‘कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल ९पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि० को कार्यक्रममा मुख्यवक्ताका रूपमा सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौता बमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने,‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ।’

हिजबुल्लाहविरुद्ध घातक आक्रमण गर्दै इजरायल

काठमाडौं । इजराइलले लेबनानको सीमा नजिकको उत्तरी शहर हायफामा मानिसहरूलाई भेला नहुन चेतावनी जारी गरेको छ । यो चेतावनी दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले गरेको जवाफी कारबाहीको समयमा दिइएको हो ।

इजराइली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले जानकारी दिएअनुसार, दर्जनौं लडाकू विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले आफ्नो देशविरुद्ध हमलाको तयारी गरिरहेको स्थानहरूमा व्यापक रूपमा हमला गर्न थालिसकेका छन्।

राजधानी बेरूतमा शुक्रबार भएका हवाई हमलामा आईडीएफका अनुसार लगभग १२ हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरू मारिएका छन् । तर लेबनानका अधिकारीहरुका अनुसार ती हमलामा ३७ जनाको मृत्यु भएको छ, जसमा तीन बालबालिका पनि रहेका छन्।

यसैबीच, अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई सो क्षेत्रबाट निस्किन अनुरोध गरेको छ । शुक्रबारदेखि इजराइल–लेबनान सीमामा इजराइली सेना र हिजबुल्लाह –डाकुबीच गोलाबारी जारी छ ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । डलर गत हप्ताको तुलनामा घटेको छ । गत साता अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा थियो भने विक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो । 
युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अन्य मुद्राहरूमा पनि सामान्य गिरावट देखिएको छ । 

राष्ट्र बैंकले यो दरलाई जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

दशैंमा घर जानेहरुको लागि असोज १२ गते बाट अग्रिम टिकट खुल्ला


काठमाडौं । दसैँतिहारका अवसरमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बिचको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर यस निर्णयमा पुगिएको हो ।
मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले व्यवसायीका मागहरूमा आधारित सातबुँदे निर्णय पनि गरेको छ । बैठकले सबै सडक मर्मत गर्न, र बिपी राजमार्गमा सुरक्षाको लागि साना सवारी मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकटको प्रक्रिया चाँडै खुल्ने जानकारी दिए । सवारीसाधनको यान्त्रिक परीक्षण गरिसकेपछि गन्तव्यमा सहज व्यवस्थापन गरिने बताइएको छ । साथै, वैज्ञानिक भाडा समायोजन छठ पर्वको एक हप्तापछि गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओली र महासचिव गुटेर्रेसबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टेनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको विकास, जलवायु परिवर्तन, शान्ति प्रक्रिया र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री ओलीले शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको सहयोगका लागि आभार व्यक्त गर्दै, विकास र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न थप सहयोगको आवश्यकता रहेको बताए । महासचिव गुटेर्रेसले नेपालजस्ता हिमाली राष्ट्रलाई जलवायु परिवर्तनको असरबाट जोगाउन अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमा जोड दिएका छन् ।

भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालका विकास प्रयासलाई अन्तर्राष्ट्रिय सहयोगमार्फत अघि बढाउने सहमति व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क पुगेका थिए ।

ओलीले अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० मा सम्बोधन गर्नेछन् ।

मौसम: एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजको राशिफल (२०८१ असोज ०६ गते आइतबार)


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय शुभ छ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय त्यति धेरै अनुकूल छैन । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । सहयोगीहरूको काममा साथ नमिल्न सक्छ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

चन्द्रपुर नगरपालिकामा नि:शुल्क आँखा र दातको शिबिर सुरु


चन्द्रपुर । चन्द्रपुर नगरपालिका भर आँखा र दातको नि:शुल्क परीक्षण सुरु भएको छ ।
सिन्दुरेघारी टोल बिकास संस्थाको आयोजनामा भएको कार्यक्रममा चन्द्रपुर वाड नम्बर ९ का अध्यक्ष नवराज देबकोटाले आँखाको परिक्षण गरेर सुरुवात गरिएको थियो ।
स्वास्थ्य परिक्षण गराउनु अघि अध्यक्ष देबकोटाले नगरपालिका भित्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सुरुवात गरिएको यस निशुल्क शिबिरबाट धेरै सर्वसाधारण लाभान्वित हुने कुरामा आफू बिश्वस्त रहेको बताए।
बिहान ८ बजे देखि सुचारु गरिएको कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले सेवाको भाबका साथ नौ नम्बर वडा बाट सुरुवात गरिएको कार्यक्रम सबै नगरपालिका भित्र पुग्ने बताए ।
सिधुरेघारी टोल सुधार संस्थाले आफनो गाउमा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण अभियानबाट हरियाली गाउँ बनाउने क्रममा जुटेकाले धन्यवाद व्यक्त गरे। त्यसैगरी मुलघर सहकारीका अध्यक्ष महेन्द्र चौलागाईंले मकै खेतीमा ब्यहोर्नुपरेको क्षती बापत प्राप्त रकम बाट स्थापना गरिएको ग्रामीण स्वास्थ केन्द्रमा सुरुवात गरिएको निःशुल्क स्वास्थ्य शिबिर संचालन भएकोमा खुसी व्यक्त गरे।
नेपाली सेनाका मेजर रामकुमार रोक्का, जजामाबी सिन्दुरेघारीका प्रधानाध्यापक सत्रुधनप्रसाद साह, निजगढ तिलगंगा अस्पतालका डाक्टर दिपक सुवेदी, ग्रामीण स्वास्थ्य केन्द्र सिन्दुरेघारी अध्यक्ष खडग बहादुर कार्की ,धर्मशालाका अध्यक्ष शंकरप्रसाद सत्याल लगायतका स्थानीय अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रम बाट आँखा र दात गरि झण्डै चार सयको संख्यामा स्वास्थ्य परिक्षण गरि औषधि समेत उपलब्ध गराइएको डाक्टर सुबेदिले सम्पत्ति न्युजलाइ बताए । संस्था अध्यक्ष रामप्रसाद त्रिपाटीको अध्यक्षतामा भएको कार्यक्रम संचालन भने प्रराज चौलागाईंले गरेका थिए।

ढिलो गरी छिट्टै एकताबद्ध हुन प्रचण्डको आह्वान


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन् ।
‘हामीसँग हजारौँ महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठुलो शक्ति हो’ उनले भने,‘माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत निकै ठुलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौँ, हामी वैधानिक र शान्तिपूर्णरुपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ।’

प्रधानमन्त्री ओली न्यूयोर्क पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन्। उनी नेपाली समय अनुसार शनिबार बिहान न्यूयोर्क अवतरण गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरे। 

महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले ७ वटा कार्यक्रममा सम्बोधन गर्नेछन्। यस्तै एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। उनले राष्ट्रसंघको महासभालाई असोज १० मा सम्बोधन गर्नेछन्।

रवि लामिछाने भ्रष्टाचारी हुन् : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी गरे । ´गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् ।पोखरेलले भने´विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो । सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।
सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गरे । ´ सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।उनले भने,´ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।

दशैंको टीका लगाउने उत्तम साइत कतिखेर ?


काठमाडौं ।   यस वर्ष २०८१ साल दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो।
बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

आजको मौसम: यी प्रदेशमा भारी प्रदेशको सम्भावना


काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजको राशिफल (२०८१ असोज ०५ गते शनिबार)


मेष
माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

बृष 

प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

मिथुन 

वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

 कर्कट 

आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

 सिंह 

शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

 कन्या 

दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

 तुला 

अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

 वृश्चिक

आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु 

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

 मकर 

व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

कुम्भ 

पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।

 मीन 

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न माग

काठमाडौं । सत्तारुढ काँग्रेस-एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद रघुजी पन्तले शिक्षकहरुलाई दलीय राजनीतिक संलग्न नगराउने कानून यसअघि नै बनेको र यसलाई कडाईका साथ सरकारले लागू गर्नुपर्ने बताएका हुन् । 

एमालेका सांसद पन्तले मुलुकलाई अघि बढाउन शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता भएकाले पनि सरकारले शिक्षकहरुलाई राजनीति नगर्ने गरी व्यवस्था गरिएको कानूनको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । 

उनले शिक्षकहरुको एउटै साझा संगठन बनाउन उपयुक्त हुने प्रश्ताव समेत राखे ।  

सांसद पन्तले भने, ‘शिक्षकहरुले राजनीतिमा नलाग्दा राम्रो हुन्छ भन्नेकुरा हामी आफैँले अनुभव गरेर नै शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानून बनेको हो । त्यो कुनै नयाँ पार्टी आएर बनाएको कानून पनि होइन । तर त्यसलाई लागू गर्दाखेरी राजनीतिक सहमती कायम गरेर प्रभावकारी ढंगले लागू गर्नुपर्छ । किनभने हामीले हाम्रो देशको हिस्ट्रीलाई पनि हेर्नुपर्छ । त्यसलाई दमन गर्ने ढंगले जाँदा त्यो त्यति राम्रो नहुन सक्छ ।’

नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले शिक्षकहरुको सरुवा स्थानीय तहले गर्ने प्रावधान हटाउन सरकारको ध्यानाकर्षण गराइन् । 

स्थानीय तहले शिक्षक सरुवा गर्ने अधिकार पाउँदा त्यसमा बढी राजनीति हुने भएकाले संघीय सरकारले नै शिक्षकहरुको सरुवा गर्ने अधिकार राख्नुपर्ने उनको तर्क थियो । 

काँग्रेस सांसद चौधरीले शिक्षकहरुमा राजनीतिक प्रभाव बढी पर्ने भएकाले पनि उनीहरुलाई राजनीतिक प्रभावबाट मुक्त गराउने कुरामा दलहरु आफै सचेत भएर लाग्नुपर्ने आवश्यकता औंल्याइन् ।