राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

विराटनगर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे।

उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे।

वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो। मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो।

सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बताए । सभापति देउवा शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन विराटनगर आएका हुन्।

पत्रकार महासंघ चुनावमा कमल गिरि नेतृत्वको संयुक्त प्यानल भिड्ने

काठमाण्डू, पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरिको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्।

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरिको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा जुगलु छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासीरजनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।

प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो।

घुस लिएको आरोपमा अदालतका कपिलवस्तुका तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डू, जिल्ला अदालत कपिलवस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा मिश्र र पाण्डेयलाई नियन्त्रणमा लिएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुरमा बिगो २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो।

एनपीएलमा एन्ड्रिसको ऐतिहासिक शतकमा पोखराको पहिलो जीत

काठमाण्डू, अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो ।

जीतका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गरे ।

उनले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाए । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो ।

एन्ड्रिस प्लेयर अफ दि म्याच भए । यस्तै ओपन दीनेशले अविजित ६१ रन बनाए ।

उनले ४६ बलमा चार चौका र चार नै छक्का हाने । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसीप हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।

लुम्बिनीले चुनौतीपूर्ण लक्ष्य खडा गरेपछि बलिङ चल्न नसक्दा हार खेप्न बाध्य बन्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाए ।

उनले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए । टोम मूर्सले ४५ रन बनाएका थिए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन जोडे ।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए । म्याट क्रिच्ट्लीले एक विकेट लिए ।

दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो ।

तीन खेलमा पहिलो जीत निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी ओलीले आज जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।

यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाण्डू, शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य, कप्तान पौडेलले बनाए ९५ रन

काठमाण्डू, एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए ।

उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए । पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली : प्रधान न्यायाधीश राउत

काठमाण्डू, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । ।

सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेसी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताएका हुन् ।

“न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन जरुरी छ, गोला प्रणालीको प्रयोगपछि यसले पूर्णता पाएको छ”, प्रधानन्यायाधीश राउतले भने, “हरेक दिन गोला प्रणालीले गर्दा इजलासमा आउने नयाँ विषयका विषयमा पनि छलफल गरिन्छ, समस्या देखिए कानुनी बाटो खोजेर सल्टाउने काम गरिन्छ ।”

उनले इजलासमा हरेक दिन केही नयाँ विषय आउने गरेको र पुराना मुद्दाका साथै धेरै मुद्दाको आदेश वा फैसला गरेका विषयमा पनि छलफल हुने गरेको जानकारी गराए ।

सर्वोच्च अदालतमा २०७८ मङ्सिर १५ गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न थालिएको हो ।

सोही वर्ष माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुुरु गरिएको हो ।

सिसौँको काठमा फरक–फरक रङ लगाएका गोला छन् । ती गोलामा एकल इजलास, मुद्दाको समूह र न्यायाधीशको सङ्ख्या राखिएको हुन्छ ।

गोलाहरु कालो एउटा झोलामा राखिन्छ अनि न्यायाधीशले त्यसलाई निकाल्ने गर्छन् । गोला तानेपछि इजलास गठन हुन्छ र मुद्दा कुन कुन पर्छ भन्ने थाहा हुन्छ ।

सर्वोच्च अदालतमा दैनिक बिहान १० बजेर १० मिनेटमा गोला प्रणाली सुरु हुन्छ । सर्वोच्च अदालतमा आजसम्म २६ हजार ५१ थान मुद्दा छन् ।

आठ वर्ष नाघेका मुद्दा एक सय ५४ थान छन् । आठ वर्ष पुराना मुद्दा २०८२ सम्म शून्यमा झार्ने अभियानका साथ अदालतले काम गरिरहेको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश हुनुहुन्छ । नेपालको संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ ।

तर, समयमा पदपूर्ति नहुँदा न्यायाधीशको सङ्ख्या पूर्ण हुन सकेको छैन् ।

रासस

२५ मेगावाट क्षमताको सेतीले थाल्यो व्यापारिक उत्पादन

कास्की, २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ ।

आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले जानकारी दिए।

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका(४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिएको हो ।

यो आयोजना जलप्रवाहमा आधारित छ।

रासस

भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले बौद्ध पुगेर गरे पूजापाठ

काठमाण्डू, भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।

स्वयम्भूको दर्शनपछि उनले बौद्धनाथको दर्शन गरेका हुन्। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत थिए।

करिब आधा घण्टा स्वयम्भूमा रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका थिए।

आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले चीनसँग ऋण लिने गरी वीआरआईमा हस्ताक्षर गरेपछि देउवाले बोलाए कार्यसम्पादन बैठक

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले मंसिर २४ गते सोमबार बिहान ९ बजे बैठक बोलाइएको जानकारी दिए।

देउवाको आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चीनसँग बीआरआईबाट ऋण पनि लिन सक्ने गरी सम्झौता गरेपछि कांग्रेसमा असन्तुष्टि छ।

बैठकमा उक्त विषयमा छलफल पनि हुनेछ। कांग्रेस पहिल्यैदेखि ऋणमा बीआरआईका कार्यक्रम कार्यान्वयन नगर्ने पक्षमा थियो।

मंसिर २१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन शुभ छ । शारीरिक सुखको अनुभूति, गरेका काम सफल, स्वास्थ्य लाभ होला ।

वृष : राजनीतिमा सफलता, पुरस्कृत–सम्मानित, सुखानुभूति हुने सम्भावना देखिन्छ ।

मिथुन : समय अनुकूल नहुँदा स्वास्थ्य खराबी, धन क्षति, बाधा–व्यवधान आउन सक्छ ।

कर्कट : तपाईंका लागि समय शुभ छ । धन लाभ, व्यक्तित्व विकास, कार्य पूर्णता हुन सक्छ ।

सिंह : दिन बलवान् छ । पैसा प्राप्ति, परीक्षा, खेलकुद आदिमा विजय, सम्मान हुन सक्छ ।

कन्या : तपाईंले आँटेका कार्य सफल, आर्थिक लाभ, बौद्धिक क्षमतामा वृद्धि हुने देखिन्छ ।

तुला : सजग रहनुस् । पाचन समस्या, आलस्यता, के गर्ने के नगर्ने अवस्था आउन सक्छ ।

वृश्चिक : सभय शुभ भएकाले द्रव्य लाभ, मान वृद्धि, व्यापारिक सफलता, ज्ञान वृद्धि होला ।

धनु : दिन अनुकूल भएकाले आर्थिक लाभ, सुख, सन्तुष्टि, व्यवसायबाट लाभ हुन सक्छ ।

मकर : सानै प्रयासमा धन लाभ, पुरस्कार–सम्मान प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

कुम्भ : समय अनुकूल छैन । आर्थिक अभाव, चोटपटकको भय, धोका हुने सम्भावना छ ।

मीन : कर्तव्य गर्नुस् । आर्थिक लाभ, मिष्ठान्न भोजन, साथीभाइबाट प्रसन्नता होला ।

तेस्रो खेलमा कर्णालीको पहिलो जीत, चितवनको विजयी यात्रा टुङ्गियो

काठमाण्डू, एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जीत हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि ओपनर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

च्याडविक वाल्टनले ३० रनको योगदान गरे । ओपनर देव खनालले २५ रन जोडे । जिशन मक्सुदले १२ रन बनाए ।

चितवनका लागि रवि बोपरा, कुशल मल्ल र जान निकोल लोफ्टी इटनले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित ५८ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

शरद भेषावकर ६ रनमा अविजित रहे । चितवनका लागि विपिन रावलले ११ र दीपक बोहराले ८ रन बनाउँदा लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र सोमपाल कामीले १–१ विकेट लिए ।

अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

विवाह पञ्चमीको अवसरमा मिथिलामा भगवान श्रीराम र सीताबीच विवाह हुने

जनकपुर, त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि) मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।

जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ ।

जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको विवाहमा सहभागी हुन गाउँ गाउँबाट आएका श्रद्धालु र साधुसन्तले जनकपुरधाम भरिभराउ छ ।

महोत्सवको मुख्यदिन आज भगवान श्रीराम र माता सीताको रंगभूमि मैदानमा स्वयंबर गरिनेछ ।

राति हजारौं श्रद्धालुहरूको उपस्थितिमा जानकी मन्दिरमा विवाह (मालाफेर र सिन्दुरदान) समारोह हुने छोटा महन्त रामरोषण दास बैणव’ले जानकारी दिए ।

आज राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ । साथै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप पनि त्यहाँ लगिन्छ ।

रंगभूमि मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरिन्छ । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ ।

भगवान श्रीराम र सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ । त्यसैले भगवान श्रीरामको स्वयंवर विधि हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिन्छ ।

स्वयंवर सकेपछि श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएका जन्तीको लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्‍याइन्छ ।

त्यहाँ आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ । आजै राति मिथिला परम्पराअनुसार भगवान श्रीराम र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

विवाह समारोहमा वर र वधु पक्षका साधुसन्त आपसमा हाँसो ठट्टा समेत गर्छन् । महिलाहरु लोकगित मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गर्छन् । वैवाहिक माहोल र श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।

यसअघि पहिलो दिन जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन फूलबारी लीला भयो ।

तेस्रो दिन ‘धनुष यज्ञ’, पाँचौं दिन तिलकोत्सव र छैठौं दिन मटकोर सम्पन्न गरिएको थियो ।

जनकपुरधाममा जस्तै अन्य कैयौं ठाउँमा पनि हिन्दू धर्मावलम्बी तथा साधुसन्तहरु विवाह पञ्चमी मनाउँदै आएका छन् ।

सिरहा सदरमुकामस्थित राम मन्दिरमा पनि विधिपूर्वक भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

एजेन्सी, अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ ।

उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रकृत स्थान क्यालिफोर्नियास्थित पेट्रोलिया सहर नजिकको प्रशान्त महासागर रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

भूकम्पको केन्द्र सो सहरबाट ४० माइलको दूरीमा थियो । भूकम्पले लाखौं मानिसलाई प्रभावित गरेको अनुमान गरिएको छ ।

भूकम्प आएलगत्तै सुनामीको चेतावनी दिइएको छ । कबिर ५३ लाख मानिस सुनामीको जोखिम रहेको बताइएको छ । सुनामीको चेतावनी जारी गरिएको थियो ।

भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन ।

यद्यपि भूकम्पका कारण त्यहाँका सडक र अन्य संरचनामा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य भइरहेको बताइएको छ ।

अधिकारीहरूले आम मानिसलाई उच्च भूकम्प र सुनामीको जोखिमबाट बच्न आवश्यक कदम चाल्न सचेत गराएका छन् ।