प्रधानमन्त्री केपी ओली आज न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जादै छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।

प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्नेछन्।

असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। यसैगरी असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

भक्तपुरमा सुविधा सम्पन्न वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन छलफल

काठमाडौं । भक्तपुरमा सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न छलफल सुरु भएको छ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ।

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

२०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सुपथ मूल्यका पसल आजबाट सञ्चालन

काठमाडौं । नजिकिदै गएको चाड पर्वलाई लक्षित गर्दै सुपथ मुल्यका पसलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएको हो।

कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ।

उक्त पसलको उद्‍घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

खाद्यले ४२ जिल्लाका ६३ स्थानहरु सहुलियत पसल सञ्चालन ल्याएको छ । काठमाडौं उपत्यकाका ४ स्थानहरु थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकका बिक्री कक्षहरु सञ्चालनमा ल्याएको हो ।

नेपालीहरुको प्रमुख चाड दशै, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्याधिक हुने गरेको हुँदा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन ल्याइएको हो।

१६ राजदूतको नाम अनुमोदन, एक जनाको स्थगित

काठमाडौं । प्रस्तावित १७ राजदूत मध्ये १६ जनाको नाम अनुमोदन भएको छ । संसदको सुनुवाइ समितिले १६ जनाको नाम मात्र अनुमोदन गरेको हो ।

एक जनाको कागजात अपूर्ण देखिएको भन्दै अनुमोदन नगरेको बुझिएको छ ।

समितिमा विशेषगरी भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्मा, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाका सम्बन्धमा प्रश्न उठेको थियो ।

यी सबैको नाम अनुमोदन गरेको सुनुवाइ समितिले श्रीलंकाका प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे कागजात पूर्ण नभएको भन्दै निर्णय नै लिएन । उनले स्नातक तह पास गरेको कागजात समितिमा पेश गरेको नदेखिएकोले निर्णय प्रक्रिया रोकिएको समितिले जनाएको छ ।

समितिले १७ मध्ये १२ जना प्रस्तावित राजदूतहरूको नाम समितिले सर्वसम्मत रूपमा अनुमोदन गर्दा चार जनाको हकमा भने बहुमतबाट अनुमोदन गरेको हो । सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डिपी) ले धनप्रसाद पण्डित, कपिल श्रेष्ठ र नेत्रप्रसाद तिमिल्सिनाका सन्दर्भलाई लिएर फरक मत राखेका थिए ।

संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुले संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।

प्रस्तावित प्रधान न्यायाधीस र दूई देशका राजदूत उपर सार्वजनिक उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन् ।

‘प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताए । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

उनले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभई विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाउने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरूको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको बताए ।

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु

काठमाडौं । लोपउन्ुख जाति राउटे समुदायका एक २२ वर्षिय युवाको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो ।

उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।

उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए ।

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए ।

‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’

उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो ।

आजबाट धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको अवसरमा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत संरचना निर्माण सकिएको छ ।

पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको थियो र २०७८ साल वैशाख ११ मा उद्घाटन गरिएको थियो । निर्माण कार्य ढिला हुँदा छैटौँ पटक म्याद थपेर बल्ल धरहरा खुला गरिएको हो । सरकारले केही समयका लागि निस्शुल्क रूपमा धरहरा चढ्न सकिने व्यवस्था गरेको छ । बाँकी निर्माण कार्य छिट्टै पूरा गर्ने तयारी छ ।

धरहरामा आधुनिक भवन निर्माणका मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक संरचना बनाइएको छ । अबको केही महिनाभित्रै रंगरोगन, शृंगार र अन्य सुविधासहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने सरकारको तयारी छ ।

आज सुनको मूल्यमा गिरावट

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर कारोबार हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन आज १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँ थियो ।

एक हजार भन्दा बढी कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्न्त्रालयले एक हजार भन्द बढी कर्मचारीको सरुवा गरेको हो ।

मन्त्रालयले ६ सय ४६ जना नायव सुब्बा र खरिदारको सरुवा गरेको छ । त्यस्तै १३५ जना उपसचिवको सरुवा टुंगो लगाएको छ । शाखा अधिकृत २५७ जनाको सरुवा गरेको हो ।

मन्त्रालयले सरुवा गरेको कर्मचारीको यो संख्या एक हजार ३८ हो ।

राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा पनि परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । संविधान दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा पनि परिवर्तन आवश्यक भएको बताए । साथै, संविधानले प्रतिवद्ध गरिएका सेवासुविधा र सामाजिक सुरक्षाको समान पहुँच आवश्यक रहेको धारणा व्यक्त गर्दै देशको समृद्धिका लागि उपलब्ध स्रोतको न्यायोचित वितरणको आवश्यकता रहेकोमा उनको जोड छ ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीद्वारा शुभकामना

काठमाडौं । संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्वतन्त्रताको उपभोग गर्दै भविष्य सुरक्षित गर्न सबैलाई आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले संविधान निर्माणका लागि गरिएको दशकौं लामो संघर्ष र सयौंको बलिदानको महत्वलाई जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताले आफैंले तय गरेको शासन प्रणाली र संविधानसभाले निर्माण गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउँदै यसले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई संरक्षण गरेको उल्लेख गरेका छन् ।

संविधानको संरक्षण गरेर मात्र उपभोग गरेका अधिकारको रक्षा गर्न सकिनेमा उनको जोड छ । ओलीले निरङ्कुशता भोगेको अतीतलाई सम्झाउँदै आजको पुस्ताले यो स्वतन्त्रतालाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।

अन्तमा, प्रधानमन्त्री ओलीले संविधानले दिएको स्वतन्त्रताको उचित उपयोग गर्दै भविष्यलाई सुरक्षित बनाउन सबैसँग आह्वान गरेका छन्।

आजको राशिफल (२०८१ असोज ०३ गते बिहिबार)

मेष
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

बृष

शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

मिथुन

आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कर्कट

नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

सिंह

आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ ।

कन्या

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पनि पाइनेछ ।

तुला

आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ ।

वृश्चिक

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

धनु

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर

आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

मीन

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

यस्तो छ आजको मौसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका पहाडी थोरै स्थानहरु तथा बाँकी पहाडी भू(भागको एक्दुई स्थानमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक्दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।