बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङको सिगानाका किसान उत्साहित

बागलुङ, धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना पुगेको एक हप्ता भयो ।

उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए ।

उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ ।

‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’

यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् ।

सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताए ।

धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको एक लाख रुपैयाँदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् ।

सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए ।

खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए ।

खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् ।

खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ ।

सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए ।

अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् ।

एनपीएलमा लुम्बिनीको हार राकिएन, जनकपुर १ रनले विजयी

काठमाण्डू, नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जीत हासिल गरेको छ ।

जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो ।

अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।

ग्यास बुलेट दुर्घटना, चालक सहचालक बेपत्ता

धादिङ, चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

सो बुलेटको इन्जिन सडकबाट करिब एकसय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा छ ।

बुलेट त्रिशुली नदीले बगाएर करिब दुईसय मिटर तल पु र्‍याएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा परेको ग्यास बुलेटको उद्धारको काम भइरहेको छ ।

अहिलेसम्म घाइते कोही नभेएटिएको प्रहरीको भनाइ छ । चालक सहचालक समेत नभेटिएकाले दुर्घटनास्थलमा खोजीको काम भइरहेको छ ।

सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

सिरियामाथि विद्रोहीको कब्जा, राष्ट्रपति असादले छाडे राजधानी

एजेन्सी, सिरियामाथि विद्रोहीले कब्जा गरेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले आइतबार बिहान राजधानी दमास्कस आफ्नो कब्जामा आएको घोषणा गरेको हो ।

विद्रोही समूह नजिक आइपुगेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका थिए ।

विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

यसपछि विद्रोही समूह राजधानी दमास्कस पुगेको थियो । त्यहाँ पुगेर विद्रोही कमान्डर असन अब्दुल घानीले देश असदको शासनबाट पूर्णरुपमा स्वतन्त्र भएको घोषणा गरेका छन् ।

आइतबार बिहान राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको थियो । जुन विद्रोही समूहका कमान्डरको अहर्षबढाइ रहेको जनाइएको छ ।

यससँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको मानिएको छ ।

सुनको मूल्यमा लगातार गिरावट, चाँदी पनि सस्तियो

काठमाण्डू, आज सुनचाँदीकै मूल्य घटेको छ। गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेर एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको छ।

शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको थियो।

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य एक हजार आठसय ९० रुपैयाँ थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयता सुनको मूल्य प्रतितोला २१ हजार तीनसय रुपैयाँ घटिसकेको छ।

नेपाल प्रिमियर लिगमा लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए भने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भएका थिए ।

शुभ कंशाकार २२ रनमा अविजित रहे । अहिलेसम्म जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिएका थिए ।

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई छैठौं पटक अदालतमा उपस्थित गराईंदै

पोखरा, सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो।

अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न लागिएको हो।

प्रहरीले आज अदालत खुल्नासाथ छैटौं पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय माग्ने तयारी गरेको सहकारी पीडितका तर्फबाट वकालत गर्दै आएका अधिवक्ता युवराज पराजुलीले बताए। अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ।

रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

लामिछानेलाई बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा ल्याएको छ।

गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

वारा, बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।

दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ

विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह

जनकपुरधाम, जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।

जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।

परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५(२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।

२० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा मात्रै उनीहरुलाई विवाहमा सहभागी गराइएको अध्यक्ष साहले बताए ।

यसरी एक जोडीको बिहेको व्यवस्थापनमा ७०(८० हजार रुपैयाँ खर्च भएको उनले बताए । आर्थिक सहयोग संकलन गरी खर्च जुटाउने गरिएको छ ।

त्रेता युगदेखि नै जनकपुरधाम उत्तम विवाह भूमि हो भन्ने संस्कृतिलाई प्रवद्ध गर्न विश्व हिन्दू परिषद्ले ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा जोडीहरुको सामूहिक विवाह आयोजन गर्दै आएको छ ।

मंसिर २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन शुभ फलदायक छ । आर्थिक लाभ, खाद्यान्न प्राप्ति, पारिवारिक सुख–सन्तोष होला ।

वृष : दिन शुभ भएकाले सानो प्रयासले पनि काम बन्ने, हर्ष वृद्धि, सुख–सन्तोष हुने देखिन्छ ।

मिथुन : तपाईंका लागि समय उत्तम छ । राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता होला ।

कर्कट : दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, खर्च वृद्धि, काममा बाधा नहोला भन्न सकिन्न ।

सिंह : समय शुभ छ । धन लाभ, कार्य सफल, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ ।

कन्या : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, शत्रु विजय होला ।

तुला : तपाईंका लागि समय शुभ छ । कार्य सिद्धि, धन प्राप्ति, पारिवारिक सुख, रोमाञ्च होला ।

वृश्चिक : सजग रहनु बेस । वायुजन्य रोगको सम्भावना, व्यर्थको दौडधूप, तनाव हुन सक्छ ।

धनु : दिन शुभ भएकाले सानै प्रयासमा राम्रो आम्दानी, मान–सम्मान, अधुरा कार्य पूरा हुन सक्छ ।

मकर : कर्तव्य गर्न नछोड्नुस् । धन–सम्पत्ति प्राप्ति, रोमान्टिक यात्रा, जोश–जाँगर वृद्धि हुने देखिन्छ ।

कुम्भ : समय शुभ भएकाले मिष्ठान्न भोजन, कतैबाट स्वागत–सत्कार, हर्षविभोर हुने सम्भावाना छ ।

मीन : आर्थिक नोक्सानी, स्वास्थ्य समस्या, वादविवाद आउन सक्छ । सजगता अपनाउनु बेस ।

तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु, उच्च पहाडी तथा हिमाली भागमा वर्षासँगै हिमपातको सम्भावना

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

साथै आज (आइतबार) बिहान तराई तथा काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

एक करोडभन्दा बढीको सुनचाँदी र नगदसहित तीनजना पक्राउ

कैलाली, कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय रुपियाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडासहित नियन्त्रणमा लिएको जानकारी दिए ।

उल्लेखित सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुनचाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले बताए ।

एनपीएलमा जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने छ ।

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको हो ।

जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दै छन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा रहेको छ ।

ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, ऋणको पासोमा पर्न दिइन्न् : महामन्त्री थापा

विराटनगर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऋण लिएर कुनै पनि परियोजना बनाउन अब कांग्रेसले नदिने प्रस्ट पारेका छन् ।

बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘यो सम्झौतालाई संसदमा पनि लगेर छलफल गरौं ।

भोलिका दिनमा ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, यो कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु र प्रत्येक कांग्रेसको सदस्यले यति भन्न सक्नुपर्छ ।
भोलि हामी सरकारमा नभए पनि कम्युनिष्टहरु मिलेर सरकार बनाए भने पनि यो सम्झौतामा टेकेर कांग्रेसले भन्न सक्छ, देशले ऋण लिन सक्दैन ।’

कांग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न नदिने बताएका हुन् ।

उनले अहिलेसम्मको सबैभन्दा खराब ऋण पोखरा विमानस्थल निर्माणको रहेको भन्दै देशलाई श्रीलंका, पाकिस्तानलगायतका देशहरुको जस्तो ऋणको पासोमा पर्न कांग्रेसले नदिने प्रस्ट पारे ।

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे : सभापति देउवा

धरान, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्क देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्।

उनले भने, ञओलीजीसित हामीले सरकार बनाएका छौँ। स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनुपरेको हो। दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ। ओलीले काम पनि राम्रो गर्नुभएको छ। ढाँट्ने कुरा छैन्।

कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीसँगको सहकार्यप्रति ढुक्क हुन पनि पार्टी पंक्तिलाई आग्रह गरे।

भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो। यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु ।