२६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । लेखा सेवाका २६ जना उपसचिवको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयमाबाट अन्य कार्यालयमा जिम्मेवारी दिएर सरुवा गरेको हो ।

कार्यालयले लेखातर्फका उपसचिव, उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा गरेको हो।

यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरिय बैठकले कर्मचारी सरुवा तत्काल रोक्का राख्ने निर्णय गरेपछि महालेखा नियन्त्र कार्यालयले २६ उपसचिवको सरुवा गरेको हो।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्दै आएको छ। कर्मचारी सरुवा भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्ने प्रावधान छ।

नेप्सेमा ३२.८१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, यस दिन पुनः २५०० विन्दुभन्दा तल झरेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो भाउ ?

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाल सुनको तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ७ सय रुपैयाँ रहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।    

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

२ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाले जानकारी दिए ।

३ मंसिर बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । ४ मंसिरकै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ताका लागि ५ मंसिरको बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो १ देखि ३ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय तहको उपनिर्वाचन भने १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । 

व्यक्तिसँग लेनदेन गरेको आरोपमा इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।उनले भनिन्, ‘हिजो बेलुकी यस विषयमा छानबिन समिति पनि बनाएका छौं, उहाँलाई तत्काललाई उपत्यका प्रहरीमै बोलाएका छौं ।’उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।

मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ।

कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भागका केही स्थानमा हुरीको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा  सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । 

असोज १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरै खर्च र ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू संग्रह गर्ने समय छ। साथीभाइको निम्तो प्राप्त हुनाले रमाइलो यात्राका लागि पनि खर्च हुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ने देखिन्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
एकसाथ चुनौती र लाभको अवसर प्राप्त हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। काम सम्पादन भए पनि पछि दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नुका साथै मनग्गे लाभ हुनेछ। तापनि, गोपनीयतामा विशेष सजग रहनुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ। युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ। बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ। सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ।

आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा रहेको छ। यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ। हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुने छ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय २९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६७ पैसा कायम भएको छ। खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।

२४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ ।  नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै सात दिनभित्र उपस्थित हुन भनेको हो ।

सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ  जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

जसमा कञ्चनपुरमा टेकेन्द्रप्रसाद भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्ट, बैतडीमा नरेन्द्र कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर, बाजुरामा कर्णबहादुर विश्वकर्मा र अछाममा शरद्सिंह भण्डारीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने छ ।

सहकारी ठगी कसुरमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको हो ।

बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले  मंगलबार मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौँ, उनले भने।

जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिना गरेको आरोपमा १४ जना विरुद्ध उजुरी दिएका थिए। त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले अनुसन्धानका क्रममा देखिएका थप ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको लुईटेलले जानकारी दिए।

सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। अन्य १४ जना फरार रहेका छन् । सरकारी वकिल कार्यालयले कुमार रम्तेलसंग मात्र वयान लिएको छ। पोखरा कारागारमा रहेका रम्तेलले आफु जिबि राईको कर्मचारी भएकाले जिबिले भने अनुसार काम गरेको बयानमा बताएका छन्।

साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए। साहाराको सफटवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ। तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको मागदाबी गर्न कोही नआएको लुईटेलले जानकारी दिए। पछि जाहेरी परेको खण्डमा पुरक मुद्दामा पेश गर्ने उनले बताए।

गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार संकास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर सो रकमको कारोबार के कसरी को संग गएको हो सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले मुलुकी संहिता २०७४ को दफा ३५ अनुसार पुरक अभियोगमा पेश गर्ने बताईएको छ।

कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा ५४ बमोजिम गठी भएको रकमको बिगो जाहेरवालालाई दिलाई दिन माग गर्दै मुद्दा पेश गरेको छ। उनीहरुलाई कार्यालयले सम्पती शुद्धिकरण तर्फ पनि प्रतिवादी बताएको छ।

चितवन साहाराबाट सबैभन्दा बढी रकम गोर्खा मिडियामा गएको छ। त्यसपछि जिबीकै नेचर हर्बल इन्टरनेशनल प्रा।लि, जिबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि स्प्रिड उड रियल स्टेड हाउजिङ लगायतको कम्पनीमा रकम गएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।

चितवन प्रहरीलाई कार्यालयले सम्पती शुद्धिकरण तर्फ अनुसन्धान गर्न समेत निर्देशन दिएको छ। अनुसन्धान अधिकृतलाई पत्र नै काटेर कानुन अनुसार १७ जना प्रतिवादीको सम्पती विवरण पेश गर्न माग गरेको हो।

चितवन प्रहरीले तत्कालीन नारायणकाजी गृहमन्त्री श्रेष्ठका पालामा सहकारीका बचतकर्तालाई उजुरी दिनका लागि आह्वान गरेको थियो, तर रवि लामिछाने गृहमन्त्री भएपछि जिल्लामा साहारा सहकारीको अनुसन्धान रोकिएको थियो । प्रहरीले फेरी फाइल अगाडि बढाएको हो।

बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गराइदिन पटकपटक भेट गरी ठूला राजनीतिक अध्यक्ष र सभापति तथा सरोकारवाला निकायसँग अनुरोध गरेका थिए। संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन कार्यान्वन गर्न सरकारले पनि निर्देशन दिएको छ। रकम फिर्ता हुनेमा केही आशाबादी भएको साहारा सहकारी संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए।

१२ वटा उपसमूहको परिसूचक बढेसँगै, नेप्सेमा ४९.१८ अंकको सुधार,

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार दुई कारोबार दिनमा करिब १२० अंक घटेर बुधबार ४९.१८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।

आज नेप्से परिसूचक १.९९ प्रतिशतले बढेर २५१९.५७ विन्दुमा बन्द भएको छ । तर, कारोबार रकममा भने कमी आएको छ । नेप्सेका अनुसार चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार पाँच अर्ब ६८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा नेरूडे मिर्मरे लघुवित्त, सर्वाेत्तम सिमेन्ट र सिक्लेस हाइड्रोपावर कम्पनी छन् ।

आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त, ङादी हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेका छन् ।  

हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १५ करोड ६४ हजार बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअफ फन्डको परिसूचक ०.०१ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ ।

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । 

भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनु भएको छ । उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा- छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गर्नु भएको छ । त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।

भ्रमण टोलीमा रहनु भएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो । करिव एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

विश्वव्यापी प्रयोग, जीपीएस प्रविधि के हो ? यसले कसरी काम गर्छ ?

जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, यसलाई वैश्विक स्थान निर्धारण प्रणाली भनिन्छ। पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, जीपीएस । 

जीपीएसको मद्दतले आफ्नो स्थान ट्र्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । यो अहिलेको संसारमा एकदमै महत्त्पूर्ण भाग बनिसेकको छ ।अमेरिकी नेभिगेसन प्रणालीलाई जनाउने यस प्रणालीलाई विश्वव्यापी नेभिगेसन उपग्रह प्रणाली वा रिसिभरको साथ जीपीएसको नामले पनि चिनिन्छ। यो उपग्रह प्रणालीले कम्तीमा २४ उपग्रह, एक रिसिभर र एल्गोरिदमको प्रयोग गर्छ।

यसले स्थान, वेग र समयलाई एउटै लयमा ढाल्छ। यो प्रणाली उपग्रह, ग्राउन्ड स्टेसन, रिसिभर र प्रयोगकर्ता मिलेर बनेको हुन्छ। यो प्रणालीमा उपग्रहले नक्षत्रका ताराहरूले जस्तै काम गर्छ। यसमा मोबाइल फोनजस्तै एक रिसिभर हुन्छ, जसले उपग्रहबाट आएका सङ्केतलाई अभिलेख गर्नुका साथै सङ्केत एकअर्काबाट कति टाढा रहेका छन् र त्यसको दूरी कति छ भनेर गणना गर्छ। त्यही गणनाका आधारमा कुनै पनि ठाउँको अवस्थिति पत्ता लगाउन सकिन्छ।

अमेरिकाको रक्षा विभागले सबैभन्दा पहिले जीपीएसको प्रयोग गरेको थियो। जीपीएसलाई सन् १९८३ पछि मात्र सार्वजनिक गरिएको थियो। सन् १९९० को शुरूमा जीपीएस सेवा मूलरूपमा मानव स्थिति सेवामा विभाजित गरिएको थियो, जुन मुख्यरूपमा जनताका लागि डिजाइन गरिएको थियो। त्यही समयमा सेनाले सैनिक स्थिति पत्ता लगाउन यसलाई प्रयोगमा ल्याएको थियो।

जीपीएसको सुरूवात 

सन् १९५७ मा सोभियत संघले आफ्नो पहिलो उपग्रह स्पुतनिक प्रक्षेपण गर्यो । अमेरिकी वैज्ञानिकहरूले स्पुतनिकको अवलोकन गर्न थाले । 

त्यसपछि सन् १९६० मा स्पुतनिक ट्र्याकिङबाट प्राप्त जानकारी र ज्ञान प्रयोग गरेर, अमेरिकी नौसेनाले ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको नौसेनाको फ्लीटलाई मार्गदर्शन गर्न मद्दत गर्न पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली ट्रान्जिट सुरु गर्यो ।

पछि सन् १९६७ मा, अमेरिकी नेभीद्वारा टाइमेसन टेक्नीक विकसित गरिएको थियो । यो प्रणालीले उपग्रहमा अत्यधिक सुसंगत, सिङ्क्रोनाइज गरिएको घडी प्रयोग ग¥यो, एउटा प्रविधि जसमा जीपीएस निर्भर हुन्छ । विकास बिस्तारै भयो र यू.एस. सन् १९७८ को अन्त्यसम्ममा पहिलो चार जीपीएस उपग्रह प्रक्षेपण गर्ने श्रेय सेनालाई दिइएको थियो ।

सन् १९७२ मा रेदेयन कम्पनीसंग काम गर्ने एक अमेरेकी वैज्ञानिक डा. क्ष्इभान गेटिंगले आफ्नो पद छोडेर ग्लोबल पोजिसनिङ सिस्टमको विकास गर्न थाले, जसमा उनले वैज्ञानिक र एरोस्पेस इन्जिनियरहरूको समूहसँग मिलेर त्रि–आयामिक जीपीएसको अवधारणा विकास गर्न थाले ।

प्रारम्भ कालमा सैनिक प्रायोजनका लागि प्रयोग गर्ने गरी जीपीएस सुरू गरिएको थियो । तर सन् १९८० को दशकमा अमेरिकाले आफ्ना देशका नागरिककको प्रयोगका लागि पनि उपलब्ध गराउन थाल्यो । 

जीपीएस प्रविधि अमेरिकामा मात्र उपलब्ध छ । यो सुरुवातमा सेनाका लागि निर्माण गरिएको हो । जुनपछि आम नागरिकलाई उपलब्ध गराइयो । पहिलो आधुनिक उपग्रह १४ फेब्रुअरी सन् १९८९ मा प्रक्षेपण गरिएको थियो र जीपीएस १७ जुलाई, सन् १९९५ मा पूर्ण रूपमा प्रक्षेपण गरिएको थियो ।

जीपीएसको महत्व र प्रयोग

जीपीएसले जस्तोसुकै समय र मौसममा काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ। जीपीएसका प्रयोग मुख्यरूपमा पाँच प्रकारले गरिन्छ। को कहाँ छ , वा कुन वस्तु कहाँ पुगेको छ त्यसको अवस्थिति पहिचान गर्न, एक स्थानबाट अर्को स्थान जान वा पुग्न, वस्तु वा व्यक्तिको अनुगमन गर्न, विश्वको नक्सा तयार गर्न र वास्तविक समय पत्ता लगाउन जीपीएसको प्रयोग गरिन्छ।

विश्वभरि नै विशेषगरी सवारी साधनको अवस्था, राष्ट्रिय निकुञ्जका जलचर र थलचरको वन्यजन्तुको अवस्थालगायत क्षेत्रमा जीपीएसको प्रयोग भइरहेको छ। त्यसैगरी, हवाई सुरक्षाको अवस्थाबारे जानकारी लिन र त्यसको गतिविधि अनुगमन गर्न जीपीएसको प्रयोग गरिन्छ।

नेपालको सन्दर्भमा कुरा गर्दा जीपीएसको व्यापक प्रयोग बढेको छ। ठुलाठुला शहरमा सवारी साधनमा यस प्रविधिलाई उपयोग गरी यात्रुलाई सेवा दिइरहेका हुन्छन्। निजी सेवा प्रदायक निकायले काठमाडौंलगायत ठुला शहरमा यस्ता सेवा दिइरहेका छन्।
यस्तो सेवा प्राप्त गर्न गर्ने सेवा प्रदायक निकायमा सर्च गरेर अर्डर दिइन्छ। यसरी अर्डर दिनासाथ जीपीएसको सहायताले ती सवारी साधन हामी भएको ठाउँमा आइपुग्छन् र जान खोजेको ठाउँमा हामीलाई पु¥याइदिन्छ।

एनड्रोइड मोबाइलमा पनि जीपीएसको सुविधा हुन्छ। त्यो सुविधा प्रयोग गरेर कुनै अत्यावश्यक सेवाको अवस्थिति थाहा पाउन र आवश्यक सेवाका लागि अनुरोध गर्न सकिन्छ। यसको अतिरिक्त जीपीएस धेरै कामका लागि उपयोगी प्रविधि हो। यसको प्रयोग उद्योगहरूको सर्वेक्षण र नक्सा तयार गर्न, समय मापन गर्न, अवस्थिति वा स्थान पहिचान गर्न, र सवारी साधनलाई नेभिगेट गर्न प्रयोग गरिन्छ।