आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

काठमाडौं लगायतका सिडिओ हेरफेर, अरु जिल्लामा पनि सरुवाको तयारी

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं लगायतमा प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्येलाई ल्याउने निर्णय भएको छ । आचार्य कुशल प्रशासकका रुपमा परिचित छन् ।

गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

सिन्धुलीको सिडिओमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ । यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ ।
प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक सिडिओ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

गृह मन्त्रालयले मंगलबार राती सरुवाको विषयमा निर्णय गरेको हो । यो पहिलो चरणको सरुवा भएको र अन्य ठाउँमा दोस्रो चरणको सरुवा हुने पनि गृह स्रोतले बताएको छ ।

गृहस्रोतका अनुसार थप एक दर्जन सिडिओको सरुवा गर्ने गरी थप गृहकार्य जारी राखिएको हो ।

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशभरकै सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन नमिल्ने व्यवस्था

काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउने नमिल्ने व्यवस्था गरेको छ।

सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएकाले यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको भन्दै सेवाग्राहीको काम प्रभावित भएकोले टिएमएस चलाउन बन्द गरिएको हो । अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र हुनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र कार्यलय समसयमा कर्मचारीले टीएमएस चलाउँदा सेवाग्राहीको काममा प्रभावित भएको भन्दै प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेपछि आजबाट बन्द गर्न निर्देशन गएको हो।

जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)प्रतिबन्ध लगाएको हो।

वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जनालाई घुस सहित पक्राउ गरेको छ ।

वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल छन् ।

अख्तियारको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले ४ लाख ५० हजार नगद बरामद गरेको छ । उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

उपसभामुखलाई पदबाट हटाउने विषय मान्य नहुने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखलाई महाअभियोग लागउने विषय मान्य नहुने चेतावनी दिएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए ।

उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए ।

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’

सुन जस्तो धातु लुकाइ ल्याउने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो पहेलो धातु लुकाई ल्याउने दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ का ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ का ३० वर्षीय देवराज खत्री रहेका छन् ।

समिर अहमदलाई हिमालय एयरलाइन्सको उडानमार्फत दोहाबाट काठमाडौं आउँदा करिब ५४ ग्राम तौलको सुनजस्तो देखिने ढिक्का, बेरूवा औंठी, र मोबाइलसहित पक्राउ गरिएको हो । देवराज खत्रीलाई २५ ग्राम सुन जस्तो देखिने धातुको सिक्री, मोबाइल र ल्यापटप सहित भन्सार छली गर्न खोज्दा पक्राउ परेका हुन् ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सिनामंगल बुझाइएको छ ।

शेयर बजारमा आज पनि गिरावट

काठमाडौं । आज पनि शेयरबजारमा गिरावट आएको छ । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ९ अंकको गिरावट आउँदै बजार २ हजार ६ सय ३२ दशमलव ९४ बिन्दुमा रोकिएको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै आज १ करोड, ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा आएकामध्ये आज ६७ कम्पनीको शेयर मूल्य बढेको, १७० कम्पनीको शेयर घटेको तथा ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै कारोबार भएको छैन ।

त्यस्तै आज मानुसी लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर कम्पनी, अपर स्यान्जे हाइड्रोपावर कम्पनी, सानिमा लार्ज क्यापिटल फण्ड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक भएको बताएका छन् ।

सिरहामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य रहेकोतर्फ जोड दिएका हुन् । उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न ठूलो प्रयास गरेको उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनबाट जनताको स्थिति बदल्नुपर्ने बताए ।

OM Sai Pathibhara Hospital

विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।

संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै दाहालले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि स्पष्ट गरेका छन् ।

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का


खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित  पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । “गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उनले भने ।

सङ्खुवासभाका प्रत्येक घरले रु पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उनको भनाइ छ । उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पारे । 

मन्त्री खड्काले समृद्ध सङ्खुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरे । उनले जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको बताए । उनले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गरे । 

उपसभामुखका हटाउने तयारी, एमालेद्धारा असोज ३ सम्म सांसदलाई काठमाडौं नछोड्न सर्कुलर

काठमाडौं । नेकपा ( एमाले)ले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए । 

‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने रातोपाटीलाई प्रतिक्रिया दिए ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा चार जना दोषी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वसचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै बाँकी ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर गरेको हो ।

परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा विशेषले सिएमसीलाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो भराउन माग गरेको छ भने देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन माग गरेको छ । इप्टिसा र बेट्स ९बीइटीएस०लाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष समेत रहेका खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ । सफाई पाउनेमा घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा पनि रहेका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आज पनि राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आईसीसी पुरुष विश्वकप लिग : क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा देव खनाल ‘ट्राभलिङ रिजर्भ’मा छन्।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।

त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ। नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।