आँधीखोला तर्न ४० वर्षदेखि फट्केकै भरपर्नुपर्ने बाध्यता

वालिङ, स्याङ्जाको भिरकोट-५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ ।

स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।

हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट(५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए ।

विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्राथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए ।

‘जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गर्थ्यो’, उनले भने, ‘खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।’

स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए ।

बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ ।

बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेर्स्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।

खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए । ‘खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ’, उनले भने, ‘कहिले सात–आठवटा भकारी बुने पुग्छ, कहिले २०–२२ पनि बुन्नुपर्छ ।’

पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपथ्र्यो । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ ।

विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौं भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ ।

खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् ।

फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उनले बताए ।

पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताए ।

डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उनले बताए ।

पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ ।

हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ’, उनले भने, ‘विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।’

एकपटक फट्के बनाएपछि झण्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।

रासस

मङ्सिरमा घर जग्गाको कारोबार बढ्यो, एक महिनामै चार अर्ब राजश्व सङ्कलन

काठमाण्डू, अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ । काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् ।

तीमध्ये मालपोत कार्यालय कलङ्कीले रु २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले रु सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले रु सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रु सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले रु १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले रु ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व सङ्कलन गरेको छ ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर रु २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्टेशन दस्तुर रु दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ ।

त्यस्तै, रु एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

यस्तो छ पुस ३ गते बुधबार तपाईंको राशिफल

मेष : सजग रहनुहोला । साथीभाइ, इष्टमित्रमा विवाद, निरर्थक दौडधूपको सम्भावना देखिन्छ ।

वृष : दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

मिथुन : दिन सन्तोषजनक देखिँदैन । धन नाश, अस्थिरता, आँखामा समस्या नहोला भन्न सकिन्न ।

कर्कट : तपाईंको दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।

सिंह : साथीभाइसँग विवाद, धन हानि, चोटपटकको सम्भावना भएकाले सजगता अपनाउनु बेस ।

कन्या : दिन बलवान् छ । साथीभाइबाट सहयोग, पारिवारिक सुख, मीठो भोजन प्राप्ति होला ।

तुला : सानै परिश्रममा उपहारादि वस्तु प्राप्ति, कार्य सफल, शारीरिक स्वस्थता हुने देखिन्छ ।

वृश्चिक : राजनीतिज्ञबाट डर, व्यर्थको यात्रा, पेसा–व्यवसायमा बाधा हुने सम्भावना छ ।

धनु : बिरामी, आर्थिक नोक्सानी, शारीरिक कष्ट नहोला भन्न सकिन्न । सावधान रहनु नै बेस ।

मकर : दिन उत्तम छ । धन लाभ, मान–सम्मान, सवारीसाधनको उपयोगमा पहुँच हुने देखिन्छ ।

कुम्भ : आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुने हुँदा मन प्रफुल्लित होला ।

मीन : समय उपयुक्त देखिँदैन । काममा व्यवधान, सन्तानबाट कष्ट, वायुजन्य रोगको भय हुन सक्छ ।

पश्चिमी वायुको सामान्य प्रभावले तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ । बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ ।

हिजो यही समय काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो।

चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ।

यस्तै रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च भएको छ।

सो अवधिमा प्राधिकरणले रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ।

विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम रु २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा रु २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको छ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट रु ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ।त्यसका लागि रु २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन्। असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ।

उक्त अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी रु १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ।

नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत रु १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार बराबर खर्च भएको छ।

विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि रु १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैँले खर्च गरेको छ।

त्यस्तै वैदेशिक भुक्तानीतर्फ रु ६ अर्ब पाँच करोड ५३ लाख १७ करोड बराबर रहेको छ।

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो ।

समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो।

आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ।

दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्।

दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले मारिन बाजी

काठमाण्डू, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले बाजी मारेकी छन् ।

आफनै संगठनका अध्यक्ष विश्वमणी सुवेदी पत्नी चौतारीका तर्फबाट उम्मेदवारी दिएकी सतीदेवी उप्रेतीलाई दोब्बर भन्दा बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष चुनिएकी हुन् ।

समाजबादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेकी न्योपानेले ६ सय ८८ मत प्राप्त गरेकी थिइन भने उनकी निकटतम प्रतिद्दन्दी उप्रेतीले ३ सय ६३ मत पाएकी थिइन् ।

निर्धारित समय भन्दा करिव ८ महिनापछि भएको निर्वाचन सदस्यता बिवाद र शुद्दीकरणका नाममा हुन सकेको थिएन् ।

अध्यक्ष बिपुल पोअरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर मागेपनि उपाध्यक्ष बाला अधिकारीले कार्यबहाकको जिम्मेवारी सम्हालेर भागेका दुइ जनालाई चुनौती दिएकी थिइन् ।

आधिकारिक अध्यक्षले सम्पन्न गर्न नसकेको निर्वाचन महिलाले गरेर देखाइन भने नयाँ नेतृत्वमा पनि महिला नै चयन भइन् ।

यस प्रदेश कार्यसमितिको सदस्य रहेकी न्यौपाने महिला हिंसा, पत्रकार हकहित र अधिकारका बिषयमा मिडिया हाउसमा अन्याय र अत्याचारका लागि लडदै आएकी थिइन् ।

साना तथा स्वरोजगार मुलक मिडियालाइ आएका समस्याका सवालमा हुने आन्दोलनमा पनि आफूलाई उनले अग्र स्थानमा राख्दै आएकी थिइन् ।

साना तथा स्वोरोजगार्मुलक संचार माध्यममा दश बर्ष भन्दा बढी सक्रिय न्यौपानेले साप्ताहिक, मासिक र दैनिकका अलावा अनलाइन सञ्चार माध्यममा पनि काम गर्दै आएकी छन् ।

दुइ विषयमा एमए गरेकी नवनिर्वाचित उपाध्यक्ष न्यौपाने थपिएको जिम्म्ेवारीले पत्रकारका हक हितमा लाग्न थप चुर्नाति र होैसला दुवै भएको बताउँछिन् ।

दश वर्षमा दश हजारभन्दा बढी वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु

काठमाण्डू, वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाउँदैछ ।

जिफन्टले सार्वजनिक गरेको फ्याक्टसीटमा यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएका छन् ।

यसैगरी, सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९, २०२१/२२ मा एक हजार ४७९ र २०२२/२३ मा एक हजार २०८ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीको सम्बन्धमा वर्षौदेखि मुलुकमा नै न्यायिक ज्यालासहितको रोजगारीका लागि माग गर्दै आएको भन्दै वैदेशिक रोजगारीमा प्रस्थानदेखि स्वदेश फिर्ता हुँदासम्म सबै प्रकारका शोषणबाट मुक्ति, मर्यादित काम, सामाजिक सुरक्षा, संवाद र सम्मान आधारभूत अडानका विषय रहेको बताए ।

नेपाली श्रमिक युरोपका केही मुलुकमा रोजगारीका लागि जाने क्रम बढेको देखिएको छ । नेपाली श्रमिक गएको युरोपको तेस्रो र चौथो गन्तव्य मुलुक साइप्रस र माल्टा छन् ।

आर्थिक वर्ष २०७९/८० मा रोमानियामा जाने नेपालीको सङ्ख्या १४ हजार २५० जना थियो ।

चालू आर्थिक वर्षमा १५ हजार ३६४ जना कामका लागि क्रोएसिया गएको तथ्याङ्क छ । यस्तै, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्यामा वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यो वर्ष (२०८०/८१) मा श्रम स्वीकृति लिएका अदक्ष श्रमिक सङ्ख्या एक लाख ४५ हजार ५४७ छ भने दक्ष श्रमिकको सङ्ख्या पाँच लाख ७९ हजार ३७३ रहेको छ । सीप नभएका कारण विभिन्न देश पुगेका श्रमिकले समस्या झेल्नुपरेको अवस्था अझै कायम छ ।

अध्यक्ष श्रेष्ठले युरोपका मुलुकहरुमा रोजगारीमा पठाउने नाममा मेनपावर कम्पनी तथा अनधिकृत व्यक्तिले रकम असुल्ने, गन्तव्यमा पुर्‍याएर अलपत्र पार्ने गरेका घटनाप्रति सम्बनिधत निकाय गम्भीर हुन जरुरी देखिएको ए ।

आकर्षक रोजगारी मिलाउने भनी आर्थिक ठगी र मानव तस्करी घटना रोक्न त्यस्ता कार्यमा संलग्न संस्था वा व्यक्तिलाई कारवाही गर्न कानूनमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

केही वर्ष यता एजेन्सी मार्फतभन्दा व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

अध्यक्ष श्रेष्ठले श्रमिकलाई कुनै समस्या पर्दा जिम्मेवारी लिनुपर्ने हुँदा त्यस किसिमको जिम्मेवारीबाट बच्न व्यक्तिगत माध्यम प्रयोग गरेको स्पष्ट देखिएकोे बताए ।

नेकपा एसको २४ सदस्सीय केन्द्रीय सचिवालय गठन

काठमाण्डू, नेकपा एकीकृत समाजवादीले पार्टीले २४ सदस्सीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार सो सचिवालयमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी मुख्यतयाः पदाधिकारी सम्मिलित २४ जनाको प्रतिनिधित्व रहनेछ ।

बैठकले महासचिव घनश्याम भुषालकोनेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।

अन्य पार्टी पदाधिकारी तथा केन्द्रिय नेताहरुको कार्यविभाजन भने बिहिवार गर्ने गरी स्थायी समिति बैठक सकिएको खतिवडाले जानकारी दिए ।

नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो।

अाज नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।

त्यस्तै, सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको छ । एकदमै कम मात्रामा सेयर आपूर्ति भएको यो कम्पनीको कारोबारमा कर्नरिङको आशंका गरिएको छ ।

मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने त्यति नै संख्याका कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको सेयर मूल्यमा कुनै तलमाथि भएन ।

सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, प्रधानमन्त्री केपी ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

“नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन ।”, प्रधानमन्त्री ओलीले भने, “हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ ।

हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएका बताए ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए ।

उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र वि.सं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए ।

आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाएल एप्सको शुभारम्भ गरे ।

एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

काठमाण्डू, मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।

वर्षा नरोकिएपछि नेपाल र भारतले एक(एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो।

लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ।

यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।

यस्तो छ एनपीएल प्लेअफ समीकरण

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको सबै खेल सकिएको छ । लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ खेल्ने चार वटै टोलीको पनि टुंगो लागिसकेको छ ।

सार्वजनिक तालिकाअनुसार भोलिदेखि खेल सुरु हुनेछन्। चार टिम प्लेअफ समीकरणमा रहेका छन्। समूहचरणमा शीर्षमा रहँदै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज र कर्णाली याक्स यो समीकरणमा छन्। 

तालिका अनुसार तेस्रो र चौथो टिमले पहिले इलिमिनेटर खेल्नेछन्। जसमा भोलि बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ। 

दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्सबीच क्वालिफायर १ हुनेछ। 

पर्सी बिहीबार भने क्वालिफायर २ हुनेछ। जहाँ इलिमिनेटरको विजेता र क्वालिफायर १ को पराजित टोलीबीच हुनेछ। क्वालिफायर १ को विजेता सिधैं फाइनलमा जानेछ।

क्वालिफायर २ बाट विजेता बनेको टोलीले क्वालिफायर १ को विजेतासँग शनिबार फाइनल खेल हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी थिए। मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडु गुर्खाज्, जनकपुर बोल्ड्स र विराटनगर किङ्स रहेका थिए। 

एसिया कप महिला यू–१९ क्रिकेटको दास्रो खेलमा नेपाल र भारत मैदानमा, नेपाल पहिले ब्याटिङमा

काठमाण्डू, यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।

मलेसियाको क्वालालम्पुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । यो खेललाई निकै प्रतिक्षाका साथ हेरिएको छ ।

किनकि नेपालले पाकिस्तानमाथि जीत हासिल गरी सनसनी मच्याइसकेको छ ।

समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जीत हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ ।

नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।

ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए ।

जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।

त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।

पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ ।

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो ।

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ ।

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जीतसहित सुपर फोरमा पुगेको छ ।

मलेसिया दुवै खेल हारेर बाहिरिएको छ । पाँचौँ स्थानका लागि पाकिस्तान र मलेसिया भिड्ने छन् ।