आयात/निर्यातमा पनि व्यापक असन्तुलन, सन्तोषजनक छैन आर्थिक वृद्धि

काठमाण्डू, आइतबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार आर्थिक अवस्था सामान्य परिदृश्यमा रहेको देखिएको छ ।

केन्द्रीय बैंकको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा आर्थिक वृद्धिमा मन्द गति, व्यापार घाटाको समस्या, विदेशी मुद्रा सञ्चितिमा गिरावट, महँगीको बढ्दो प्रभाव र बैंकिङ क्षेत्रको चुनौतीलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

आयात–निर्यात असन्तुलन

नेपालको व्यापार घाटा अझै पनि गम्भीर चिन्ताको विषय बनेको छ । चालू आर्थिक वर्षका चार महिनामा निर्यात आयातको तुलनामा अत्यन्तै न्यून देखिएको छ ।

वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्कमा ३.१ प्रतिशतले कमी आएको छ ।

२०८१ कात्तिक महिनामा व्यापारको सर्त ३.५ प्रतिशतले बढेको छ ।

विदेशी मुद्रा सञ्चिति

नेपालको विदेशी मुद्रा सञ्चितिमा करिब ५.५ प्रतिशतले गिरावट आएको छ । यो गिरावटले आगामी दिनमा आयातका लागि चुनौतीहरू थपिन सक्ने सम्भावना देखिन्छ ।

विदेशी आय स्रोतका रूपमा वैदेशिक रोजगारका माध्यमबाट पठाइएको रेमिट्यान्सको वृद्धिदर सकारात्मक भएपनि, यसको प्रभाव व्यापार घाटा पूर्तिमा पर्याप्त देखिएको छैन ।

महँगी र मुद्रास्फीति

मुद्रास्फीति करिब ६ प्रतिशतको हाराहारीमा रहेको प्रतिवेदनले जनाएको छ । खाद्यान्न र उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले जनजीवनमा गहिरो असर पारेको छ ।

सरकारले महँगी नियन्त्रणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरे पनि, तिनको प्रभाव अझै पर्याप्त हुन सकेको छैन ।

बैंकिङ क्षेत्र

बैंक तथा वित्तीय संस्थाहरूले दिएको ऋण प्रवाहमा गिरावट आएको छ । यो लगानीका लागि चुनौतीपूर्ण समय बन्ने सङ्केत हो ।

व्यापार घाटामा सुधार तर आयात निर्भरता अझै उच्च

यस अवधिमा नेपालको व्यापार घाटा ५३८ अर्ब रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतले कमी हो ।

निर्यात २.४ प्रतिशतले वृद्धि भई कुल निर्यात ४६ अर्ब रुपैयाँ पुगेको छ भने कुल आयातमा ९.५ प्रतिशतको गिरावट भई ५८५ अर्ब रुपैयाँमा झरेको छ ।

जसको कारणहरू सरकारले आयात प्रतिस्थापनका लागि घरेलु उत्पादनलाई दिएको प्रोत्साहन, अनावश्यक वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध र विदेशी मुद्रा सञ्चिति बचत गर्न प्रभावकारी नीतिको कार्यान्वयन हुन् ।

तर, निर्यात वृद्धिको दर न्यून रहेको र आयातमा उच्च निर्भरता कायम रहनु चुनौतीपूर्ण पक्षहरू भएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

विदेशी मुद्रा सञ्चितिस् आर्थिक स्थायित्वको आधार

विदेशी मुद्रा सञ्चिति १४.२ अर्ब अमेरिकी डलर पुगेको छ, जसले १०.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त वित्तीय सुरक्षा दिएको देखिन्छ ।

यसले भूराजनीतिक जोखिम र व्यापार घाटाको चुनौतीबीच अर्थतन्त्रलाई सुदृढ बनाएको छ ।

राजस्व सङ्कलन र पुँजीगत खर्चमा असन्तुलन

राजस्व सङ्कलनमा प्रगति भएको छ । सरकारले चार महिनामा २६८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको । जुन अघिल्लो वर्षभन्दा ८,२ प्रतिशतले बढी हो ।

पुँजीगत खर्चमा कमी रहेको छ । कुल पुँजीगत खर्च २२ अर्ब रुपैयाँ मात्र भएको छ । पुँजीगत खर्चको न्यूनता विकास निर्माण कार्यको ढिलासुस्ती र आर्थिक वृद्धिमा नकारात्मक प्रभावको सङ्केत हो ।

रेमिट्यान्स प्रवाहको उच्च योगदान

रेमिट्यान्स प्रवाहमा ९.५ प्रतिशतले वृद्धि भई कुल ४१२ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न र आयातलाई वित्तपोषण गर्न रेमिट्यान्स महत्त्वपूर्ण स्रोत बनेको छ ।

तर, दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्दै घरेलु उत्पादन वृद्धि नगरेसम्म विदेशी कामदारमाथिको निर्भरता चुनौतीपूर्ण हुनसक्छ ।

मुद्रास्फीतिस् खाद्य वस्तु र ऊर्जा क्षेत्रमा मूल्यवृद्धि उच्च

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल मुद्रास्फीति ७.३ प्रतिशत पुगेको छ । खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ, जसले निम्न आय भएका नागरिकमा प्रत्यक्ष असर पुर्याएको छ ।

ऊर्जा क्षेत्रमा पनि महँगोपनले चुनौती थपेको छ । प्रतिवेदनका अनुसार मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रभावकारी मौद्रिक नीति र उत्पादन वृद्धिका लागि आवश्यक संरचनागत सुधारहरूको आवश्यकता औँल्याएको छ ।

वैदेशिक लगानीमा सुधार

वैदेशिक प्रत्यक्ष लगानी २.५ अर्ब रुपैयाँ पुगेको छ । यसले उद्योग क्षेत्रलाई केही सकारात्मक सन्देश दिएको छ ।

तर, वैदेशिक प्रत्यक्ष लगानी आकर्षणका लागि अझै थप संरचनागत सुधार र प्रोत्साहन आवश्यक देखिन्छ ।

आर्थिक वृद्धिको सम्भावना र अवरोधहरू

प्रतिवेदनले आर्थिक वृद्धिको सम्भावना देखाए पनि, पुँजीगत खर्चको न्यून उपयोग, संरचनागत सुधारको कमी, र विदेशी लगानी आकर्षणको अभावले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउने खतरा रहेको उल्लेख गरेको छ ।

निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

वैदेशिक निर्भरता घटाउन घरेलु उत्पादन वृद्धि गर्दै स्वदेशी रोजगारी सिर्जना प्राथमिकतामा राख्नुपर्ने सुझाव छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको अर्थतन्त्रले केही सकारात्मक प्रगति गरे पनि संरचनागत समस्या समाधान गर्न नीतिगत सुधारको खाँचो रहेको देखाएको छ ।

पुँजीगत खर्चको प्रभावकारिता, औद्योगिक उत्पादनको प्रवर्द्धन, र राजस्व वृद्धिका लागि दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता छ ।

विदेशी लगानी आकर्षणका लागि प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नुपर्ने उल्लेख छ ।

नेपालको अर्थतन्त्रले छोटो अवधिमा सुधार देखाए पनि दीर्घकालीन स्थायित्वका लागि साझा प्रयासको आवश्यकता रहेको देखिन्छ ।

आर्थिक नीति र संरचनागत सुधारमार्फत मात्र नेपालको समृद्धिको लक्ष्य हासिल गर्न सकिने देखिन्छ । यो प्रगतिलाई अर्थतन्त्रमा दीर्घकालीन सुधारमा बदल्न सकिन्छ ।

भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा माया बराबर

काठमाण्डू, भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत माया बराबर सार्वजनिक गरिएको छ ।

फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ।

नेपमेलो नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ ।

सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ ।

माया बराबरु गीतको भिडियोलाई कलाकारद्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाण्डू, थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।

अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो ।

यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।

निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् । नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ ।

चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।

आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते ९आइतबार० सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ ।

शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ ।

हाँस्य कलाकार जीतु नेपाल ठूलो पर्दामा

काठमाण्डू, सानो पर्दाबाट हाँस्य कलाकारको छवि बनाएका जीतू नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए ।

तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन् ।

दयहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ रु यो चलचित्रमा जीतू दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ ।

‘कार्साङ’मा जीतूको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन ।

यसमा उनले दर्शकलाई हसाउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जीतले बताएका छन् ।

यसअघि दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए । यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्कीएका हुन् ।

यसैबीच, ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेकोछ । पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । चलचित्रका मुख्य कलाकार जीत नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।

आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् ।

यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुने निर्माणपक्षले जजनाएको छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जीत नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् ।

सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा रवी माथिको अनुसन्धान सकियो, सोमवार सरकारी वकिललाई बुझाइने

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान सकिएको छ ।

सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने प्रहरीका एक उच्च अधिकृतले बताए । मुद्दा फाँटले प्रतिवेदन तयार गर्ने काम गरिरहेको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिल कार्यालयलेलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

छविभन्दा रवि २५ दिन ढिलो पक्राउ परेका थिए । तर, जोशी पक्राउ परेको दिनबाटै रविको पनि म्याद मिलान गरिएको छ ।

सम्पत्ति शुद्धिकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । सरकारी वकिल कार्यालयले भने पुस ५ भित्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने छ ।

हिरासतमा राखेर अनुसन्धानका लागि अब एक दिन बाँकी छ । यसबीचमा फेरि चार दिन म्याद थपिने सम्भावना छ ।

कास्की हिरासतमा रहेपछि अनुसन्धानका क्रममा रविलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर बयान लिएको थियो ।

यसकारण छवि,रवि र अन्य तीनजना लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ विरुद्ध पनि पुस ५ भित्रै कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता प्रहरीसँग छ ।

ती अधिकृतले भने, ‘सहकारी ठगी, ‘सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन लेख्ने काम भइरहेको छ ।’

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालतमा पेस गर्ने छ । अहिले अनुसन्धान सकेर प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले बताए ।

यसअघि सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको थियो ।

६५ करोड ५४ लाख कम्पनीमा ल्याइएको थियो

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि थिए ।

करिब ५० हजार सर्वसाधारणले बचत गरेको रकम सारिएको थियो । रविले गोर्खा मिडियामा १५ प्रतिशत ‘स्वेट सेयर’ लिएर प्रवेश गरेको र निस्कँदा त्यो सेयर कम्पनीलाई नै फिर्ता गरेको दाबी गरेका थिए ।

तर, यो रकम ‘स्वेट सेयर’ नभई सहकारीको रकम भएको र उनी कम्पनीबाट बाहिरिने क्रममा पैसा लिन बुझाएका कागजातमा पनि किर्ते गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सङ्गठित तवरले किर्तेसमेत गरी सहकारी ठगी गरेको र त्यस्तो रकमबाटै गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको कानुनअनुसार कारबाही हुने विषय प्रतिवेदनमा उल्लेख छ ।

रवीलाई कार्तिक २ गते नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको थियो ।

काठमाडौँको कागेश्वरी मनोहरामा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएकी कमला आचार्यको मृत्यु

काठमाण्डू, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार दिउँसो बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आइतवार साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।”

मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको छ।’

२७ वर्षदेखि बन्द रहेको टीकापुर विमानस्थलमा नियमित उडान सुरु

टीकापुर, कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल आइतबार सञ्चालनमा आएको हो ।

आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्विनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरु भएको हो।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेका थिए।

विमान अवतरणका क्रममा सयौँको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए।

त्यस अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए। “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ,” उनले भने।

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगन्जसम्म यति एयरलाइन्समार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगन्ज–टीकापुर र टीकापुर–नेपालगन्ज–काठमाडौँ उडान हुनेछ।

टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए।

“यति एयरलाइन्सले काठमाडौँ–नेपालगन्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगन्ज–टीकापुर उडान भर्नेछ।

यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ,” उनले भने।

उनले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य संघ टीकापुर, व्यवसायी तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गरे।

उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ।

टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।

साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगन्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ।

सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गरे।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ।

सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ।

त्यसैगरी, काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ।

यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ।

साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ।

हाम्रो योगदानलाई बदनाम गर्न खोज्नेविरुद्ध एमाले/कांग्रेस मिल्यौँ : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतीतर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले आफूहरूले जे दुःख भोगेका छौँ त्यस्ता दुःख हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे ।

‘गुठीको संरक्षण गर्न कानून बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो ।

भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो ।

यस्ता हल्लाहरू नेपालमा भाँडभैलो मच्चाउने प्रयासका उपज हुन्,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अगाडि थपे, ‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् ।

तर, हामी सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहन्छौँ । यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौँ ।

बैङ्कको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान् अभियानमा हामी छौँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।’

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने कोसिस भएकाले दुई ठूला दलको सहकार्यमा सरकार बनेको बताएका हुन् ।

यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो ।

एनपीएलको शीर्षस्थानमा रहँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डू, सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो ।

जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ ।

समान १० अङ्कसहित दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगेको छ ।

यस्तै सात खेलबाट आठ अङ्क बनाएको चितवन टाइगर नेट रनरेटका आधारमा प्लेअफमा पुगेको छ ।

सुदूरपश्चिमले लिगको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ । यस खेलपछि प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ ।

जितका लागि एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।

पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३६ रन बनाए । यस्तै रेमोन रिफरले ३३, करण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले पाँच विकेट लिए । उनले विकेट लिने क्रममा ३.४ ओभर बलिङ गर्दै १८ रन खर्चिए ।

यस्तै हरमित सिंहले तीन तथा सईफ जैवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए ।

यस्तै ब्रान्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे ।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए भने रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक एक विकेट लिएका थिए ।

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाउनु भएको छ । यो संगै शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो ।

महासंघले ६९ वर्षे इतिहासमा महिला नेतृत्व पाएको यो पहिलोपटक हो । त्यस्तै महासंघका पदाधिकारी र सदस्यमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । उनी अध्यक्षका दाबेदार रमेश विष्ट प्यानलका हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ 

आजको आवश्यकता विद्युतीय सवारीसाधन: दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउनुभयो ।

उहाँले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको जानकारी दिनुभयो । उहाँले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताउनुभयो ।

‘‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो । र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुन त इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्न उठेका छन् । जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि उठेको छ ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘यसमा हामीले ध्यान दिइरहेका छौँ । तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन । ग्लोवल्ली समस्या हो । यसबारेमा चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन हामी कोशिस गरिरहेका छौँ ।’’ मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।

नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

काठमाडौँ । नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले १३ वर्षपछि शुक्रबार पक्राउ गरेको हाे ।

उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको हो । काठमाडौँका एसएसपी वसन्त रजौरेले शशीकिरण श्रेष्ठ पक्राउ परेको बताए । आज काठमाडौँ जिल्ला अदालतमा पेस गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेस गर्ने तयारी भइरहेको उनको भनाई छ ।

केही समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा श्रेष्ठलाई दोषी ठहर गरेको थियो । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

विराटनगर । मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।

मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

रवि लामिछानेप्रति सरकारको प्रतिशोध छैन, अपराध गर्ने सबैमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

चितवन, गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताएका छन् ।

उनले चितवनमा आयोजित एक कार्यक्रममा संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले काम गरेको बताए ।

कानुनी रूपमा अनुसन्धान सुरु गरिएको बताउँदै उनले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु भएको बताउँदै त्यस्तो गर्न नहुने बताए ।

सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए ।

अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको भनाइ थियो ।

यसैबीच उनले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए ।

उनले भने, ‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । संशोधन दुई वटा दलले मात्रै गर्ने होइन ।’

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।

उनले भने, ‘संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।’

सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।

यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।’ दुई दलबीचमा कुनै समस्या नरहेको उनको भनाइ छ ।

सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उनले स्पष्ट पारे ।

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको नजिक

काठमाण्डू, विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ ।

उक्त खेलमा कर्णाली फराकिलो अन्तरले हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ ।

काठमाडौँको जितसँगै समान आठ अङ्क बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल अगावै र चितवन टाइगरले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ ।

१० अङ्क बनाएको जनकपुर बोल्ट्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको छ ।

काठमाडौँका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२, दीपेश कँडेलले अविजित ११ र माइकल लेभिटले १० विकेट लिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाए । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाए ।

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए ।

यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिए ।