दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न ड्रिलिङ अन्तिम चरणमा

दैलेख, दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको जानकारी दिए ।

उनले जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भएपनि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिएको जानकारी दिए ।

उनले भने , “जति गहिरो ड्रिलिङ गरिएको छ त्यसको प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण विज्ञले गरिरहेको त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरिरहेका छौँ ।”

उनले भने , “दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ ।

पेट्रोलियम पदार्थ हुन तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेको छ ।” ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । दैलेखको शिर स्थान, नाभी स्थान, पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

सुरुमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भएपनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन् ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए ।

त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङ सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ ।

भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने छन् ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्ले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् ।

अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।

सहकारी ठगी प्रकरणमा रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो माग दावी

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरूमा रविसँगै, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको कास्की प्रहरीले जनाएको छ ।

५१ जनालाई प्रतिवादी बनाए पनि ३७ जना प्रतिवादी फरार छन् । १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको प्रहरीले जनाएको छ । सोमबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात् जिल्ला अदालत कास्कीमा दर्ता हुनेछ ।

१ अर्ब ५१ करोड ४० लाख रकममध्ये गोर्खा मिडियामा आएको रकमलाई रविसहितको जिम्मेवारी भनिएको छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बनाएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभाबी खर्च गरेको देखिएको प्रहरीको दाबी छ । यस्तोमा उनी ठगीमा संलग्न रहेको पुष्टि हुने पर्याप्त आधारहरू भेटिएको भनिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा रविले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका मानिएको छ ।

प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।

यू-१९ एसीया कपमा पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाण्डू, यू–१९ महिला एसीया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले २ तथा सीमाना केसी, रचना चौधरी, र रिया शर्माले १–१ विकेट लिएका छन् ।

महानगरका पूर्वप्रमुख पीएल सिंहको निधनमा बिदा

काठमाण्डू, काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते)  शोक बिदा दिएको छ । 

महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । 

महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । 

सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उनको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन

पोखरा, कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो । उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी प्रावधान छ ।

जसअनुसार लामिछानेलाई प्रहरीले हिरासतमा लिएको आगामी शनिबार दुई महिना पूरा हुन्छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भर्खरै प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको र अध्ययनकै क्रममा रहेकाले मुद्दा अदालतमा पेश गर्नेबारे तयारीमात्रै भइरहेको बताइन् ।

लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार सकिदैछ ।

मंगलबार प्रहरीले पुनस् म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ । जिल्ला न्यायाधिवक्ता काफ्लेले मंगलबार पनि अदालतमा म्याद थपका लागि अपिल गरिने बताइन् ।

अनुसन्धान प्रतिवेदनको अध्ययन गर्नै बाँकी छ । कुन/कुन कसुर आकर्षित हुन्छ भन्ने निर्क्योल गर्न समय लाग्ने भएकाले मंगलबार पनि म्याद नै मागिनेछ, उनले भनिन ।

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवन एलिमिनेटरमा भिड्ने

काठमाण्डू, पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, इशान पाण्डेले ३६ बलमा चार चौकासहित अविजित ३८ रनको योगदान दिए । सैफ जैबले ११ रन जोडे ।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली निर्धारित २० ओभरमा १ सय १ रनमा अलआउट भयो ।

उसका लागि जीशान मक्सूदले ३५ बलमा चार चौकासहित सर्वाधिक ३० रन बनाए ।

यस्तै, विलियम बोसिस्टोले १६, बाबर हयातले १३, चाडविक वाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लाइनले दुईरदुई तथा सैफ जैबले एक विकेट लिए ।

प्लेअफ पुग्ने चारवटै टिमको टुंगो लाग्यो

एनपिएलको प्लेअफमा पुग्ने चारवटै टिमको लागेको छ । पहिलो सिजनको एनपिएल प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफको यात्रा गरे ।

अब क्वालिफायर वानमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । उक्त खेलको विजेताले फाइनलको यात्रा गर्नेछ । क्वालिफायर वानमा पराजित टिमलाई फेरि फाइनल पुग्ने अर्को मौका मिल्नेछ । त्यो हो, क्वालिफायर दुई ।

क्वालिफायर दुईमा एलिमिनेटरको विजेता र क्वालिफायर वानको पराजित टिम प्रतिस्पर्धा गर्ने छन् ।

एलिमिनेटरमा चितवन र कर्णाली प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा पराजित टिम एनपिएलबाट बाहिरिने छ ।

एलिमिनेटर र क्वालिफायर वानको म्याच बुधबार हुने तालिका छ । यस्तै, क्वालिफायर दुईको खेल बिहीबार तथा फाइनल खेल शनिबार हुनेछ ।

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

घोराही, दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दुई जनाको मृत्यु भए पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

प्रहर नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए ।

तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित

काठमाण्डू, नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्।

महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे।

उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन्।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे।

महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे ।

सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जीत निकाले । सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भइन्।

त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरेर विजयी भए।

सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे।

कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए।

कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले पाँच सय २७ मत र शङ्कर खरेलले चार सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भए।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले तीन सय ६८ र नारायणप्रसाद अधिकारीले चार सय ५० मत प्राप्त गरी विजयी भए ।

गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी तीन सय ३० मत, केवी रानाले तीन सय ८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले पाँच सय ६० मत र विकास बन्जाडेले चार सय ७३ मत प्राप्त गरी विजयी भए।

कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले दुई सय ८८ र नगेन्द्रप्रसाद उपाध्यायले तीन सय २१ मत प्राप्त गरी जीत निकाले।

सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले तीन सय ९७ र सुरेश पन्तले तीन सय मत प्राप्त गरी विजयी भए।

उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले चार सय ५९ र सूर्य सुवेदीले छ सय ६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ।

प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले चार सय र सविता शर्माले चार सय ८७ मत प्राप्त गरी विजयी भए। संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले दुई सय नौ र मनुका कुँवरले तीन सय एक मत प्राप्त गरी जीत निकाले।

खुला सदस्यमा छविलाल तिवारीले तीन हजार चार सय ७०, भूपेन्द्र आचार्यले तीन हजार पाँच सय ८२, मुकुन्दप्रसाद भण्डारीले तीन हजार सात सय २१, रामेश्वर कार्कीले तीन हजार छ सय ३० र लवदेव ढुङ्गानाले तीन हजार आठ सय ३० मत प्राप्त गरी निर्वाचित भए।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले चार हजार एक सय ८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले तीन हजार सात सय ३७ मत, खस आर्य महिलामा लिला शाह योगीले तीन हजार आठ सय १० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन्।

दलित सदस्यमा सिकेन्द्र पासवानले तीन हजार तीन सय १६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् ।

आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले चार हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएकी थिइन् ।

मधेसी सदस्यमा राजकरण महतोले तीन हजार आठ सय ९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले चार हजार चार सय नौ मत प्राप्त गरी निर्वाचित भए ।

अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले तीन हजार पाँच सय ५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले चार हजार तीन सय ७३ मत प्राप्त गरी विजयी भए।

लेखा समिति संयोजकमा केसी लामिछानेले चार हजार एक सय ९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले चार हजार एक सय २५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले चार हजार ८९ मत प्राप्त गरी जीत निकाले ।

महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो।

गण्डकीका उच्च भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ।

राति भने देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

एमालेले तीन महिना वडाकेन्द्रित अभियान चलाउने

काठमाण्डू, नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित तीनसय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।

त्यस्तै, आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्र विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ ।

यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ।

आगामी चैत महिनासम्ममा राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ ।

कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबिच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

कार्यशालामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए । यसैगरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल पनि कार्यशालालाई सम्बोधन गरेका थिए ।

कार्यशालाको पहिलो दिन पार्टी महासचिवले पार्टी केन्द्रले बनाएको वार्षिक कार्य योजनाको अभिमुखीकरण गरेका थिए भने भने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रूपमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्जहरू र संगठन विभागका सदस्यहरूले सहजीकरण गरे ।

कार्यशालाको दोस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश गरिएको थियो । समूहगत प्रस्तुतिका समयमा पार्टीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको पार्टी संगठन विभाग सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

एनपीएलको लिग चरणको अन्तिम खेलमा जित्ने लक्ष्यमा कर्णाली, काठमान्डूका लागि भाग्यको फैसला

काठमाण्डू, गत मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर (एनपीएल)मा आज (सोमबार) लिग चरणका खेल सकिँदै छन् ।

अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने–सामने हुँदैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् ।

यसअघि भएका ६ खेलमध्ये ५ मा जीत हासिल गरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । उसले १० अंक जोडेको छ ।

दोस्रो स्थानका जनकपुर बोल्ट्सको पनि १० अंक नै छ । आजको खेल जितेमा सुदूरपश्चिम १२ अंकसहित निर्विवाद शीर्ष स्थानमा रहने छ ।

पहिलो र दोस्रो स्थानका टोलीले क्वालिफायर–१ खेल्नेछन् । यसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

पराजित टोलीले क्वालिफायर–२ खेल्नेछ । तेस्रो र चौथोको विजेता टोलीसँग खेल्ने छ । उक्त खेल जिते फाइनलमा पुग्नेछ ।

आजको खेल कर्णाली र काठमान्डू गुर्खाजका लागि महत्वपूर्ण छ । किनकि हालसम्म दुवैको ८–८ अंक छ । तर रेनरेटमा कर्णाली अगाडि छ ।

यदि आजको खेल जितेमा कर्णाली प्लेअफमा पुग्नेछ भने काठमान्डू बाहिरिने छ । यसर्थ सुदूरपश्चिम र कर्णालीबीचको आजको खेल काठमान्डूका लागि पनि भाग्यको फैसला हुनेछ ।

कर्णाली सुदूरपश्चिमसँग भारी अन्तरले पराजित भएमा काठमान्डू प्लेअफमा जानेछ । यस्तो अवस्थामा कर्णाली बाहिरिने छ ।

यसर्थ कर्णाली आज सुदूरपश्चिमलाई जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

सुदूरपश्चिम र जनकपुरसँगै चितवन राइनोज पनि एनपीएलको प्लेअफमा पुगिसकेको छ । चितवन प्लेअफ पुग्ने तेस्रो टिम हो ।

आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी लायन्स, पोखरा र विराटनगर किंग्सको यात्रा भने समाप्त भइसकेको छ ।

ईयुको कालो सूचीबाट पाकिस्तान हट्दा हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध

काठमाण्डू, युरोपियन युनियन युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले पाकिस्तानलाई कालो सूचिबाट हटाउँदा नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ ।

ईयूले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध कायमै राखेको हो ।

ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका २० वटै वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । ईयूको प्रतिबन्ध कायमै रहेकोले अझै नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछैनन् ।

नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ ९आईकाओ० को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ ।

ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

नेपाली पक्षको असन्तुष्टि

यो वर्ष पनि कालो सूचीबाट नहटाउनुमा नेपाली पक्षकै पर्याप्त प्रयास नपुगेको विज्ञहरूले बताएका छन् ।

कालो सूचीका कारण खासगरी युरोपमा उडाउने लक्ष्यका साथ दुईवटा वाइडवडी अर्थात ठूला आकारका विमान भित्र्याएको नेपाल वायुसेवा निगमलाई युरोप मात्र नभई अस्ट्रेलियासमेत समेत उडान गर्न असम्भव भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने ईयूको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली विमान कम्पनीलाई विगत ११ वर्षदेखि कालो सूचीमा राख्दै आएको युरोपेली संघ ईयूले उक्त सूचीबाट यो वर्ष पनि नहटाउनुमा दुई कारणलाई मुख्य मानेको बताइएको छ ।

दुर्घटना र सुरक्षा सुधार मुख्य मुद्दा

ईयूले नेपाललाई कालोसूचीमा राखिराख्नुको मुख्य कारण विमान दुर्घटनाहरू र सुरक्षा सुधारमा कमी भएको उल्लेख गरेको छ ।

यस वर्ष पनि साना र ठूला विमान दुर्घटनाहरू भएका कारण नेपालको उड्डयन क्षेत्र अझै जोखिमयुक्त रहेको ईयूको निष्कर्ष छ ।

तर, प्राधिकरणका अधिकारीहरू यो तर्कप्रति असन्तुष्ट छन् । “हामीले धेरै सुधार गरेका छौं। ईयूले हामीलाई कालोसूचीमै राख्नु अन्यायपूर्ण छ,” एक अधिकारीले भने ।

अन्य देशको अवस्था

ईयूले यसपटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई कालोसूचीबाट हटाएको छ भने तान्जिनियाको एयर तान्जानियालाई सूचीमा थपेको छ ।

यस्तै, रसियाका २२ एयरलाइन्स, इरानका दुई, उत्तर कोरियाको एयर कोरियो, अफगानिस्तान, अर्मेनिया, जिम्बाब्वेलगायतका देशहरूका एयरलाइन्स पनि यो सूचीमा रहेका छन् ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाण्डू, नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ तोकेको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।

डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काँग्रेसले लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाउँदै

काठमाण्डू, नेपाली काँग्रेसले प्रथम जननिर्वाचित सरकारलाई तात्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाउँदै छ।

वि.सं. २०१७ पुस १ मा प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तात्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको थियो। यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो ।

सोही जेलमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए।

पुस १ को घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएका थिए।

वि.सं. २०६१ भदौ २४ मा बन्दीगृहलाई बीपी सङ्ग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ।

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन्।

यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ।

आयात/निर्यातमा पनि व्यापक असन्तुलन, सन्तोषजनक छैन आर्थिक वृद्धि

काठमाण्डू, आइतबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार आर्थिक अवस्था सामान्य परिदृश्यमा रहेको देखिएको छ ।

केन्द्रीय बैंकको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा आर्थिक वृद्धिमा मन्द गति, व्यापार घाटाको समस्या, विदेशी मुद्रा सञ्चितिमा गिरावट, महँगीको बढ्दो प्रभाव र बैंकिङ क्षेत्रको चुनौतीलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

आयात–निर्यात असन्तुलन

नेपालको व्यापार घाटा अझै पनि गम्भीर चिन्ताको विषय बनेको छ । चालू आर्थिक वर्षका चार महिनामा निर्यात आयातको तुलनामा अत्यन्तै न्यून देखिएको छ ।

वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्कमा ३.१ प्रतिशतले कमी आएको छ ।

२०८१ कात्तिक महिनामा व्यापारको सर्त ३.५ प्रतिशतले बढेको छ ।

विदेशी मुद्रा सञ्चिति

नेपालको विदेशी मुद्रा सञ्चितिमा करिब ५.५ प्रतिशतले गिरावट आएको छ । यो गिरावटले आगामी दिनमा आयातका लागि चुनौतीहरू थपिन सक्ने सम्भावना देखिन्छ ।

विदेशी आय स्रोतका रूपमा वैदेशिक रोजगारका माध्यमबाट पठाइएको रेमिट्यान्सको वृद्धिदर सकारात्मक भएपनि, यसको प्रभाव व्यापार घाटा पूर्तिमा पर्याप्त देखिएको छैन ।

महँगी र मुद्रास्फीति

मुद्रास्फीति करिब ६ प्रतिशतको हाराहारीमा रहेको प्रतिवेदनले जनाएको छ । खाद्यान्न र उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले जनजीवनमा गहिरो असर पारेको छ ।

सरकारले महँगी नियन्त्रणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरे पनि, तिनको प्रभाव अझै पर्याप्त हुन सकेको छैन ।

बैंकिङ क्षेत्र

बैंक तथा वित्तीय संस्थाहरूले दिएको ऋण प्रवाहमा गिरावट आएको छ । यो लगानीका लागि चुनौतीपूर्ण समय बन्ने सङ्केत हो ।

व्यापार घाटामा सुधार तर आयात निर्भरता अझै उच्च

यस अवधिमा नेपालको व्यापार घाटा ५३८ अर्ब रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतले कमी हो ।

निर्यात २.४ प्रतिशतले वृद्धि भई कुल निर्यात ४६ अर्ब रुपैयाँ पुगेको छ भने कुल आयातमा ९.५ प्रतिशतको गिरावट भई ५८५ अर्ब रुपैयाँमा झरेको छ ।

जसको कारणहरू सरकारले आयात प्रतिस्थापनका लागि घरेलु उत्पादनलाई दिएको प्रोत्साहन, अनावश्यक वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध र विदेशी मुद्रा सञ्चिति बचत गर्न प्रभावकारी नीतिको कार्यान्वयन हुन् ।

तर, निर्यात वृद्धिको दर न्यून रहेको र आयातमा उच्च निर्भरता कायम रहनु चुनौतीपूर्ण पक्षहरू भएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

विदेशी मुद्रा सञ्चितिस् आर्थिक स्थायित्वको आधार

विदेशी मुद्रा सञ्चिति १४.२ अर्ब अमेरिकी डलर पुगेको छ, जसले १०.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त वित्तीय सुरक्षा दिएको देखिन्छ ।

यसले भूराजनीतिक जोखिम र व्यापार घाटाको चुनौतीबीच अर्थतन्त्रलाई सुदृढ बनाएको छ ।

राजस्व सङ्कलन र पुँजीगत खर्चमा असन्तुलन

राजस्व सङ्कलनमा प्रगति भएको छ । सरकारले चार महिनामा २६८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको । जुन अघिल्लो वर्षभन्दा ८,२ प्रतिशतले बढी हो ।

पुँजीगत खर्चमा कमी रहेको छ । कुल पुँजीगत खर्च २२ अर्ब रुपैयाँ मात्र भएको छ । पुँजीगत खर्चको न्यूनता विकास निर्माण कार्यको ढिलासुस्ती र आर्थिक वृद्धिमा नकारात्मक प्रभावको सङ्केत हो ।

रेमिट्यान्स प्रवाहको उच्च योगदान

रेमिट्यान्स प्रवाहमा ९.५ प्रतिशतले वृद्धि भई कुल ४१२ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न र आयातलाई वित्तपोषण गर्न रेमिट्यान्स महत्त्वपूर्ण स्रोत बनेको छ ।

तर, दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्दै घरेलु उत्पादन वृद्धि नगरेसम्म विदेशी कामदारमाथिको निर्भरता चुनौतीपूर्ण हुनसक्छ ।

मुद्रास्फीतिस् खाद्य वस्तु र ऊर्जा क्षेत्रमा मूल्यवृद्धि उच्च

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल मुद्रास्फीति ७.३ प्रतिशत पुगेको छ । खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ, जसले निम्न आय भएका नागरिकमा प्रत्यक्ष असर पुर्याएको छ ।

ऊर्जा क्षेत्रमा पनि महँगोपनले चुनौती थपेको छ । प्रतिवेदनका अनुसार मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रभावकारी मौद्रिक नीति र उत्पादन वृद्धिका लागि आवश्यक संरचनागत सुधारहरूको आवश्यकता औँल्याएको छ ।

वैदेशिक लगानीमा सुधार

वैदेशिक प्रत्यक्ष लगानी २.५ अर्ब रुपैयाँ पुगेको छ । यसले उद्योग क्षेत्रलाई केही सकारात्मक सन्देश दिएको छ ।

तर, वैदेशिक प्रत्यक्ष लगानी आकर्षणका लागि अझै थप संरचनागत सुधार र प्रोत्साहन आवश्यक देखिन्छ ।

आर्थिक वृद्धिको सम्भावना र अवरोधहरू

प्रतिवेदनले आर्थिक वृद्धिको सम्भावना देखाए पनि, पुँजीगत खर्चको न्यून उपयोग, संरचनागत सुधारको कमी, र विदेशी लगानी आकर्षणको अभावले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउने खतरा रहेको उल्लेख गरेको छ ।

निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

वैदेशिक निर्भरता घटाउन घरेलु उत्पादन वृद्धि गर्दै स्वदेशी रोजगारी सिर्जना प्राथमिकतामा राख्नुपर्ने सुझाव छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको अर्थतन्त्रले केही सकारात्मक प्रगति गरे पनि संरचनागत समस्या समाधान गर्न नीतिगत सुधारको खाँचो रहेको देखाएको छ ।

पुँजीगत खर्चको प्रभावकारिता, औद्योगिक उत्पादनको प्रवर्द्धन, र राजस्व वृद्धिका लागि दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता छ ।

विदेशी लगानी आकर्षणका लागि प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नुपर्ने उल्लेख छ ।

नेपालको अर्थतन्त्रले छोटो अवधिमा सुधार देखाए पनि दीर्घकालीन स्थायित्वका लागि साझा प्रयासको आवश्यकता रहेको देखिन्छ ।

आर्थिक नीति र संरचनागत सुधारमार्फत मात्र नेपालको समृद्धिको लक्ष्य हासिल गर्न सकिने देखिन्छ । यो प्रगतिलाई अर्थतन्त्रमा दीर्घकालीन सुधारमा बदल्न सकिन्छ ।