चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम २ वर्षसम्म कैद सजाय हुने

काठमाडौं । चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटाएको हो ।

बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलमा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।
२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा।प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

छलफलमा सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने समिति सभापति सन्तोष चालिसेले बताए ।

शेयर बजार दोहोर अंकले घट्यो

काठमाडौं । आज पनि शेयर बजारमा पहिरो गएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यो साताका पहिलो दिन आजा (आइतबार) दोहोरो अंकले ओरालो लागेको हो ।

आज नेप्से परिसूचक २५ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

तरलता प्रवाह बढेपछि एकै पटक १ सय अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा तरलता प्रवाह बढेपछि एकै पटक १ सय अर्ब नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने तयारी गरको छ ।

वाणिज्य बैंकहरुबाट उक्त रकम खिच्न लागेको बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै निक्षेप संकलन उपकरणमार्फत् भदौ २३ गतेदेखि असोज १३ गतेसम्मका लागि १ सय अर्ब रूपैयाँ खिच्ने भएको हो ।

यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि स् शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने गिरावट आएको छ ।

आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा १ हजार २ सयले गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५३ हजार ३ सय रहेकोमा आज मूल्य गिरावट आइ १ लाख ५२ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले गिरावट आएको छ । शुक्रबार तोलामा १ हजार ७ सय ९५ रहेको चाँदीको मूल्य आज गिरावट आइ १ हजार ७ सय ५० कायम भइ कारोबार भइरहेको छ ।

नदि किनारको जग्गा खालि गराउने सर्वोच्चको फैसलाको विपक्षमा उभियो नेकपा एस

काठमाडौं । सर्वोच्च अदालतको २० मिटर छाड्नुपर्ने फैसलाले संवैधानिक अधिकार हनन् गरेको नेकपा एसको निष्कर्ष निकालेको छ ।

सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्षसहित सबै किसिममा संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ ।

पीडितसँग तत्काल अन्तरक्रिया गर्न भनिएको आफूलाई भेट्न आएका उपत्यकाका नेताको प्रतिनिधिमण्डललाई अध्यक्ष माधव नेपालले बताएका छन् । काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष श्याम बस्नेत र ललितपुरका हरिकृष्ण थापा नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेताहरू गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसाललाई भेटेका थिए । प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए ।

योबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

प्रहरी नै प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले एक जना सहायक हवलदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो मुद्दा शाखामा कार्यरत सहायक हबल्दारलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको हो ।

प्रहरीका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरूसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको जनाइएको छ ।

कोरोना बीमा वापतको रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । कोरोना बीमा वापतको रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट परेको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आज रिट दायर गरेको हो ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।

पहिरोले पुरिएर वडा सदस्य दम्पती वेपत्ता

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका ६ मा पहिरोले पुरिएर वडा सदस्य दम्पती वेपत्ता भएका छन् ।

बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा दिए ।

पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर

पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीस खुसी प्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गर्दे सजाय सुनाएको छ ।

इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई विशेष अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेको थियो । अ

बीमा प्राधिकरणको विभिन्न पदको नतिजा प्रकाशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको विभिन्न वि.नं.२०८०–८१ (खुला तथा समावेशी), सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा–समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नतिजा हेर्न यहाँ

भारतको उत्तरपूर्वी राज्य मणीपुरमा फेरि हिंसा घटनाहरु बढ्न थाले

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणीपुरमा फेरि हिंसा फैलिएको छ ।

एक वर्षअघि भएको जातीय विभाजनको विषयले आक्रमणका घटनाहरु बढ्न थालेका हुन् । शुक्रबार त्यहाँ विद्रोही समूहले ड्रोन आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको मणिपुर प्रहरीले जनाएको छ ।

मणिपुरको मोइराङ शहरमा कुकी विद्रोही समूहले गरेको ड्रोन आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

मणिपुर राज्यको राजधानी इम्फालबाट ३५ किलोमिटर टाढा विष्णुपुर जिल्लाको लेकसाइड टाउनमा भएको आक्रमणमा परी १३ वर्षीया बालिकासहित पाँच जना घाइते भएका छन् । कुकी विद्रोहीहरूले पछिल्लो पाँच दिनमा ड्रोन र रकेट आक्रमणबाट घाइते भएकी उनी दोस्रो नाबालिग हुन् ।

त्यस्तै आज पनि उक्त समूहले रकेट आक्रमण गरेको थियो । मणिपुरका पहिलो मुख्यमन्त्री माइरेम्बम कोइरेङ सिंहको घरमा प्रहार गरेको छ, जो उत्तरपूर्वीको सबैभन्दा ठूलो ताजा पानीको ताल लोकटकको किनारमा रहेको मोइराङ सहरको मुटुमा रहेको भारतीय राष्ट्रिय सेना ९आईएनए० संग्रहालयबाट मात्र १०० मिटर टाढा छ ।

मेइतेई समुदायका ७८ वर्षीय वृद्ध आरके रबेई प्रार्थना गरिरहेका बेला रकेटको छर्रा टाउकोमा प्रहार भएको छिमेकीहरूले बताएका छन् । उनले जम्मा गरेका पात र फलफूलजस्ता प्रार्थना सामग्रीहरू नजिकै भुइँमा रगत बगेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।

त्यसो त एक वर्षअघि दुई समुदायबीच भएको हिंसामा परि सयौँ नागरिकले ज्यान गुमाएका थिए । उनीहरुबीच अधिकारका विषयमा लडाइँ भइरहेको हो ।

त्यहाँ हिंसाले चर्को रुप लिने देखिएपछि स्थानीय सरकारले त्यहाँका विद्यालय बन्द गर्न आदेश दिएका छन् ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिंगगपुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ १७ र बिक्रीदर एक सय तीन रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ यु आन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आज ऋषि पञ्चमी पर्व, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्। हरितालिका (तीज) को व्रत एवं पूजा आज महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चन्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसै कारण आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा। डा। भट्टराईले बताए।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान् इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए। इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए।

यसै कारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुद्बुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले बताए।

रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी(नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा उनले जोड दिए।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूल पानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

झाडाबान्ताका कारण एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका(५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीन जनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एक जनाको भेरी अस्पताल र अर्का एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

एक जना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडा बान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँच जनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मौसम सामन्य वदली रहने छ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, देशभर आंशिकदेखि साधारणता बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणता बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणता बदली रहने छ भने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।