निजामति सेवामा वितृष्णा, भौतिक मन्त्रालयका सहसचिव खत्रीले दिए राजीनामा

काठमाण्डू, स्वदेशमा रोजगारी नपाए पछि लाखौंको सख्यामा बिदेशीने लहर चलिरहेको बेला निजामती सेवाको आकर्षक पदमा कार्यरत सहसचिव प्रेमप्रकाश खत्रीले राजीनामा दिएका छन् ।

खत्रीको राजीनामाले कार्यरत र नयाँ प्रवेशीका लागि भने तरङ्ग नै पैदा गराएको छ।

कोहि नहुनेको निम्ति लोकसेवा भरोसा बनेर उभिएकै कारण देशमा सुशासनको निम्ति काम गर्ने र नागरिकको तहमा उत्पन्न गुनासालाई घटाउने ध्ययका साथ लिखितबाट अधिकृत स्तरमा नाम निकाल्न सफल सहसचिव खत्रीले बिभिन्न चरणका परीक्षा उर्तिण गर्दै सहसचिवसम्म पुगेका थिए ।

निजामती सेवामा प्रवेशका हिसाबले बाहुल्यता रहेको स्याङ्जा निवासी सहसचिव खत्री प्राविधिक सहसचिव हुन्।

सडक विभाग भित्र उत्तर दक्षिण आयोजनाको निर्देशक पदमा रहेका खत्रीको झण्डै १७ वर्ष जागीरे सेवा अवधि बाँकी रहेको छ । निजामति सेवाको विशिष्ट पदमा पुग्ने खत्रीको अकस्मातको राजीनामाले धेरैमा संसय पैदा गरेको छ ।

राजीनामाको बिषयलाई गहन रुपमा नहेर्ने हो भने निजामती सेवामा इमानदार कर्मचारीहरुले सेवा छोडने क्रम एका–एक बढेर जाने देखिन्छ । पछिल्लो समय सुरक्षा निकायमा राजिनामा दिने संख्या बढेको बेला खत्रीको राजीनामा आएको छ ।

भौतिक मन्त्रालय भन्ने बित्तिकै नागरिकको तहबाट हेर्ने दृष्टिकोण सकारात्मक देखिदैन् ।

बर्सौदेखि सरकारी सेवामा देखिएका बेथितिहरु हटाउन जोस र जाँगर बोकेर भौतिक मन्त्रालय त छिरे तर उनको त्यो जाँगर र जोसमा एकाएक कमी आयो र बेथितिलाई जस्ताको तस्तै छाडेर आफैं बाहिरिन पर्यो ।

खत्रीले केही बर्ष पछि आउने मन्त्रालय अन्तरगतको महानिर्देशक र बिशिष्ट श्रेणीको अवसरलाई पनि प्रवाह गरेनन् ।

महानिर्देशकको पद भनेपछि शक्तिकेन्द्रमा लम्पसार पर्ने र जस्तोसुकै सम्झौता गर्न राजीहुने निजामती क्षेत्रमा देखिएको आजभोलिको आशक्तिपन सबैमा हुदैन भन्ने उदाहरण खत्री आम नागरिककावीचमा उदाहरण समेत बनेका छ्न्।

सहसचिव पदमा चार वर्ष सेवा गरिसकेका १७ वर्ष सेवा बाँकी रहेका सहसचिव खत्रीले राजीनामा दिनु हुदैन्थो कि ? भन्ने एकाथरिको धारणा छ ।

तर, खत्रीले जति कोशिश गरेपनि पूर्वाधार बिकास क्षेत्रमा ब्याप्त बिकृतिको साक्षी बस्दै माफियाको हलिया बन्नु भन्दा स्वाभिमानका साथ बाँच्नु नै हितकर ठाने ।

सेवा निबृत्त नहुँदै सेवाबाट राजीनामा दिएको समाचारले निष्ठापुर्वक कार्यरतहरुको उकुसमुकुसलाई चिन्तित मात्रै बनाउने छैन बेलैमा यो परिस्थितिजन्य राजीनामालाई ध्यान नदिने हो भने निश्चित माफियाका कारण समग्र प्रणाली कै विकल्पका बारेमा सोच्नुपर्ने परिस्थिति चाडैं नै आउन सक्ने देखिन्छ ।

केहि दिन अगाडि निर्माण व्यावसायी निकोलस पाण्डेले सरकारी कर्मचारी भनेका पढेलेखेका गुण्डा हुन भनेका थिए ।

उनले कर्मचारी कहिल्यै सुध्रदैनन सबै प्रक्रियामा घुस खान्छ्न भनेर सार्वजनिक कार्यक्रममा भनेको केही दिन बित्न नपाउदै खत्रीको राजीनामा आएको छ ।

यसलाई इमानदारीसाथ काम गर्ने कर्मचारीका निम्ति सार्वजनिक मर्यादामा आच पुगेको निष्कर्षमा पुगि सेवाबाट राजिनामा दिएको भनेर पनि ब्याख्या गर्न थालिएको छ ।

बदमासी एउटाले गर्छ । तर, अपजस प्रणालीलाई नै न्यायोचित नभएको भन्ने कुरामा कतिपय इमानदार कर्मचारीले प्रतिबाद गर्ने गरेका छन् ।

हुन त केही बदमासी गर्ने कर्मचारीलाई कारवाही नगरेर तोकिएको पारिश्रमिकमा बाच्ने इमान्दार राष्ट्रसेवकको हुर्मत लिने छुट कसैलाई छैन् ।

अहिले बदमासी गर्नेलाई कारवाही र इमान्दारलाई पुरस्कृत गर्ने भन्ने दुई कोणबाट बहस सुरुसमेत भएको छ।

सरकारी कर्मचारी सबै बदमाश नै हुन त !

अख्तियारको दुरुपयोग गर्ने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले कार्वाही मात्रै गर्दैन मुद्दा समेत चलाएका छ्न्।

विधिको शासनको धज्जी उडाउने र भ्रस्टाचारमा जोडिएकालाई अख्तियारले चलाइएका अधिकाश मुद्दामा अदालतले सफाइ दिनु र सुन पानी छर्कने प्रवृत्ति बढदै गए पछि माफियाकरण बढदै गरेको निष्कर्ष सहित सहसचिव खत्रीले निरासा पूर्ण राजीनामा थप पेचिलो बनेको बताइन्छ।

जसकाकारण क्षमता भएका सहसचिव खत्री जस्ता योग्य जनशक्ति बाध्य भएर पलायन भएको देखिन्छ। यो क्रममा पूर्णबिराम नलागेमा स्थिति अभल भयाभह बन्न सक्छ ।

सहसचिव खत्रीले कार्तिक १९ गते भौतिक मन्त्री समक्ष राजिनामा दिएका हुन।

सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वापा सभापति लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

पोखरा, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्कीबाट आज (मंगलबार) रुपन्देही लगिने भएको छ ।

पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ लान लागिएको हो ।

लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रर्दशन गर्दै आएको रास्वापाले रुपन्देहीमा प्रर्दशनको तयारी गरेको छ ।

प्रर्दशनका लागि लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न सर्कुलर गरेको छ ।

यता ठगीमा लामिछानेको नाम मुछिएको सुप्रिम सहकारीका पीडितले पनि आन्दोलनको तयारी गरेका छन् ।

यसै शिलशिलामा लामिछानेलाई बिहान पोखरा विमानस्थल पुर्‍याइएको छ ।

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिंदै

काठमाण्डू, हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन् । 

तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ ।

शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ ।

यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ ।

यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताए ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । 

यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत

काठमाडौंं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो । उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णयबारे जानकारी दिए ।

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जनाएको छ । लोहनीले गत भदौमा राजीनामा दिएका थिए ।

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख १३ हजार ९६४ पटकको कारोबारमा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, श्रृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम २५ करोड नाघेको छ।

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ मा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । 

जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।  

उनका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् । 

भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीषको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै छ । 

उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

“सत्तारूढ दलसँग सहकार्य गर्दैनौँ, अरूसँग स्थानीय तहमा आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको छ । नभए एक्लै चुनाव लड्छौँ ।

माओवादीले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ । “केन्द्रबाटै छलफल त गर्दैनौँ, मिल्नेसम्म स्थानीयस्तरमा नै सहकार्य हुन्छ,” उनले भने ।

उमेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी

काठमाडौं । बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड-ट्रंकलाइनको बक्यौता रकम भुक्तानी विवादमा विद्युत लाइन काटिएका उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । 

सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले उर्जमन्त्री र प्राधिकरणको सञ्चालक समितिलाई सम्बोधन गरेर पत्र लेख्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने पत्रमा उल्लेख छ ।

परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका वरिष्ठ उपाध्यक्ष भूमिनन्द अर्यालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ- ‘लाइन काटिएपश्चात् सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगसहित १४ वटा ग्राहकले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता बुझाई लाइन जोडिएको थियो। आफ्ना ग्राहकहरूलाई सहजीकरण गर्न सञ्चालक समितिले सुविधामा थप गरी ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको अवस्थामा सो सुविधाअनुसार बक्यौता बुझाई लाइन जोड्नुपर्नेमा सरकारबाट २४ घण्टाभित्र लाइन जोड्न निर्देशन हुनुले आगामी दिनमा आम उपभोक्ताबाट महशुल असुलीमा प्रतिकूल असर परी संस्था धराशायी हुने निश्चित छ ।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो । डेडिकेटेड र ट्रंक लाइन विवाद विवादमा  ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा ८ जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गाउँपालिका-४ ऐरी छाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामीसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आज एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा रु एक हजारले घटेको छ ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

सोमबारका लागि चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय ६० रुपैयाँमा भएको थियो।

मधेस प्रदेश : कुन–कुन स्थानीय तहमा हुँदैछ उपनिर्वाचन

धनुषा । आगामी मंसिर १७ गते मधेश प्रदेशका सात ओटा वडामा उप निर्वाचन हुने भएको छ।

मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ मा उपनिर्वाचन हुनेछ। 

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। 

कुलमानलाई सर्वोच्चको साथ, ट्रंक लाइन महसुल नतिर्न परेको रिट खारेज

काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी गरेको ‌थियो।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत नियमन आयोगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका उद्योगले रकम बुझाएपछि मात्रै प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको थियो ।

आयोगले गत बुधबार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको विवादित डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुलको हकमा मात्र सम्बन्धित उपभोक्तबाट आवधिक रुपमा असुल-फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए तापनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिने, उक्त विवादित महसुलको परिणाम वा अन्य पक्षउपर पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसकेको भए पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने र यससम्बन्धी भए गरेका प्रगति विवरण आवधिक रूपमा आयोगमा जानकारी गराउनु भन्ने निर्णय गर्दै प्राधिकरणलाई निर्देशन दिएको थियो ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका उद्योगीहरूले महसुल नतिर्न गरेको हरेक प्रयास अहिलेसम्म असफल हुँदै आएका छन् । डेडिकेटेड फिडर एवम् ट्रंक लाइनको महसुलका विषयमा उद्योगहरूले दायर गरेका ९० वटाभन्दा बढी मुद्दाको विपक्षमा आदेश आएको छ । त्यस्तै बाराको सिमरास्थित हुलास स्टिललाई बक्यौता रकम तिर्न गरेको पत्राचारविरुद्ध उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा न्यायाधीसद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । १४ करोड १२ लाख रुपियाँ महसुल बक्यौता रहेको सो उद्योगको लाइन प्राधिकरणले काटिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोेग गरेका उद्योगलाई बक्यौता महसुल भुक्तानी गर्न दिएको अन्तिमपटकको अल्मिेटम सकिएपछि प्राधिकरणले महसुल बक्यौता रहेका ४९ उद्योगमध्ये ३४ उद्योगको लाइन कार्तिक ८ गतेदेखि काटेको थियो । प्राधिकरणले लाइन काटेपछि १४ वटा उद्योगले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता रकमको पहिलो बुझाई लाइन जोडेका छन् । त्यस्तै सरकारी स्वामित्वका २ वटा सिमेन्ट उद्योगले समेत किस्ताबन्दीको सुविधा लिई महशुल भुक्तानी गरिसकेका छन् भने ६ वटा उद्योगले कार्तिक २८ गतेसम्म लाइन नकाट्न अदालतबाट स्टे अर्डर लिई बसेका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका ६१ वटा उद्योगको ६ अर्ब ६० करोड ७८ लाख रुपियाँ महसुल बक्यौता रहेको निष्कर्षसहित सरकारले गत वैशाख २७ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा २५ प्रतिशत जरिवाना जोडिँदा करिब ८ अर्ब रुपियाँ हुन आउँछ । सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद सुल्झाउनका लागि लाल आयोग गरेको थियो । सोही प्रतिवेदनका आधारमा उद्योगीले १६ अर्बभन्दा बढी छुट पाएका छन् ।

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनिहरूले राष्ट्रपति भवनमा बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक टीका लगाइदिएका हुन्।

उनीहरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गरे। राष्ट्रपतिले पनि बहिनीहरूलाई टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

नेपाल कै पहिलो बर्थडे पार्क संरक्षण समिति गठन


चन्द्रपुर।हरेक स्थानियले आफनो जन्म उत्सवमा एउटा एउटा फुल र फलको बिरुवा रोपेर अभियान नै चलाउन थाले सगै देशभर यो अभियानलाई एक्यवद्धता जनाउने र रौतहट बाट पहिलोपटक सुरुवात जनमदिनलाइ सतकर्ममा जोडौ अभियानबाट हजारौं फलफूलका बिरुवा रोप्ने काम सम्पन्न भएको छ।
चादी खोला नजिकै बाट यो अभियानका रुपमा सुरुवात भएको स्थानमा सबै क्षेत्रबाट चासो बढन थाले पछि यो क्षेत्र लाई थप आकर्षक बनाउन विभिन्न टोल सुधार समितिबाट भेला भै सबैको प्रतिनिधित्व हुने गरि सुरेश मगर को अध्यक्षतामा आज ११ जनाको संरक्षण समिति गठन गरेको छ।
जसमा उदय भट्ट उपाध्यक्ष उमाकान्त मैनाली सचिब बिना लामा कोषाध्यक्ष सदस्यहरु नवराज बिष्ट,,रामप्रसाद त्रिपाटी, धावाडोल्मा तामाङ ,तेजबहादुर लामा ,टक बहादुर मगर ,गोपिनी घिसिङ ,युबकुमारी बिक लगायतका जिल्लाका सेवाभाबका ब्याक्ती सम्मीलित समिति एक भेलाले आज गठन गरेको छ।
देशभरकै पहिलो अभियान भएकाले
सिन्दुरेघारी जजामाबिका प्रधानाध्यापक सत्रुधन प्रसाद साह शिक्षकहरु ब्यबस्थापन समिति सबैले यो अगाडि बढाउन अग्रसरता देखाएर बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई आफनो जन्मदिनमा फुलका बिरुवा रोप्न प्रेरित गर्दै आएका छ्न भने यो राष्ट्रिय अभियान बन्न थाले पछि रौतहटका प्रजिअ हिरालाल रेग्मी ,प्रहरी उपरीक्षक घिमिरे देखी जिल्लाका सबैले सो स्थानमा पुगेर एउटा एउटा बृ क्ष रोपिसकेका छ्न।
रौतहट सुरुवात भएपछि,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त , नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल,पुर्व मुख्यसचिव न्यायलयका न्यायाधीशहरु महानायक राजेश हमाल नायक पल शाह,नायिकाहरु केके अधिकारी पुजा चन्द दर्जनौं राष्ट्रिय खेलाडीहरुले रौतहटको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृ क्ष रोपण पशुपतिनाथमा पुगेर गरेका थिए।
सतकर्मको यो अभियानलाई एक्यवद्धता जनाउन देश बिदेश बाट थालिए सगै स्थानीयले थप चासो लिएर सो क्षेत्रको सरसफाइ गर्न मात्रै जुटेका छैनन रोपिएका बिरुवा जोगाउन मुस्किल परेको भन्दै बास गाडेर जोगाउन पहल गरिरहे पनि संरक्षणमा चुनौती देखिएको छ।
नागरिकको तहमा बढी रहेको उत्साह सहितको अभियानलाई स्थानीय तहले हालसम्म कुनै सहयोग नगरेको समेत सस्थाका सदस्य रामप्रसाद त्रिपाटीले सम्पत्ति न्युजलाई बताए ।
यो अभियान २०८० फागुन ११ गते बाट सुरुवात गरिएको हो।
तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले पहिलोपटक सुरुवात गर्नुभएको यो अभियान नेपाल कै पहिलो अभियान बन्न पुगेको छ। पहिलोपटक सुरुवात गर्दा चौलागाईं सहित रौतहटका संचारकर्मी शिव पुरी ,रमेश तिमल्सिना अनमोल कार्की सुब्बा कार्की, मनोज साह,राष्ट्र सेवक प्रराज चौलागाईं ,रामप्रसाद त्रिपाटी ले अभियानलाई साथ दिएका थिए। एओअ वर्षको अबधिमा यो अभियान दर्जनौं जिल्लामा सुरुवात गरिसकिएको छ भने अमेरिका ,बेलायत अस्टे्रलिया ,क्यानडा बस्ने नेपालीले समेत जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृ क्ष रोपण अभियान लाई एक्यवद्धता जनाउदै बृ क्ष रोपेका छ्न।

अर्यालले पाए भ्रष्टाचारको मुद्दामा सफाइ 

काठमाडौ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले सफाइ पाउने फैसला गरेको हो ।

फैसलामा भनिएको छ, ‘प्रतिवादी डा अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो र बदनियत राखी आफूलाई लाभ वा सरकारलाई हानिनोक्सानी निजकै कारणबाट भएको भन्ने प्रमाणबाट पुष्टि हुन आएन ।’

अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै ‘एलएमबीएस’ माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिवसमक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन नआएको ठहर अदालतको छ ।

‘राष्ट्रिय आवश्यकता र महत्वको आयोजना कार्यान्वयन गर्ने सदनियतले काम गरेको देखिँदा निज प्रतिवादीबाट नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको र आफूलाई निजी लाभ लिने बदनियत लिएको भन्ने आरोपदाबी पुष्टि हुन नसकी निज प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ’, फैसलामा भनिएको छ । मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सफाइ पाउनेमा सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्ति श्रेष्ठ, उक्त केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हलिबल्लभ घिमिरे, प्रिन्ससेल प्रालि र उक्त प्रालिका निर्देशक केशव शर्मा रहनुभएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र सोही विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलको हकमा समग्र मिसिल अध्ययनबाट आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयसँग अन्तःशुल्क स्टिकर छपाइको सैद्धान्तिक सहमतिको लागि मात्र अनुरोध गरिएकोमा अर्थ मन्त्रालयबाट नै छपाइको लागत र खर्चको विषय उठान गरी पत्राचार गरेको देखिएको तर उक्त कार्यका लागि प्रक्रियामा संलग्न रहेका अर्थ मन्त्रालयका अधिकारीहरुउपर कुनै अनुसन्धान भएको नपाइको फैसलामा उल्लेख छ ।
अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई अदालतले सजाय निर्धारण गर्नेछ । उक्त प्रकरणमा ११ व्यक्ति र एक कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यही कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै आज अदालतले फैसला सुनाएको हो ।