लागुऔषध सहित ४ जना पक्राउ

काठमाडौं । झापा र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले हिजो साँझ २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेत रहेका छन् ।

भण्डकारीको साथबाट ५ ग्राम ब्राउन सुगर र बस्नेतको साथबाट २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

प्रधानमन्त्रीको कार्यक्षमतामाथि पूर्वमन्त्री सुमनाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।

बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको र राजनीतिकरणका कारण यो दुर्दशा निम्तिएको बताए ।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।

यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उनको भनाई छ । श्रेष्ठले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको आरोप समेत लगाए ।

‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरुले फोन गरेर धम्क्याए त्यो पनि एउटा विभागिय प्रमुखको पदको लागि । यो दलिय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो’, उनले भनिन्, तर यो त्यतिमा मात्रै सिमित रहदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ ।’

पूर्व शिक्षामन्त्री समेत रहकी सांसद श्रेष्ठले शिक्षालयमा राजनीति पस्न दिन नहुने तर्क गरिन् ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्नेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् ।

प्रतिनिधि सभामा बिहिबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए ।

भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’

ओलीले संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ रहेको भन्दै जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताए ।

सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको र जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको उनले दाबी गरे ।

उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।

रवि लामिछानेलाई सोधपुछका लागि सहकारी छानविन समितिले बोलायो

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीको विषयमा छानविन गर्न वनेको विशेष छानविनसमितिले सोधपुछका लागि बोलाएको छ ,

समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।

चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । वर्तमान सरकारका वहालवाला चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो ।

युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर गरिएको छ । अर्थमन्त्री पौडेलको सम्पत्ति छानबिन हुनुपर्ने माग उजुरीमा गरिएको छ । उनीमाथि ललिता निवास, सुकुम्वासी जग्गा लगायतका जग्गा प्रकरणमा मुछिएको आरोप लगाइएको छ ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले आरजु राणा देउवालाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानून सम्मत र न्यायसम्मत देखिँदैन अतः तत्काल अनुसन्धान गर्न सफलले अख्तियारको ध्यानाकर्षण गराएका छन् । ऊर्जा मन्त्री खड्कामाथि जल विद्युत् व्यवसायीलाई नै ऊर्जा मन्त्रालयको जिम्मेवारी दिँदा स्वार्थ बाझिएको भन्दै जग्गा हडपेको आरोप लागेको छ । श्रममन्त्री भण्डारीमाथि वैदेशिक रोजगारीमा जानेहरूमाथि आर्थिक भार थप्ने निर्णय गरेको र ट्राभल एजेन्सीहरूलाई पोस्ने काम गरेको आरोप छ ।

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो बनेको र त्यहाँ सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको उनले बताए।

‘सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछ; जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लगाउन खोजिएको छ। त्यसमा सचेत हुनुहोला भनिएको रहेछ। त्यसमा भनिएको छ– यीयी मानिसहरू ती समितिमा छन्, तिनलाई कल गर्नूहोला। म ती सचेत युवालाई धन्यवाद दिन चाहन्छु। जसले निरन्तर फोन गरिरहेका छन्,’ उनले भने।

सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारजन्य कसुर गरेको थाहा भएको ५ वर्षभित्र मुद्दा चलाउनुपर्ने त्यसो नभएमा पछि मुद्दा नचल्ने प्रस्ताव ल्याएको छ । ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य गरेको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ,’ विधेयकमा प्रस्तावित व्यवस्थामा भनिएको छ ।

लामिछानेले नीतिगत निर्णयको व्याख्या पनि विधेयकमा गर्नुपर्ने माग गरेका छन् ।

दलितले हक माग्दा प्रहरीले अभियन्ताहरूलाई पक्राउ गरेकोप्रति पनि लामिछानेले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘सिधाकुरा’विरुद्धको रिटको फैसला आज आउँदै

काठमाडौं । सिधाकुरा डटकमले प्रसारण गरेको कार्यक्रममा ‘डार्क फाइल’को फेक अडियो प्रकरणका परेको रिटको फैसला आज आउदै छ ।

तत्कालीन वरिष्ठ न्यायाधीश डा आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै मुछिएको थियो ।

अडियो प्रकरणमा सर्वोच्चका उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको, कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहितविरुद्ध अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर भएका थिए ।

सोही मुद्धामा सर्वोच्च अदालतमा परेको मुद्दामा नौ सदस्यीय बृहत् पूर्ण इजलासले आज फैसला सुनाउन लागेको हो । ९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलासले सुनुवाइपछि बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

त्यही सामग्रीलाई लिएर उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भइसकेको छ ।

सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउदै सरकार

काठमाडौं । १० महिना अघि प्रतिबन्ध लगाएको टिकटक हटाउने तयारी भइरहेको बुझिएको छ । आज बस्ने मन्त्रीपरिषद् बैठकले प्रतिबन्ध खुलाउने तयारी भइरहेको बुझिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतले बताएको छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुलमानमाथि प्रधानमन्त्री ओलीको बक्रदृष्टी कहिलेसम्म ?

काठमाडौं । पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा (एमाले)बीच मध्यरातमा भएको सम्भौतामा बनेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन अनेक प्रपञ्च गरिरहेका छन् ।

कहिले बालेन शाह, कहिले रास्वपाकी सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठमाथि विष बमन गरिरहेका ओली कुलमानलाई प्राधिकरणबाट हटाउन अहिलेपनि हरसम्भव प्रयास गरीरहेको बुझिन्छ ।

२०७३ को भदौमा पहिलो पटक प्राधिकरणको नेतृत्वमा आएका घिसिङलाई उज्यालो नेपालका प्रवर्तकमा रुपमा सबैले चिन्छन् । उनी नियुक्त हुनुभन्दा अघि घाटामा भएको प्राधिकरणले उनी आएपछि नै नाफा मात्र हैन देशलाई नै उज्यालो बनाएका उनको प्रशंसा गर्ने धेरै छन् ।

उनी आएपछि आर्थिक वर्ष २०७३ /७४ देखि नै प्राधिकरण नाफामा जान सुरुआत गरेको थियो । घिसिङ प्राधिकरणको कार्यकारी पदमा आएपश्चात १ अर्ब ५० करोड खुद मुनाफा गराएका थिए । त्यसपछिका हरेक वर्ष नाफा रकम बढ्दै गएको देखिन्छ । वित्तीय हरहिसाब भन्दा पनि महत्वपूर्ण चाहिँ, यही बीचमा एक दशक लामो लोडसेडिङको अँध्यारो कालबाट देशले मुक्ति गराउन सफल घिसिङमाथि वर्तमान सरकार प्रमुख ओली विष बमन गरिरहेका छन् ।

ओलीको सरकार बागडोर सम्हाल्न आएपश्चात उनकोे रबैयाले धेरैको निध हरामसमेत भएको छ । आफ्ना अनुकुल कर्मचारी सरुवा, बढुवा गर्नेदेखि विभिन्न आफू अनुकूल नियुक्त गरेको ओली सरकारले हरेक नागरिकको मन मस्तिष्कमा सजिएका कुलमान प्रति पहिलेको कार्यकाल देखी नै किन जाइलागिरहेका छ्न धेरै विश्लेषकहरुको चकित मात्रै छैनन आक्रोशित बनेका छन।

कुलमानलाई निशाना बनाइएको पछिल्ला दिनमा पहिलो प्रमाण हो प्राधिकरणका दुई जना सदस्यहरुलाई ठाडो आदेशमा निष्काशन गर्नु । तर, ओलीको त्यो प्रयास भने अदालतले निश्तेज पारिदिएको थियो । अदालतले निष्कासन गरेको दुई जना सदस्यलाई नियमित काममा फर्काएको थियो ।

कुलमानविरुद्ध ओली कतिको लागि परिरहेका छन् भन्ने अर्को प्रमाण पनि छ जुन हो भदौ १ अर्थात प्राधिकरणको वार्षिक उत्सव । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथ्यताका निम्तो दिएका थिए । प्राधिकरणका प्राय सबै वार्षिक उत्सवमा सरकार प्रमुखलाई निम्तो दिइन्छ सोहि अनुरुप यसपटक पनि निम्ता पुग्यो तर कुलमान मन नपरेका कारण नै ओली कार्यक्रममा उपस्थित नभएको धेरैको बुझाई छ ।

केपी ओलीको मनसाय अहिले पनि कुलमानलाई एक मिनेट राख्न नचाहाने छ तर, मन्त्री र राज्यमन्त्री कांग्रेसका भएपछि उनलाई हटाउन त्यति सहज भने छैन । कांग्रेसले तत्काल कुलमानलाई हटाउन नमानिरहेको कारण प्रधानमन्त्री ओलीले अव अर्को तुरुप फाल्न सुरु गरेको छन् । अर्थ मन्त्रालय र बन मन्त्रालय प्रयोग गरेर कुलमानलाई असहयोग गर्ने प्रयासमा प्रधानमन्त्री लागेका बुझिएको छ । ओलीले बन मन्त्रालयमार्फत प्रशारण लाइनका लागि वन जंगल दिन बिलम्ब गर्ने खेलबाट कुलमानलाई कमजोर बनाउने प्रयास थालेको अनुमान लगाउन सकिन्छ ।

कुलमान आइसकेपछि १८ घण्टे लोडसेडिङ हटाउनु, ३५ अर्बको संचित घाटा रहेको प्राधिकरणलाई ८२ अर्बको नाफामा पुर्याउने काम गरेका उनलाई पुरस्किृत गर्नुपर्नेमा झन उनीमाथि बक्रदृष्टी राख्नु ओलीको नियतमै खोट भएको धेरैले विश्लेषण गरिरहेका छन् । कुलमानलाई हटाउन केही पार नलाग्ने देखेपछि अख्तियारसम्म प्रयोग गर्न हरसम्भव प्रयासमा ओली लागेको देखिन्छ ।

उद्योगीहरुको पक्षपोषणमा लागेका ओलीले कतिसम्म कुलमान माथि बक्रदृष्टी राख्छन् त्यो भने हेर्न बाँकी नै छ । ओलीले काटिएको उद्योगहरुको लाइन जोड्न लगाएर व्यापारीहरुको पक्षपोषण गरेको विषयमा पनि चौतर्फि आलोचना भएको छ । व्यापारीहरुले तिर्नु पर्ने रकम नतिरेपछि कुलमानले लाइन काटिदिएका थिए तर पछि ओली सरकार गठन भए लगत्तै लाइन जोड्न आदेश नै दिएका थिए ।

कुलमानले विद्युतको महसुल नतिरेका ६ वटा उद्योगलाई बारबार महसुल तिर्न आग्रह गरेपछि पनि नतिरेका कारण विद्युत काटिदिएका थिए । ति उद्योगमा विद्युत काटिएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको बागडोर सम्हालेका थिए । कुलमानले विद्युत जोडिदिए तर, समय अवधि नै दिएर बक्यौता नबुझाए फेरि विद्युत काट्ने चेतावनी नै दिएका छन् । विद्युत बक्यौताका विषयमा छानबिन गरिरहेको लेखासमितिले महसुल सम्बन्धी विल नै मागेपछि कुलमानले एक ट्रक विल पठाइदिएका थिए । त्यसको भोलीपल्ट कुलमानले आफ्नो कार्यकालको तीन वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर कम्पनीलाई नाफामा लगेको दाबी गर्दै तथ्याङनै सार्वजनिक गरे । उनले विद्युत महसुल घटाउदा पनि कम्पनी फाइदामा गएको तथ्याङ्क प्रस्तुत गरेका थिए । कुलमानले १० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्ने तयारी समेत गरिरहेका छन् ।

कुनै विवाद विना प्राधिकरणलाई फाइदा गराएका कुलमानविरुद्ध सरकार निरन्तर लागेपछि कुलमानका पक्षमा आन्दोलनसमेत सुरु भएको छ । केही दिन अघि कुलमानको पक्षमा माइतिघरमा युवा जमातले आन्दोलन सुरु गरेपछि सरकार अलिक झस्केको धेरैले टिप्पणी गर्न थालेका छन् । कुलमानको कार्यकाल २०८२ भदौसम्म छ ।

वार्षिक उत्सवमा कुलमानको गुनासो कार्यकारी

निर्देशक घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । प्राधिकरणको भदौ १ गतेको वार्षिकोत्सवको सन्दर्भमा बोल्दै उनले त्यस्तो गुनासो गरेको हुन ।

उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन् ।
केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न समेत गरेका थिए ।

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । नेपालको विद्युत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनले बताए । घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले रु १ खर्ब लगानी गरेको बताएका थिए ।

आफ्नो दोस्रो कार्यकालको अन्तिम वार्षिकोत्सव मनाउने वर्ष भएको र अर्को वर्ष साउन २५ गते आफ्नो चार वर्षे कार्यअवधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने उनको भनाई थियो ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डत लर, युरो पाउन्ड, दिनारसहिधेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो थोरै घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६४ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४० रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ र बिक्रीदर ३५६ रुपैयाँ ५९ पैसा थियो।

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको छ ।

यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ।

अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

‘न्यायाधीशहरूमाथि पनि छानबिन गर्न पाउने व्यवस्था गर्न माग’

काठमाडौं । न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने व्यावस्था मिलाउन माग गरिएको छ । नेपाली काँग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरुमाथि पनि छानविन गर्नसकिने गरिको व्यावस्था मिलाउन माग गरेका हुन् ।

बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेका हुन्।

अख्तियारले मुद्दा हाल्ने तर न्यायाधीशले सफाइ सहजै दिने गरेको भन्दै उनले छानबिन गर्न माग गरे । उनले अख्तियारले निजी क्षेत्रमा प्रवेश गर्न नहुने समेत माग गरे ।

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

मौसमः आज देशभरीनै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहने जनाइएको छ ।

आज दिउसो सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।