शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न माग

काठमाडौं । सत्तारुढ काँग्रेस-एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद रघुजी पन्तले शिक्षकहरुलाई दलीय राजनीतिक संलग्न नगराउने कानून यसअघि नै बनेको र यसलाई कडाईका साथ सरकारले लागू गर्नुपर्ने बताएका हुन् । 

एमालेका सांसद पन्तले मुलुकलाई अघि बढाउन शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता भएकाले पनि सरकारले शिक्षकहरुलाई राजनीति नगर्ने गरी व्यवस्था गरिएको कानूनको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । 

उनले शिक्षकहरुको एउटै साझा संगठन बनाउन उपयुक्त हुने प्रश्ताव समेत राखे ।  

सांसद पन्तले भने, ‘शिक्षकहरुले राजनीतिमा नलाग्दा राम्रो हुन्छ भन्नेकुरा हामी आफैँले अनुभव गरेर नै शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानून बनेको हो । त्यो कुनै नयाँ पार्टी आएर बनाएको कानून पनि होइन । तर त्यसलाई लागू गर्दाखेरी राजनीतिक सहमती कायम गरेर प्रभावकारी ढंगले लागू गर्नुपर्छ । किनभने हामीले हाम्रो देशको हिस्ट्रीलाई पनि हेर्नुपर्छ । त्यसलाई दमन गर्ने ढंगले जाँदा त्यो त्यति राम्रो नहुन सक्छ ।’

नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले शिक्षकहरुको सरुवा स्थानीय तहले गर्ने प्रावधान हटाउन सरकारको ध्यानाकर्षण गराइन् । 

स्थानीय तहले शिक्षक सरुवा गर्ने अधिकार पाउँदा त्यसमा बढी राजनीति हुने भएकाले संघीय सरकारले नै शिक्षकहरुको सरुवा गर्ने अधिकार राख्नुपर्ने उनको तर्क थियो । 

काँग्रेस सांसद चौधरीले शिक्षकहरुमा राजनीतिक प्रभाव बढी पर्ने भएकाले पनि उनीहरुलाई राजनीतिक प्रभावबाट मुक्त गराउने कुरामा दलहरु आफै सचेत भएर लाग्नुपर्ने आवश्यकता औंल्याइन् ।

बेरुजु फस्र्यौटका लागि  समिति गठन

काठमाडौं ।  सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फर्स्यौट  समिति गठन गरेको छ ।

सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो । 

बुधबार बसेको मन्त्री परिषद बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ । 

त्यसैगरी कार्तिक ५ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई बैठकमा भाग लिन स्वीकृति समेत दिइएको छ । 

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना(दोस्रो)को लागि एशियाली विकास बैंकबाट प्राप्त हुने करिव २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको सहुलियतपूणर् ऋण सहायता, करिव २ अर्ब १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवंम् जापानबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निणर्य पनि गरको प्रवक्ता गुरुङले जानकारी दिए । 

गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा राजस्वसमेत छली भएको निष्कर्ष


काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा राजस्वसमेत छली भएको निष्कर्ष निकालेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकका हैसियतमा रवि लामिछाने र उपाध्यक्ष छबिलाल जोशीसहितले राजस्व छली गरेको निष्कर्ष समितिले निकालेको हो ।

‘कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाइ समेतबाट देखिन्छ,’ समितिको प्रतिवेदनको निष्कर्षमा छ,’ ‘त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आयो ।’

कार्यकारी प्रधामन्त्रीको जिम्मा प्रकाशमान सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा गएपछि कार्यवहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डको टोलीसहित अमेरिका प्रस्थान

काठमाडौं । प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, राष्ट्रिय सभा अभ्यक्ष नारायणप्रसाद दाहाल तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले विदाई गरे ।

प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तय भएको छ ।

सीटीईभीटीले २५ सयलाई निःशुल्क औद्योगिक तालिम दिने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढी व्यक्तिहरुलाई निः शुल्क तालिम दिने भएको छ ।

औद्योगिक प्रशिक्षार्थी तालिम २५ सय भन्दा बढीलाई दिइने आज आवेदन मार्फत सीटीइभीटीले जनाएको हो ।

परिषद्ले शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रिडिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने समेत आग्रह गरेको छ ।

प्रशिक्षणमा सहभागी हुन एसइई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

पत्रकार महासंघको निर्वाचन अनिश्चित

काठमाडौं । असोज १२ गतेलाई निर्धारण गरिएको पत्रकार मंहासंघको निर्वाचन अनिश्चित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।

कृषि मन्त्री अधिकारीलाई डेंगु संक्रमण

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।

‘म अहिले निकै अस्वस्थ भएको छ । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु,’ उनले भने ।

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

बढ्यो सुनको भाउ, आज कसरी कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मूल्य तोलामा १ हजार ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य १ लाख ५५ हजार ६ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ५७ हजार १ सय कायम भइ कारोबार भइरहेको

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य १ हजार ८ सय ८० रहेकोमा आज १ हजार ९ सय १५ कायम भइ कारोबार भइरहेको छ ।

आजको राशिफल (२०८१ असोज ०४ गते शुक्रबार)

मेष

आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। परिवारमा मेलमिलाप रहनेछ । पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।

बृष
आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ।

मिथुन

आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।

कर्कट

आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ।

सिंह

आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।

कन्या
आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।

तुला

आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। अनावश्यक यात्रा हुन सक्छ। पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।

वृश्चिक

आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

धनु

आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज परिवारमा रमाइलो हुन सक्छ भने प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।

मकर

आज स्वास्थ्य त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।

कुम्भ

आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।

मीन

आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, सतर्क हुनुहोला।

मौसमः चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज चार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार चारवटा संसदीय समितिको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयकाअनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ।

बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री केपी ओली आज न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जादै छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्नेछन्।

असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। यसैगरी असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

भक्तपुरमा सुविधा सम्पन्न वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन छलफल

काठमाडौं । भक्तपुरमा सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न छलफल सुरु भएको छ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ।

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

२०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सुपथ मूल्यका पसल आजबाट सञ्चालन

काठमाडौं । नजिकिदै गएको चाड पर्वलाई लक्षित गर्दै सुपथ मुल्यका पसलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएको हो।

कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ।

उक्त पसलको उद्‍घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

खाद्यले ४२ जिल्लाका ६३ स्थानहरु सहुलियत पसल सञ्चालन ल्याएको छ । काठमाडौं उपत्यकाका ४ स्थानहरु थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकका बिक्री कक्षहरु सञ्चालनमा ल्याएको हो ।

नेपालीहरुको प्रमुख चाड दशै, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्याधिक हुने गरेको हुँदा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन ल्याइएको हो।