क्युआर कोड, मोबाइल बैंकिङ कारोबार गर्दा लाग्ने १० प्रतिशत भ्याट फिर्ता दिने

काठमाडौं । डिजिटल माध्यमबाट क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट, डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुलाई सरकारले १० प्रतिशत भ्याट फिर्ता दिने भएको छ ।

आन्तरिक राजश्व विभागले भदौ २१ गते निर्णय गर्दै १० प्रतिशत लाग्ने भ्याट फिर्ता दिन परिपत्र गरेको छ ।

भ्याट फिर्ताको निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिएको छ । बिक्रेताहरुले तत्कालै भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्न पनि विभागले भनेको छ ।

अब क्युआर, मोबाइल बैंकिङ वा डेबिट, क्रेडिट कार्डबाट एक हजार रुपैयाँको बस्तु तथा सेवा खरिद गरेको भुक्तानी दिँदा एक हजार रुपैयाँको १३ प्रतिशतले हुने एक सय ३० रुपैयाँको १० प्रतिशत अर्थात १३ रुपैयाँ भ्याट फिर्ता पाउनेछन् ।

शेयर बजार निरन्तर ओरालो, आज पनि दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकको गिरावट आएको छ ।

आज कुल २ दशमलव ०६ प्रतिशतले बजार घटेको हो । केही दिनदेखि बजार गिरावटले निरन्तरता पाउँदा आज बजार २ हजार ६ सय ४६ दशमलव ३ बिन्दुमा झरेको नेप्सेले जनाएको छ ।

त्यस्तै बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । आज कुल ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँ बराबरको कारोबार भएको हो । नेप्सेका अनुुसार आज कुल २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये २२ कम्पनी नाफामा रहेका छन्, २२३ कम्पनी घाटामा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुुसार आज हातवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, सुर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । केही समयअघि ह्वात्तै बढेको शेयर बजारमा पछिल्ला दिनमा करेक्सन देखिएको हो ।

पाँचथर बम विस्फोटः एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं । पाँचथरको फालेलुङका भएको बम विस्फोटको विषयमा नेकपा (एमाले)ले गृहमन्त्रीको जवाफ मागेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो गम्भीर घटनामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएको भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् ।

फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ, प्राङबुङ्गमा भएको बम विस्फोटबाट एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको थियो । सात र ११ वर्षीय बालकद्वय अहिले उपचार रत छन् । घाइतेको कीर्तिपुरस्थित वर्न(जलन)अस्पतालमा उपचार भइरहेको छ ।

बर्तौताले भने, ‘सरकारले यस्तो घटनामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दा समेत यो घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढी उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’

उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा बाहिर आइरहेको पनि बताए ।

‘पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने जनाएको छ । वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका निगमले इथानोल मिश्रण गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्त्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछʼ महर्जनले भनिन् ।

आज मन्त्रीपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिव सरुवा गर्ने तयारी

काठमाडौं । आज साझ मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

आज साझ ६ बजे सिंहदरबारमा बस्ने बैठकले कर्मचारी सरुवा र बढुवाको विषयमा छलफल हुने बताइएको छ ।

आजको मन्त्रीपरिषद्को बैठकले ३० भन्दा बढी सहचिवहरु सरुवा हुन सक्ने समाचार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको निर्देशन– ‘सरकारी कर्मचारीको खाजा समय आधा घण्टा, परिपालना नभए कारबाहि’

काठमाडौं । सरकारले कर्मचारीहरुको खाजा समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म मात्रै बनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक निर्देशन जारी गर्दै खाजा खाने समय दिउँसो १ः३० बजेदेखी २ बजेसम्म मात्रै हुने निर्देशन दिएका छन् ।

उनले निर्देशन जारी गर्दै सो निर्देशनको परिपालना नभएमा कम्प्लेन गर्न आग्रह गरेका छन् । उनले नमान्ने कर्मचारीलाई कारबाहि गर्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै भनेका छन् , ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

कोरोना बीमाको रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । कोरोना बीमाको रकम भुत्तानीबारे परेको रिटमा आज सुनुवाई हुँदै छ ।

सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै संघले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो । उक्त रिटमा सुनुवाइका लागि आज बिहान १० बजे पेशी तोकिएको हो ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।

सत्तारुढ दहलहरुको बैठक आज बस्दै, न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल हुँने

काठमाडौं । आज सत्तारुढ दलहरुको बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आइतबार प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे छलफल भएको थियो ।

आइतबार भएको दुई दलका शीर्ष नेताहरूबिचको बैठकमा न्यूनतम साझा कार्यक्रमका लागि काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने विषयमा छलफल भएको बताइएको छ ।

आजको राशिफलः कस्तो छ आजको तपाईको दिनचर्या

मेष

नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा हुने योग छ।

बृष
आज स्वास्थ्य राम्रो रहन सक्छ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा थप लगानीको वातावरण बन्न सक्छ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्न सक्छ।

मिथुन
विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहेनत धेरै गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुन सक्ने समय रहेकाले सतर्क रहनुपर्छ ।

कर्कट
हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको अनुभव हुन सक्छ। व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ ।

सिंह
शत्रु तथा प्रतिस्पर्धीहरु तपाईंसँग पराजित हुन सक्छन् । स्वास्थ्य आज राम्रो रहन सक्छ भने काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।

कन्या

बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

तुला

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि सहज वातावरण बन्नेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

वृश्चिक

स्वास्थ्य कमजोर रहन सक्छ। पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । व्यापार व्यवसायबाट आज उचित नाफा कमाउन सकिंदैन ।

धनु
रोकिएका कामहरु बन्नुका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने समय छ। स्वास्थ्यमा सुधार आउनुका साथै काम गर्ने जोश जाँगर बढ्न सक्छ। आयआर्जनको लागि आजको दिन उत्तम रहेकाले आम्दानी बढ्न सक्छ। प्रेम जीवन तथा विद्यार्थीको लागि पनि आजको दिन शुभ रहेको छ।

मकर

उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । विद्यार्थीको लागि पनि आजको दिन शुभ रहेको छ।

कुम्भ
मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना रहेकाले सचेत रहनुपर्नेछ । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

मीन

आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापारमा गरेको लगानि फस्टाएर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ ।

आजको मौसमः यी प्रदेशमा हुँदैछ भारी बर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक्दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

सोमबार दिनको १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१”पेश गर्ने कार्य सूची रहेको छ।

यसको साथै, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्”भनी प्रस्ताव प्रस्तुत गर्ने र“नेपाल विश्व विद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्”भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्यटन क्षेत्र प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र उपप्रमुख तीर्थमाया खत्वेसहित १२ जना विरुद्ध आइतबार ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय एवं हिनामिना भएको रकम असुल उपरको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार योजना अनुगमन समिति संयोजक एवं गाउँपालिकाका उपप्रमुख खत्वे, प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर खुर्सेद इक्राम, गाउँपालिकाका तत्कालीन लेखा प्रमुख सोनुकुमार सोनी, योजना अनुगमन समितिका सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरी, प्रवेशद्वार निर्माणका लागि गठित उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्रीदेवीविरुद्ध मुद्दा दायर भएको हो ।

‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसमा बृक्षारोपण

काठमाडौं । ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तर्गत आइतबार गृह्येश्वरी, बागमती तटमा बृक्षारोपण गरिएको छ । तराई बिकास तथा संचार केन्द्र नेपालले नेपालमा पहिलोपटक अभियानको रुपमा सुरुआत गरेको ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान अन्तर्गत बृक्षरोपण अभियानलाई चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको आफ्नो ३६ औं स्थापना दिवसको अबसरमा आइतबार अभियानका एक्यवद्धता जनाउदै बृक्षरोपण गरेर कार्यक्रम गरेको हो ।

कलाकार संघको आयोजनामा सम्पन्न बृक्षारोपण कार्यक्रमको संयोजन तराई बिकास तथा संचार केन्द्रका प्रमुख बरिष्ठ पत्रकार गोबिन्द चौलागाईंले गरेका थिए । पत्रकार चौलागाईले केही महिनाअघि रौतहटबाट सुरु गरेको जन्मदिनलाई सतकर्ममा बदलौं भन्ने अभियानले अहिले राष्ट्रिय रुप लिइसकेको छ ।

चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको३६ औं स्थापना दिवसको अबसरमा बृक्षारोपण गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा आमात्य ।

आइतबारको बृक्षारोपणको प्रमुख अथिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा आमात्य र बिशिष्ट अथिति उज्यालो नेपाल नायकका रुपमा परिचित बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बृक्षारोपण अभियानको खुलेरै तारिफ गरे ।

आयुक्त डा.अमात्यले बृक्षरोपण अभियानको प्रसंसा गर्दै सम्पूर्ण कलाकर्मीले यो अभियानलाई अघि बढाइ वातावरण सन्तुलन र पर्यावरण संरक्षणमा भूमिका खेल्नुपर्ने राय ब्यक्त गरिन् ।

चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अबसरमा बृक्षारोपण गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

वातावरण जोगाउन वृक्षारोपण आवश्यक छः कुलमान घिसिङ

बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले वातावरण जोगाउन बृक्षरोपण आवश्यक भएको बताएका छन् ।

घिसिङले बरिष्ट पत्रकार चौलागाईको बृक्षरोपण अभियानबाट प्रभावित भई आफूले बिद्युत प्राधिकरणको मातहतका कार्यालयहरुमा समेत बृक्षरोपण गर्न लगाउने गरेको स्मरण गरे । उनले भने– ‘बिद्युत प्राधिकिरणले खाली रुख मात्रै काट्छ पनि भन्ने गरेको सुन्ने गरिएको छ । तर, मैले मेरो मातहतका कार्यालयहरुलाई बृक्षारोपण गर्न लगाउने गरेको छु । यो सबै गोबिन्दजीको अभियानबाट सुरु गरेको हुँ ।’

उनले आफू केही समयअघिबाट यो अभियानमा जोडिएको बताउँदै सम्पूर्ण नेपालीले आफ्नो जन्मदिनको अवसरमा कम्तीमा एउटा बृक्ष रोप्न आग्रह गरे ।
उनले चलचित्र कलाकार संघलाई स्थापना दिवसको शुभकामना दिदै सबै सेलिब्रेटीले यो अभियानमा साथ दिनुपर्ने राय राखे । अभियन्ता चौलागाईले आफूले सुरु गरेको जन्मदिनलाई बृक्षारोपण गरि सतकर्ममा जोडौं भन्ने अभियानले व्यापकता पाउदै गएकोमा खुशी ब्यक्त गरे । उनले चलचित्र कलाकार संघलाई स्थापाना दिवसको शुभकामना दिदै सबै कलाकार एकता बद्ध भइ बृक्षारोपण अभियानलाई अघि बढाउन सहयोग गर्नुपर्ने बताए ।

कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्काले आफ्नो संघले स्थापना दिवसको दिन बृक्षारोपण जस्तो सतकर्म गर्न सकेकोमा खुशी ब्यक्त गरे । उनले हरेक नागरिकले आफ्नो जन्मदिनलाई यसरी नै सार्थक तुल्याउनु पर्ने धारणा राखे । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीपक पराजुलीले सम्पूर्ण चलचित्र निर्देशकहरुको तर्फबाट बृक्षारोपण अभियानलाई अघि बढाउन पहल गर्ने बताए भने बरिष्ट चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले आफू केही समयअघिबाट यो अभियानमा जोडिएको र अन्य चलचित्रकर्मीहरुलाई पनि जोड्ने पहल गरिरहेको बताउदै यो महान अभियानलाई देशभित्र मात्र नभइ बिश्वब्यापी बनाउनु पर्ने धारणा राखे । उनले यो धर्ती सबै मानवको साझा घर भएकाले बृक्षारोपण गर्नु सबैको दायित्व भएको बताए ।

चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अबसरमा बृक्षारोपणमा सहभागिहरु ।

कार्यक्रमम प्रमुख अथिति डा. अमात्य, बिशिष्ट अथिति घिसिङका साथमा अभियन्ता चौलागाई, कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का, बरिष्ट उपाध्यक्ष शिबहरि बैरागी, कोषाध्यक्ष सुनील कटवाल, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुण प्रधान, बरिष्ट पत्रकार, निर्देशक लक्ष्मण सुवेदी, कलाकारहरु नम्रता खरेल,राजकुमार शाह, जीवन उमा कार्की, जयन्त रेग्मी, राजु शाहीलगायत थुप्रै राष्ट्रिय खेलाडीहरुले बृक्षारोपण गरेका थिए ।

प्रहरीलाई पूर्व स्वीकृतिबिना राजनीतिकलगायत शक्तिकेन्द्रसँग भेटघाटमा रोक

काठमाडौं । नेपाल प्रहरीले कुनै पनि राजनीति भेटघाट तथा अन्य शक्तिकेन्द्रसँग भेट गर्नु परे पूर्व स्वीकृति लिनु पर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार यो विषयमा आन्तरिक परिपत्र गर्दै प्रहरीले मातहतका कर्मचारीहरुलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिबिना राजनीतिकलगायत भेट गर्न नपाउने जनाएको हो ।

परिपत्र उल्लंघन गरी अनुमतिबिना भेटघाट गरे त्यस्ता कर्मचारीलाई अभिलेखमा राखिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिएको छ ।