सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्छ : सभापति देउवा

डडेल्धुरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिकि योजना अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बैठकमा सभापति देउवले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेल्धुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नु पर्नेमा जोड दिए ।

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउनेगरी सरकारले काम गरिरहेको बताएका छन् ।

बैठकमा कांग्रेसको सय दिने संकल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले संकल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको उनले जानकारी दिए ।

कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र संघीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम भूमिका खेल्नुपर्ने बताए ।

संसदीय निर्वाचन पछि कात्तिक २६ गते गृह जिल्ला डडेल्धुराा पुगेका सभापति देउवाले विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् ।

उनले बिहीबार राति सभापति देउवा जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गरेका छन् ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरुले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरु निर्माण गर्न मागपत्र बुझाएकबा छन् ।

बिहीबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकपछि सभापति देउवा अजयमेरु गाउँपालिका –१ पुइलेक र २ को चमडामा पुगी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब १६ करोड राजस्व संकलन

काठमाण्डू, सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट १४ अर्ब १६ करोड बराबर राजस्व संकलन गरेको हो ।

गत आव सरकारले कुल ९ खर्ब ४४ अर्ब ५५ करोड कर राजस्व र १ खर्ब १४ अर्ब ३४ करोड १७ लाख गैरकर राजस्व उठाएको थियो ।

उक्त आवमा सरकारको राजस्व संकलन लक्ष्य भने १४ खर्ब २२ अर्ब ५४ करोड रहेकोमा लक्ष्यको ७६ प्रतिशत मात्र उठेको हो ।

सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कर आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि कर ९भ्याट० का १७० र ३४० छुटका दर खारेज गरेको थियो ।

गत आवमा सरकारले १ हजार ९ सय ८६ करदाताका विभिन्न आय वर्ष अनुसन्धान गरी ११ अर्ब ४ करोड थप निर्धारण गरिएको समेत अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले लामो समयदेखि उठ्न नसकेको राजस्व उठाउन विभिन्न स्किम घोषणा गर्ने गर्छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरेर फर्केका नेपालीले १ जेठ २०८० देखि आफूले प्रयोग गरेका मोबाइल फोन सेट १ थानबाहेक थप १ थान महसुल सुविधामा ल्याउन पाउने व्यवस्था गरेको थियो ।

चालू आवदेखि भने सामाजिक सुरक्षा कोषमा आबद्ध भई वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा १२ महिना काम गरी फर्केकाले साथ ल्याउने एउटा जुनसुकै आकारको टेलिभिजन सेटमा भन्सार महसुल छुट दिइएको छ ।

त्यस्तै मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादन संरक्षण गर्न केही वस्तु आयातमा लाग्ने महसुल वृद्धि गरिएको थियो ।

स्वदेशी उद्योगले सिमेन्ट, फलामे डन्डी, फलाम तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केबुल आयोजनालाई बेच्दा लाग्ने भ्याट र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सकिने व्यवस्था गरिएको थियो ।

त्यसैगरी लघु, घरेलु तथा साना उद्योगले उत्पादन प्रयोजनमा पैठारी गर्ने मेसिनरीमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने, वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिको आयकरमा समान्य वृद्धि तथा सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई त्यस्तो आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै सरकारले नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दालाई करको दायरामा ल्याउन २०८० जेठ मसान्तसम्मको भ्याट २५ असारसम्म दाखिला गरे त्यसमा लाग्ने शुल्क, ब्याज र थप दस्तुर मिनाहा गरेको थियो

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसीर भित्र सुरु नभएमा ठेक्का तोड्ने प्रभानमन्त्री ओलीको चेतावनी

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् ।

उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।

आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ ।

हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

सभापति लामिछानेविरुद्ध अनुसन्धान चल्दै गर्दा रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दावी गर्दै सर्वोच्चमा रिट

काठमाण्डू, सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ।

अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

भट्टराईको निवेदन सर्वोच्च प्रशासनले सुरूमा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो ।

कात्तिक १४ मा सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै अदालतले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको बयान आज तेस्रो दिन पनि जारी

बुटवल, सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको हो ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेका थिए।

हिजो अधुरो रहेका विषयहरू सम्भवतः आजै सकिने जिल्ला सरकार वकिलको कार्यलय रुपन्देही न्याधिवक्ता प्रेमराज पौडेलले बताए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

मङ्गलवार सुरु गरिएको लामिछानेको बयानलाई तेस्रो दिन पनि निरन्तरता दिएका हुन् । आज बयान सकिएमा कास्की पठाउने योजनामा प्रहरी रहेको छ ।

एकै दिन २,२०० ले घट्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा सुनको ओरालो यात्रा निरन्तर छ । आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको हो ।

‘कोप–२९’ सम्मेलनमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुरदेखि हिउँ चितुवा संरक्षणमा गम्भीर छलफल

काठमाण्डू, संसारको उच्च भाग हिमाल, तल्लो भाग समुद्र । यी दुईबीचमा असल सम्बन्ध हुँदा नै संसारले न्याय पाउँछ ।

बुधबार बाकुमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

कोप–२९ मा सम्मिलित देशका राष्ट्ररसरकार प्रमुखले भावी पुस्तालाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्नका लागि उच्च भाग र तल्लो भागबीचमा सौहार्दता कायम हुनुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामना सामूहिक बुझाइ एवं साझा प्रयास हुनुपर्ने उनीहरूको भाव थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु आएका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक छन् ।’

राष्ट्रपति पौडेलले थपे, ‘तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो ।

त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगे भने खर्बभन्दा बढीको हानिनोक्सानी भएको छ ।’

उनले यस्ता प्रकारको हानिनोक्सानी स्पेन र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरीले गरेको स्मरण गरे ।

‘भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास हो,’ नेपालले बुधवार आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनार माथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्नुपर्छ ।’

यस विशेष सत्रमा बेलायत, फ्रान्स, भुटान, कीर्गिस्तान, अजरबैजानलगायत देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको थियो ।

नेपालसँग मिल्दो भाव व्यक्त गर्दै सम्मेलनमा सम्मिलित देशले जलवायु परिवर्तनबाट उत्पन्न हुने बहुआयामिक असर न्यूनीकरणका लागि समिष्टिगत एवं सङ्ख्यात्मक हानिनोक्सानी समेटेर जलवायुवित्त व्यवस्थापन गर्न आह्वान गरे ।

ती देशले जलवायु परिवर्तनबाट निम्तिनसक्ने सङ्कटको पूर्वानुमान गर्न नसकिने भन्दै सहकार्य र जलवायुवित्त व्यवस्थापनमा जोड दिएका हुन् ।

हिउँ चितुवाको स्मरण

कोप–२९ सम्मेलनका क्रममा कीर्गिस्तानद्वारा बुधबार बाकुमा आयोजित उच्चस्तरीय सत्रमा हिउँ चितुवाको स्मरण गरिएको छ ।

नेपाल र कीर्गिस्तान दुवै पर्वतीय मुलुक भएको र दुवै देशले जलवायु परिवर्तनका असर र प्रभाव समान रहेको दुवै देशको बुझाइ छ ।

नेपाल र कीर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेको अनुभव स्मरण गर्दै राष्ट्रपति पौडेलले पर्वतीय मुलुकले समान प्रकारको समस्या भोगिरहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरीब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएको र उनीहरूलाई न्याय दिनुपर्नेमा जोड दिए ।

कीर्गिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति र अजरबैजानका विदेश मामिलामन्त्रीले पनि पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्याका समस्या समान रहेको बताए ।

उनीहरूले जलवायु परिवर्तनको प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएकाले एकीकृत भएर सामना गर्नुपर्नेमा जोड दिए ।

पर्वतीय क्षेत्र तुलनात्मक रूपमा बढी जोखिममा परेको उनीहरूको भनाइ थियो ।

विकसित देशलाई गम्भीर बन्न आग्रह

सम्मेलनकै क्रममा बुधबार नै अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूले जलवायु परिवर्तनबाट उत्पन्न असरप्रति विकसित देशहरू गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले विकसित मुलुकहरूका कारण जलवायु परिवर्तनको असरमा वृद्धि भएको बताएका हुन् ।

बाकुमा जारी कोप–२९ को सम्मेलनअन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग भएको सामूहिक भेटघाटमा राष्ट्रपति पौडेलले विकसित देशलाई जलवायु परिवर्तनको असर र प्रभाव बुझाउनुपर्ने बताए ।

अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले अझ प्रयास गनुपर्नेमा जोड दिए ।

नेपालको सहभागिता र चासो

बाकु कोपमा विश्वका करिब दुई सय मुलुकका राष्ट्रप्रमुखदेखि अन्य उच्च व्यक्तित्वहरू सहभागी छन् ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्री सम्मेलनमा सहभागी भएका छन् । यसपटक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गरिरहेका छन् ।

नेपालकोतर्फबाट हरेक कोपहरूमा जलवायुजन्य सङ्कटका कारण पर्वतीय क्षेत्र असुरक्षित रहेको, हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गइरहेको, हिमताल विष्फोट हुनसक्ने खतरा रहेकोजस्ता जोखिम रहेको भन्दै पर्वतीय मुद्दालाई उच्च प्राथमिकताका साथ उठाइएको छ ।

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्यगरी ६ वटा मुद्दालाई उच्च प्राथमिकता दिइ नेपाली प्रतिनिधिहरू कोपमा उपस्थित भएका छन् ।

वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका छ विषयगत कार्यपत्र तयार गरिएका छन् ।

यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको कोप–१५ मा तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको कोप–२४ मा तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा बेलायतको स्कट्ल्याण्डमा सम्पन्न कोप–२७ मा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न कोप–२८ मा तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाइएको थियो ।

–रासस

आन्तरिक राजस्व कार्यालय भरतपुरले गर्‍यो १४६ करदाताको बैंक खाता रोक्का

चितवन, आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ ।

कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरूको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरूको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए ।

कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो ।

सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालू आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

रासस

अन्तर्वार्ताका लागि बोलाइयो धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीनै जनालाई

काठमाण्डू, धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ ।

छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो ।

छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानूनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो ।

यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।

अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो।

२०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।

नेपाल एसिया कपमा पनि छनोट, समूह चरणमै भारत/पाकिस्तानसँग खेल्ने

काठमाण्डू, नेपाल विश्वकपका साथै यू–१९ एसिया कपमा पनि छनोट भएको छ । बुधबार विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका साथै यू–१९ एसिया कपमा छनोट भएको हो ।

एसिया कप ३० मंसिरदेखि ७ पुससम्म मलेसियामा आयोजना हुनेछ । यू–१९ एसिया कपमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘बी’ मा भारत र पाकिस्तान रहेका छन् । यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र आयोजक मलेसिया रहेका छन् ।

एसिया कपमा नेपालले ३० मंसिरमा डिसेम्बर तथा १ पुसमा भारतसँग खेल्ने तालिका छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा र बिक्रीदर आठ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ एक पैसा, कतार रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पेट्रोलियम अन्वेषणको ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख, जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ ।

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ ।

रासस

यस्तो छ तपाईंको कात्तिक २९ गते बिहीबारको राशिफल

मेष : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ। हरेक काममा आफ्नै अल्छीपनले अवरोध गर्नेछ। निजी काममा भन्दा राजनीतिक क्षेत्रमा मन जानेछ। परिवारको साथ मिल्नेछ। 

वृष : दिन सहज छ। शुभकार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ।  

मिथुन : सञ्चित धन खर्च हुनेछ। परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन्। बन्धुको साथ मिल्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ। 

कर्कट : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ। स्वास्थ्यले राम्रो साथ दिनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने छ।
 
सिंह : दैनिकी सहज छ। परिवारले निगरानी गरेको देखिन्छ। साथी र संगठनले साथ दिनेछन्। व्यापारमा अघि बढ्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ। 

कन्या : बोलीको प्रभावले राम्रो काम बन्नेछ। साथी र संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

तुला : तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ। इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ। अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर भएको थाहा नहुने जोखिम छ। औषधीको नियमिततामा भने ख्याल गर्नुपर्नेछ। 

वृश्चिक : दिन सहज छ। समाजमा थोरै बोलेर जित्ने योग छ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ। परिवारले असहयोग गर्ने जोखिम छ। 

धनु : साथीमार्फत् काम गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मकर : परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। आफ्ना बन्धु र दिदीबहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। बढी विश्वास गर्नाले घात हुने भएकाले कर्तव्य मात्र पूरा गर्नु फाइदा हुनेछ।
 
कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। मनमा खटपटी हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुने योग छ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ। प्रेममा खटपटी हुने जोखिम छ। 

मीन : मनमा राम्रो विचारको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड, एक वर्षभन्दा बढी समयका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने

काठमाण्डू, एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।

अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका आधारमा मन्त्रालयले पुसभित्र निर्णय गरेर राष्ट्रिय योजना आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।

२०८० सालमा कार्यान्वयनमा ल्याइएको मापदण्डमा केही परिमार्जन गरेर अहिलेको मापदण्डमा स्रोत सहमतिका विभिन्न चरणको स्पष्ट समयसीमा तोकिएको छ ।

त्यस्तै केही समयसीमामा परिवर्तन पनि गरिएको छ । जस अनुसार आयोजनाको बहुवर्षीय ठेक्का सहमति वा स्वीकृतिका लागि मन्त्रालय वा निकायले कात्तिक मसान्तभित्र आयोगमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अघिल्लो मापदण्डमा असोज मसान्तभित्र प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था थियो ।

त्यसरी आएको प्रस्तावमा आयोगले मूल्याङ्कन गरेर ठेक्का सहमति वा स्वीकृति प्रदान गर्न उपयुक्त देखेमा मङ्सिर मसान्तभित्र अर्थ मन्त्रालयमा पठाउनुपर्ने प्रावधान मापदण्डमा छ । अघिल्लो मापदण्डमा यस्तो समयसीमा तोकिएको थिएन ।

यो पनि पछिल्लो मापदण्डले पहिलो पटक गरेको व्यवस्था हो । अर्थबाट स्रोत सहमति प्राप्त भएपछि आयोगले बहुवर्षीय ठेक्का कार्यान्वयनका लागि सहमति वा स्वीकृति दिनुपर्ने छ ।

नयाँ मापदण्डले स्रोत सहमतिका लागि प्रस्ताव गरिने आयोजनाको सुरु विनियोजनको बजेट रकम पनि संशोधन गरेको छ ।

यसअघि केही आयोजनाबाहेक सुरु विनियोजन एक करोड रुपियाँभन्दा कम भएको आयोजनामा स्रोत सहमतिका लागि प्रस्ताव गर्न नपाइनेमा यसलाई बढाएर पाँच करोड पु¥याइएको छ ।

अर्थात् खण्ड खण्डमा निर्माण गर्न नसकिने मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, खानेपानी संरचना, ढल व्यवस्थापन, सुरुङ र फ्लाई ओभररअन्डरपास जस्ता आयोजनाबाहेक अन्य पाँच करोड रुपियाँभन्दा कमका आयोजनामा बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति प्रस्ताव गर्न पाइने छैन ।

अर्थ मन्त्रालयले आयोगबाट स्वीकृत भएर आएको प्रस्ताव उपर पुस मसान्तभित्र निर्णय गरेर आयोगलाई स्रोत सहमतिको जानकारी गराउनुपर्ने व्यवस्था गरिएको हो ।

नयाँ मापदण्डले स्रोतसम्बन्धी केही अन्य व्यवस्था पनि थप गरेको छ ।

जस अनुसार बहुवर्षीय आयोजनामा स्रोत सहमति माग गर्दा मन्त्रालय वा निकायले आगामी आर्थिक वर्षका लागि प्राप्त हुने अनुमानित बजेट सीमाका आधारमा गत आर्थिक वर्षमा स्रोत सहमति भएको आयोजनाका लागि आवश्यक बजेट छुट्याउनुपर्ने छ ।

त्यसरी छुट्याएर बाँकी हुने रकम पनि यकिन गरेर नयाँ आयोजनालाई समेत स्रोत आवश्यक पर्ने पक्षलाई ध्यान दिएर स्रोत सहमति माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दुर्घटनापछि फरार झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा गरे आत्मसमर्पण, साँखुमा तनाव

काठमाण्डू, आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् ।

भुजेलले चलाएको बा १९ च ३६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । महिलाको स्थिति गम्भीर रहेको छ ।

दुर्घटनापछि साँखुमा तनाव उत्पन्न भएको छ । स्थानीयले बाटो अवरोध गरेका छन् । दुर्घटनामा परेका दुवै जनाको नाम खुलेको छैन् ।

उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढासमेत गरिरहेका छन् । प्रहरीले भुजेल समातिएको भन्दै माइकिङ गरेको छ ।