सेयर बजार उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । सेयरबजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको हो।

सेयरबजार पछिल्ला दुई कारोबार दिनमा १९१ दशमलव ८४ अंकले घटेको हो। आइतबार ७९ दशमलव ८८ अंकले घटेको थियो।

यद्यपि कारोबार रकममा भने धेरै फेरबदल भएको छैन। आइतबार १९ अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो। सोमबार कारोबार भएन। मंगलबार १८ अर्ब ६४ करोड ९५ लाखको खरिदबिक्री भएको छ। ४ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्रीमा मंगलबार उक्त कारोबार भएको हो। मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको र एउटाको आइतबारकै मूल्यमा कारोबार भएको छ।

आजको कारोबारमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले क्रमशः प्रतिकित्ता १२९ दशमलव ४० रुपैयाँ, ३४२ दशमलव २० रुपैयाँ र ६१ दशमलव ८० रुपैयाँ आम्दानी गरेका छन्। अन्य कम्पनीको सेयर अधिकतम ९ दशमलव ८१ प्रतिशतसम्मले बढेको छ।

आज नेपाल फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले २०३ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। त्यसबाहेक रिडी पावर कम्पनी, नेसनल हाइड्रोपावरलगायतको पनि मूल्य घटेको छ।

सर्वाधिक कारोबारमा हिमालय रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ६५ करोड ४२ लाख, अपि पावरको ५१ करोड ७५ लाखको कारोबार भएको छ।

सशस्त्रको ३० सेवा अवधि खारेज गर्न माग गर्दे परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । सशस्त्र प्रहरीको ३० सेवा अवधि खारेज गर्न माग गर्दे परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
यो अदेशसँगै दुई जना डिआइजीसहित १६ जना भदौ १५ गते अनिर्वा अवकास हुनेछ ।

दुई जना नायव महानिरीक्षक (डीआईजी)सहित १२ जना अधिकारीले दिएको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले विपक्षीसँग कारण माग गरेको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाइएको थियो ।

यही भदौ १५ गते राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुन लागेका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराईसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले उनीहरु अवकास हुने निश्चित भएको छ ।

राजेन्द्र लिङ्देनको आडम्बरः भन्छन् एउटा, गर्छन् अर्को !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेशी उत्पादन खपत गर्ने गरेको सूचना बेलाबेला सामाजिक संजालमा राख्ने गर्छन् । सामाजिक रुपमा ‘देखाउने दाँत’ जेजस्तो भए पनि विदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्राण्ड प्रयोग गर्न लिङ्देन शौकिन छन् ।

लिङ्देनका नजिकका सहयोगीका भनाइमा अध्यक्ष र उपप्रधानमन्त्री बनेपछिका दिनहरुमा उनमा राम्रो लाउने, राम्रो खाने, विदेश घुम्ने शौक र एक किसीमको आडम्बर बढेको छ । ‘अध्यक्षज्यूमा आएको यस्तो बद्वालबाट हामी आफैं चकित र चिन्तित छौं । महंगो विदेशी सामान र उपहार उनको कमजोरी बन्न थालेको छ । म पनि के कम, म नै सबथोक हुँ भन्ने सोँच उहाँमा पलाएको छ,’ एक सहयोगीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

‘धराने टोपी, लुभुमा बुनेको सर्ट, पाइन्ट र ब्लाकहर्ष जुत्ता’ लगाउने गरेको भनेर लिङ्देनले स्वदेशी मन र सरल जीवनको जति नै प्रचार गरेतापनि उनका सहयोगीले भनेझैं लिङ्देनको जीवन विलासी सामानहरुले घेरिएको छ ।

लिङ्देन निकट स्रोतले बताए अनुसार, लिङ्देनले दुईवटा आइफोन १५ प्रो म्याक्स चलाउँछन् । यो संस्करणको एउटा आइफोनको बजार मूल्य २ लाख ८१ हजार रुपैयाँ छ । दुइवटाको ५ लाख ६२ हजार रुपैयाँ पर्दछ ।

उनी वुल्फ स्कीन ज्याकेट लाउँछन्, वुल्फ स्कीन अन्तर्राष्ट्रिय ब्राण्ड हो र लिङ्देनले लगाउने ज्याकेटको मूल्य ३५ हजार रुपैयाँ पर्दछ । अमेरिकाबाट ल्याएको काउबोेय ह्याट उनी लगाउँछन्, यस किसीमको टोपको मूल्य १० हजार रुपैयाँ पर्दछ ।

साइबेरियनको जातको हस्की कुकुर पालेका छन् । हस्की कुकुरको स्याहारमा मासिक एक लाख रुपैयाँ खर्च लाग्छ । हस्की कुकुरको निरन्तर निगरानी गर्न छुट्टै मान्छे खटाउनुपर्छ, बेलामौकामा भेटनरी सेवा लिनुपर्दछ, यो खर्च मासिक एक लाख रुपैयाँ बाहेकको खर्च हो ।

उनी नेक्सन गाडी प्रयोग गर्छन्, यो कारको मूल्य ५५ लाख रुपैयाँ बराबर छ । यसबाहेक उनको दुईवटा छुट्टै गाडी छ ।

देखाउने दाँत र खाने दाँत बीचको अन्तरबाट लिङ्देनको दुइजिब्रे व्यक्तित्व उदांगो हुनेमा शुभचिन्तकहरु चिन्तामा छन् । ‘आदर्श र आडम्बर बीचको खाडल फराकिलो बनेको छ, अध्यक्षलाई कसले कसरी संझाउने भन्नेमा हामीलाई चिन्ता छ,’ राप्रपाका एक पदाधिदारीले भने ।

नेकपा एसः घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी पदाधिकारीको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

आज १८ पदाधिकारीसहित पोलिटब्यूरो सदस्यका लागि निर्वाचन हुँदैछ ।

वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गरेका घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

गत असारमा एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न भएको थियो ।

सशस्त्रको ३० वर्षे अवधि हटाउन माग गर्दे परेको रिट सुवेदीको इजलासमा

काठमाडौं । सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ ।

यसभन्दा अघिका दुई वटा पेसीको सुनुवाइ सकिएपछि ३० वर्षे सेवा हटाउने बारेको पेसीको सुनुवाइ हुनेछ ।

गत आइतबार मात्रै सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न भन्दै अन्तरिम आदेश समेत माग गर्दै रिट दायर गरेका थिए ।

डिआइजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरू ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

मुकुल ढकाल रास्वपाबाट साधारण सदस्यसमेत नरहने गरि निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको हो ।

रास्वपाले यसअघि ढकाललाई साधारण सदस्यबाट किन नहटाउने रु भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । दुवैपटक जवाफ दिँदा ढकाल सभापति रवि लामिछानेमाथि खनिएका थिए । उनले अध्यक्ष लामिछानेमाथि नैतिकताको प्रश्न उठाउँदै उनमा नैतिक धरातल नरहेको र ‘ठग’ प्रमाणित गर्न आफूसँग प्रमाण रहेको बताएका थिए ।

यअसघि २५ असारमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जसमा रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

मुकुलबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुनेछ ।

यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।

महत्वपूर्ण चुनौतिको सामना गर्दै यी दुई महानिर्देशक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तरगतका दुई वटा महत्वपूर्ण विभागः राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुन् । हालै यी महत्वपूर्ण र चुनौतिपूर्ण विभागमा दुई महानिर्देशक नियुक्त भएका छन्ः चण्डीप्रसाद घिमिरे र सुमन दाहाल ।

सरकारले यो निर्णय गत शुक्रबार गरेको थियो । सरकारले पठाएका यी दुई सहसचिवलाई यहाँ काम गर्न भने त्यति सहज भने छैन । यी दुई विभाग निकैनै संवेदनशील र महत्वपूर्ण विभागका रुपमा हेरिन्छ ।

यी दुवै निकायमा परिणाम निकाल्न भने निकै जटिल अवस्था छ ।

सम्पत्तिमा दाहालका चुनौति

सरकारले सम्पत्ति शुद्धिकरणको महानिर्देशकको जिम्मेवारीमा दाहाललाई पठाएको छ । दाहाल निकै अनुभवी छन् । उनले भन्सार विभागको महानिर्देशक, अर्थमन्त्रालयको बजेट महाशाखा, प्रशासन महाशाखा, कोशी प्रदेश अर्थ सचिव, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आफ्नो अनुभवलाई तिखारेका छन् ।
तर, उनले विभागमा रहिरहदा परिणाम निकाल्न भने निकै मिहेनत गर्नुपर्ने हुन्छ । यस निकायमा विचौलियाहरुले प्रलोभन देखाउने । शासकीय व्यवस्थालाई नै निष्प्रभावी पार्न सक्ने भएकाले त्यस्ता तत्वलाई पहिचान गर्दै कानूनी कठघरामा ल्याउन दाहाललाई चुनौति छ । तत्कालिन महानिर्देशक कमलप्रशाद भट्टराईले सम्पति शुद्धीकरणविरुद्धको मुद्दा दर्तामा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

भट्टराईले ५० अर्ब १५ करोड बिगो कायम गर्दै शिवशंकर सहकारी, इमेज सहकारीलगायत ७ निकाय तथा व्यक्तिहरूविरुद्ध मुद्दा अभियोजन गर्ने कार्य अन्तिम चरणमा पुर्याएका छन् । अब, यो जिम्मेवारी दाहालको काँधमा आएको छ । विभागले आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्धका ११ वटामात्रै मुद्दा दायर गर्दै १ अर्ब ७० करोडको बिगो माग दाबी गरेको थियो ।

सम्पत्ति शुद्धीकरणका विषयमा दाहालका भागमा विगतमा भन्दा धेरै मुद्दा दर्ता गर्ने त्यस्ता मुद्दामा सक्रियतापूर्वक लाग्नु पर्ने जिम्मेवारी दाहाललाई आइपरेको छ । त्यस्तै यस अघिका मुद्दाहरु पनि टुङ्गो लगाउनु पर्नेमा उनको चुनौति थपिएका छन् ।

नेपाल हाल सम्पत्ति शुद्धीकरणमा जोखियमयुक्त ग्रे लिस्टमा रहेको छ । अतः नयाँ महानिर्देशक दाहालमाथि नेपालाई अन्तर्राष्ट्रिय रूपमा नै वित्तीय सुशासन कायम गर्ने मुलुकका रूपमा स्थापित गर्ने र ग्रे लिस्टबाट मुक्त गराउनुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको छ ।

नेपालमा बढी सम्पत्ति शुद्धीकरण उच्च जोखिमका अपराधअन्तर्गत भ्रष्टाचार तथा घुस खाने, कर छली गर्ने, बैंकिङ कसुर गर्ने, हुण्डी कारोबारीबाट हुने गरेको विज्ञहरु बताउछन् ।
त्यस्तै गरी भूमाफिया, वन्यजन्तु तस्करी, वन माफिया, विदेशी विनिमय अपचलन, ठगी तथा संगठित अपराध, हातहतियार, अपहरण तथा शरीर बन्धकजस्ता अपराधपूर्ण कार्य गरी सम्पत्ति शुद्धीकरण गर्ने प्रवृत्ति बढेकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने दायित्व दाहाल दाहालमा आइपरेको छ ।
यी सबै जिम्मेवारीलाई सम्पादन गर्दै आफुलाई कसरी सफल महानिर्देशमो हैसियत बनाउछन् यो भने समयले बताउने छ ।

राजश्वमा घिमिरेका चुनौति

राजश्वमा निकै खारिएका महानिर्देशक हुन् चण्डीप्रसाद घिमिर । उनी राजश्व समूहका क्याडरसमेत हुन् ।

देशमा राजश्व छलीको अवस्था भने भयाभय नै छ । जसले जे भने पनि हरेक क्षेत्रमा राजश्व छली हुने गरेका धेरै तथ्य र तथ्याङ्कहरु पनि भेटिन्छन् ।

हरेक वर्ष झण्डै ६ खर्ब राजश्व छलि हुने गरेको बताइन्छ । यस्तो अवस्थामा राजस्व छली गर्नेहरूलाई कानुनी दायरामा ल्याएर निरुत्साहित गर्न राजस्व अनुसन्धान विभागका महानिर्देशकसहितको टिमको विशेष भूमिका र जिम्मेवारी रहन्छ ।

नियमनकारी निकायले प्रभावकारी ढंगबाट अनुसन्धान नगरेको खण्डमा राजस्व छली धेरै नै बढ्ने गरेका छन् । अब, घिमिरेले भने आफुलाई अब्बल सावित गर्न निकै कडा परिश्रम गर्न जरुरी छ ।

उनले अब आफ्नो कार्यकालमा राजश्व छली गर्नेको पहिचान गरी कानुनी कठघरामा उभ्याउनु पर्ने चुनौति त छदैछ । राजस्वको दर पनि वृद्धि गर्नुपर्ने जिम्मेवारी उनको काँछमा छ । घिमिरे राजस्वकै क्याडर भएकाले काम गर्न धेरै सहज छ ।

मुलुकमा ठूलो परिमाणमा राजस्व छली भए पनि राजस्व अनुसन्धान विभागले आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ४३ करोड ६५ लाख सजाय माग दाबी गर्दै विभिन्न १ सय ९ वटा मुद्दा दायर गरी २ सय ३२ जनालाई कानुनी दायरामा ल्याएको थियो ।
घिमिरेमाथि भने आगामी दिनमा योभन्दा दोब्बर परिणाम निकाल्ने गरी काम गर्नुपर्ने चुनौती छ । यसअघिका महानिर्देशक चक्रबहादुर बुढाले राजस्व छली सम्बन्धमा १ हजार ४ सय उजुरीहरूमाथि विस्तृत अनुसन्धान थालिएको बताएका थिए । बुढाले सुरु गरेका अनुसन्धानलाई टुंगोमा पु¥याएर बिगोका रूपमा अर्बौं राजस्व असुलउपर गराउनुपर्ने जिम्मेवारी घिमिरे समक्ष आइपुगेको छ ।

राजस्व छलीबारे अनुसन्धान गर्न विभागमा १० वटा टोली र बुटवल, पथलैया, इटहरी र कोहलपुर कार्यालयमा ४ वटा टोली गरी १४ वटा टोली परिचालन हुँदै आएको छ । ती अनुसन्धान टोलीलाई सशक्त बनाएर राजस्व छली गर्नेहरूमाथि कठोर अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी हाल घिमिरेको काँधमा आएको छ ।

घिमिरेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका अन्य नियमनकारी निकायसँग समेत असल सम्बन्ध बढाएर थप परिणाम आउनेगरि काम गर्नु पर्ने देखिन्छ ।

राजस्व छली गर्ने विशेष गरेर उद्योगी, व्यापारीहरु नै हुन् । छानबिनमा त्यस्ता व्यापारीले विभिन्न किसिमका प्रलोभन देखाउन सक्ने भएकाले त्यस्ता कुनै प्रलोभनमा नपरी देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने दायित्व महानिर्देशक घिमिरेमाथि छ । राजस्व छली गर्ने त्यस्ता व्यक्तिलाई कठघरामा उभ्याएर कानुनी दायरामा ल्याउनु उनको पहिलो दायित्व हो ।

घिमिरेको कार्यकाल कस्तो रहन्छ र कसरी कार्यसम्पादन गर्छन् भन्ने विषय समयले देखाउला । उनले चुनौतिको सामना गर्दे इमानदारीताका साथ अघि बढे पकै पनि सहफलता हात पार्छन र देशलाई महत्वपूर्ण योगदान दिनेछन् ।

आज संघीय संसदका विभिन्न चार वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभावरअसर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

सबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलरको विदेशी विनिमय दर बढ्दा कतारी रियालको खरिद दर स्थिर छ भने बिक्री दर बढेको छ । आज यूरो र अमेरिकी डलरको विनिमय दर भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेकपा एसको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) ले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ ।

आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।

आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका रहेको छ ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो ।

मौसमः देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजको राशिफल (भदौ ११ गते मंगलबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

वृश्चिक (तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमः यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द )
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।मंगल ग्रहको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

टुंडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध आज टुंडिखेलमा नाराबाजी भएको छ । सुदुरपश्चिमेलीहरुले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजना भएको कार्यक्रममा सहभागी हुन गएको ओलीविरुद्ध नाराबाजी भएको हो ।

ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रधानमन्त्री ओली टुंडिखेल पुगेका थिए । प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’

नाराबाजी भएपछि ओली छोटो मन्तव्य राखेर फर्किएका थिए ।

फिदिममा विपद सहायता सामग्रीको खुला कक्ष स्थापना

फिदिम । पाँचथरमा फिदिममा विपद प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुला कक्ष स्थापना भएको छ ।

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी आइतवार सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चौक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरु राखिएको खुला कक्ष स्थापना भएको हो । उक्त खुला कक्षमा आगलागी, बाढी पहिरो जस्ता दैवी विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् ।

उक्त विपद सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले सामग्री राखेर उद्घाटन गरे । खुला कक्ष स्थापना कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले फिदिमका सार्वजनिक स्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपदमा उद्धारका सामग्री सहज रुपमा समयमै सबैले प्राप्त गर्न सक्ने बताए । “यी सामग्रीको ब्यवस्थापनले दैवी विपत्तिबाट हुने क्षतिलाई कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौं”, नगर प्रमुख काफ्लेले भन्नुभयो, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा छ ।”

खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात सोही स्थानमा ल्याई राख्ने प्रवन्ध गरिएको उनले बताए । खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रुपमा लिने आशा गरिएको उहाँले वताउनुभयो । नगरपालिकाले आगामी दिनमा यसरी नै अन्य स्थानमा पनि विपत प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगर प्रमुख काफ्लेको भनाइ छ । सो खुला कक्षमा फायर एक्सटिङग्युसर, बाल्टी, बेल्चा, झम्पल, गैती, खुर्पा, फायरबल लगायत सामग्री राखिएका छन् ।

सोही कार्यक्रममा नेपाली सेनाको फिदिम स्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमूना अभ्यासको पनि प्रदर्शनी गरेको थियो ।