नेकपा एसको पदाधिकारीका लागि भोलि २ बजेबाट मतदान हुने, निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा( एकीकृत समाजवादी)ले पदाधिकारी चयनका लागि समहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन गर्ने भएको छ ।

निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्दै भोलि २ बजेबाट मतदान हुने जनाएको हो । १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् ।

त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।

हैटौंडाको एक होटलमा युवती मृत फेला

काठमाडौं । हेटौडाको एक होटलमा युवती मृत फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कमा रहेको रत्ना होटलमा युवती मृत फेला परेकी हुन् ।

होटलमा हेटौंडा– ११ थानाभर्‍याङकी २२ वर्षीय एलिशा न्यौपाने मृत भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका ७ बजे पहिचान नखुलेका पुरुषसँग होटल प्रवेश गरेकी युवती आइतबार दिउँसोसम्म ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले घटनास्थल पुगेर हेर्दा सिरकले मुख छोपेको अवस्थामा युवतीलाई मृत फेला पारेको थियो । खाटको वरपर रगतको टाटा देखिएको प्रहरीको भनाइ छ । ती महिलासँग आएको पुरुष भने शनिबार राति ९ बजे नै होटलबाट निस्किएको र फरार भएको प्रहरीको भनाइ छ ।

फरार पुरुषको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

पाकिस्तानकोमा बन्धुकारीले गरे २२ जनाको गोली हानी हत्या

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ ।

सरकारी अधिकारीहरूका अनुसार सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।

पन्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको हो ।

सञ्चार माध्यमका अनुसार १९ जना पन्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।

३० वर्षे सेवा अवधि पुगेका प्रहरीलाई अवकास नदिन देशभरका युनिटलाई पत्राचार

काठमाडौं । ३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नदिन नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ ।

सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन) मा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले आइतबार (भदौ ९) को मितिमा उक्त पत्राचार गरेको हो । आइतबार नै सरकारले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने भनेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठ सहितका २२ रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले भदौ ६ गते ३० वर्षे सेवा अवधिका आधार तत्काल कसैको अवकाश नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

३० वर्षे आधारमा अवकाशबाट रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।

अपराधकर्मलाई छुट दिन सरकारले भन्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट पारेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए ।

अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गर्नुभयो । “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, दिर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाउ भन्नने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि ।’’, प्रधानमन्त्री ओलीले भने, “ यो सरकार केवल एक सरकारको ठाउँमा अर्को सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’’

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरु कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’’

वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो । नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठुुलो उपलब्धि मानिएको छ । रु एक अर्ब २६ करोडको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।

गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठुला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौँ भन्ने आत्मबलवृद्धि भएको बताए । उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताउनुुभयो । कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी थिए ।

काठमाडौंमा पुरुषको हत्या

काठमाडौं । काठमाडौंको शंखमूलस्थित बुद्धनगरमा एक पुरुषको हत्या भएको छ । शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक ४० वर्षीय रूपक वान्तवाको हत्या भएको प्रहरीले जनाएको छ ।

वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको थियो । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन ।

घटनामा संलग्न केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आजको राशिफल (२०८१ भदौ १० सोमबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि समय शुभ रहेको छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु स्खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर हिजोकै कारोबार मूल्यमा यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा थियो।

त्यसैगरी लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा थियो। आजको लागि कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा थियो।

मौसमः थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ। ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।

आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदैछ ।

भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ।

यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिकअनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो।

बेलुकीदेखि व्रत बसेका विवाहित महिला गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन् ।

भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको पाँच प्रकारका गेडागेडी अर्थात् पञ्चबिरुडाले गौरा महेश्वर अर्थात् शिवपार्वतीको पूजा गर्ने परम्परा छ । पूजा सकिसकेपछि आशीर्वादसहित सबैलाई प्रसाद बाँड्ने चलन छ ।

गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ । व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन छ ।

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर मनाईँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन् ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठुलो मेला लाग्दछ ।

डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र नभएर २२ अर्ब उठाइनु पर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्ने बताएका हुन् ।

उनले लेखेका छन् – ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ !
केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।

चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु, एक घाइते

फिदिम । पाँचथरमा चट्याङले लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ ।

जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं.२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कने क्रममा सोही गाउँपालिकाको वडा नं. ३ शहीद पार्क छेउ पुग्दा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतकसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना चट्याङको झड्काले लागेर घाइते भएका छन् ।

बेहोस् भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका–३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिए ।
घटनाको कानूनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

समयमै चुनावी तयारी गर्ने रणनीति बनाउदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘समयमै चुनावी तयारी’ गर्ने रणनीति अख्तियार गरेको छ । राप्रपा संगठन विभागले स्थानीय चुनावमा अर्जुनदृष्टि लगाएर आधार तहमै पुगेर संगठन विस्तार गर्ने रणनीतिक कार्यक्रम जारी राखेको छ ।

‘समय छँदै चुनावी तयारी’ भन्ने नारासहित संगठन विभाग क्रियाशील भएको राप्रपाले जनाएको छ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ वटा रित्त पदका लागि हुने उपनिर्वाचनलाई समेत संगठन विभागले प्राथमिकतामा राखेको छ ।

‘आसन्न उपनिर्वाचनमा पार्टीभित्रको ज्ञान र उर्जालाई उपयोग गर्नुपर्दछ भन्ने निष्कर्षसाथ रणनीतिक रुपमा हामी अघि बढीरहेका छौं, आधार तहको संगठन मजबुत बनाउन हामी क्रियाशील छौं,’ महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले आइतबार भने ।

स्थानीय निर्वाचनमात्र होइन त्यसपछिका संसदीय चुनावी सफलताका लागि पनि समय छँदै तयारी भन्ने गुरुमन्त्रमा राप्रपाले जोड दिनेछ ।

‘स्थानीय तहको संगठन राजनीतिक दलको मेरुदण्ड हो,’ राणाले भने । ‘जनताको सबैभन्दा नजिक रहने आधार तहको संगठन जति सबल, सजग, आत्मनिर्भर र प्रभावकारी रहन्छ, त्यही रुपमा जनताको समर्थन प्राप्त हुन्छ । यस अर्थमा जनसमर्थन अभिवृद्धी गर्दै राप्रपाले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न, नवीन समझदारी कायम गर्न स्थानीय संगठनको महत्व र भूमिका कम आंकलन गर्न सकिन्न ।’

संगठन विभागको कार्ययोजनाअनुुुरुप, भदौभित्र काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ । त्यसपछि असोज र कार्तिक महिनामा स्थानीय तहको सक्रिय सहभागितामा सातैवटा प्रदेशमा संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ ।

यस सम्बन्धमा संगठन विभागले पार्टीका प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, निर्वाचन क्षेत्र प्रदेश अध्यक्ष, महानगरपालिका / उपमहानगरपालिका / नगरपालिका/गाउँपालिका अध्यक्ष सबैलाई पत्राचार गरीसकेको छ ।