पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको हेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आन्तरिक हवाइ उडानको भाडा घट्यो

काठमाडौं । नेपालको आन्तरिक हवाई उडानको भाडा घटेको छ । नागरिक उड्डयन प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।

गत भदौ १५ गते नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । त्यससँगै प्राधिकरणले मूल्य समायोजन गरेको हो ।

जसअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म भाडा घटाइएको हो ।

अब काठमाडौंदेखि भैरहवासम्मको भाडा २७ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि २८ सय २० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै नेपालको आन्तरिक उडानमा लामो रुट मानिने काठमाडौं–धनगढीको भाडा २२० रुपैयाँ घटाइएको छ । यसअघि त्यहाँको भाडा ६ हजार ५० रहेकोमा भाडा घटेसँगै अहिले ५८ सय ३० कायम भएको छ ।

वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । वीर अस्पतालका बिग्रीएका उपकरणको मर्मतका गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौंता भएको हो ।

गएको भदौ ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पोडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका बिग्रिएका सामग्रीहरुको अवस्था पहिचान र मर्मतका लागि आविष्कार केन्द्रसँग सम्झौता गरेका थिए ।

त्यहि सम्झौता अनुरुप वीर अस्पतालले पनि केन्द्रसँग सम्झौता गरेको हो ।

हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग

काठमाडौं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।


िकरिब ७ लाख मानिसहरूले देशका मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए ।

६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्‍यालीमा भाग लिएको दाबी गरिएको छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले ६ जना बन्धकको शव बरामद गरेको बताएपछि सोमबार बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो ।

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेको थियो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा बन्दीको हत्या गरेको बताएको थियो ।

छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायल छिरेका हमास लडाकुले आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो ।

उता, हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने चेतावनी जारी गरेको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने प्रयास गरेको हमासको आरोप छ ।

यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएका छन् ।

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल(कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्ति मार्फत जनाएका छन् ।

सहकारी ठगी प्रकरणः छानबिन समितिको १५ दिन म्याद थप

काठमाडौं । सरकारी ठगी प्रकरणको छानबिनका लागि बनेको विशेष समितिको १५ दिनका लागि म्याद थप गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठक मार्फत १५ दिन म्याद थप गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो ।

समितिका सभापति सूर्यबहादुर थापाले छानबिनका लागि समय अपुग भएको भन्दै समय थप गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर आवाज उठाएपछि ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

जेठ १५ गते गठन गरिएको उक्त समितिको कार्याअवधि आगामी भदौ २२ गते सकिँदैछ ।

नेप्सेमा सामान्य  अंकको वृद्धि, १३ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० दशमलव १६ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

यस दिन निर्जीवन बीमा उपसमूहसहित ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत घटेको छ।नेप्से सामान्य अंक बढेपनि यस दिन ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.८६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, ‘एक्स’ मा भने यथावत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को फेसबुक स्ट्याटस डिलिट भएको छ । सचिवालय स्रोतका अनुसार धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर साहको पेजको स्ट्याटस हटाएको हो।

मेयर शाहले आइतबार साँझ सांसद शर्माले बाल श्रमशोषण गरेको र उनलाई पक्राउ किन नगरेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै स्ट्याटस राखेका थिए।

सो स्ट्याटस अहिले मेयर शाहको फेसबुक पेजबाट हटेको छ।

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’

मेयर बालेनले उक्त स्ट्याटस एक्समा पनि राखेका थिए। एक्समा भने स्ट्याटस यथावत नै छ।

रामहरि खतिवडा भन्छन् –‘सञ्चारमन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक भएको बताए ।

उनले भने– ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस् ।‚’

स्वास्थ्य मन्त्रालयको अस्पताहरुलाई निर्देशन – ‘बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्नु’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशनसहितको परिपत्र गरेको छ ।

मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

काठमाडौं । हरेक वर्ष राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोटको सटही गर्दे आएको छ । तर यसपालिको दशैंमा भने नयाँ नोट नसाट्ने जनाएको छ ।

पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या हुने गरेको छ । राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यास अगाडि बढाउने प्रयास गरेको थियो ।

ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएकाले दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेको बुझिएको छ ।

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

सरकारका प्रवक्ता गुरुङलाई वर्खास्त गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुरुङले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बर्खास्त गर्न माग गरेका हुन् ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिवार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्दछु।’

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु।’

सरकारका प्रवक्ता गुरुङको आपत्तिजनक अभिव्यक्तिको विरोध गर्ने क्रम बिस्तारै सुरु भएको छ । यसैक्रममा सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले पनि प्रेस विज्ञप्तिमार्फत् सरकारका प्रवक्ता गुरुङको अभिव्यक्तिको भत्र्सना गरेको छ ।

हालसम्म डेंगुबाट चार जनाको मृत्यु

काठमाडौं । हालसम्म डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको छ । ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

देशभरमाहुम्ला र मुस्ताङमा डेंगु संक्रमण नदेखिएका महाशाखाले जनाएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

मलेसियामा चक्कु प्रहार गरि सिराहाका यादवको हत्या

काठमाडौं ।मलेसिया चक्कु प्रहारबाट एक नेपालीको हत्या भएको छ । मिलन गुरुङले गएराति चक्कु हानेर सिराहाका रुपेश यादवको हत्या गरेका हुन् ।

रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ ।

तीव वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

यस्तै, बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

यस्तैगरी, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।