेमा मात्रै सिमित रहेको टिप्पणी गर्दै मन्त्री गुरुङले अहिलेको सरकार समाधान नै निकाल्ने गरि जुटेको दाबी गरे। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।’

निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै उनले यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे।

राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्वले ल्याएको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तसम्बन्धी निर्देशिका खारेज भएको छ ।

गलवार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको हो । यसअघि प्रचण्डको सरकारले ३ महिनापछि अवकाश पाउन लागेका मुख्यसचिव शंकरदास बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको थियो। रिक्त मुख्यसचिवमा बैकुण्ठ अर्याललाई ल्याइएको थियो।

पद मिलानका लागि यसरी सुरक्षा सल्लाहकार थप गरिएको थियो। सो निर्देशिका खारेज गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

मन्त्रिपरिषद् बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णयसमेत गरेको छ। त्यस्तै नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाका लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धकमा प्रा राजेशकुमार भोछिभोयालाई तोक्ने, नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ घ बमोजिम नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा कोशीबाट रहेली नगरपालिका प्रमुख दिलिपकुमार अग्रवाल, मधेसबाट बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल, बागमतीबाट गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, गण्डकीबाट पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङ, लुम्बिनीबाट तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड, कर्णालीबाट पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारी र सुदूरपश्चिमबाट लम्कीचुहा नगरपालिका प्रमुख सुशिला शाहीलाई मनोनित गरेको छ।

टीआरसी विधेयकको प्रतिवेदन समितिबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सर्वसम्मतिले पारित गरेको छ ।

आज बसेको समितिको बैठले सर्वसम्मतरुपमा पारित गरेपछि आगामी प्रतिनिधिसभाको बैठकमा उक्त प्रतिवेदन पेश हुने छ ।

सो विधेयक २५ फागुन २०७९ प्रतिनिधिसभा दर्ता भएको थियो । सो विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन थियो ।

विधेयकमा सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

मन्त्रीहरुको वरियता हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरियता हेरफेर गरेका छन् ।

वरीयता हेरफेरअनुसार पर्यटन मन्त्री बद्री पाण्डे १४ नम्बरमा पुगेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।

एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरीः प्राधिकरण

काठमाडौं । बुधबार नुवाकोटमा भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा चालक दलको कमजोरी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे त्यस्तो बताएका हुन् ।

त्यसबारे त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनको भनाई छ ।

खराब मौसम र बादल भएको ठाउँमा हेलिकप्टर घुसाउदा दुर्घटना भएको उनले प्रारम्भिक प्रतिकृया दिएका हुन् ।

बंगलादेशमा नयाँ सरकार प्रमुख मोहम्मद युनुसले आज शपथ लिदैं

काठमाडौं । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन्।

विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए। पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २।१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन्। बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन्।

युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहका समिति गठन गर्ने तयारी गरेको भारतीय समाचार संस्था द हिन्दुले उल्लेख गरेको छ।

त्रिविले गर्यो स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९–०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ।

असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ भने २०८२ को जेठमा कक्षा समाप्त हुनेछ। अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ।

सर्वोच्चको पूर्ण इजलासमा भारतसँगको विद्युत सम्भौंताविरुद्धको रिटको आज सुनुवाई हुँदै

काठमाडौं । भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई हुने भएको छ ।

२०८० माघ १५ गते दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासमा पेसी तोकिएको हो ।

पूर्व सचिव सूर्यनाथ उपाध्यायले रिट दायर गरेका थिए ।

रिट निवेदनमा २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधानको प्रतिकूल तथा देशको हितविपरीत रहेको जिकिर गरिएको छ ।

कोशी प्रदेशः तेह्रथुम प्रशासन कार्यालय प्रदेशकै उत्कृष्ट

तेह्रथुम । यस पटक कोशी प्रदेश भरमा जिल्ला प्रशासन कार्यलय तेह्रथुम प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी पहिलो भएको हो ।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बनाएकी छिन् ।

सोलुखुम्बु दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई वटा स.स्द अन्तरगत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संघिय संसद अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ।

कानुन समितिको बैठकमा टिआरसी विधेयकबारे छलफल गर्ने कार्यसूची छ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे १२ बजे बस्नेछ।

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । आज देशभर सामान्य वदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो।हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।

हिजो युरो १ को खरिदर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३१ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५८ र बिक्रीदर ३५७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा थियो।