धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघात, उपचारको लागि दिल्ली रेफर

धनगढी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ ।

शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो ।

माया मेट्रो अस्पतालमा उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाण्डू, पाँच दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

गत मंशीर १९ गते शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले सो जानकारी दिएका हुन् ।

गुरूङका अनुसार राष्ट्रपति पौडेलेको प्रोटेस्टसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुङ्गोमा पुग्छ : अध्यक्ष दाहाल

काठमाण्डू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने जिकिर गरे ।

एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई राष्ट्रिय समहतिबाटै टुङ्गोमा पुर्‍याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्् ।

एकता प्रक्रियामा जोडिएका शिक्षकहरूलाई स्वागत गर्दै उनले यसले वृहत् एकता र ध्रुवीकरणको बाटो फराकिलो बनाउने बताए ।

आज मात्रै तीन वामपन्थी दलसित एकता वार्ता भएको जानकारी दिँदै अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको उनको भनाइ थियो

नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरूको ऐतिहासिक भूमिका रहँदै आएको बताए ।

अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरू शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुस्खद रहेको उनले भने ।

आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्‍याएको उल्लेख गर्दै यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए ।

त्यसका लागि शिक्षकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए ।

यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससँगै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको स्पष्ट पारे ।

एनपीएलमा कर्णालीले विराटनगरलाई ७ रनले हरायो

काठमाण्डू, एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई हराउँदै दोस्रो जीत हासिल गरेको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो ।

कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १२६ रनमा समेटियो । विराटनगरका लागि निकोलस किर्तनले ४० रन बनाए ।

ओपनर लोकश बमले १९ र दीपक बोहराले १८ रन बनाए । कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा विलियम बोसिस्टो र यूनिस ठकुरीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको थियो । कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले ।

विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । शिखर धवनले ५ रन जोडे । अन्य खेलाडीले दोहोरा अंक छुन सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए ।

बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले चासोपूर्वक कुरा राखे : सम्मानित नेता खनाल

काठमाण्डू, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्।

उनले भने, ‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो ? छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन्।

संसारसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छ ?यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम हो नि ? छिमेकीहरुसँग यो प्रकारको लापरवाही गर्न हुँदैनथ्यो।

चीन भ्रमणबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै छिमेकी देशहरुसँग केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो।’

उनले बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले आफूसँग पनि चासोपूर्वक कुरा गरेको बताए।

रोकिएन सुदूरपश्चिमको विजयी यात्रा, टरेन लुम्बिनीको हार

काठमाण्डू, एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत हासिल गरेको छ ।

शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।

सुदूरपश्चिमको घातक बलिङसामू लुम्बिनीको जवाफी ब्याटिङ चल्न सकेन् ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।

लुम्बिनीका लागि सातौँ नम्बरमा आएका विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७७ रन जोडे ।

जसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरे । तर, हार टरेन् । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए ।

पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा आउट भएका थिए ।

१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट भए । ३.२ ओभरमा टम मुर्स ७ रनमा आउट भए । ३.३ ओभरमा साद बिन जफर शून्यमा आउट भए । रामोन सिमन्ड्स पनि शून्यमा आउट भए ।

लुम्बिनी लायन्सका लागि ब्राण्डन म्याकमुलनले ३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनरका सैफ जैबले सर्वाधिक ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे ।

एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनले काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रन बनाएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

अब अर्को खेलमा विराटनगर किंङ्स र कर्णाली याक्स आमने सामने हुनेछन् ।

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाण्डू, एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे ।

एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

मंसिर २२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष : समय अनुकूल छ । द्रव्य लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर मिल्नेछ ।

वृष : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, स्वस्थता, सुखानुभूति हुने देखिन्छ ।

मिथुन : समय अनुकूल भएकाले राज्य सुख, यश–कीर्ति, मांगलिक यात्राको सम्भावना छ ।

कर्कट : सजग रहनुहोला । रोगको सम्भावना, धन हानि, बाधा–व्यवधान आउन सक्छ ।

सिंह : दिन शुभ भएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, सम्मान पाइने देखिन्छ ।

कन्या : दिन बलवान् छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक कार्यमा विजयको सम्भावना छ ।

तुला : समय अनुकूल भएकाले कार्य सफल, सन्तान सुख, धन प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक : अपच, ग्यास्ट्रिक आदिको सम्भावना भएकाले खानपानमा सजगता अपनाउनुहोला ।

धनु : दिन बलियो छ । द्रव्य लाभ, मान–सम्मान, पराक्रम–उन्नतिको सम्भावना देखिन्छ ।

मकर : तपाईंका लागि समय शुभ छ । धन लाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्य हुन सक्छ ।

कुम्भ : खाद्यसामग्री वा उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन पाइने सम्भावना देखिन्छ ।

मीन : दिन त्यति शुभ देखिँदैन । धन नोक्सानी, रोग, चोटपटकको भय नहोला भन्न सकिन्न ।

भारतीय सहयोगमा तेह्रथुमको आठराईमा स्वास्थ्य चौकी निर्माण हुँदै, भवनको शिलान्यास

आठराई, भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बन्न लागेको नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

तेह्रथुम की प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग ३ करोड ५४ करोड रुपैयाँको लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।

कांग्रेसको कोशी प्रदेश सम्मेलन आजदेखि, डा. शेखरले बहिष्कार गर्ने

काठमाण्डू, नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ ।

सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् ।

सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो ।

संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन् ।

नेपाली कांग्रेसका नेता डा. कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् ।

स्रोतका अनुसार, वरीयता विवाद भएपछि डा. शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् ।

उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् । तर, दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।

अरु सबै शीर्ष नेता विराटनगर पुगिसक्दा कोइराला भने आज चितवनमा हुने दुईवटा शोकसभामा सहभागी हनु लागेको उनको सचिवालयले जनाएको छ ।

मिथिलामा सीताराम विवाह सम्पन्न, आज ५६ व्यञ्जन खुवाएर अयोध्याको जन्तीलाई विदाई गरिने

जनकपुरधाम, सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्षझै यस शवर्ष पनि वैवाहिक समारोह मनाइयो ।

वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु, साधुसन्त र भक्तजनहरू उपस्थित थिए । यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती समेत आएका थिए ।

साताव्यापी विवाह पञ्चमी अन्तर्गत शुक्रवार दिउँसो स्वयंमवर र राति विवाह सकेपछि आज रामकलेवा विधि गरिदैछ । यस अवसरमा जानकी मन्दिरमा विशेष भण्डारा आयोजना हुन्छ ।

अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर विदाई गरिन्छ । उनीहरुलाई दोसल्ला, कमन्डल र नगद दक्षिणा दिएर सम्मानपूर्वक बिदा गर्ने परम्परा छ । जसलाई ‘रामकलेवा’भनिन्छ ।

विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुनेछ ।

श्रद्धालुलाई सास्ती

वैवाहिक गीतसंगित तथा भगवान श्रीराम र सीताबीचको विवाह हेरेर श्रद्धालुहरु रात विताए । अत्यधिक भीडका कारण टाढाबाट आएका कैयौं श्रद्धालुहरु जानकी मन्दिरमा प्रवेश नै पाएनन् ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि व्यबस्थापनि फितलो देखियो । बास र खानाको व्यवस्थापन प्रदेश सरकारले गरेको थियो ।

तर, सोचेभन्दा बढी श्रद्धालुहरु आएकाले जनकपुरधाम अस्तव्यस्त बन्यो । कैयौं श्रद्धालुहरु सडकमा रात विताउन बाध्य भए ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

विराटनगर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे।

उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे।

वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो। मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो।

सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए । सभापति देउवा शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन विराटनगर आएका हुन्।

पत्रकार महासंघ चुनावमा कमल गिरि नेतृत्वको संयुक्त प्यानल भिड्ने

काठमाण्डू, पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरिको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्।

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरिको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा जुगलु छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासीरजनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।

प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो।

घुस लिएको आरोपमा अदालतका कपिलवस्तुका तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डू, जिल्ला अदालत कपिलवस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा मिश्र र पाण्डेयलाई नियन्त्रणमा लिएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुरमा बिगो २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो।