काठमाण्डू, चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकसम्म सरकारको खर्चअनुसार आम्दानी हुन नसक्दा डेढ खर्ब रुपियाँ बजेट घाटा भएको छ ।
खर्चअनुसार आम्दानी हुन नसक्दा सरकारले आन्तरिक र बाह्य ऋण लिएर खर्च व्यवस्थापन गर्दै आएको छ ।
जसका कारण विकास खर्चभन्दा ऋणको सावाँ ब्याजमा मात्रै झन्डै ५४ अर्ब रुपियाँ बढी खर्च भएको छ । चार महिनाको अवधिमा ३ खर्ब २३ अर्ब २४ करोड रुपियाँ राजस्व उठेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन–कार्तिकसम्म सरकारलाई १ खर्ब ५३ अर्ब रुपियाँ बजेट घाटा रहेको छ ।
कार्तिक मसान्तसम्म सरकारले ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ४ खर्ब १५ अर्ब २ करोड १ लाख रुपियाँ गरेको छ ।
महालेखाका अनुसार साउन ९४ अर्ब, ७२ अर्ब, असोजमा ८१ अर्ब र कात्तिकमा ७६ अर्ब रुपियाँको हाराहारीमा राजस्व उठेको छ ।
चार महिनाको अवधिमा कर राजस्व २ खर्ब ८९ अर्ब ८९ करोड ९५ लाख अर्थात् लक्ष्यको २२ दशमलव ५७ प्रतिशत र गैरकर राजस्व ३३ अर्ब ३४ करोड ५ लाख रुपियाँ अर्थात् लक्ष्यको २४ दशमलव ६८ प्रतिशत उठेको छ ।
यस अवधिमा सरकारले अनुदानबापत कुनै आम्दानी गर्न सकेको छैन् । यो लक्ष्यको २२ दशमलव ७७ प्रतिशत हो ।
चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
सरकारले राजस्वको लक्ष्य भेट्टाउन हरेक महिना करिब १ खर्ब १९ अर्ब रुपियाँ अर्थात् चार महिनामा ४ खर्ब ७६ अर्ब रुपियाँको राजस्व संकलन गर्नुपर्ने हुन्छ ।
यद्यपि, चार महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव ८४ प्रतिशतले राजस्व बढेको छ ।
अन्य आम्दानी ५ अर्ब ७६ करोड ४५ लाख रुपियाँ गरी सरकारले कात्तिक मसान्तसम्म ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपियाँ अर्थात् लक्ष्यको २२ दशमलव ३६ प्रतिशत मात्रै रहेको छ ।
चालू आवमा सरकारले कर राजस्वबाट १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपियाँ संकलन गर्ने लक्ष्यसहित चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, चार महिनाको अवधिमा सरकारले विनियोजन बजेटको २२ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छ ।
चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
सरकारको कुल खर्चमध्ये चालू खर्चतर्फ २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपियाँ रहेको छ । यो लक्ष्यको २५ दशमलव ६५ प्रतिशत हो ।
सरकारले यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, पुँजीगत खर्च भने जम्मा ३४ अर्ब ५३ करोड १० लाख रुपियाँ अर्थात् लक्ष्यको ९ दशमलव ८ प्रतिशत भएको छ ।
सरकारले यस वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपियाँको विकास निर्माणका लागि पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।
पुँजीगत खर्च चालू आवको पहिलो चार महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव १४ प्रतिशतले बढेको छ ।
सरकारी ऋणको सावाँब्याज तिर्न सरकारले वित्तीय व्यवस्थातर्फ चार महिनामा ८७ अर्ब ९६ करोड २४ लाख रुपियाँ अर्थात् लक्ष्यको २३ दशमलव ९५ प्रतिशत खर्च गरेको छ ।
चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका निम्ति ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
लक्ष्य अनुसारको राजस्व र वैदेशिक अनुदान प्राप्त हुँदा पनि यस वर्ष सरकारलाई ५ खर्ब ४७ अर्ब ६७ करोड रुपियाँ बजेट अपुग हुनेछ ।
अपुग रकम पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब रुपियाँ र बाँकी आन्तरिक ऋण लिने सरकारको योजना छ ।