गृह मन्त्रालयले गर्‍यो प्रहरी निरीक्षक शाहीलाई निलम्बन

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयको पत्रका आधारमा निलम्बन भइसकेको र अब प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरी शाहीमाथि छानबिन हुने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

शाहीमाथि प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुखको रूपमा कार्यरत रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनामा उनको संलग्नता रहेको आशंकामा ललितपुर प्रहरीले छानबिन अघि बढाएको थियो। ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिको प्रारम्भिक अनुसन्धानबाट शाहीको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्बनका लागि सिफारिस गरिएको थियो। गृह मन्त्रालयले सो सिफारिसलाई आधार मानेर निलम्बनको निर्णय गरेको हो। निलम्बनपछि अब शाहीमाथि विस्तृत छानबिन हुने बताइएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनपछि मात्र उनको भविष्यबारे थप निर्णय गरिनेछ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ सात पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ आठ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ सात पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाढीपहिराेमा परी मृत्यु हुनेको संख्या दुई सय ३९ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुगेको छ । यसैगरी १९ जना अझै बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् ।  

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।  चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। 

शनिबार काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

यस्तो छ तपाईंको असोज १९ गते शनिबारको राशिफल

मेष : आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

बृष : आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

मिथुन :लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको ल गानीले राम्रो लाभ दिनेछ ।

कर्कट : निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

सिंह : आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

कन्या : आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

तुला : आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

बृश्चिक : मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ ।

धनु : आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर : समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

कुम्भ : आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

मीन : आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

नारायणगढ-काठमाडौँ सडकमा ठूला सवारीलाई रोक (सूचिसहित)

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरी नारायणघाट हुँदै काठमाडाैँ प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

ठूला सवारी गुड्न दसैँको पूर्णिमासम्म रोक लगाइएको हो। खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन्। विभागले दसैँका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको जनाएको छ।

गृहमन्त्री लेखक र यातायात व्यवसायीहरूबीच छलफल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्। बाढी पहिरोका कारण अवरूद्ध यातायात सञ्चालनलाई सहज बनाउन गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग छलफल गरेका हुन्।

बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधिकारीबिच विपतमा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका वेला सुरक्षित यात्राका विषयमा सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

‘विपतको स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ,’ वरिष्ठ उपाध्यक्ष सिटौला भने, ‘बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।’

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले जानकारी दिए।

‘अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका वेला सुरक्षित यात्रालगायतका विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले सवारी चेकजाँचलगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ।’

गृहमन्त्री लेखकले विपतका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताए।

‘पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला आएको विपतको सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।’

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीनको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।​

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-६ घर भई हाल काठमाडौंको चमती बस्ने १९ वर्षीय नविन रिजाल,सोही ठाउँ बस्ने २६ वर्षीष अनिष महर्जन, चितवनको भरतपुर नगरपालिका-१० का २५ वर्षीया अनु तामाङ, धादिङको गजुरी गाउँपालिका-८ का ४० वर्षीय केशर स्याङतान, धादिङको थर्पुभन्ज्याङका २८ वर्षीय राजेश परियार र तनहुँको आबुखैरेनी  नगरपालिका-३ का २५ वर्षीय सुवास परियार रहेका छन्। 

प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्यालको आक्रमणबाट १० जना घाइते

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया वस्तीमा स्यालले आक्रमण गरेको थियो ।

आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बब्बु केवट र मुन्नालाल चौधरी, वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव घाइते भएका छन् ।

दुवै बस्तीमा बिहीबार राति स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताउनुभयो । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारका लागि लगिएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिएपछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।

 बीमा बोर्डले गर्‍यो ९ रणनीतिसहित पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले ९ वटा रणनीति तय गरेको छ ।

संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेको छ। यसैगरी स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन् ।

जहाँ पहिलो, बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, दोस्रो, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, तेस्रो बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि रहेका छन्। 

साथै स्वास्थ्य बीमा संचालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य  रहेका छन्।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहहरुसम्म बिस्तार भएको  बोर्डले जनाएको छ। यस कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ८१,१४,५९४ जना (२८ प्रतिशत) नागरिक र २५,१४,२२० (३८ प्रतिशत) परिवार आवद्ध भएको बताइएको छ।  कुल बीमित मध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमामार्फत् स्वास्थ्य सेवा लिएको उल्लेख गरिएको छ। 

आ.व. २०८०/८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको पाइन्छ । हाल सरकारी र सामुदायिक गरी कुल ४७७ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको बताइएको छ । 

स्वास्थ्य बीमा बोर्डको पञ्च वर्षीय रणनीतिक मार्गचित्र

विराटनगर भन्सार परिसर तनावपूर्ण, १० सेल अश्रुग्यास प्रहार

विराटनगर।  ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा हानाहान भएको छ । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । 

एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । 

चौकीतर्फबाट आइरहेको ना ४ ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् । 

सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।  

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

अमेरिकामा दुई सयभन्दा बढीको मृत्यु

काठमाडौँ ।  अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

। यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको बीबीसीमा जनाइएको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीमा घाइतेभएकाहरूको खोजी गरिरहेका छन्।

आँधीको कारण मृत्यु हुने आधाभन्दा बढी नर्थ क्यारोलिनाका रहेका छन्। २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन यहाँ आएको सबैभन्दा घातक आँधी साबित भएको छ।क्याट्रिना आँधीले १८ सयभन्दा बढीको मृत्यु भएको थियो।

हेलेन आँधी आएको एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् । करिब ८ लाख घरहरूमा अझै पनि बिजुली नभएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन्। बाइडेनले आँधी प्रभावितहरुलाई सहयोग गर्ने वाचा गरेका छन्।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् । 
बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेकी श्रेष्ठले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा संलग्न भएकी उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ।

सिईओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ।नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले कम्पनीको नेतृत्व गर्न पाउँदा सम्मानति महसुस गरेको बताइन्।

नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्नका लागि आफूले काम गर्ने उनको भनाइ छ।कम्पनीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले सीईओ श्रेष्ठको नेतृत्वमा कम्पनीले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

धितोपत्र बोर्डकाे अध्यक्षका लागि अन्तरवार्ता स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तरवार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज अर्थमन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, शुक्रबार बिहान ८ बजे बोलाइएको उक्त अन्तर्वार्तामा तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि सर्टलिस्टमा परेका तीन जना उम्मेदवार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । तर श्रेष्ठलाई अध्यक्ष बनाउने सेटिङ भएको भन्दै तीन उम्मेदवार अनुपस्थित भएका थिए ।

गत असार तेस्रो साता मन्त्रिपरिषद्‌ बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि सुरु गरेको थियो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेर पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।  

योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार शिवकुमार अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो । तर शुक्रबार अधिकारी अस्वस्थ भएका कारण अन्तर्वार्ता र प्रस्तुतिकरण रोकिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति तीन सदस्यीय सिफारिस समितिमा संयोजक डा श्रेष्ठ, सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य छन् । 

अन्तर्वार्तापछि पाँच जनामध्ये तीन जनाको नाम समितिले मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्‌ले आगामी सोमबारको बैठकबाट अध्यक्ष नियुक्ति गर्ने तयारी गरे पनि अन्तर्वार्ता नै रोकिएपछि पुन: बोर्ड अध्यक्ष नियुक्ति पछाडि धकेलिएको छ ।