झलनाथ खनाल भन्छन्– ‘कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टी’

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टीभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरेका छन् ।

नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको उनको जिकिर थियो । नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे ।

खनालको भनाइ –
दुईवटा पार्टीको सरकार बनेको छ । यी दुई घमन्डी पार्टीहरू हुन् । भ्रष्ट पार्टीहरू हुन् । र, अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को, घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दै छ भन्दा दुई पार्टी सिस्टम बनाउने । जुन कुरो मलाई लाग्छ, यो सूर्यमुनि असम्भव छ । कम से कम नेपालमा चाहिँ असम्भव छ । यो उनीहरूको ख्याली पुलाउबाहेक अरू केही होइन र हुनेवाला पनि छैन । अब यो देशमा मल्टी पार्टी सिस्टम स्थापना भएको छ । यो पुँजीवादी मल्टी पार्टी सिस्टम हो । पुँजीवादमा मल्टी पार्टी सिस्टम त्यसको अन्तिम अवस्थासम्म रहन्छ । यो मल्टी पार्टी सिस्टमलाई यही प्रक्रियाअन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस्, एउटैले दुईतिहाइ लिएर आए पनि सम्भव छैन । हामीसँग थियो नि हिजो दुईतिहाइ बहुमत, हामी पनि सक्दैनौँ । अब उनीहरूले त्यो कल्पना मात्रै हो । अहिले उनीहरू संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरूले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् न फुलस्टप चेन्ज गर्न सक्छन् । हाम्रो सहयोगबिना केही पनि गर्न सक्दैनन् । उनीहरूले जतिसुकै नचाहे पनि हाम्रो सहयोगबिना उनीहरूले गर्न सक्ने अवस्था देखिँदैन । 

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ ।

पछिल्ला दिनहरुमा उछाल आइरहेको सेयर बजारमा आज ७९ दशमलव ८८ अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।

नेप्सेमा २ दशमलव ६८ प्रतिशतले गिरावट आउँदा बजार परिसूचक २ हजार ८ सय ९४ दशमलव ५७ बिन्दुमा झरेको छ ।

त्यस्तै आज कुल ४२ करोड, ६८ लाख ६ हजार ६ सय ४० कित्ता शेयर १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय मा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज लघुवित्त समूहका लगानीकर्ताहरुले धेरै आर्जन गर्न सफल भएका छन् ।

आज कारोबारमा आएकामध्ये विन लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त, थ्री स्टार हाइड्रोपावर लगायतका शेयर लगानीकर्ताहरुले धेरै कमाएका छन् । भने मन्दाकिनी हाइड्रोपावर, कुथेली साना जलविद्युत कम्पनी लगायतका लगानीकर्ताहरुले उच्च रकम गुमाएका छन् ।

सरकारको निर्णय उल्टाउदै सर्वोच्चको आदेश: राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नु

काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारले साउनदेखि राष्ट्रिय परिचयत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रावलले १८ असारमा दायर गरेको रिट निवेदन उपर सर्वोच्चका न्यायधीशद्धय मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको इजलाशबाट सुनुवाई गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न भनिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको थियो । सरकारले पहिलो चरणमा साउन १ गतेदेखि लागू हुने गरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

सुनको मुल्य बढ्यो, कति छ भाउ ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भैइरहेको छ ।

रामेछापमा पहिरोले चारवटा घर बगायोः ६ जनाको मृत्यु, ४ जना वेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष रहेको प्रहरीले जनाको छ । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।

यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।

भेटिएका थप ४ वटा शव उनीहरूमध्येकै हुनसक्ने अनुमान प्रहरीको छ ।

पहिरोले ४ वटा घर बगाएको थियो । यस्तै एउटा पक्की पुल पनि बगाएको छ ।

लुम्बिनी प्रदेशको वन मन्त्रालयले गर्यो ठुलो संख्यामा कर्मचारीको सरुवा

काठमाडौं । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतका एकैपटक १२४ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले अधिकृत स्तर आठौं तहसम्मका सो संख्यामा कर्मचारी सरुवा गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ ।

प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले कर्मचारीको सरुवा गरेको बताएका छन् ।

दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सबै कर्मचारीको सरुवा गरिएको हो ।

एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको मन्त्री कुर्मीले बताएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ । मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ ।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए । उनका अनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म चलेको १० औँ महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो। बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

वडा अध्यक्ष मृत फेला

महोत्तरी । महोत्तरीको रामगोलापुर नगरपालिका २ वडा अध्यक्ष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो। उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मोबाइल चार्जमा हालेर चलाउँदा बालकको करेन्ट लागेर मृत्यु

पाँचथर । मोवाइल चार्जमा हालेर चलाउदा पाँचथरमा नुवाकोटमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारमा डेरामा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–६ स्थायी घर भएका बद्री कुमार पाण्डेका छोरा अन्दाजी बर्ष १५ का युवराज पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पल्लोटारको जोरपिपल स्थित रंगलाल शिवाको घरमा कोठा भाडा लिई बस्दै आएका पाण्डेले मल्टीप्लगमा मोबाईल चार्जमा हालेर चलाउदै गरेको अवस्थामा करेन्ट लागि मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको हो । का

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिवार वेलुकी साझ करिव ६ः३० को समयमा सो घटना भएको हो ।

शवको सम्पूर्ण कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दै छ । संसद् भवन बानेश्वरमा अपराह्न १ः१५ बजे बैठक सुरु कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको कार्यसूचीमा उल्लेख छ ।

मौसमः कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

काठमाडौं । आज देशका सबै भागमा आंशिकदेखि साधरणतया बदली रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटनामा १० जना घाइते

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले हिमाल प्रेसलाई जानकारी दिए।

आजको राशिफल (२०८१ भाद्र ९ गते आईतबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिश्रित फलदाता दिन छ। विपरित लिङ्गका मित्रहरुसँग सहकार्य गरि काम गरेको राम्रो। शत्रुबाट जोगिएर चल्नुहोला। गाडी बाहन निजि साधनबाट चोटपटकको सम्भावना रहन्छ। प्रसासनिक काममा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
व्यस्तताका बाबजुद दिन बित्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछ्न। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सन्तान र परिवारको लागि खर्च गर्नुपर्ने हुनसक्छ ।भाग्यले राम्रै साथ दिएको अवस्था हो ।सारा कार्यहरु दिनको उत्तरार्धमा फलिभुत हुनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिन राम्रै छ। भुमी तथा वाहन सम्बन्धी लाभ मिल्नेछ।यात्राकारक दिन रहेको छ। विशिष्ट पाहुनाहरुको आगमन हुनसक्छ। मिष्टान्न भोजनको योग परेको छ।अनावश्यक खर्चबाट बचेर चल्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भाग्यले साथ दिए पनि मन चन्चल हुनाले काम बिग्रन सक्छ।लग्नेष मंगल ग्रहको प्रभावले स्थानान्तरण गराउन सक्छ।आफन्त दाजुभाइ दिदीबहिनीबाट आर्थिक लाभ मिल्नेछ। मजदुर तथा कृषक वर्गको भलाइमा राजकिय कार्य सम्पादन हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन आय आर्जनको दिन रहेको छ ।व्यपार व्यवसाय फस्टाउने, राजकीय पदवी , मानसम्मान मिल्ने,लगानिका नयाँ क्षेत्रहरू मिल्ने अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मिश्रित खालको दिन रहेको छ। सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको काममा सफलता मिल्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आर्थिक हिसाबले निक्कै राम्रो दिन रहेको छ। भाग्य बलियो भएकोले जग्गा जमिन र बैंकिङ क्षेत्रका कामहरु बन्लान।प्रसासनिक काममा सुर्यको प्रभावले सफलता मिल्नेछ। लग्नेश गुरुको कारण कामको मुल्यांकन हुने तथा स्यावासी मिल्ने देखिन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

सुनकोशी नदीमा निजी जिप खस्यो, तीन जना वेपत्ता

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ ।

कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो ।

दुर्घटना भएको खबर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन वेश खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोर सहित १० जनाको टोली खटिएको छ । उक्त गाडीमा ४ जना सवार मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाईते भएका छ्न् । अहिले गोताखोरले खोजी सुरु गरेको छ ।

झापामा १६ वर्षिया बालिकाको सामूहिक बलात्कार, चार जना पक्राउ

झापा । झापामा एक १६ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । गएराति गएराति अर्जुनधारा–५ की ती बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।

युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनीश लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो ।

घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ । पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्‍न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए ।

त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए । त्यहाँ उनका अरू दुईजना साथीहरू पनि थिए।

उनीहरू चार जनाले नै रातभर युवतीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजवंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पुर्‍याएका थिए ।

उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको हो ।