भारतले बढायो तेल आयातमा भन्सार शुल्क


काठमाडौं । भारतले पाम, सोयाबिन र सूर्यमुखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको छ ।

भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गर्दा साढे ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो ।

त्यस्तै प्रशोधित खाने तेलमा भने भारतमा भन्सार दरबन्दी ३५.७५ प्रतिशत पुगेको छ । यसअघि यी तीन वस्तुबाट उत्पादित प्रशोधित खाने तेलमा १३.७५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।

असोजमा ८ वटा बैंकले ब्याज घटाए

काठमाडौं । अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् ।

बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरूले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।
असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् । दुईवटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा १० वटाले भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

असोज महिनाको लागि कायम भएको व्यक्तिगत निक्षेपतर्फको ब्याजदरमध्ये सबैभन्दा धेरै एनआइसी एशियाले ७.१८ प्रतिशत ब्याज दिने भएको छ ।

प्रादेशिक अस्पतालमा अख्तियारको छापा


काठमाडौं । अख्तियार दुरुपयोग आयोगले रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा छापा मारेको छ । सोमबार राति अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो ।
टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भए नभएको बुझी मुचुल्का उठाएर लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।

प्रतिवेदनले मुख्य आरोपबाट सफाइ दियो, तर अझै भ्रम फैलाउने काम भइरहेको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोप छानबिन समितिले खारेज गरिदिएको बताएका छन्।
पार्टीको आजदेखि सुरु भएको राष्ट्रभेलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपमा सफाई दिएको दोहोर्याएका हुन् ।
उनले भने – ‘समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको छ । स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहे छ । म माथि निरन्तर प्रहार भइरहे पनि आफू ढल्ने छैन । ‘

रास्वपाको राष्ट्रिय भेला आजबाट सुरु, १५ सय बढी प्रतिनिधिको सहभागिता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको छ । सभापति रवि लामिछाने र पदाधिकारीहरूले बिहान घण्टी बजाएर भेलाको उद्घाटन गरे । दुई दिनसम्म चल्ने यस भेलामा देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब, र लिडरसिप एकेडेमी लगायतका एजेन्डामा छलफल हुनेछ । आज पहिलो दिन विभिन्न प्रतिवेदनहरू पेस गरिनेछ भने भोलि सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेर एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

वर्षा र सहकालका देवताको पूजा गरिदै, आज काठमाडौं उपत्यकामा बिदा


वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज इन्द्रजात्रा पर्व परम्परागत रुपमा मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा यो पर्व धूमधामसँग मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुन्छ, जसलाई इन्द्रध्वजोत्थान भनिन्छ । यो जात्रा विभिन्न नाचगान, रथयात्रा, र देवीदेवताको पूजाआजासहित आठ दिनसम्म मनाइन्छ ।

आज विश्वकर्माको पूजा आराधना गरिँदै


काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।

बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए। 

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ।

आजको मौसम: यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आजको राशिफल, कस्तो छ तपाईको दिन ?


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
 पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ, तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ ।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् । समितिलाई असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको छ ।

प्रधानन्ययाीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस

काठमाडौं । प्रधानन्ययाीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन् ।

आज बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश राउतलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशका लागि विभिन्न ८ जनाको नाम प्रस्ताव भएको थियो । त्यसमध्ये वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतको नाम सिफारिस भएको हो ।

प्रधानन्यायाधीश राउत आगामी असोज १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । राउतले १८ महिना न्यायालयको नेतृ्त्व गर्नेछन् । संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

सहकारी छानविन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयलाई छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।

हर्नुहोस् पूर्ण पाठ

रवि लामिछानेको सहकारीको रकम अपचलनमा संलग्नता देखिएन

काठमाडौं । सहकारीको रकम अपचलनका विषयमाछानविन गर्न बनेको समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम अपचलन नगरेको निष्कर्ष निकालेको छ ।

गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ ।

गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।

सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस समेत गरेको छैन ।

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको नभेटिएपछि कारवाही सिफारिस नभएको हो ।

स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलवभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रवन्ध निर्देशक भएकाले रविले नै अधिकांस चेकमा हस्ताक्षर गरेका थिए ।

आज पनि दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ५० अंकले घटेको नेप्से आज पुनः ५७ दशमलव ०३ अंकले गिरावट आएको हो । २ दशमलव १६ प्रतिशतले शेयर बजारमा गिरावट आउँदा बजार सूचक २ हजार ५ सय ८० दशमलव ७६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कुल एक करोड,

७० लाख ६१ हजार ८ सय ७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज १४ कम्पनी नाफामा देखिँदा २२७ कम्पनीको शेयर घाटामा रहेका छन् भने ३ वटा कम्पनीको शेयरमा कुनै परिवर्तन आएको छैन ।