आज पनि दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ५० अंकले घटेको नेप्से आज पुनः ५७ दशमलव ०३ अंकले गिरावट आएको हो । २ दशमलव १६ प्रतिशतले शेयर बजारमा गिरावट आउँदा बजार सूचक २ हजार ५ सय ८० दशमलव ७६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कुल एक करोड,

७० लाख ६१ हजार ८ सय ७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज १४ कम्पनी नाफामा देखिँदा २२७ कम्पनीको शेयर घाटामा रहेका छन् भने ३ वटा कम्पनीको शेयरमा कुनै परिवर्तन आएको छैन ।

ठूलो संख्या राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी

काठमाडौं । ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी भएको तथ्याङ्क सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको रहेको जनाएको तथ्याङ्क सार्वजनिक भएको हो ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउने क्रममा अख्तियारले तथ्याङ्क सार्वजनिक गर्दै पछिल्लो समय भ्रष्टाचार गर्ने कर्मचारीको संख्या बढेको जनाएको हो ।

अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या ५२० रहेको अख्तियारले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कर्मचारी पछि ठूलो संख्यामा निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार २५४ जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीलाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्ष दायर गरिएका मुद्दामा प्रतिवादी बनाइएकामा १०६ जना निर्वाचित जनप्रतिनिधि र १४८ मनोनीत पदाधिकारी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार कुल एक हजार ५४५ प्रतिवादीहरूमध्ये राष्ट्रसेवक कर्मचारी ५२०, निर्वाचित जनप्रतिनिधिहरू १०६, मनोनीत पदाधिकारी १४८, राजनीति नियुक्ति ३२, लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्तिहरू ७३९ रहेका छन् । प्रतिवादी ५२० राष्ट्रसेवक कर्मचारीमा विशिष्ट श्रेणीका ६, सहसचिव वा सोसरहका ३०, उपसचिव र सीडीओ वा सो सरहका ८२, शाखा अधिकृत र इन्जिनियर वा सो सरहका २०२ र सहायक स्तरका २०० जना भ्रष्टाचारमा संलग्न गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

यो तथ्याङ्क हेर्दा नेपालको निजामति र राजनीति कोमामा पुगेको विश्लेषण हुन थालेको छ ।

एक वर्षमा २६ हजार ९ सय १८ मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ वटा भ्रष्टचार सम्बन्धि मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरूसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फछ्र्यौट भएको बताए ।

उनले फछ्र्यौट गरेका उजुरीहरूमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५०३ वटा उजुरीहरू तामेली गरिएको बताए ।

उनले फछ्र्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरू उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको जानकारी दिए । उनले प्रारम्भिक छानबिनको क्रममा रही फछ्र्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरू आर्थिक वर्ष २०८१/०८२ मा सरेको बताए ।

धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको देखियो, छानविनका लागि सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको देखिएको छ ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको कागजात भेटिएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो ।

समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको बुझिएको छ ।

खोला किनारामा २० मिटर मापदण्ड कायम गर्नुपर्ने फैसलाविरुद्ध सरकार सर्वोच्च जाँदै

काठमाडौँ । खोला किनारमा २० मिटरको मापदण्ड कायम गर्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध सरकारले आज पुनरावलोकन दर्ता गराउने भएको छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आज पुनरावलोकन निवेदन दर्ता गर्न लागेको महान्यायाधिवक्ता  कार्यालयले जनाएको छन्। ​

खोला किनारमा रहेका जग्गामा  भवन निर्माण लगायतका गतिविधि रोकिएपछि चौतर्फी विरोध सुरु भएको छ। सर्वसाधारणसहित सरकारले खोला किनाराका जग्गा र घर संरक्षण गर्दा ठुलो मात्रामा मुआब्जा खर्च हुने भएकाले कार्यान्वयन सम्भव नभएको जिकिर रिटमा गरिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई सहितको इजलासले यस्तो फैसला सुनाएको थियो।

छानविन समितिः रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको निष्कर्ष, कारबाहीका लागि सिफारिस गर्ने तयारी

काठमाडौं । सहकारी अपचलन सम्बन्धि अध्ययन गर्न बनेको छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको बुझिएको छ।

लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्षसमेत समितिले निकालेको छ ।

सहकारीको रकम जीवी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रविमार्फत खर्च भएको छ ।

गोर्खा मिडियाका तीन सञ्चालक (जीवी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

दुई महिना लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

अर्थमन्त्राल मातहतका ४५ शाखा अधिकृतको सरुवा

काठमाडौं । अर्थमन्त्रालय मातहतका ४५ जना शाखा अधिकृतको सरुवा भएको छ ।

मन्त्रालय, आन्तरिक राजश्व कार्यालय, करदाता कार्यालयलगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको बुझिएको छ ।

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : ९ बैंकले घटाए, कसको कति ?

काठमाडौं । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले अाज असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।

वाणिज्य बैंकहरुको औसतमा असोज महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटेको छ । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब असोज महिनाका लागि ६.३८ प्रतिशत कायम भएको छ । भदौमा औसत ब्याजदर ६.५३ प्रतिशत थियो । औसतलाई आधारमान्दा वाणिज्य बैंकहरुको ब्याजदर असोजका लागि ०.१५ विन्दुले घटेको छ ।

ती वाणिज्य बैंकहरुमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् । नेपाल र कृषि विकास बैंकले असोज महिनाका लागि ब्याजदर बढाएका हुन् ।

प्रकाशित सूचना अनुसार भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्।  बाँकी आठ ओटा बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोजमा ब्याजदर स्थिर राख्ने कम्पनीमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंक छन्। 

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

निमाविको शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाडौं । निम्न माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला भएको छ ।

शिक्षक सेवा आयोगले आज एक सूचना मार्फ विज्ञापन खुलाएको हो ।

सूचना जारी गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजातसहित सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोब्बर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजेभित्र फारम भर्ने गरि व्यवस्था मिालएको जनाएको छ ।

फारम अनलाईन मार्फत भर्न सकिने पनि आयोगले जनाएको छ ।

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । परिषद्को अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक आह्वान गरेका हुन् ।

यस अघि शुक्रबार पनि बैठक बसेको थियो तर उक्त बैठब निष्कर्ष विना टुङ्गीएको थियो ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले तेस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ ।

ट्रम्पको फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् ।

घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको बीबीसीले जनाएको छ ।

एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए ।

आजको मौसमः मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक्दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक्दुई स्थानमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

हेर्नुहोस् आजको राशिफल (२०८१ भदौँ ३१ गते सोमबार)

मेष
मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

बृष
वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

मिथुन

मिथुन राशि हुनेहरुको आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।

कर्कट

कर्कट राशि हुनेहरुको आजको दिन केहि प्रतिकूल रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् ।

सिंह

सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

तुला

तुला राशि हुनेहरुको आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुन्छ। पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

वृश्चिक

वृश्चिक राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

धनु
धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।

मकर
मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।

कुम्भ
कुम्भ राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।

मीन
मीन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेकोछ । खानपान विशेष ध्यान पुर्याउनुपर्छ, अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला ।

आगामी मंसिर १६ गने उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । आइतबारको बसको मन्त्रिपरिषद्को बैठकले उपनिर्वाचन आगामी मंसिर १६ गते गर्ने भएको छ ।

निर्वाचन आयोगले मंसीर १६ गतेलाई निर्वाचन गर्न आइतबारनै सुझाव दिएको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुनेछ।

संघीय संसदको दुवै सदनको अधिवेशन अन्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार भदौ ३१ गते अर्थात् भोलि राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुनेछ ।

त्यसो त भोलिका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । भोलि दिउँसो १ बजे बैठक बसेपछि अधिवेशन अन्त्य गर्न लागिएको हो ।