नागरिक उड्डयन प्राधिकरणको कार्यलयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा मारेको छ । आयोगको टोलीले सिनामंगलस्थित प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ ।

प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो’ अख्तियार स्रोतले भन्यो,‘तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।’

अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।

उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचारको उजुरीपछि अख्तियारकाे अनुसन्धान टाेली त्यहाँ पुगेकाे हाे ।

अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई विधेयक प्रमाणित गरेका छन्। अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन्। बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन्।

आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

नेप्सेमा २६.०७ अंकको गिरावट संगै १८७ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आज नेप्से २६.०७ अंकले घटेर दुई हजार ५ सय ९७ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।                                              

नेप्सेमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ५४ वटाको बढेको छ भने १८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                    

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र स्टर्न हाइड्रोपावर लिमिटेड रहेका छन् ।    

बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ७१ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बाढी पहिरोले देशका विभिन्न ठाउँका सडक आज पनि पूर्णरुपमा अवरुद्ध, यी हुन् ती सडक

काठमाडौँ । पछिल्लो समयको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।

विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् । सिस्नेरी, लेले–टीकाभैरव, कुलेकाली–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।

काभ्रेपलान्चोकको चारसयबेंसी, कालढुङ्गा, प्याकुरेल, बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् । यसैगरी, सिन्धुलीको सुनकोशी, फिक्कल मध्य महाडी लोकमार्ग र रामेछाप–सिन्धुली (खुर्कोट) सडक पूर्णरुपमा अवरुद्ध छन्  ।

थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

एजेन्सी  । थाइल्यान्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । थाइल्यान्डको राजधानी बैंककमा स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा आगलागी भएको उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताए । 

१९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाले बताए । प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने बताएका छन् । घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने बताएका छन् । 

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुटाइने 

काठमाडौं । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो । 

उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुर्‍याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ।

वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिए ।

चालु आवमा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्ष(आव) २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट: अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।

गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि, हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्न सक्ने असरको भने लेखाजोखा गरिएको छैन ।  

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ । जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यस वर्ष जलविद्युत् उत्पादन ४५० मेगावाट थपिने र धान उत्पादन ४.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

त्यस्तै, मुद्रास्फीति सन् २०२५ मा पाँच प्रतिशत र सन् २०२६ मा साढे चार प्रतिशत रहने पनि विश्व बैंकको अनुमान छ । मुद्रास्फीति सन् २०२३ मा ७.७ प्रतिशत र सन् २०२४ मा ५.४ प्रतिशत रहेको छ । विश्व बैंकको श्रीलंका, नेपाल र माल्दिभ्सका देशीय निर्देशक डेबिड सिस्लेनले पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई राम्रो टेवा दिने भए पनि आप्रवासन, बाह्य क्षेत्र व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।  

पछिल्ला वर्षमा नेपालको आर्थिक वृद्धिदर निरन्तर बढ्दो क्रममा रहेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढ्नु र बैंकको नाफा घट्नुलाई समस्याका रूपमा देखाइएको छ । त्यस्तै, बजेट कार्यान्वयन निकै कमजोर रहेको र पुँजीगत खर्च बढ्न नसकेको, सार्वजनिक ऋणको दायित्व बढेकोलगायतका विषयलाई नेपाल डेभलपमेन्ट अपडेटमा औँल्याइएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएको, चालू पुँजी कर्जा मार्गदर्शनमा सहजीकरण गरेको, ब्याजदर घटेकोलगायत लचिलो नीतिका कारण निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ ।  

व्यापार घाटा बढ्दा सरकारको चालू खाता बचत भने घट्ने अनुमान गरिएको छ । चालू आवमा निजी क्षेत्रको खपत १.८ प्रतिशत र सरकारी क्षेत्रको खपत ५.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस वर्ष चालू खाता बचत जिडिपीको २.६ प्रतिशत रहने र सरकारी राजस्व २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  

४६ बुँदे सुझाव पालना नभएपछि  सचिवहरूसँग छलफल गर्दै अख्तियार

काठमाडौँ । नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरूसँग छलफल गरी दिएको ४६ बुँदे सुझावको कार्यान्वयन नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिवहरूसँग पुनः छलफल गर्ने तयारी गरेको छ। आयोगले गत कार्तिक १२ र १३ गते सचिवहरूसँगको बैठकपछि सुशासन सुधार, सेवा प्रवाह प्रभावकारी बनाउन र बिचौलिया नियन्त्रणलगायतका क्षेत्रमा सुधार गर्न विभिन्न सुझाव दिएको थियो।

सरकारका अधिकांश सचिव तथा विभागीय प्रमुखहरूले सुशासनमा ध्यान दिन नसकेको, सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको, बिचौलिया प्रथा रोक्न नसकेको, माफियाहरूसँगको साँठगाँठ राखेको र जिम्मेवारीपूवर्क काम गर्न नसकेको भन्दै आलोचना खेप्नुपरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै सचिव तथा विभागीय प्रमुखहरूलाई आयोगमा नै बोलाएर कामको बारेमा जानकारी लिने भएको छ।

अख्तियारले यही असोज १८ र २० गते सरकारका सबै सचिव र विभागीय प्रमुखहरूलाई बोलाएर विगतमा दिइएको सुझाव कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिने भएको हो।

अख्तियारले आफूले दिएका ४६ बुँद सुझावको कार्यान्वयन भए नभएको बारेमा विभिन्न च्यानलमार्फत् चासो राख्दै आएको थियो। यस क्रममा अधिकांश सचिवहरूले सुझाव पालना गरेको नपाइएपछि अख्तियार सचिवहरूसँग असन्तुष्ट बन्दै आएको छ। अख्तियारले सचिवहरूलाई विगतमा दिइएको सुझावको अवस्था के कस्तो छ ? के कति कार्यान्वयन भयो ? कति हुन सकेन ? विस्तृत विवरणसहित छलफलमा आउनु भन्दै सबै मन्त्रालय, निकायका सचिव तथा विभागीय प्रमुखहरूलाई पत्र पठाएको बताइएको छ।

अब सबै सचिव र विभागीय प्रमुखहरूले विगत एक वर्षमा सुशासन र सेवा प्रवाहका सबालमा गरेका काम तथा अख्तियारले दिएको सुझावको कार्यान्वयनको अवस्थाका बारेमा अख्तियारलाई विस्तृत जानकारी दिनुपर्ने छ। अख्तियारले सचिवहरूलाई सतर्क र सचेतसमेत पार्ने गरी छलफल कार्यक्रम तय गरेको हो।

अख्तियारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहतका निकायका कामहरूको समीक्षा गरी कार्यसम्पादन सुधार गर्न निर्देशन दिएको थियो । साथै, लापरबाही गर्ने पदाधिकारी तथा कर्मचारीहरूलाई समयमै सचेत गराउन पनि सुझाव दिएको थियो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आयोगको नियमित कार्यक्रमअनुसार सरकारका सबै सचिव र विभागीय प्रमुखहरूलाई छलफलका लागि यही असोज १८ र २० गते आयोगमा बोलाइएको जानकारी दिनुभयो । ‘सचिवज्यू तथा विभागीय प्रमुखहरूबाट गत एक वर्षमा आयोगले दिएका सुझावहरूको कार्यान्वयन के कति भयो भन्ने प्रगति विवरण समेत पेस गर्ने गरी छलफल कार्यक्रम तय गरिएको हो, उहाँहरू आएर आ आफ्नो कामको प्रगति विवरण दिनु नै हुनेछ।

सम्बन्धित समाचार : अख्तियारद्वारा सरकारी निकायलाई ४८ बुँदे निर्देशन

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिवहरूलाई ४६ बुँदे सुझाव दिएको छ । आयोग र नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरूबीच भएको अन्तरक्रिया कार्यक्रम पश्चात् आयोगले उक्त सुझाव दिएको हो ।

अख्तियारद्वारा सरकारी निकायलाई ४८ बुँदे निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिवहरूलाई ४६ बुँदे सुझाव दिएको छ । आयोग र नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरूबीच भएको अन्तरक्रिया कार्यक्रम पश्चात् आयोगले उक्त सुझाव दिएको हो ।

अख्तियारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा किटानी भएको प्रावधानबमोजिम प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाएको छ । साथै लापरबाही गर्ने पदाधिकारी/कर्मचारीलाई समयमै सचेत गराउन पनि अख्तियारले भनेको छ ।

तीन तहका सरकारबिचको काम, कर्तव्य र अधिकारमा देखिएको अस्पष्टता र दोहोरोपना हटाउन अन्तर निकाय समन्वयसमेत हुने गरी कार्य विभाजनलाई स्पष्ट बनाउन अख्तियारको सुझाव छ । तीनै तहका सरकारबाट दैनिक तथा प्रशासनिक कार्यहरूलाई समेत नीतिगत भनी कानुनबमोजिम मन्त्रालय, विभाग, सचिवालय स्तरबाटै निर्णय हुनुपर्ने विषयसमेत मन्त्रिपरिषद्, परिषद् वा सभाबाट निर्णय गराउने कार्य तत्काल बन्द गर्न अख्तियारको  सुझाव छ ।

यस्ता छन् अख्तियारले दिएका सुझाव :

शिक्षा मन्त्री भट्टराई सिटिइभिटी उपाध्यक्ष छनोट नियमावली मिच्दै

काठमाडौ । दक्ष जनशक्ति उत्पादन गराउने उद्देश्यले स्थापित सिटिइभिटी जस्तो महत्त्वपूर्ण निकाय यतिबेला उपाध्यक्ष बिहिन अवस्था चल्दै आएको छ। उपाध्यक्ष छनोट प्रक्रियालाई अगाडि बढाउदै राष्ट्रिय योजना आयोग माननीय सदस्य गिता अधिकारीको संयोजकत्वमा तीन जना सम्मीलित छनोट समितिलाई मन्त्रीले प्रभावमा पारी नियमावलीको मर्म र भावना बिपरित कार्यबिधी भित्रको मार्किङ प्रणाली आफू अनुकूलका ब्यक्ति छनोट गर्ने गरि काम अगाडि बढाइएको देखिन्छ ।

प्राप्त जानकारी अनुसार शिक्षा मन्त्री बिद्या भट्टराईले नियमावली बिपरित कार्यबिधी बनाएर सिटिभिइटीमा कमजोर कार्यसम्पादन भएकालाइ भित्र्याउने चलखेलमा लागेको आरोप लाग्न थालेको छ। चलखेल बाट आउन लागेको कार्यबिधिले अनुभव र कार्य क्षमतालाई भरपुर उपेक्षा गरेको देखिन्छ।
मागिएको आबेदनमा १३ जनाले आबेदन दिएका थिए। प्रधानमन्त्री केपि शर्मा ओलि अमेरिका गएको बेला रातारात यो नियमावली बिपरितको कार्यबिधी अगाडि बढाउनु नै ठुलो चलखेल छ सजिलै आकलन गर्न सकिन्छ। यस्तो संबेदनसिल निकायको यो नियुक्ति प्रक्रियामा प्रधानमन्त्री ओलि र सचिवालयले चासो नराख्ने हो भने दक्ष जनशक्ति उत्पादन गराउने यो निकायको अस्तित्व नै समाप्त हुने देखिन्छ । चारैतिर बाट चुनौतीपूर्ण अवस्था झेलिरहेको यो सस्थामा योग्य ब्यक्ति छनोट हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला मन्त्री भट्टराई कस्को इसारामा अगाडि बढिन धेरैले मेसो पाउन सकेका छैनन्। साच्चै योग्य ब्याक्तित्व ल्याउन खोजिएको हो भने यो आबेदन रद्द गरेर नियमावली अनुसारको कार्यबिधी बनाएर छनोट प्रक्रिया अगाडि बढाउनुपर्ने आवाज चर्को रुपमा उठन थालेको छ।
एउटा शिक्षण पेशामा लागेका अनुभवहिन ब्यक्तिलाई उपाध्यक्ष बनाउन एउटा चलखेल समुह जमेर लागेकाले योग्य उमेदवार पाखामा पर्ने हो कि उपाध्यक्ष छनोट प्रक्रियाले आशङ्का बढाएको देखिन्छ । यस्तो चलखेलका विरुद्ध न्याय माग्दै एउटा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्ने तयारीमा रहेको समाचार श्रोत उल्लेख गर्दछ।

सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौँ।  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको १ लाख ६० हजार रुपैयाँ रहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

बाढीपहिरामा मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो, २५ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज सम्म दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । 

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ। जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आईतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि मंगलबार थुनछेक बहस सकिएर पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्ष समेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध ‘रेड कर्नर’ नोटिस जारी भएको थियो ।

मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि २ अर्ब बढी बचत रकम ठगीको आरोप छ ।

आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने 

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज र भोलि विभिन्न स्थानमा वर्षाको सम्भवना छ । तर, अविरल वर्षाको सम्भावना नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै आज राति कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

असोज १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ, उता घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरा÷छोरीको चासो राख्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित भइदिंदा आर्थिक सङ्कट बढ्नसक्ने समय छ, दानपुण्यका क्षेत्रमा समेत केही रकम खर्च गर्नुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति÷प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।