जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ पार्टीको ध्यान केन्द्रित : अध्यक्ष दाहाल

चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।

उनले आफ्नो पार्टी जनताको साथमा रहेको पनि बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ ।

जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’ फरक प्रसंगमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए ।

चितवनमा पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए ।

चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए ।

ज्योत्सनासिंह ठकुरीको द कल नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ को विजेता

काठमाण्डू, लर्वट नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ मा ज्योत्सनासिंह ठकुरीको द कल ले विनर अर्वड प्राप्त गरेको छ ।

इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन आइएडब्लुआरटी नेपाल च्याप्टरले महिला चलचित्रकर्मीको सिर्जनशीलता र कथाको सम्मान गर्दै पाँचौं लघु चलचित्र प्रतियोगिताको आयोजना गरिएको थियो ।

नेपाल टेलिकमको पव्रायोजन र पर्यटन बोर्डको प्रर्वधनमा भएको कार्यक्रम सूचना प्रविधि तथा सञ्चारमन्त्री पुथ्बी सुब्बा गुरुङको प्रम्ख आतिथ्यता रहेको थियो । मन्त्री गुरुङले चलचित्रले लैङिगकता, पहिचान र नेपालको भूगोललाई बिषयबस्तु बनाएकाले निर्माण पक्षको प्रसंसा गरे ।

लैङिक हिंसा विरुद्दको १६ दिने अभियानलाई सहयोग पुर्याउने कार्यक्रम हुँदै आएको आयोजकले जनाएको छ । कार्यक्रममा ५ वटा चलचित्र प्रदैशन गरिएको थियो ।

प्रतियोगितामा सरिता शाहको सिया, रजिला श्रेष्ठको छेसाङ द अनटोल्ड स्टोरीले बिषेश पुरस्कार पाएको थियो ।

प्रतियोगिताको निर्णयकमा अनुपा श्रेष्ठ, रक्षासिंह राण र अवीरल थापा रहेका थिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदान गरेवापत चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारलाई सम्मन गरिएको थियो ।

एनपीएलमा कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जीत

काठमाण्डू, एनपीएलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ ।

रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जीत सम्भव भएको हो ।

रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गर्दा बलिङमा १७ रन खर्चेर ४ विकेट लिएका हुन् ।

यससँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जीवित रहेको छ । एनपीएलमा अब लुम्बिनीले लिग चरणमा काठमाण्डु गुर्खाज र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

यी दुवै खेलमा जीत हासिल गर्दै लुम्बिनीले प्लेअफ पुग्न थप अन्य खेलमा नतिजामा पनि भर पर्नुपर्ने छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले हरायो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन पूरै ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

चितवनका लागि लुक बेन्केनस्टाइनले ३१ रन बनाए । कप्तान कुशल मल्लले २०, रवि बोपाराले १२ र सन्तोष कार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका लागि रोहितले ४, रामोन सिमन्ड्सले २ तथा अभिषेश गौतम र साद विन जफरले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे । साद बिन जफरले ५२ रन बनाए ।

सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरेका हुन् ।

अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भएका थिए ।

चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जितकुमारले १–१ विकेट लिए । चितवनका लागि नरबहादुर सार्कीले डेब्यू गरेका छन् । उनले २ ओभर बलिङ गर्दै १८ रन खर्चेका छन् ।

रौतहटमा स्कार्पिओ दुर्घटनामा परेका ८ जनाकै सनाखत, ५ घाइतेलाई थप उपचारको लागि वीरगन्ज रेफर

वारा, बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेका यात्रु सवार स्कार्पिओ गएराति रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका- ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।

दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार(लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।

बाराको गढिमाई मेलाबाट सिराहा घरतर्फ फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।

‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देखिन्छ,’ इन्सपेक्टर महतोले भने, सडकबाट तल खसेपछि स्कार्पिओ रुखमा ठोक्किँदा धेरै मानवीय क्षति भएको हो।’

इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरीका कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी कुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

तीव्र गतिको स्कार्पिओ आफैँ अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिँदा दुर्घटना भएको राईले बताए। घटनास्थल चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ।

मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ।

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाण्डू, कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जीतका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए ।

साद विन जाफरले अविजित ५२ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।

बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए ।

चितवन राइनोज आज चौथो जीत निकाल्दै प्ले अफतर्फ लम्कने तयारीका छ । यता राम्रो योगफल बनाएर पनि लगातार चार हार खेपेको लुम्बिनी पहिलो जीत निकाल्ने तयारीमा छ ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीन जीत र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यस्तै अघिल्ला चारवटै खेलमा हार खेपेको लुम्बिनी लायन्स अङ्क तालिकाको पुछारमा छ ।

लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

एकैदिन तोलामा २१ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बा १६ च ३१६२ नम्बरको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना, आठ जनाको मृत्यु, केहि घाइते

बारा, बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको रहेछ,’ उनले भने, ‘घटना लगत्तै पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएका छौं । घाइतेमध्ये ८ जनाको मृत्यु भएको छ ।’

घटनास्थलमा तत्कालै डीएसपी राईसहितको टोली पुगेको थियो । प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै नाम थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए ।

मृतकका परिवारहरू आए पछि मात्र सनाखत हुने प्रहरीको भनाइ छ । घाइतेहरू बोल्न सक्ने अवस्थामा नभएकाले सनाखतमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तो छ तपाईंको मंसीर २५ गते मंगलबारको राशिफल

मेष : समय प्रतिकूल भएकाले आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुन सक्छ ।

वृष : तपाईंका लागि समय उत्तम छ । द्रव्य लाभ, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ ।

मिथुन : सानै प्रयासमा सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

कर्कट : दिन बलवान् छ । राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, व्यापारिक लाभ, यश वृद्धि हुन सक्छ ।

सिंह : दिन अनुकूल नहुँदा रोगव्याधिको भय, आर्थिक नोक्सानी, बाधा–व्यवधान हुन सक्छ ।

कन्या : समय शुभ छ । धन आर्जन, अधुरा कार्य पूरा, मान–सम्मान, समस्याको समाधान होला ।

तुला : शुभ समयको आगमन भएकाले द्रव्य लाभ, परीक्षा प्रतियोगितामा विजय हुने देखिन्छ ।

वृश्चिक : दिन उत्तम फलदायक छ । धन प्राप्ति, सुख–सन्तोष, गरेका कार्य सफल, सन्तुष्टि होला ।

धनु : पेटमा गडबडी हुन सक्छ । दौडधूप, विवाद हुन सक्ने भएकाले सजग रहनु बेस हुन्छ ।

मकर : समय शुभ भएकाले द्रव्य लाभ, सम्मानित हुने अवसर, जागिर–व्यापारमा सफलता होला ।

कुम्भ : दिन बलवान् छ । आर्थिक लाभ, शुभ खबर, मित्रजनबाट सहयोग, आत्मसन्तुष्टि हुने देखिन्छ ।

मीन : तपाईंका लागि समय शुभ छ । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुन सक्छ ।

१ लाख ४ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा, संघीयता आएपछि सुस्त भयो अतिक्रमण हटाउने योजना

काठमाण्डू, हरियो वन नेपालको धन भन्ने नारालाई वास्तविक रूपमा व्यवहारमा उतार्नुको साटो उल्टो वन क्षेत्र दोहन हुँदासमेत सरकारले बेवास्ता गर्दै आइरहेको छ।

मुलुकभरमा १ लाख ४ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आए पनि अतिक्रमणकारीलाई हटाउन केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकार असफल हुँदै आएका छन्।

संघीय शासन प्रणाली लागू भएपछि त झनै वन अतिक्रमणकारीलाई हटाउने सरकारी गृहकार्य र प्रयास करिब करिब शून्यजस्तै देखिएको छ।

संघीय शासन प्रणाली आउनुअघि भने अतिक्रमणकारीलाई हटाउन विभिन्नखाले प्रयास र अतिक्रमण हटाउनेसम्बन्धी रणनीतिहरू बनाइएका थिए।

अतिक्रमणकारीलाई हटाउन विभिन्न कारबाहीसमेत भएका थिए । तर, २०७२ सालपछि भने हटाउनु त परै जाओस् अतिक्रमणकारीलाई उल्टै राजनीतिक संरक्षण हुने गरेको तीतो यथार्थ वन संरक्षणकर्मीहरूले व्यक्त गर्ने गरेका छन्।

अहिले वन अतिक्रमण हटाउने विषय प्रमुख राजनीतिक दल र शासन सत्तामा रहेकाहरूको प्राथमिकतामा पर्न सकेको छैन्। जसका कारण हरियो वन नेपालको धन भन्ने नारा व्यङ्ग्यजस्तै भइरहेको छ।

वन तथा भू-संरक्षण विभागका अनुसार देशका ३२ जिल्लामा वन अतिक्रमण उच्च छ । विभागले दिएको तथ्यांकअनुसार ती ३२ जिल्लामा १ लाख ४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आइरहेका हुन् ।

पछिल्ला वर्षहरूमा भने वन क्षेत्रमा भएको अतिक्रमणबारे खासै अध्ययन अनुसन्धान हुन सकेको छैन्।

संघीय शासन आएपछि वन क्षेत्र संरक्षणको जिम्मेवारी प्रदेश सरकारमा गएको छ । तर, प्रदेश सरकारले वन क्षेत्र संरक्षणमा प्रभावकारी कार्ययोजना बनाउन सकेको छैन भने अतिक्रमण हटाउने सम्बन्धमा समेत खासै वास्ता गरेको देखिँदैन् ।

केन्द्रीय सरकारले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुपर्नेमा त्यसरी समन्वय गर्न नसक्दा पनि वन क्षेत्रको संरक्षण र अतिक्रमण हटाउने कार्य सफल हुन नसकेको हो।

केन्द्रीय सरकारले वन ऐन २०७६ को सशक्त कार्यान्वयन गर्न नसक्दा पनि वन अतिक्रमण हुने क्रम बढेको बताइएको छ।

वन ऐन २०७६ को दफा ४९मा राष्ट्रिय वन क्षेत्रको अतिक्रमण गर्ने कार्य दण्डनीय अपराध मानिने उल्लेख छ। नेपालमा हाल कुल भूभागको ४५.३१ प्रतिशत भूभागमा वन क्षेत्र रहेको छ। सो वन क्षेत्रमध्ये १ लाख ४ हजार क्षेत्र अतिक्रमणको चपेटामा परेको हो।

यो तथ्यांक केही वर्षअघिको भएकाले अतिक्रमण दर अझै बढेको हुन सक्ने वन विभागका अधिकारीहरूको अनुमान छ।

वन तथा भू-संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले वन अतिक्रमणको पुरानै तथ्यांक रहेको र पछिल्ला वर्षमा केही बढेको हुन सक्ने बताए ।

विशेष गरी संघीयता आएपछि वनको जिम्मेवारी प्रदेश सरकारमा गएको र प्रदेश सरकारले प्रभावकारी कार्य गर्न नसक्दा वन अतिक्रमणको पछिल्लो अवस्था स्पष्ट छैन्।

तर, विभागका महानिर्देशक वाग्ले भने पहिलाको जस्तो ठूलो परिमाणमा वन अतिक्रमणको अवस्था नरहेको दावी गरे ।

वन अतिक्रमण दर पछिल्ला वर्षमा पनि केही त बढेको होला तर पहिलाको जस्तो ठूलाठूला परिमाणमा अतिक्रमण भएको जस्तो लाग्दैन’ –विभागका महानिर्देशक वाग्लेले भने ।

उनले राजनीतिक तहबाटै उच्च प्रतिबद्धता र प्रयास नहुँदासम्म अतिक्रमण हटाउन कठिन हुने बताए ।

वन विभागका अनुसार देशभरका सबैभन्दा बढी वन अतिक्रमण कैलाली जिल्लामा छ। जहाँ ३८ हजार ४० दशमलव ९१ हेक्टर सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा छ।

त्यसै गरी दोस्रो नम्बरमा डडेलधुरामा १५ हजार १ सय २० हेक्टर, तेस्रो नम्बरमा कञ्चनपुरमा ९ हजार ८ सय ५९ हेक्टर, चौथो नम्बरमा रूपन्देहीमा ७ हजार ७ सय ८० हेक्टर र पाँचौं नम्बरमा उदयपुरमा ७ हजार १ सय ९७ दशमलव २४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आइरहेको छ।

यसै गरी सरकारी वन क्षेत्र बढी अतिक्रमणमा पर्ने जिल्लाहरूमा नवलपरासी, झापा, बाँके, इलाम, मकवानपुर, सुनसरी, चितवन, सिन्धुली, भक्तपुर, दाङ रहेका छन्।

यस्तै सिरहा, वारा, कपिलवस्तु, महोत्तरी, रौतहट, सर्लाही, धनुषा, मोरङ, बर्दिया, सुर्खेत, पर्सा, धनकुटा, सप्तरी, कालीकोट र काभ्रेपलाञ्चोक जिल्लामा पनि वन अतिक्रमण उच्च रहेको विभागले जनाएको छ।

केही वर्षअघि तत्कालीन वन विभागले देशभरका वन क्षेत्रमा भएका अतिक्रमण हटाउन भन्दै अतिक्रमण हटाउनेसम्बन्धी कार्ययोजना बनाउँदै १ अर्ब बजेट केन्द्रीय सरकारसँग माग गरेको थियो।

तर, केन्द्रीय सरकारले माग गरेको भन्दा अत्यन्तै न्यून ३ करोड मात्रै दिएपछि वन अतिक्रमण हटाउने कार्ययोजना अलपत्र परेको विभागका अधिकारीहरूको गुनासो छ।

‘अहिले त वन अतिक्रमण हटाउने विषय कसैको प्राथमिकतामा नै परेको छैन, केन्द्रीय र प्रदेश सरकारले आपसी समन्वय गर्नुपर्नेमा त्यस्तो पहल कतैबाट हुन नसक्दा अतिक्रमण हटाउने विषय लामो समयदेखि ओझेलमा पर्दै आइरहेको छ’ –वन तथा भूसंरक्षण विभागका एक अधिकारीले भने ।

वन सरोकारवालाले भने स्थानीय, प्रदेश र केन्द्रीय तीनवटै सरकार यो विषयमा तैँ चूप मैं चूप हुनुलाई आश्चर्यको रूपमा लिएका छन् ।

वन विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अतिक्रमण हटाउने विषयमा प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने गृहकार्य भइरहेको बताए ।

अतिक्रमण हटाउन सबै पक्षको सहयोग अपरिहार्य हुने ज्ञवालीको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो पछिल्लो ६१औं वार्षिक प्रतिवेदनमा पनि वन अतिक्रमण हटाउने विषयलाई केन्द्रीय र प्रदेश सरकारले खासै ध्यान दिन नसकेको भन्दै दुवै सरकारको गम्भीर ध्यानाकृष्ट गराएको छ।

महालेखाले वन तथा वातावरण मन्त्रालयले अतिक्रमित वन क्षेत्रको स्थिति अद्यावधिक गरी वन ऐन २०७६ बमोजिम वन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

महालेखाले पनि वन संरक्षणमा केन्द्रीय सरकार र प्रदेश सरकारबीच उचित समन्वय हुन नसकेको भन्दै प्रभावकारी सहकार्य र समन्वय गर्दै वनको संरक्षण र संवद्र्धनमा जुट्न दुवै सरकारलाई सचेत गराएको छ।

वन तथा भूसंरक्षण विभागका अधिकारीहरूका अनुसार नेपालको तराई तथा भित्री मधेसमा वन क्षेत्रहरू बढी अतिक्रमित हुने गरेका छन्।

जसका कारण मरुभूमीकरण, जैविक विविधताको ह्रास, विपद् र जलवायु परिवर्तनको पीडा भोग्नुपरिरहेको छ।

हाल करिब करिब निस्क्रिय अवस्थामा रहेको वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ का अनुसार नेपालमा विभिन्न किसिमले वन अतिक्रमण हुने गरेको छ ।

जस अनुसार वन फँडानी वा आवादी, अस्थायी बसोबास, पुरानो अतिक्रमण, संस्थागत अतिक्रमणलगायत छन्।

कुन जिल्लामा कति वन अतिक्रमण ?
जिल्ला : अतिक्रमण हेक्टरमा
कैलाली : ३८०४०.९१
डडेलधुरा : १५१२०
कञ्चनपुर : ९८५९
रूपन्देही : ७७८०.११
उदयपुर : ७१९७.२४
नवलपरासी : ५३३६.४०
झापा : २०००
बाँके : १८४१.६८
इलाम : १८२२
मकवानपुर : १७८३.५०
सुनसरी : १७५४
चितवन : १३१६.३३
सिन्धुली : १२३३.१०
भक्तपुर : ११५३.८०
दाङ : १०९३.१८
सिरहा : १०४६.०७
बारा : ८६८.६३
कपिलवस्तु : ८३७
महोत्तरी : ७७६
रौतहट : ७६५
सर्लाही : ६३७
धनुषा : ५४४.६६
मोरङ : ५१६.२५
बर्दिया : ३९९.८५
सुर्खेत : २३५.७३
पर्सा : ८९.६०
धनकुटा : ७०.०४
सप्तरी : ३०.२५
कालीकोट : २५.५०
काभ्रेपलाञ्चोक : २२.०५
स्रोत : वन तथा भू-संरक्षण विभाग

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने

काठमाण्डू, नेपाल प्रिमियर लिग एनपिएले मा आज दुई खेल हुने भएका छन् ।

पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ ।

जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ ।

यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ ।

यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।

चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

यस्तै चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ ।

तीनमा जीत र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ ।

कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो ।

कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ ।

पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो ।

दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।

विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो ।

पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो ।

चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो । लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ ।

लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

इतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपीएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

पुल अलपत्र बनाउने नेपाल मेगा–सिस्ने जेभी कम्पनीको ठेक्का तोडिँदै सरकार

सुर्खेत, चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ ।

पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।

विसं २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख एवं इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताए ।

उनका अनुसार विसं २०७८ साउन २९ गते भएको सम्झौता अनुसार बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई अन्तिम पत्र लेखेर स्पष्टीकरण सोधिएको छ ।

वि.सं २०७८ साउन २९ गते लगाएको छेडा–कचाली–जुम्ला खण्डअन्तर्गत छेडागाड नगरपालिकाको साल्म खोलामा मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई पत्र काटिएको इन्जिनियर जैसीले जानकारी दिए ।

वि.सं २०७८ असोज १८ लागेको कालीमाटी–खाल्चौर–नेटिलेक खण्डको सक्ला खारी बयाले लिम्सा सडकको काम अमर–सिस्ने जेभी, नेपालगञ्ज–२, बाँकेलाई अन्तिम पटक काटी स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण पत्रमा लेखिएको छ, “सम्झौताअनुसार निर्माण सम्पन्न नगरी सम्पर्कविहीन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि कार्य गरिरहेको नपाइएको सन्दर्भमा कार्यालयद्वारा विभिन्न मितिमा तोकिएको सम्झौता अवधिभित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा सम्पर्कमा आएका छैनन् ।

विभिन्न मितिमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा निर्माण अवस्थासम्बन्धी छलफल गर्न कम्पनीको मुख्य व्यक्तिलाई बोलाइएकामा उक्त बैठकमा सहभागी नभई अटेर गरेको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

“सम्झौताअनुसार कार्य नगर्नुका साथै अलपत्र पारी चरम लापरबाही गरेको र आफैँले पेस गरेको कार्य तालिकाअनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र ठेक्का सम्झौताका सर्तहरू र प्रचलित कानूनबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाणसहित स्पष्टीकरण पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ”, इन्जिनियर जैसीले भने ।

समयमा स्पष्टीकरण पेस नगरेमा वा स्पष्टीकरणमा ठेक्का अन्त्य नगर्नुपर्ने भनी पेस भएको प्रमाण वा कारण उचित नपाइएमा ठेक्का सम्झौताका सर्तहरू र प्रचलित कानूनबमोजिम सम्बन्धित निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको उनले भने ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मन्त्रीले छलफलका लागि बोलाउँदा बैठकमा नआएर अटेर गरेको आरोप लगाएको छ ।

तीन वटा ठेक्काका काम अलपत्र पार्ने निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको विकास निर्माणमा समस्या पर्दै आएको छ ।

जाजरकोटमा अलपत्र पाँच वटा आयोजनामध्ये तीन वटालाई स्पष्टीकरण सोधिएको हो ।

तराई र काठमाडौं उपत्यकामा हुस्सु, हवाई उडानमा आंशिक असर पर्न सक्ने

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

विभागका अनुसार आज (मंगलबार) दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई र काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता छः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण रहेका बताएका छन् । आज भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नेपालले भ्रष्टाचार सम्बन्धी राष्ट्रसंघिय महासन्धिको अनुमोदनपछि यसले सिर्जना गरेको दायित्व पूरा गर्न र सरकारको “भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता”को नीतिलाई मूर्तरूप दिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्परता, सक्षमता र इमान्दारिताका साथ सबै सरोकारवालासँग सहकार्य गरिरहेको बताएका छन् ।

मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथ साथै केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेदकारी समस्या अन्त्य गर्दै संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका माध्यमबाट समतामूलक समाज निर्माण गर्ने संकल्पका साथ संविधान जारी गरिएको सबैमा विदितै छ। प्रसिद्ध विधिशास्त्री एभी डायसीद्वारा प्रतिपादित ‘कानुनको शासन’ सिद्धान्तप्रति प्रतिबद्ध रहनु नेपालको संविधानको प्रमुख विशेषता नै हो। कानुनभन्दा माथि कोही पनि हुन सक्दैन भन्ने नै यस अवधारणाको मूल मर्म हो।

उनले भ्रष्टागचारविरूद्ध संयुक्त राष्ट्र सङ्घीय महासन्धिले निजी क्षेत्रमा हुने भ्रष्‍टाचार रोक्न पक्ष राष्ट्र हरूले पहलकदमी लिनुपर्ने व्यवस्था गरेको हुँदा निजी, गैर–सरकारी र सहकारी क्षेत्रमा भ्रष्टाहचार हुन नदिन र भ्रष्टारचारजन्य कार्य भएमा कारबाहीको दायरामा ल्याई संस्थागत सुशासन कायम गर्न प्रभावकारी कानुनी र संरचनागत सुधार गर्न समेत आवश्यक देखिएको समेत बताएका छन्।

त्यस्तै, हाल संसदमा विचाराधीन रहेका भ्रष्टााचार निवारण ऐन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक शीघ्र पारित हुनुपर्ने  माग गरेका छन् । आयोगले आफ्नो संवैधानिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरी आफ्नो कार्य गरिरहेको प्रमुख आयुक्त राईको भनाई छ ।

भ्रष्टाजचारजन्य कार्य भइसकेपछि नियन्त्रण गर्न खोज्नुभन्दा भ्रष्टाजचार हुन नै नदिनु उपयुक्त भएकोले तहगत सरकारका सबै निकायले आ–आफ्ना निकाय तथा कार्यालयहरूमा आर्थिक अनुशासन, मितव्ययिता र सुशासन कायम गर्दै भ्रष्टाअचारको रोकथामका लागि उपयुक्त विधि, पद्धति, प्रणाली र कार्य प्रक्रियासहित सदाचार र नैतिक संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताए ।

सूचना प्रविधिको प्रयोग गरी भ्रष्टाचारको उच्च जोखिममा रहेका क्षेत्र र निकायमा निगरानी गरी सूचना संकलन गर्ने, आयोगमा प्राप्त भएका उजुरीहरूको प्रारम्भिक स्क्रिनिङ् गरी आवश्यकतानुसार छानबिन र अनुसन्धान गर्ने र अनुसन्धानबाट कैफियत देखिएमा भ्रष्टााचार कसुरमा अभियोजन गर्ने काम आयोगले उपलब्ध जनशक्ति, साधन स्रोत र कानूनी अधिकारको प्रयोग गरी प्रभावकारी रूपमा गर्दै आइरहेको समेत जिकिर गरे ।

आयोगले विकास र सुशासनमा सुधारात्मक रणनीति समेत अवलम्बन गरी नेपाल सरकारको विकासको लक्ष्य र नागरिकको अभिलाषा पूरा गर्न अप्रत्यक्ष भूमिका खेलिरहेको उनको भनाई छ।

तर, आयोगमा दिनानुदिन बढ्दै गएको उजुरी संख्या र अनियमितता तथा भ्रष्टाढचारको प्रवृत्ति हेर्दा भ्रष्टाआचारको रोकथाम र निरोध गर्न सार्वजनिक तथा सरकारी निकायहरू असमर्थ रहेको महसुस हुँदै गएको समेत उल्लेख गरे । भ्रष्टारचार नियन्त्रण लागि अनुसन्धान र अभियोजनको कार्य अन्तिम विकल्प भएको बताउँदै, उनले भने, ”भ्रष्टाचारको रोकथामको लागि भ्रष्टारचार नियन्त्रण र सदाचार कायम गर्ने कार्यमा राज्यका तीनै अंगहरू र तीनै तहहरूले आ–आफ्ना कानूनले तोकेका जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न जरूरी छ।”

आयोगले समय समयमा तीनै तहका सरकारका निकाय तथा पदाधिकारीहरूसँग छलफल र अन्तरक्रिया गर्ने र विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धन गर्ने सम्बन्धमा सुझाव प्रदान गर्ने गरेको उनको भनाई रहेको छ । आयोगबाट दिएका र दिइने सुझावहरू भनेका प्रचलित कानुनी प्रावधानको पुनस्मरण मात्र गराइएकोले सबै जिम्मेवार निकायले सुझावमा दिइएका कानुनी प्रावधानको पालना गर्दा आयोजना व्यवस्थापन, विकास निर्माण, सुशासन र सेवा प्रवाहमा प्रभावकारीता आउने हुन्छ उनले बताए ।

भ्रष्टाषचारविरुद्धको विश्वव्यापी अभियानको रूपमा संयुक्त राष्ट्रषसंघको महासभाले सन् २००३ को डिसेम्बर ९ तारिखमा भ्रष्टाषचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित गरेको दिनलाई विश्वकभर भ्रष्टासचारविरुद्धको अन्तर्राष्ट्रिनय दिवसको रूपमा मनाईंदै आएको छ।

विगतमा नेपालमा यस दिवस सम्बन्धी कार्यक्रमको आयोजना अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्दै आएपनि यस वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको हो ।

यसवर्ष  ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका मनाईएको हो । नेपालले सन् २००३ मा उक्त महासन्धिमा हस्ताक्षर गरी सन् २०११ मा संसदबाट अनुमोदन गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणप्रतिको आफ्नो ऐक्यवद्धता जनाएको छ ।

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १२.८४ अंक घटेर २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।

९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड २७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब २८ करोडको शेयर किनबेच भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। यस दिन जोशी हाइड्रोपावरको करिब साढे १२ करोडको शेयर खरिदबिक्री भएको छ।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका लामिछानेको अनुसन्धानमा मानवअधिकारको बेवास्ता, सत्ता पक्षका नेताले नै गरे विरोध

काठमाण्डू, सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति सरकार अनुदार बनेको छ ।

अड्डासार गर्दा रास्वपाको आन्दोलन छल्ने नाममा रातारात पोखरा लगिएको र लामिछानेको स्वास्थ्य समस्यामा समेत चासो नदेखाएको भन्दै सरकारको अनुदारपनप्रति टिप्पणी भएको हो ।

रविप्रति पछिल्लोपटक सरकार अनुदार बन्दै गएको प्रतिपक्षी दलसँगै सत्तापक्षकै केही नेताहरूले विशेष चासो व्यक्त गरेका छन्।

राजनीतिक प्रतिशोधमा आफ्ना सभापतिलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै रास्वपा आन्दोलनमा रहेकै बेला नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले समेत सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन् । तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो ।

यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन’ –कोइरालाले भने । सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले मंसिर १९ गते राति चितवनबाट पोखरा लगेको थियो ।

प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनले यसरी उम्कन नपाउने टिप्पणी गरेका छन् ।

त्यसै गरी संविधानविद् डा. भीमार्जुन आचार्यले अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानूनतः वर्जित भएको बताए ।

उनले लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको बताए ।

यसअघि नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा. बाबुराम भट्टराई रविलाई हिरासतमै भेट्न पुगेमका थिए ।

सो क्रममा डा. भट्टराईले सरकारले नयाँ राजनीतिक शक्तिलाई दबाउने प्रयासस्वरूप लामिछानेलाई अनेकन मुद्दा चलाउन लागेको टिप्पणी गरे ।

‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेका छन्, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिका रूपमा म उहाँलाई बुझ्छु ।

त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ।’ रविलाई भेटेपछि भट्टराईले भने ।

अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।’

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले अरू सहकारी ठग र भ्रष्टाचारीलाई कारबाही नगरी रास्वपा सभापति लामिछानेलाई मात्रै थुनेको टिप्पणी गर्दै आएको छ।

हिरासतमा रहेका रविको स्वास्थ्यमा केही समस्याहरूसमेत देखिए पनि सरकार उनीप्रति अनुदार बनेको राजनीतिक रूपमै टिप्पणीहरू हुन थालेका छन्।

गत १९ गते चितवनबाट पोखरा लाने क्रममा रविलाई रातारात गाडीमा लगिएको थियो। त्यस बेला उनलाई उच्च रक्तचापको समस्या भएपनि प्रहरीले मानवीय स्वास्थ्यमा ख्यालै नगरी जबरजस्त रातारात सडकमार्ग हुँदै पोखरा पुर्‍याएर मानवअधिकार हनन गरेको भन्दै उक्त दलले सरकारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

उजुरीमा लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको समेत दाबी गरिएको छ ।

संविधानको धारा १८ र २२ तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि १९८४ विपरीत रहेको उजुरीमा दाबी गरिएको छ।

गत कातिक २ मा पक्राउ गरी अनुसन्धानका क्रममा रहेका लामिछानेलाई सम्बन्धित जिल्ला अदातलको पक्राउ पुर्जीका आधारमा पोखराबाट बुटवल, काठमाडौं, चितवनमा बयान गराएर फेरि पोखरा नै लगिएको छ ।

उनीमाथि पर्सा जिल्ला अदालतले समेत पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

५२ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थप गरेको छ।

योसँगै अदालतले उहाँको स्वास्थोपचारका लागि आदेशसमेत दिएको छ।

अदालतले भनेको छ, ‘प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराई उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नू, नगराउनू भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू।’

गत १८ मंसिरमा लामिछानेको रक्तचाप १५०/१०० रहेको सो दलका सांसद हरि ढकालले दाबी गरेका छन् ।

उनले लेखेका छन्– ‘म साक्षी छु, भरतपुर अस्पतालका मे।सु। डा। कृष्ण पौडेलज्यूले मंसिर १८ गते बिहान जाँच गर्दा रवि लामिछानेको ब्लडप्रेसर १५०/१०० थियो ।

पछिल्लो समय पोखरामा समेत उनको स्वास्थ्य जाँच गर्दा प्रेसर नघटेको, स्वास्थ्य समस्या रहेको डाक्टरको टोलीले जानकारी दिएका छन्।’

ढकालले लामिछानेको स्वास्थ्यमा तलमाथि भए सरकारले थेग्न सक्ला भन्दै सरकारप्रति खबरदारी गरे ।

अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानूनतः वर्जित छ ।

लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको छ ।

–डा। भीमार्जुन आचार्य, संविधानविद्

अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन् । तर, राति १२ बजे उठाएर लानु मानवअधिकार विरोधी र अमानवीय काम हो ।

यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नुहुँदैन् ।

डा. शेखर कोइराला

अहिले उहाँलाई विभिन्न ढंगले दुःख दिने काम भइरहेको छ । यो अस्वाभाविक, अन्यायपूर्ण र अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।

डा. बाबुराम भट्टराई

म साक्षी छु, भरतपुर अस्पतालका मे.सु. डा. कृष्ण पौडेलज्यूले मंसिर १८ गते बिहान जाँच गर्दा रवि लामिछानेको ब्लडप्रेसर १५०/१०० थियो ।

पछिल्लो समय पोखरामा समेत उनको स्वास्थ्य जाँच गर्दा प्रेसर नघटेको, स्वास्थ्य समस्या रहेको डाक्टरको टोलीले जानकारी दिएका छन् ।