डा. नारायण रेग्मी पर्यटन विभागको महानिर्देशक नियुक्त

काठमाडौं । सहसचिव डा. नारायण रेग्मी पर्यटन विभागको महानिर्देशक नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले रेग्मीलाई नियुक्त गरेका हुन् ।

तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो । सहसचिव रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०८१ साउन ३१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। कुबेती दिनारको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा थियो। हिजो र अस्ती यही मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ४२ र बिक्रीदर ४४० रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८४ र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा थियो।

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन कार्य सूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

ठुलो संख्यामा प्रहरी इन्सपेक्टरहरुको सरुवा (सूची)

काठमाडौं । नेपाल प्रहरीका ५८७ जना इन्सपेक्टरहरुको एकैपटक सरुवा भएको छ । यही भदौ १७ गते प्रहरी प्रधान कार्यलयले निर्णय गरे अनुसार सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।

यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ ।

विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

अरु को कता हेर्नुहोस् सूची

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

कस्तो छ आजको मौसम, यी स्थानमा हुँदैछ भारी बर्षा

काठमाडौं । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तीन जना डीआइजीको सरुवा

काठमाडौं । काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजीपी)को सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार तीनजना डीआईजीको काज सरुवा गरेको हो।

बागमती प्रदेश प्रहरी प्रमुखमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ । यसअघिका डीआईजी विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अनिवार्य अवकासमा गएपछि प्रदेश प्रहरी प्रमुख रिक्त भएको थियो। उक्त स्थानमा काडमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी पोखरेललाई जिम्मेवारी दिइएको हो।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा डीआईजी भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ। बोहरा यसअघि कार्यविभागमा कार्यरत थिए।

ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठ अवकास भएसँगै रिक्त भएको हो। तर ट्राफिक प्रमुखमा काजमा डीआईजीलाई खटाइँदै आएको छ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा डीआईजी किरण राणालाई जिम्मेवारी दिइएको छ। राणा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत थिए ।

चाडपर्व नजिकिदै छ, कालाबजारी नियामक निकायका महानिर्देशक पौडेल र प्रबक्ता अधिकारीको हप्तौं चीन भ्रमण !

काठमाडौं । बजारमा खाद्यान्नदेखि अत्यावश्यक बस्तुमा मिसावट भएको गुनासो नागरिकको तहबाट आउने क्रम बढदो छ। सरोकारवाला निकायले अपेक्षित सक्रियता देखाउन सकेका छैनन । अनुगमनको मुख्य भुमिका निर्वाह गर्ने निकायले नतिजामुखी काम गर्न नसक्दा बजारमा मुल्यवृद्धि, मिसावट जस्ता समस्याले जरो गाडेको हो।
चाडपर्व नजिकै आउदै छ। बाणिज्य आपूर्ति उपभोक्ता हित संरक्षण बिभागले ऎनको अभाव भन्दै हस्तक्षेपकारी भुमिका खेल्न नसक्दा कालाबजारीहरुले सामराज्य खडा गरेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् ।
स्थानीय तहमा बजार अनुगमनको शाखा भएपनी नयाँ अभ्यास भएकाले माथिल्लो मेलोमेसो बुझ्सकेका छैनौ भनेर पन्छिने गरेको पाइन्छ ।
नागरिकले भोगेका समस्यालाई समाधान गर्ने भन्दा कानुनी प्रक्रिया देखाएर पछिल्ला दिनमा पन्छिने र ब्यापारीसंग गम्किने शैलीले नयाँ मोड लिएको बताइन्छ ।
भर्खरै जिम्मेवारीमा आएका नतिजामा बिश्वास राख्ने मुख्यसचिव एकनारायण अर्यालले आफनो पद बहालीपछि बजारमा अब सुशासनको अनुभुती गर्ने ठाउँ छ ।
नतिजा आउने गरि काम गर्न सबै निकायलाई निर्देशन गरेको भोलि पल्ट नै बाणिज्यका महानिर्देशक राजन पौडेल र बाणिज्य मन्त्रालय दुई पक्षिय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीलाई ट्रेड फियर हेर्न १३ दिनको लागि चीन गएका छन् ।
राज्यको हितको निम्ति जादै छ्न कि ट्रेड फियर हेर्न र घुमफिर मात्रै महानिर्देशक र प्रबक्ताको भ्रमण हो, यो सन्दर्भको चर्चाले ब्यापकता पाउदैछ।
कतिपय त दुई जना नै किन जानुपर्यो भन्दै कैफियतलाई जोडेर बाणिज्य कै कर्मचारी प्रश्न गर्न थालेका छन् ।

चाडपर्व नजिकिँदै जादा एउटा बिभागको महानिर्देशक र मन्त्रालयको प्रबक्ता यति लामो भ्रमणमा किन जादै छन् भन्ने विषयमा बिभागका कर्मचारी स्वयं अलमलमा परेको बुझिएको छ।
चाडपर्वको मौका छोपेर कालाबजारिहरु आआफ्नो धन्धाको निम्ति लागिरहेको बेला महानिर्देशक पौडेल र मन्त्रालयका दुई पक्षिय महाशाखाप्रमुख प्रवक्ताको चीन भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
-ऋषिकुमार यादव

थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स

काठमाडौँ । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।

गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।

सरकारले एनसेललाई चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको थियो। त्यसअनुसार कम्पनीले पहिलो किस्ताबापत ५ अर्ब रुपैयाँ बुझाएकाले प्राधिकरण बोर्ड बैठकको निर्णयअनुसार लाइसेन्स नवीकरण गरिएको हो। एनसेलले तिर्नुपर्ने २० अर्बमध्ये ५ अर्ब बुझाएपछि आइतबार थप पाँच वर्षका लागि लाइसेन्स नवीकरण गरिएको छ हो। बाँकी १५ अर्ब प्रत्येक वर्ष ५–५ अर्बका दरले तीन किस्तामा तिर्न सक्ने सुविधा छ। बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर लाग्नेछ। कम्पनीले चाहेमा किस्ता रकम समयभन्दा अगाडि पनि तिर्न सक्छ। पहिलो किस्ताबापत तिरेको पाँच अर्बमध्ये यसअघि चार अर्ब तिरेकोमा अहिले एक अर्ब तिरेको हो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

एनसेलले २०६१ सालको भदौ १६ मोबाइल सेवाका लागि लाइसेन्स लिएको थियो। दूरसञ्चार ऐन, २०५३ अनुसार टेलिकम कम्पनीको लाइसेन्स अवधि २५ वर्ष हुन्छ। पहिलो पटक १० वर्षका लागि लाइसेन्स पाउने व्यवस्था छ। त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ। एनसेलले अहिले अन्तिम पाँच वर्षका लागि नवीकरण गरेको हो।

१२७ अंक बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन ५३ दशमलव ६३ अंकले घटेर २७०० बिन्दुमुनि झरेको नेप्से परिसूचक सोमबार   १२७.३२ अंकले अंकले बढेको छ । नेप्सेमा वृद्धिसँगै परिसूचक २८ सय २३ दशमलव २५ अंकमा पुगेको छ । 

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।

सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४।९९, फाइनान्स ७.९४, होटेल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

२३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

गण्डकी प्रदेशमा चार मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्‌मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन् । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दिनेश डिसीद्वारा चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण

काठमाडौं । दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् ।

सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागिआवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो ।

नेकपा एसले गठन गर्यो उप निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचन परिचालन कमिटी गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए ।

आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव रहेका छन् ।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ ।

झाडापखालाका कारण बाँकेमा चार जनाको मृत्यु

बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ। बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन्।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने,’ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।