प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्ने प्रहरी प्रयासको महासंघद्वारा विरोध

काठमाडौं । नेकपा (एमाले) निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ ।

समाचारको विषयलाई लिएर प्रहरीे पक्राउ गर्न खोजेको हो । आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए ।

बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस चौतारीका नेताहरुले समाचार लेखेकै भरमा अध्यक्षलाई पक्राउ गर्न खोजेको बताएका छन् ।

एक सय जना नयाँ अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइयो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृत एक सय अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।

जम्मा एक सय छ जना नयाँ अधिकृतहरु नियुक्त मध्ये एकसय जना लाई खटाइएको मन्त्रालयले जनाएको छ ।

तीन जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरिएको छ । अरु तीन जना पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्र गतिमा काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको भन्दै अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री ओली अगाडि भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ । मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तिब्रता दिनेछौँ । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ ।’

प्रधानमन्त्री ओलीले बिस्तारै गरौंला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह समेत गरेका छन् । उनले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको र मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ—आफ्नो मन्त्रालयको समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन छलफलका लागि उपसमिति गठन

काठमाडौं । नीजि क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउनका लागि थप छलफल गर्न उपसभिति गठन गरिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्नेबारे थप स्पष्ट हुनुपर्ने धारणा समिति सदस्यहरूले राखेपछि उपसमितिमार्फत थप छलफल गर्ने निर्णय गरेको हो ।

विधेयकमा सार्वजनिक संस्थामा सरकारी निकायका साथै प्रचलित कानून बमोजिम स्थापित संस्था, कम्पनी, समिति, बैंक मेडिकल कलेज लगायत अख्तियारको दायरामा आउने उल्लेख छ । निजी कम्पनी र बैंकसमेतलाई अख्तियारको दायरा राख्न नहुने केही सांसदहरूले बताइरहेका छन् ।

अबैध रुपमा कल सेन्टर चलाउने ५० जना पक्राउ

काठमाडौं । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलबाट ५० जनालाई पक्राउ गरेको छ ।

जसमा ५० जनामध्ये २ जना चिनियाँ नागरिक र १ जना फिलिपिनो नागरिक रहेका छन्। ललितपुर महानगरपालिकास्थित जाउलाखेलमा रहेको एक घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले बुधबार राति छापा मारेको थियो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शेयर बजारमा आज उत्साह, ७८ दशमलव १७ अंकले वृद्धि

काठमडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले वृद्धि भएको हो । आज बजार २ दशमलव ९९ प्रतिशतले बढ्दा बजार परिसूचक २ हजार ६ सय ८८ दशमलव ३८ बिन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार भने सन्तोषजनक देखिएन । आज कुल १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज धेरै कम्पनीको शेयर बजारका धेरै लगानीकर्ताहरु मालामाल भएका छन् । आज कारोबारमा आएकामध्ये २२९ कम्पनीको शेयर वृद्धि भएको छ । त्यसो त १२ वटा कम्पनीका शेयर घट्दा ३ वटाको मूल्यमा कुनै पनि परिवर्तन देखिएन ।

अदालतले भन्यो – ‘गाडीमा सिटभन्दा बढि यात्रु नराख्नु’

काठमाडौं । सर्वोच्च अदालतले गाडीम सिट भन्दा धेरै यात्रु नराख्न अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिश अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो ।

यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए ।

हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा सोलाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो ।

सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन समेत आदेश दिएको छ । त्यस्तै सर्वोच्च अदालतले चाडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग समेत गरिएको छ ।

संवैधानिक परिषद्का विषयमा देउवा, ओली र प्रचण्डबीच छलफल

काठमाडौं । संवैधानिक परिषद्का विषयलाई लिएर तीन शिर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका प्रचण्डसँग ओलीले झण्डै २० मिनेट एक्लै वार्ता गरेपछि देउवा पुगेका थिए ।

निलम्बित मेयर भरत थापाको चलाखि, भ्रष्टाचार मुद्दा छल्न यस्तो ‘सेटिङ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध पाँच करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आयोगले गएको चैत २७ गते गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर पश्चात उनी निलम्बित भएका छन् ।

तर, उक्त अख्तियारको मुद्दालाई प्रभावित पार्न थापाको यति सम्मको चलाखि देखियो कि जो कोही चित खान्छ ।
आफुले भ्रष्टाचार गरेको कर्तुत ढकाछोप गर्न सर्लाही जिल्ला अदालतमा थापाले आफुविरुद्ध तीनवटा मुद्दा दर्ता गराएको हाम्रो समाचार स्रोतले बताएको छ । ती पनि आर्थिक लेनदेनसम्बन्धि नै । थापाले आर्थिक लेनदेनको कारोवार मिलान नगरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दा हाल्नेहरु थिए आफ्नै निकट सम्बन्ध भएका चेतबहादुर खड्का, सुमन थापा र हरिराम काफ्ले । चेतबहादुर र सुमनले वैशाख २४ गते र २७ गते हरिराम काफ्लेले मुद्दा दायर गरेका थिए ।

उनीहरुले कुल ४ करोड ५० हजार रुपैयाँ थापाले नतिरेको दाबी गर्दे अदालतमा मुद्दा हालेका हुन् । चेतबहादुर र सुमनले आर्थिक कारोबार मिलन नगरेको र हरिरामले जग्गाको कारोबार मिलान नगरेको विषयमा मुद्दा हालेक थिए ।
उक्त रकम अख्तियारले गैर कानुनी ढंगबाट लिएको सम्बन्धि मुद्दाबाट समावेश गरेको रकम भन्दा १ करोड ३३ लाख ३ हजार कम हो ।

अदालतले बादी र प्रतिबादीसँगको बयानमा निलम्बित मेयर थापाले फिरादपत्रको प्रतिउत्तरमा मुद्दा दायर गरेका तिनै जनाको दाबी स्वीकार गरेका छन् । उनले जतिसक्दो चाँडो आफुले उक्त लेनदेन मिलाउने बयान दिएका थिए ।
तर, यहाँनेर घटनाको ट्वीस आउछ । ज–जसले थापाविरुद्ध मुद्दा हाले उनीहरु को साइनो सम्बन्ध केलाउने हो भने सबै थापाका नजिकका साथि सम्बन्धि हुन् ।

चेतबहादुर खड्का निलम्बित मेयर थापाको सानिमाका छोरा हुन् । अर्का वादी सुमन थापा माओवादीको बरहथवा नगर समिति अध्यक्ष हुन् । भरत थापा माओवादीबाटै दोस्रोपटक बागमतीको मेयरमा निर्वाचित भएका हुन् । हरिराम काफ्ले थापाको व्यापारिक साझेदार र छिमेकी हुन् ।

हाम्रो स्रोत सुमन, चेतबहादुर र हरिरामको निलम्बित मेयर थापासँग घनिष्ठ सम्बन्ध रहेको दाबी गर्छ ।
मुद्दा दायर गर्ने तीनै जनाले निलम्बित मेयर थापाले भने अनुसारकै मुद्दा दायर गरेको अनुमान लगाईएको छ । स्थानीयका अनुसार अख्तियारमा उजुर परेता थापा पालिकामा निकै सक्रिय थिए ।

निलम्बित मेयर थापालाई नजिकबाट चिन्नेहरु अख्तियारले दायर गरेको मुद्दा प्रभावित गर्नकै लागि योजनाबद्ध रुपमा अदालतमा मुद्दा हाल्न लगाइएको दाबी गर्छन्। अख्तियारले थापाविरूद्ध मुद्दा दायर गरेयता उनीहरूले थापाकै पक्षका समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्ने गरेको बताइएको छ । तीनै जनाले एकै ठाउँबाट फिरादपत्र र प्रतिउत्तर पत्र तयार पारेको सर्लाहीका एक अधिवक्ताले बताए । भाषा, शैली सबै एकै रहेको बताउँदै उनले मिलेमतोमा नक्कली मुद्दा दर्ता गराएको आरोप लगाएका छन् । 

अदालतको फैसला पनि दु्रत गतिमा

आफ्नै निकट सम्बन्ध भएको साथिहरुलाई मुद्दा हाल्न लगाएर अदालतलाईसमेत प्रभावित पारेको धेरैले अनुमान लगाएका छन् ।
यो मुद्दामा सर्लाही जिल्ला अदालतले पनि यति छिटो फैसला गरिदियो की थापाविरुद्ध हालिएका तीनमध्ये दुईवटा मुद्दाको फैसला आइसकेको छ ।
चेतबहादुरले वैशाख २४ गते र हरिरामले २७ गते दायर गरेका मुद्दामा जिल्ला अदालतले असार १८ गते नै फैसला सुनाएको छ ।
दुवै जनाले दायर गरेको मुद्दाको फैसला एकै दिन न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलास गरेको थियो । फैसलामा मुद्दा हाल्नेहरुको पक्षमा फैसला सुनाउदै दाबी बमोजिमको रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ ।

सुमन थापाले दायर गरेको अर्को मुद्दा अहिले विचारधिन छ । उक्त मुद्दामा ४/५ पटक पेसी चढिसकेको छ । अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ ।एक पटक वादी र तीन पटक प्रतिवादीले सुनुवाइ स्थगित गराएका थिए ।

निलम्बित मेयर थापाविरुद्ध भ्रष्टचार सम्बन्धिको मुद्दा पनि अहिले विशेष अदालतमा विचाराधिन छ ।
यस्तो अवस्थामा विशेष अदालतले भने कस्तो फैसला गर्छ त्यो भने हेर्न बाँकी रहेको सरोकारबालाहरु बताउछन् ।

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पूजाको प्रसाद खादा झापामा एउटा गाउँ नै बिरामी

काठमाडौं । झापामा पूजाको प्रसाद खाँदा एउटा गाउँनै विरामीमा परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँका ५५ जना भन्दा धेरै विरामी भएको बुझिएको छ ।

स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद ल्याएर घरमा खानेहरु पनि विरामी परेका छन् ।

‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन्

अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

आजको विदेशी मुद्रको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ। पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ। अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ। युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको छ।

हिजो बुधबार नेपाली बजारमा युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो। यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम भएको छ।

त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा तय भएको छ। बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा थियो।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको थियो।

आजका लागि स्वीस फ्रयांक एकको खरिददर एक सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा तोकिएको छ।

सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९७ र बिक्रीदर एक सय तीन रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ।

त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ । यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा रहेको छ । त्यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसामा कारोबार हुनेछ ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ।

आजकोे राशिफल (२०८१ भदौँ २७ गते बिहिबार)

मेष
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । सामाजिक तथा परोपकारको क्षेत्रमा लाग्दा राम्रो होला।

बृष
काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ ।

मिथुन

हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । विद्यार्थीले पढाईमा राम्रो सफलता पाउन सक्छन्।

कर्कट

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ।

सिंह
सामाजिक काममा सफलता मिल्नेछ। सन्तान तथा विद्या सम्बन्धि क्षेत्रबाट सन्तोष मिल्न सक्छ।आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।

कन्या

आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुस्ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज पढाईमा मन नलाग्न सक्छ।

तुला

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विद्यार्थीले पढाईबाट सफलता हासिल गर्न सक्छन्।

वृश्चिक
अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला । विद्यार्थीको पढाईप्रति रुचि नजाग्न सक्छ।

धनु

केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ।

मकर

कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कुम्भ

दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । विद्यार्थीले चाहेको नतिजा हात पार्न सक्नेछन्।

मीन
व्यवसायमा क्षेत्र विस्तारका साथै राम्रो नाफा कमाउन सकिनेछ। नोकरी गर्नेहरुले सहकर्मीको सहयोग प्राप्त गर्न सक्छन् भने मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने पनि समय छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हात पार्न सक्छन्। प्रेम सम्बन्ध राम्रो रहन सक्छ।

संघीय सम्सद अन्तरगत आज चार वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न चार समितिहरूको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

यस्तैगरी, संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।

आज मन्त्रीपरिषद्को बैठक बस्दै, सचिवहरुको सरुवाको निर्णय हुन सक्ने

काठमाडौं । आज साझ मन्त्रस्परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने बैठकले नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने छ ।

साथै आज मन्त्रालयका केही सहसचिवको सरुवा को निर्णय हुन सक्ने बुझिएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो बुझिएको छ । सम्भवत आज केही सचिवहरुको सरुवाको निर्णय हुनेछ ।