बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी झयाडीमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटनामा परेको हो।

बस दुर्घटनमा परि २ जनाको घटनास्थलमा मृत्यु भएको र  ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । 
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेप्से दोहोरो अंकले बृद्धि, ६ अर्ब बढीको कारोवार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो ।                                          

कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भएको छ । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे । आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बढे । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।

सवारी दुर्घटनामा २ प्रहरीको मृत्यु

 विराटनगर ।  मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सचर ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो। उहाँले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गर्नुभयो। 

एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा पचास लाख र सांसदको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो। 

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो। 

सिंहदरबारबाट ६ जना पक्राउ

काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट  ६ जना पक्राउ परेका छन्।  दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । 

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् ।

‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर! आवतजावत सहज गर! हवाई भाडा नियन्त्रण गर! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका उनहीहरुले नारा लगाएका थिए।

नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।                                         

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ।

आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन्।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयहरू:

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई  पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।

राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ ।  केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ । 

तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ । 

त्यसपछिका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले पनि  पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान गर्न निर्देशन दिएका थिए । 

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । जना घाइते भएका छन् ।

१९ जना बेपत्ता हुँदा अन्य एक सय ७९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ।  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ ।  त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

नवरात्रको चौथो दिन: आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

असोज २० गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउँन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कममात्र हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।