तनहुँ बस दुर्घटनाः मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट मुम्बई लगियो

काठमाडौं । तनहुँमा बस दुर्घटनामा परेर मृत्यु भएका भारतीय नागरिकलाई एयर फोर्सको जहाज मार्फत मुम्बई लगिएको छ ।

आज चितवनस्थित भरतपुर विमानस्थलबाट २५ जनाको शव लिएर भारतीय एयरफोर्सको जहाज उडेको हो ।

एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् । दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् ।

नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउँन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरु जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुहोला, हामीलाई रोक्न कसैले सक्दैन ।’

उनले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भर पर्न आग्रह गरेका छन् ।

फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने बताउँदै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूूल वातावरण भए विदेशमा रहेका नेपाली युवाहरु पनि स्वदेश फर्कने प्रधानमन्त्री ओलीको विश्वास छ ।

युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराए ।

रवि लामिछानेलाई संसदीय छानविन समितिले सोध्यो ९ घण्टा लगाएर ४४ प्रश्न

काठमाडौं । सहकारी बचत रकम हिनामिना छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग ९ घण्टा बयान लिएको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग विशेष समितिले शुक्रबार दिउँसो साढे ३ बजेदेखि राति १ बजेसम्म बयान लिएको हो।

समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सूर्य थापाले जानकारी दिए ।

रविलाई सोधिका ४४ प्रश्न यस्ता छन् :

१. आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्यहरू को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

२. तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

३. तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

४. ऐच्छिक (उत्तरमा आधारित) : तपाईले सहकारी संस्थामा आबद्ध छैन भन्नुभयो, तर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको मेम्बर आईडी नं. ००१–०८७१५६ र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको मेम्बर आईडी नं. ००१–०५८५०६ मा तपाईंको नामसहितको केवाईएम (नो योअर मेम्बर) रहेको देखिन्छ । के हो ? खुलाइदिनुहोस् ।

५. पछिल्लो पाँच वर्षयताको तपाईंका पेसा वा व्यवसाय के हुन् ? खुलाइदिनुहोस् ।
६. तपाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन मितिदेखि के कुन मितिसम्म के कुन भूमिका र जिम्मेवारीमा रहनुभएको थियो ? खुलाइदिनुहोस् ।
७. ०७७÷१२÷२५ देखि २०७९÷३÷१ सम्म तपाईं प्रबन्ध निर्देशक हुँदा कार्यालयको के कुन प्रशासनिक काममा संलग्न रहने गर्नुभएको थियो ? खुलाइदिनुहोस् ।
८. गोर्खा मिडिया नेटवर्क प्रालिका के कुन व्यवसाय रहेका छन् ? उक्त प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके हाल चलिरहेको छ, छैन? खुलाइदिनुहोस् ।
९. गीतेन्द्रबाबु राईसँग तपाईंको के कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के कसरी प्रवेश गर्नुभयो ? खुलाइदिनुहोस् ।
१०. सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइँदैन ? तपाईंलाई के थाहा छ ? खुलाइदिनुहोस् ।

११. सहकारी समस्यामा परेपछि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७-१२-१८ मा तपाईंका नाममा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो के हो? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?

१२. तपाईंले मिति २०७७-१२-१८ मै गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता सेयर लिएको देखिन्छ । उक्त रकम सोही प्रयोजनका लागि लिनुभएको त होइन ?

१३. तपाईंले गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७÷१२÷१८ मा रु. १ करोड ८० लाखको सेयर लगानी गर्नुभएको देखिन्छ । उक्त सेयर रकम कम्पनीलाई कसरी के कुन माध्यमबाट के कुन स्वरूपमा चुक्ता गर्नु भएको थियो ?

१४. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७८-०३-२२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम तपाईंको नाममा रहेको ऋण शीर्षक १०५–२२४ मा ७,००,०००।– र, अन्य पुराना ऋणहरू कुमार रम्तेल १०५–५० मा ५९,९३,४२०।–, छविलाल जोशी १०५–२११ मा १५,८०,०००।– जम्मा गरी उक्त ऋणहरू फर्स्योट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो ? तपाईंको नामको ऋण कुमार रम्तेलको नाममा लिइएको कर्जाको अंशबाट कसरी फर्स्योट हुन गएको हो ? खुलाइदिनुहोस् ।

१५. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७-०६-११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८-०१-०५ मा १ करोड, २०७८-०१-०९ मा ३० लाख र मिति २०७८-०३-०४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१६. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७-१०-२९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१७. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा विपिनकुमार आचार्यका नाममा मिति २०७८-०९-१२ मा १ करोड ५६ लाख १५ हजारको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मितिमा १ करोड ५० लाख रकम जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१८. भूपेन्द्रबाबु राईको नाममा २०७७-०६-११, २०७८-०१-०५ र २०७८-०३-०४ मा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा पठाइएको ३ करोड ३० लाख २०७८-०३-३१ मा फर्स्योट देखाई सोही रकमको नयाँ ऋण खडा गरी पुनः मिति २०७८-०६-१३ मा ५० लाख र २०७९-०२-०४ मा ३० लाख गरी जम्मा ८० लाख पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लिएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१९. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा पुष्पराज गिरीको नाममा पेस्की जनाई मिति २०७८-०६-२४ मा २५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ। उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो? निज पुष्पराज गिरीको व्यक्तिगत विवरण के हो ? खुलाइदिनुहोस् ।

२०. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७७-०६-११ मा १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा मिति २०७८-०१-०५ मा १ करोड र मिति २०७८-०१-०९ मा ३० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२१. सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७-१२-३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु.९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ। उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२२. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७-१२-३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु. ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ। उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२३. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८-०७-०५ मा शेरबहादुर ठकुल्लाको नाममा कर्जा नं. ११६–४५७७ मा रु. ५० लाख कर्जा देखाई निजकै बचत खाता नं. ४९–०१०५९ मा जम्मा गरी उक्त रकम मेगा बैंकको चेक नं. २९२९०९४६ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा भुक्तानी प्राप्त भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२४. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८-०९-०६ मा विपिनकुमार आचार्यको कर्जा खाता नं. ११६–४६१६ मा रु. १ करोड कर्जा देखाई बचत खाता नं. ४९–०१२५० मा जम्मा गरिएको र उक्त कर्जाको सेवा शुल्क एवं अन्य शुल्कहरू गीतेन्द्रबाबु राईको बचत खाता नं. ३१–१४४५३ बाट रकमान्तर गरी कट्टा गरिएको कम्प्युटर लेखा प्रणालीबाट देखिन्छ । उक्त बचत खाता नं. ४९–०१२५० बाट रु. १ करोड सहकारीकै गोर्खा फाइनान्सको चेक नं. १०००८५१५२८ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिलाई भुक्तानी भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज विपिनकुमार आचार्य को कुन व्यक्ति हुन ? निजले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम तिर्नुपर्ने दायित्व वा कुनै कारोबार छ ?

२५. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८-०२-०३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८-०३-०९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२६. उपरोक्त पेस्की रकम मिति २०७८-०३-३१ मा तपाईंको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको देखिन्छ। तपाईं सहकारीको सेयर सदस्य नै नभएको व्यक्तिले उक्त कर्जा कसरी लिनुभयो ? उक्त कर्जाका लागि के कुन धितो दिनुभएको थियो ?

२७. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा तपाईंको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु. १ करोड ३० लाख ८९ हजार मिति २०८०-०३-१३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको देखिन्छ । तपाईंको व्यक्तिगत कर्जा चुक्ता नगरी तपाईंले मिति २०७९-०३-०२ मै छाडिसकेको गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ऋण कायम के कुन आधारमा गराउनुभएको हो ? खुलाइदिनुहोस् ।

२८. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको रु.२ करोड पेस्की रकम मिति २०७८-०३-३१ मा फर्स्योट भई सोही दिन तपाईं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण लेखांकन भएको देखिन्छ । साझेदारी कम्पनीको ऋण एक जना मात्र सञ्चालकको नाममा किन कायम गर्नु-गराउनुभएको हो ? खुलाइदिनुहोस् । 

२९. मिति २०७९-०३-०२ मा गोर्खा मिडिया नेटवर्क प्रालिमा रहेको तपाईंको नामको १,८०,००० कित्ता सेयर गीतेन्द्रबाबु राईलाई बिक्री गर्दा प्रतिसेयर मूल्य कति निर्धारण गरेर बिक्री गर्नुभयो? उक्त रकम के कुन माध्यमबाट प्राप्त गर्नुभयो ? खुलाइदिनुहोस् ।
३०. नोबडी प्रोडक्सन प्रालि के कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के कुन प्रकारको कारोबार रहेको थियो? उक्त कम्पनीलाई आर्थिक वर्ष ०७७/७८ मा संस्थाले आम्दानी हुने गरी कुनै काम सुरु नगरेकै अवस्थामा रु. ५ करोड ३५ लाख बराबरको पेस्की किन दिइएको हो ?

३१. गोपीकृष्ण मुभी प्रालि के कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा २५ लाख पेस्की किन दिइएको हो ?

३२. आर्थिक वर्ष ७७/७८ मा ग्रिन टी डेभलपमेन्टलाई ४५ लाख र आर्थिक वर्ष ७८/७९ मा १० लाख थप गरी रु. ५५ लाख रकम र लक्ष्मीप्रसाद पौडेललाई पेस्की रु. ४९ लाख ९९ हजार के कुन प्रयोजनका लागि दिइएको हो ? खुलाइदिनुहोस् ।

३३. शम्भु गुरागाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा कहिलेदेखि कहिलेसम्म कार्यरत हुनुहुन्थ्यो ? कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ दिइएको रु. ८१ लाख ३ हजार आर्थिक वर्ष २०७८/०७९ मा समेत कायमै देखिन्छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु, नगराउनु भएको हो ?

३४. गोर्खा मिडिया नेटवर्क प्रालिबाट आर्थिक वर्ष २०७७/०७८ ब्याजबापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ । उक्त रकम कसलाई र कुन ऋणबापत दिनुभएको हो ?

३५. विदेशी कम्पनी उल्लेख गरिएको लाओ एसिया प्यासिफिक स्याटलाइट को–लिमिटेडबाट १४ जुन २०२२ मा गोर्खा मिडिया नेटवर्क प्रालिले रु. ५५ लाख १७ हजार ७ सय २३ ऋण लिएको देखिन्छ । उक्त ऋण के कुन प्रयोजनका लागि लिनुभएको हो ? उक्त ऋण कानुनसम्मत छ त ?

३६. यहाँ प्रबन्ध निर्देशक रहेकै समयमा चुक्ता पुँजी १२ करोड रहेको कम्पनी १६ करोडको नोक्सानमा रहेको देखिन्छ। उक्त समयको मुख्य खर्च निकासा हेर्दा तपाईं, गीतेन्द्रबाबु राई, शम्भु गुरागाईं र विपिनकुमार आचार्यको तलबलगायत देखिन्छ। त्यस अतिरिक्त विपिनकुमार आचार्य सञ्चालक रहेको कम्पनीमा अत्यधिक सञ्चालन खर्च निकासा हुने गरेको देखिन्छ । कम्पनी नोक्सानमा रहँदारहँदै संस्थाबाट भएको खर्चको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

३७. ३१ मार्च २०२१ देखि १५ जुन २०२२ सम्म तपाईं प्रबन्ध निर्देशक रहेको अवधिमा सहकारीहरूले गोर्खा मिडिया नेटवर्क प्रालिलाई दिएको ऋण रकम र गोर्खा मिडियामा दाखिला भएको ऋणको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

३८. गोर्खा मिडिया नेटवर्क प्रालिबाट कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख ४५ हजार र आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख रकम पेस्की लिनुभएको देखिन्छ । उक्त रकम के कुन प्रयोजनका लागि लिनुभएको थियो ? आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु भएको हो ?

३९. तपाईंले गोर्खा मिडिया प्रालिको सेयर खरिद गरी सञ्चालक एवं प्रबन्ध निर्देशक बन्दाका बखत कम्तीमा पाँच वर्षका लागि साथै रहने र संस्था चलाउने प्रतिबद्धता जनाउनुभएको थियो। तर आठ महिनामै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका कारण गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजन संकटमा परेको हो, यसको जिम्मेवारी निज रवि लामिछानेको हो भन्ने समेतको बेहोरा उक्त कम्पनीका हालका सञ्चालकहरूले यस समितिमा अभिलेखबद्ध गराउनुभएको छ ? यसमा तपाईंको भनाइ के छ ? हालको खासगरी गीतेन्द्रबाबु राई समूहद्वारा सञ्चालित सहकारीहरूमा आजको संकट देखिनुमा र त्यस संकटको समाधानमा तपाईंको जिम्मेवारी के हुन्छ? खुलाइदिनुहोस् ।

४०. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यता समेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाउनुभएको देखिन्छ। तपाईंको नाममा कर्जा खडा भई गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम गएको देखिन्छ । गोर्खा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन। तपाईंले अस्वीकार गर्न मिल्छ ?

४१. गोर्खा मिडिया नेटवर्क प्रालिको लेखा परीक्षण प्रतिवेदनमा ‘अनसेक्योर्ड लोन’ भनी उल्लेख गरिएको छ । सो भनेको के हो ?

४२. तपाईं माननीय उपप्रधानमन्त्री र गृहमन्त्री पदमा रहेको समयमा प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा सहकारीको बचत रकम अपचलनका अभियुक्त गीतेन्द्रबाबु राई रहेको स्थानको नजिकसम्मको सूचना सरकारले प्राप्त गरिसकेको र मलेसिया सरकारका समकक्षीसँग संवादसमेत गरेको भनी जानकारी गराउनुभएको थियो। तर निज पक्राउ पर्न सक्नुभएन, किन ? तत्सम्बन्धमा तपाईंलाई प्राप्त भएको सूचना र सरकारी प्रयासका सम्बन्धमा खुलाउन मिल्ने कुरा खुलाइदिनुहोस् ।

४३. विद्यमान अवस्थामा गोर्खा मिडिया नेटवर्क प्रालि र सहकारी संस्थाहरूको समस्या समाधान गर्न के गर्नुपर्ला ? तपाईंका के सुझाव छन् ?

४४. अन्त्यमा, तपाईंको भन्न बाँकी केही छ ?

दुई जिल्ला बाहेक सबै जिल्लामा डेङ्गी संक्रमण

काठमाडौं । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताए ।

७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस वर्ष हालसम्म तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ ।

काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक, केन्द्रीय पदाधिकारीको टुंग्याइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय पदाधिकारीको टुंग्याउन केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन आइतबार बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मंगलबारसम्म बस्ने जनाइएको छ। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए। पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ।

बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ। पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ। केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्।

तनहुँ बस दुर्घटनाः घाइतेहरुको अवस्था बुझ्न भारतकी राज्यमन्त्री नेपालमा

काठमाडौं । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा घाइतेभएका भारतिय नागरिकको अवस्था बुझ्न भारत सरकारले एक जना केन्द्रीय राज्य मन्त्रीलाई काठमाडौँ पठाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी छिन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् ।

विदेश घुमफिरमा व्यस्त राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, के गर्देछन् ?

काठमाडौं । देशको समग्र अवस्था तरल छ, सामाजिक, राजनीतिक, आर्थिक सबै फाँटमा समस्याहरु छन् । तर जिम्मेवार पार्टीका जिम्मेवार नेताहरु देश र जनताको समस्या समाधानभन्दा विदेश घुमफिरमा समय बिताइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने गर्छन् । यस आदर्शमा विमति राख्ने ठाउँ छैन तर व्यवहारमा यो आदर्श कति लागू हुन्छ भन्ने प्रश्न पेचिलो छ ।

लिङ्देन अहिले प्रदेश सांसदसहित दलबल लिएर अष्ट्रेलिया दौडमा छन् । विदेशबाट प्राप्त जानकारी अनुसार, राप्रपा भ्रमण दलका निम्ति राप्रपा निकट पानसका सदस्यहरुले जनही १५ सय डलर उठाएका छन् । आतेजाते, खाने बस्ने र घुम्ने खर्च त्यसैबाट जोहो गरिएको छ ।

‘कमिटीका हामी सदस्यहरुले अध्यक्षज्यूको भ्रमण दलका लागि १५०० डलरको दरले सहयोग गर्यौं भने अरु साथीहरुले आफूखुशी सहयोग गर्नुभएको छ,’ पानस अष्ट्रेलियाका एक सदस्यले भने ।

सार्वजनिक पदभार लिएका व्यक्तिबाट लाभ उपभोग गरेको स्थापित अवस्थालाई नैतिक रुपमा भ्रष्टाचार मान्ने विश्वव्यापी मान्यता छ । तेस्रो पक्षले होटल र घुमफिरको बील तिरेको घटनामा विभिन्न देशमा राजनीतिज्ञले राजीनामा गरेका छन् ।

लिङ्देनको भनाइमा उनी पार्टी संगठन विस्तार गर्न अष्ट्रेलिया गएका हुन् । विदेशमा दुख गर्ने नेपालीको खर्चमा पार्टी संगठन गर्नु कतिको युक्तिसंकट हुन्छ भन्ने यसमा प्रश्न उठ्छ ।

रोम जलीरहेको बेला नीरोले बाँसुरी बजाएर आनन्द लिएजस्तो देश संकटग्रसत हुँदा, उपनिर्वाचनमा राप्रपाको जमानत जफत हुँदा अध्यक्ष लिङ्देन विदेशमा संगठन निर्माण गर्दैछन् । नेपालको पार्टीले विदेशी भूमीमा कुन कानुनमा टेकेर संगठन बनाउने भन्ने नैतिक प्रश्न अहम छ । त्यसो हो भने विदेशी राजनीतिक दलले नेपालमा संगठन र शाखा खोल्न पाउँछन् त ?

एकातिर अध्यक्ष लिङ्देन अष्ट्रेलिया दौडमा छन् भने अर्कातिर प्रवक्ता ज्ञानेन्द्र शाही अमेरिकाको सहर सहर घुमेर आमाको नाममा खोलेको संस्थाका लागि नेपाली डायस्पोराबाट चन्दा संकलन गर्दैछन् ।

आजको मौसमः केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो बढेको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो पनि पाउन्ड यहि मूल्यमा कारोबार भएको थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५४ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २८ पैसा थियो।

तनहुँ बस दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । तनहुँमा शुक्रबार भएको बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ।

शुक्रबार बिहान ११ः२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङ्दी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले शुक्रबार राति अबेर विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

दुर्घटनाका घाइतेहरुको विवरण
१. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला बेडना घर भई बस्ने बर्ष ३२ कि बर्षा पंकज भंगाले चोट च्यापु दाँया हातमा बोल्न सक्ने

२. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला कोहिटिनगर बस्ने बर्ष ७३ को सुनिल जगन्नाथ घाण्डेचोट दायाँ कुममा चोट बोल्न सक्ने

३. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुसवाल बस्ने बर्ष ५१ को अबिनाश भागवत पाटिल बायाँ नाडी ,बाँया खुट्टामा चोट बोल्न सक्ने ।

४. ऐ।ऐ। बस्ने बर्ष ६३ कि आशा पाण्डुराम पाटिल बायाँ खुट्टामा चोट बोल्ने सक्ने ।

५. भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुषवाल बस्ने बर्ष ५२ कि भारती रबिन्द्र पाटिल बायाँ आँखा दुवै खुट्टामा चोट बोल्न सक्ने ।

६. ऐ.ऐ. बस्ने बर्ष ६० को ज्ञानेश्वर वाण्डे दुवै खुट्टामा चोट,वोल्न सक्ने ।

७. ऐ.ऐ. बस्ने बर्ष ४५ कि आशा ज्ञानेश्वर वाण्डे टाउको र अनुहारमा चोट,बोल्न नसक्ने ।

८. ऐ.ऐ. बस्ने बर्ष ५० कि रुपाली हेमराज सरोदे टाउको र बाँया खुट्टामा चोट ।

९. ऐ.ऐ. बस्ने बर्ष ४९ कि रेखा प्रकाश सुखाडे टाउको र दाँया खुट्टामा चोट हल्का बोल्न सक्ने ।

१०ऐ.ऐ. ठेगाना भई बस्ने बर्ष ४८ कि सारदा सुरेश पाटिल टाउको र बाँया खुट्टामा चोट अवस्था बोल्न नसक्ने ।

११. ऐ.ऐ. बस्ने बर्ष ५३ को प्रबिन पाण्डुरंग पाटिल छातीमा चोटम बोल्न सक्ने ।

१२. देश भारत महाराष्ट्र प्रदेश बस्ने ५९ को अन्नत ओँकार ईँग्ले ,बायाँ खुट्टा बायाँ हात र घाँटीमा चोट ,अवस्था बोल्न सक्ने, उपचार का।जि।शहिद मेमोरिल अस्पताल कलंकीमा भई रहेको ।

१३. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला घर भइ बस्ने बर्ष ४६ कि सिमा अनन्त ईंग्ले टाउकोमा चोट, बोल्न सक्ने ।

१४. देश भारत महाराष्ट्र प्रदेश झड जिल्ला घर भइ बस्ने बर्ष ५६ को हेमराज राजाराम सरोदे ढाडमा चोट बोल्न सक्ने ।

१५. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ६७ कि कुमुदिनी झाण्डे घाँटी र दाँया हातमा चोट बोल्न सक्ने ।

१६. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ४२ कि निलिमा भिरुड दायाँ हात र खुट्टामा चोट,बोल्न सक्ने ।

मृतकहरुको विवरण
१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं।बर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १५:२६ बजेको समयमा मृत घोषणा लास ऐ अस्पतालमा रहेको ।
२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० को सुदाकर बडिराम जावडे ।
३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को प्रकाश नाथ कोडी ।
४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ३५ की मिनल गणेश भारम्बे ।
५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० को मुर्तीजा खान ९ चालक० ।
६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४५ की सुहास प्रभाकर राणे ।
७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५१ की राहिनी सुधाकर जावडे ।
८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं।बर्ष ४० को गणेश पाण्डुरम भारम्बे ।
९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४३ की पलबी संन्दिप सरोदे ।
१०. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५७ की निलीमा सुनिल धाण्डे ।
११. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४५ की अनिता अबिनाश पाटिल ।
१२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५६ की भारती प्रकाश जावडे ।
१३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं।बर्ष ४५ की सरोज मनोज भिरुड ।
१४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.३५ को सागर तडु जाउडे ।
१५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे ।
१६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने आशा समाधान बाबिस्कर ।
१७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने बिजया करुड जावडे ।
१८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५१ की सरला तुलसिराम ताईडे ।
१९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने रामजित ९सह(चालक०
२०.  देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष २५ को अनुप हेमराज सरोदे ।
२१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५० की निलिमा चन्द्रकान्त जावडे ।
२२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४२ की सरला सुहास राणे ।
२३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६ की परी गणेश भारम्बे ।
२४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४४ को पंकज भागवत भंगाडे ।
२५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को संदिप राजाराम सरोदे ।
२६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने मंगला बिलास राणे ।
२७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५५ को तुलसीराम बुधो ताईडे ।

विपद्मा परेर हालसम्म १९५ जनाको ज्यान गयो

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोसी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोसी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोसी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोसी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

तनहुँ बस दुर्घटनाः मुत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार दिउँसो त्यहाँ पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३१ आइएनबी १७६२३ नम्बरको बस दुर्घटना भएको थियो । बसमा सवार ४३ जना सबै भारतीय नागरिक रहेका छन् ।

प्रहरीका अनुसार एक चालक, एक सहचालकसहित ४३ जना सवार रहेका हुन् ।

दुर्घटनामा घाइते भएका १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समेत सहयोगमा घाइतेको उद्धार र मृतकको शव निकालिएको थियो ।

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा घिमिरे र सम्पत्ति शुद्धीकरणमा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गरिएको छ ।

सहसचिव द्वय चण्डीप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभाग र सुमन दाहाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी दिइएको हो ।
सरकारले केहि दिन अघि गरेको सहसचिव सरुवामा घिमिरे र दाहाल दुबैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएको थियो भने राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई अन्यत्र सरुवा गरेको थियो ।

दुबै जना महानिर्देशकलाई सरुवा गरिएपछि रिक्त रहेको राजश्व अनुसन्धान विभागमा घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाहाललाई पठाइएको हो ।

घिमिरे राजश्वकै क्याडर हुन् । दाहालले यस अघि भन्सार विभागको महानिर्देशक भइसकेका छन् । दुबै महानिर्देशक अनुभवी छन् ।

मुस्ताङमा हिम पहिरो

काठमाडौं । मुस्ताङमा हिम पहिरोका कारण थासाङ गाउँपालिका वडा नं २ स्थित बोक्सिखोला थुनिएको छ । पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए ।


पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको छ । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई  त्यहाँबाट सुरक्षित स्थलमा सारिएको डीएसपी पाण्डेले बताए ।