राजनीतिकरुपले बुद्ध धर्म दुरुपयोग गर्न मिल्दैन् : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताएका छन् । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उनको भनाइ छ ।

बौद्ध बिहार सङ्घ, ललितपुरको आज अक्षश्वर महाबिहारमा आयोजित ४९ औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

हिन्दू कट्टरवादीका कारण विगतमा नेपाल र भारतमा बौद्धका र विचारको विस्तार र प्रवर्धनमा सहज नभएको अवस्थामा अहिले बुद्धका विचारहरूको पुनः जागरण भएको सन्दर्भ उल्लेख गरे ।

“बुद्ध धर्म र उहाँका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नु हुँदैन् । धर्म मानवीयता एकता र शान्तिका लागि हो, बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवनप्रति हत्या हिंसा नगर भन्ने बुद्धवादको सार हो ।’’

प्रधानमन्त्री ओलीले भने, “बुद्ध धर्मका शिष्यहरू नै यस धर्मको रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ ।

त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’’

पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसङ्घकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डूबहादुर बज्राचार्यलाई सम्मानित गरेका थिए ।

कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने

काठमाण्डू, नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपचुनाव हुन लागेको हो ।

उम्मेदवारी दर्ता भोलि आइतबार हुनेछ ।

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत, कुल आम्दानी २२.८० प्रतिशत, कुल दाबी भुक्तानी १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशतले बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

अख्तियारका आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छनोट गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव

काठमाण्डू, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छान्ने विधि उपयुक्त हुनसक्ने बताएका हुन् ।

संवैधानिक परिषदले अख्तियारका पदाधिकारी सिफारिस गर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने उनको जोड छ ।

‘‘ अख्तियारका प्रमुख र आयुक्तहरू छान्न खुला प्रतिस्पर्धाबाट जाने एउटा विधिको खोजी गर्नु उपयुक्त हुन सक्छ कि ! शुक्रबार समितिको बैठकमा महामन्त्री शर्माले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्ने बनेको विधेयक राज्य व्यवस्थामा छलफलमा छ । छलफलमा कतिपय सांसदले सेवा निवृत्त निजामती कर्मचारीलाई अख्तियारमा लैजान नहुने मत राखेका छन् ।

संविधान संशेधन गर्दा यो विषयमाथि बहस हुनुपर्ने महामन्त्री शर्माको आग्रह छ । उनले भने , ‘संविधानको धारा २३८ ले जे भन्छ त्यो व्यवस्था बमोजिम हामीले जे अभ्यास यो अवधिमा गर्‍यौं, जे अनुभव हामीले हासिल गर्‍यौं, अब त्यसलाई परिमार्जन गर्ने सन्दर्भमा हामीले बहस शुरु गर्न जरुरी छ ।

ताकि संविधान संशोधन गर्ने बेलामा हामी सबैको ध्यान यसमा पनि केन्द्रित हुन सकोस् ।’

उनले अगाडि भने, ‘सरकारले एउटा खरदार नियुक्त गर्दा खुला प्रतिस्प्रर्धाबाट आउँछ । लोकसेवाको प्रक्रियाहरु पूरा गरेर आउनुपर्छ ।

राज्यकै अख्तियार दुरुपयोगबारे अनुसन्धान गर्ने व्यक्ति नियुक्तिको प्रक्रियालाई एकचोटी समीक्षा गरेर जानुपर्छ कि !’

कांग्रेस महामन्त्री शर्मा पनि परिषदमा राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू हुने भएकाले राजनीतिक दलमा नरहेका वा नलागेका व्यक्ति अख्तियार जस्तो संस्थामा पुग्ने सम्भावना कम हुने बताउँछन् ।

तर, पछिल्लो समय संवैधानिक परिषदले दलीय भागवण्डाका आधारमा आयुक्तहरु सिफारिस गर्ने गरेकाले प्रश्न उठेको छ ।

तर, संवैधानिक परिषदबाट नियुक्ति सिफारिस गर्दा यस्सको मर्मको पालना हुन नसकेको शर्मा बताउँछन् ।

नियुक्ति गर्ने ठाउँमा हामी को छौं रु संवैधानिक परिषदमा प्रधानन्यायाधीशज्यू बाहेक सबै राजनीतिक मानिसहरु हुनुहुन्छ ।

नियुक्ति गर्ने ठाउँमा राजनीतिक मानिस छौं । नियुक्ति गरिँदै गरेको मान्छेको योग्यता– राजनीतिक दलको सदस्य हुनु हुन्न । यो कसरी मिल्छ र ? ’ महामन्त्री शर्माले समितिमा प्रश्न गरे ।

सत्तारुढ नेकपा एमालेका सांसद हेमराज राईले पनि निजामति कर्मचारीमा सेवामा रहँदा अनुसन्धानको क्षेत्रमा रहेकालाई अख्तियार पठाउन नहुने प्रस्ताव गरे ।

यसो गर्दा कतिपय मुद्दा सही रुपमा अख्तियारबाट अगाडि बढ्न नसक्ने वा अन्यथा हुन सक्ने उनको आशंका छ ।

यस्तै नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल पनि अवकाशप्राप्त कर्मचारीलाई अख्तियारको नेतृत्वमा लैजाँदा अपेक्षित काम हुन नसकेको दाबी गर्छन् ।

उनले अगाडि भने, ‘कर्मचारी हुँदा गरेको काम, सम्बन्ध तथा राजनीतिक आवद्धताका आधारमा अनुसन्धानका विषय अगाडि बढ्ने र नबढ्ने अवस्था छ ।’

जबकी नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा २३८ को उपधारा ६ मा आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको योग्यता सम्बन्धी व्यवस्था छ ।

धारा २३८ को उपधारा ६ (ख) मा भनिएको छ, ‘नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको ।’

त्यसैले अब खुला प्रतिस्पर्धाबाट ल्याउने विषयमा छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘संविधानमा उल्लेख भए जस्तै लेखाको, राजश्वको, इन्जिनियरिङको, कानूनको, विकासको क्षेत्रमा २० वर्ष नै काम गरेको होस् ।

कतिपय सांसदले पूर्वप्रशासकलाई अख्तियार पठाउनै नहुने बताएका छन् । समिति सभापति खतिवडाका अनुसार पूर्वप्रशासकलाई अख्तियार पठाउने सम्बन्धमा दुई थरी प्रस्ताव आएका छन् ।

उच्च नैतिक चरित्र भएकोलाई कायम राखौं । तर, खुला प्रतिस्प्रर्धाबाट जान सक्ने एउटा विधिको खोजी गर्नु उपयुक्त हुन्छ कि ! ’

सांसदहरूले पनि पूर्वप्रशासकलाई पठाउँदा प्रभावकारी काम नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी सांसद माधव सापकोटा जिन्दगीभरी अख्तियारकै परिचालन गर्ने, र उत्तरार्धमा आएर आयोगमा जाने अभ्यास गलत भएको बताउँछन् ।

‘कर्मचारीबाट अवकाश प्राप्त भएपछि अख्तियारको प्रमुख एवं पदाधिकारी हुन भएन’ उनले भने, ‘राजनीतिक रुपमा पनि कति आग्रह पूर्वाग्रह राखियो रु यसमा समेत ख्याल गरेर सुधारमा जानुको विकल्प छैन ।’

एउटा रिटायर्डपछि संवैधानिक नियुक्तिमा जाने हो भने निश्चित अवधि जान नपाउने (कुलिन पिरियड) राख्नुपर्छ । अर्को पूर्वप्रशासकलाई अख्तियार पठाउनै हुन्न ।

सभापति खतिवडाले गत सोमबारको समिति बैठकपछि भनेका थिए, ‘अख्तियारमा हामीले रिटायर्डपछि लैजाने र नलैजाने एउटा विषय छ । यो विषयमा निर्णय लिनुपर्ने हुन सक्छ ।’

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर अख्तियारलाई स्वतन्त्रतापूर्वक काम गर्ने वतावरणका लागि सबै गम्भीर बन्नुपर्ने सुझाउँछन् ।

‘अख्तियारलाई निश्पक्ष र स्वतन्त्र बनाउनैपर्छ । यसका लागि सहयोग पुग्ने गरी पदाधिकारी नियुक्त हुने गरी ऐन बनाऔं’ कुँवरको प्रस्ताव छ ।

सुवालले अख्तियारमा पूर्वप्रशासक नलैजाने प्रावधान अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी ऐनमा राख्नुपर्ने बताए ।

अख्तियारसम्बन्धी विधेयकमा रहेका प्रस्ताव र सांसदहरूको संशोधनलाई एकीकृत गरेर विधेयकमा सहमति जुटाउने जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिलाई दिएको छ ।

सांसद हृदयराम थानीको नेतृत्वमा १२ सदस्यीय उपसमितिलाई १५ दिनभित्र सहमति जुटाएर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी व्यवस्था छ, जसअनुसार प्रमुख आयुक्त र आयुक्तहरु संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

‘राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्नेछ’ संविधानको धारा २३८ को उपधारा २ मा भनिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख सदस्य रहन्छन् ।

मंसिर १ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन त्यति शुभ देखिँदैन । धन नाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधूप हुन सक्छ ।

वृष : दिन शुभ छ । उपहार प्राप्ति, मीठो भोजन, कार्य सफलताको सम्भावना छ ।

मिथुन : सजग रहनुहोला । दिन अशुभ भएकाले धन नाश, चोटपटक, समस्या आउन सक्छ ।

कर्कट : दिन बलवान् छ । विविध वस्तु–सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख होला ।

सिंह : सुख–सन्तोष, कार्य सफल, स्वास्थ्य लाभ, आनन्दले मन प्रफुल्लित हुने देखिन्छ ।

कन्या : दिन शुभ देखिँदैन । राज्यबाट डर, प्रतिष्ठामा आघात, व्यापारमा समस्या आउन सक्छ ।

तुला : अशुभ समयले गर्दा रोगव्याधि, कष्ट, काममा बाधा, धन हानि हुने सम्भावना छ ।

वृश्चिक : दिन उत्तम छ । धन लाभ, यश वृद्धि, वाहन प्राप्तिको सम्भावना देखिन्छ ।

धनु : समय अनुकूल छ । आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, विजयको सम्भावना छ ।

मकर : सजग रहनुस् । शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोग हुने सम्भावना छ ।

कुम्भ : खानपानले पेट–रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव नहोला भन्न सकिन्न ।

मीन : दिन शुभ छ । पैसा लाभ, पराक्रम, उन्नति, मान–सम्मान, सुख–सन्तोष होला ।

पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको प्रभावले कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाण्डू, हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

एनपीएलका खेल स्टार स्पोर्ट्सले प्रशारण गर्ने

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रशारण स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

एनपीएलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो । यस्तै, टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिलिटर तीन रूपैयाँ बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाण्डू, नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०।३२ र डिजेलमा २।५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डू, नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बङ्गलादेश पुग्यो नेपालमा उत्पादित ४० मेगावाट विद्युत्

काठमाण्डू, करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ ।

प्रतियुनिट ६।५ सेन्ट अमेरिकी डलर मूल्यमा बिक्री हुने गरी नेपालको बिजुली भारतीय प्रसारण ग्रिडमार्फत पहिलो पटक शुक्रबार बङ्गलादेश पुर्‍याइएको हो ।

शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका थिए ।

नेपाल र भारतबिच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्ने छ ।

त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)– भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्ने छ ।

ऐतिहासिक उपलब्धि : भारत

त्रिदेशीय विद्युत् व्यापार सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश पुगेकामा भारतले पनि औपचारिक रूपमा यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

सम्झौतालगत्तै भारतको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भारतीय ग्रिडमार्फत नेपालको विद्युत् बङ्गलादेश पुग्नुले उपक्षेत्रीय अन्तरआबद्धता विस्तार हुँदै गरेको टिप्पणी गरेको छ ।

नेपाल भारत बङ्गलादेश त्रिदेशीय उक्त उपलब्धि हासिल हुनुमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई भारतले स्मरणीय मानेको छ ।

“सन् २०२३ मे ३१ देखि जुन ३ सम्मको भएको दाहालको भ्रमणका क्रममा भारतले नेपाल बङ्गलादेश विद्युत् व्यापारलाई प्रवर्धन गर्ने निर्णय लिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “त्यही निर्णय स्वरूप नै नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) भारत र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिच अक्टोबर ३, २०२४ मा त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।”

२८ हजार डलर आम्दानी

नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष ९सन् २०२४० को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुने छ ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुने छ ।

प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्दा २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रुपियाँ) पाउने छ ।

बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दूमा पाउने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ ।

मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले नै बेहोर्ने छ ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनासमेत हुन् ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्ने छ ।

नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापार डलरमा हुने छ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउँछ ।

नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँमा हुँदै आएको छ ।

ऐतिहासिक कोसेढुङ्गा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताए ।

बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलो पटक विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएका हुन् ।

“यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यका लागि साझा दृष्टिकोणको प्रतिविम्ब हो,” मन्त्री खड्काले भने ।

वर्ल्डलिङ्कले तिर्‍यो रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत दुई अर्ब पन्ध्र करोड

काठमाण्डू, लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवाबापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत बुझाउनुपर्ने रकम दाखिला हुन सुरु भएको छ ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको खातामा रकम दाखिला गरेको हो ।

प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले शुक्रबार दुई अर्ब १५ करोड १४ लाख रुपियाँ बुझाएको हो ।

जसमध्ये रोयल्टीबापत एक अर्ब ३८ करोड ९० लाख रुपियाँ र ७६ करोड २३ लाख रुपियाँ कोषबापतको रकम बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

इन्टरनेट सेवाप्रदायकले मर्मतसम्भारमा रोयल्टी र कोषबापतको रकम बुझाउनु नपर्ने जिकिर गर्दै पाँच वर्षअघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको अन्तिम टुङ्गो लगाउँदै सर्वोच्चले यही कात्तिक दोस्रो साता पूर्णपाठ सार्वजनिक गर्दै सेवा प्रदायकले रोयल्टी र कोषबापतको रकम बुझाउनुपर्ने फैसला गरेको थियो ।

सर्वोच्चको उक्त फैसलासँगै प्राधिकरणले बक्यौता रहेका इन्टरनेट सेवाप्रदायकलाई रकम दाखिला गर्न ताकिता गरेको थियो ।

त्यसअघि प्राधिकरणले बक्यौता रहेको भन्दै इन्टरनेट सेवाप्रदायकलाई विदेशी मुद्रा सिफारिस गर्न बन्द गरिदिएको थियो ।

जसकारण इन्टरनेट सेवाप्रदायकले विगत डेढ वर्षयता इन्टरनेट ब्यान्डविथ आयातबापतको रकम भुक्तानी गर्न सकेका छैनन् ।

वर्ल्डलिङ्कले बक्यौता तिरेका कारण अब सबै प्रक्रिया कानून अनुसार अघि बढ्ने प्रवक्ता पौडेलको भनाइ छ ।

अर्थात् वर्ल्डलिङ्कले ब्यान्डविथ आयातका लागि प्राधिकरणका तर्फबाट सिफारिस पाउने बाटो खुला भएको छ ।

त्यस्तै इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्रको अवधि समाप्त भएको २५ वर्ष पूरा भएकाले बक्यौताकै कारण प्राधिकरणले नवीकरण गरेको थिएन्।

अब भने वल्र्डलिङ्कको अनुमतिपत्र नवीकरण हुने बाटो पनि खुला भएको छ ।

प्राधिकरणका प्रवक्ता पौडेलका अनुसार शुक्रबारसम्म वर्ल्डलिङ्कले मात्र बक्यौता तिरेको हो ।

बक्यौता रहेका अन्य सेवाप्रदायकले पनि भुक्तानी गरिसकेका छैनन् । वर्ल्डलिङ्कले तिर्नुपर्ने रकम धेरै भएकाले पनि यससँगै अरूले पनि भुक्तान गर्दै जाने उनले जानकारी दिए ।

“बक्यौता भुक्तान गर्न हामीले तिर्नुपर्ने सबै सेवाप्रदायकलाई पत्र लेखिसकेका छौँ,” उनले भने । यद्यपि अन्य सेवाप्रदायकले बुझाउनुपर्ने बक्यौताको गणना हुन भने बाँकी छ ।

यसअघि प्राधिकरणले करिब चार अर्ब रुपियाँ रोयल्टी र कोषबापतको रकम प्राप्त गर्न बाँकी रहेको हिसाब निकालेको थियो ।

दूरसञ्चार नियमावली अनुसार सेवाप्रदायकले प्रत्येक वर्षको कुल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा दाखिला गर्नु पर्छ ।

सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए ।

अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलत प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराए ।

सिंहदरबारमा शुक्रबार सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “व्यापार र उद्योगमा लगानी हुने वातावरण सृजना गरी काम गर्नुपर्छ । निकै ठुलो षड्यन्त्रका रुपमा विकासलाई अवरोध उत्पन्न गर्ने गरी सामाजिक अराजकता निम्त्याइएको छ ।

प्रधामन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा सुधारका लागि अनलाइन कक्षालगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए ।

“हामीले गतिका साथ काम गरेर साहसिक निर्णय लिनुपर्नेछ । कृषिको आधुनिकीकरण र निजी क्षेत्रलाई प्रोत्साहित दिँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेछ ।

उद्यमीलाई तर्साउने र गाली गर्ने अनि त्यस्तै प्रवृत्तिले ताली पाउने खालका कार्यलाई कडाइका साथ निरुत्साहन गर्नुपर्छ ।”

बैठकमा प्रस्तुत शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैँक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदान, सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल सङ्कलन विनियमावली, अनिवार्या तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यसूचीहरुमा समाधानको विकल्पसहित निर्णय भएका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकरीले समष्टीगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सङ्घीयतापछि चालू आर्थिक वर्षसम्मको आर्थिक सामाजिक प्रगति स्थिति, प्रदेशहरुको समष्टीगत आर्थिक अवस्था, चालू आर्थिक वर्षको प्रगति स्थिति, यसअघिका पछिल्ला तीन वटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थितिलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाल सरकारका मुख्यसचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, महालेखापरीक्षक, सङ्घ र प्रदेश सरकारका सचिवलगायत सहभागी थिए ।

भ्रष्टाचार मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका तात्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर

काठमाण्डू, बिषेश अदालतले सिरहाको कर्जन्हा नगरपालिकाका तात्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका छन् ।

मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।

उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसीरको पेसी तोकिएको छ । अख्तियारले १४ चैत ०८० मा मुद्दा दायर गरेको थियो ।

अल्ट्रा अभियान डिजिटल सञ्चालकहरु पक्राउ, पीडितहरुले गरे चितवन प्रहरीको प्रसंसा

चितवन, अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रालिका सञ्चालक पक्राउ परेका छन् । रेनफोरेष्ट रिसोर्टमा लुकीछिपी एसी प्रोजेक्टको छैठौं किस्ता चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै गर्दा पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको दिर्नेशनमा गएको टोलीले एसी प्रोजेक्टका सञ्चालकलाई नियन्त्रणमा लिन सकेको हो ।

एसी प्रोजेक्टले ६ हजार ९ सय ९९ जना सदस्यहरुसँग प्रति व्यक्ति मासिक रुपले २ हजार २५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० असुल्दै आएका थिए ।

अभियानका सञ्चालकहरु वीरगंज घडिअर्वाका दिपेश वर्णवाला, रानीघाटका सुशील सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताले वर्षौदेखि पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा चिठ्ठा कार्यक्रम निर्वाध रुपमा चलाउदै आएका थिए ।

विभिन्न मिडियाहरुले चिठ्ठाको विकृति विरुद्ध समाचार लेख्दा सञ्चालकहरुले एसपी ढुंगेल रहेसम्म जति समाचार आएपनि अथवा जसले जे गरे पनि केही नहुने भन्दै सदस्यहरुलाई सान्तवना दिदै आएका थिए ।

अभियानको कार्यालय पर्सा जिल्लाको वीरगंजमा रहे पनि ठग सञ्चालकहरुले पीडित सदस्यहरुको डरले अन्य–अन्य जिल्लामा लुकिछिपी चिठ्ठा खोल्दै आएका थिए ।

तात्कालीन अवस्थामा अभियान डिजिटल वल्र्ड प्रा.लि ले २६ किस्ता चलाई करिव २५ करोड असुली गरिसकेको छ ।

तात्कालीन चिठ्ठाका सदस्यहरुलाई उपहारहरु नदिइ लुकिछिपी अभियान कै नामले एसी प्रोजेक्ट सुरु गरेको करिब ६ महिनामा ९ करोड ४४ लाख ८६ हजार ५ सय असुली सकेका छन् ।

एसी प्रोजेक्टमा तात्कालीन अभियान डिजिटल वल्ड प्रालि. काठमाडौंको नामले सदस्यहरुलाई लोभ्याउने ब्राउसर (बुक) वितरण गर्ने गरेको भएपति पछिल्लो समय अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सका नाममा गरिमा विकास बैंक लिंकरोड वीरगंजमा खाता खोली रकम जम्मा गर्ने गरेका छन् ।

सञ्चालकहरुले टिभि एसेम्बलिङ्ग गरी विक्री वितरण गर्न अनुमति लिए पनि सो नगरी सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारी सदस्य बनाउदै लुकिछिपी चिठ्ठा खेलाउदै ठगी गर्दै आएका थिए ।

चिट्ठा ऐनले के भन्छ ?

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर, दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।

३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्री भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।

त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।

तर, गैरकानूनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।

जहाँ गयो त्यहीँ सफलता हाल पार्ने कुशल प्रशासक प्रजिअ पौडेलले यस्ता ठगीमा जोडिएकालाई कहिले संरक्षण नगरी कानूनीले तोके बमोजिम कार्वाही गर्दै आएका छ्न।

प्रजिअ पौडेलले केहि समय अगाडि मात्रै चितवनको जिम्मेवारी समालेका थिए।

रुपन्देहीमा राम्रो काम गरेर पर्सा आएका प्रजिअ गणेश अर्यालले आफनो जिल्लामा यो ठगी धन्धा थाहा नपाएका हुन यो प्रहरी उपरीक्षकले काध थापेकाले मेसो नपाएर हो पर्सामा यो धन्धा चल्दै आएको छ।

भर्खरै सरुवा भएर आएका कारण नयाँ प्रजिअलाई यो धन्दाका बारेमा जानकार नभएपनि अर्यालको यो कामले तस्कर र माफियालाई निसाना पर्ने विश्वास लिइएको छ ।

गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी र स्थानीयबीच धकेलाधकेल, महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयको चेतावनी

काठमाण्डू, काठमाडौंको गौशालामा काठमाडौं महानगरपालिकाको प्रहरी बल र स्थानीयबीच तनावको स्थिति सिर्जना भएको छ ।

फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि स्थानीय सडकमा उत्रिएपछि तनाव सिर्जना भएको हो ।

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाउने तयारी गरेको थियो । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाउन लाग्दा प्रतिकार भएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

स्थानीय प्रतिकारमा उत्रिपछि स्थानीय सुमन सायमीको नेतृत्वमा महानगरसित बार्ता गर्न महानगर पुगेको ट ।

‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं,’ अर्यालले भने पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।’

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।

स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए । महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।