बुटवलको तिनाउ पुलमा बलेरो जीप पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु, गुल्मीमा पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते

वुटवल, बुटवलको तिनाउ पुल र गुल्मीमामा बलेरो जीप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

यस्तै शुक्रबार साँझ गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका ४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबीनकुमार श्रीसको मृत्यु भएको हो।

दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन्।

गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल क्रस गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उनले बताए ।

उक्त जीप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ।

रविविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान, ४ वर्षमा पत्नी निकिताको खातामा साढे २१ करोड जम्मा

काठमाण्डू, सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान जारी छ ।

सहकारी ठगी, सङ्गठित अपराधमा अनुसन्धान भइरहेको उनीमाथि सम्पत्ति शुद्धीकरणमा बलिया प्रमाण फेला परेको अधिकारीहरूले बताएका छन् ।

रवि र उनको पत्नी निकिताको खातामा झन्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको कास्की प्रहरीले जनाएको छ ।

निकिताको खातामा कोरोना महामारीपछि ठुलो रकम दाखिला भएको देखिएको छ ।

४ वर्षमा ठुलो कारोबार भेटिएको भन्दै स्रोतले भन्यो, ‘ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको छ ।’

यति ठुलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले स्थापित गर्न सकेका छैनन् ।

गत जेठमा उपप्रधान एवं गृहमन्त्री रहेको बेलामा रविले दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ र पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजार रकम रहेको सार्वजनिक गरेका थिए ।

तर, अहिले खोजी हुँदा करोडाँैकरोड रुपैयाँ बैंकमा मौजात रहेको देखिएको छ ।

स्रोतले भन्यो, ‘उनले पहिला बुझाएको सम्पत्ति विवरण र अहिले भेटिएको सम्पत्तिमा धेरै ठुलो अन्तर छ । यो सम्पत्तिको स्रोत देखाउन सकेनन् भने उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर्ने निश्चित छ ।’

कास्की प्रहरीले जिल्ला सरकारी वकिलमार्फत पुस ५ गते शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ ।

रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ ।

गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको अनुसन्धानबाट खुलेको छ ।

आज तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो , सोमबार उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डू, आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ । सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ ।

आइतबार पनि मौसम सफा नै रहनेछ । पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

काठमाण्डू, नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ ।

समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो ।

रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई थप गरेको छ ।

मंसिर २९ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष: तपाईंका लागिष् दिन शुभ छ, धन लाभ, सुख–शान्ति, आत्मसन्तुष्टि हुने देखिन्छ ।

वृष: अन्न लाभ, उत्तम भोजन, कार्य सफल, उपहार प्राप्तिको सम्भावना छ ।

मिथुन: दिन शुभ देखिँदैन । धन नाश, रोगव्याधि, अनावश्यक खर्च, वादविवाद होला ।

कर्कट: दिन बलवान् छ । विविध लाभ, प्रसन्नता, पैसा प्राप्तिको सम्भावना छ ।

सिंह: कार्य सिद्धि, सुख–शान्ति, वस्तु वा सेवा प्राप्ति, निरोगिताले मन प्रफुल्ल होला ।

कन्या: दिन शुभ छ । राज्यबाट लाभ, शुभ यात्रा, यश, मान–प्रतिष्ठा बढ्ने सम्भावना छ ।

तुला: दिन त्यति राम्रो छैन, रोग, कष्ट, धन हानि स्वास्थ्य बाधा, कार्य बाधा होला ।

वृश्चिक: शुभ समयले धन लाभ, प्रेम सम्बन्धमा प्रगाढता, समस्या समाधान हुनेछ ।

धनु: सानै प्रयासमा आर्थिक लाभ, विजय, पारिवारिक सुख–शान्ति हुने देखिन्छ ।

मकर: दिन शुभ छ, कर्म गर्नुस्, कार्य सिद्धि, सन्तान–सुख, धन प्राप्ति हुने देखिन्छ ।

कुम्भ: समय शुभ छैन, पाचनमा समस्या, दिनचर्या अस्तव्यस्त, अनिद्रा, दौडधूप होला ।

मीन: शुभ समयले आर्थिक लाभ, पराक्रम, उन्नति, मान–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

एनपीएलमा आज दुई खेल हुँदै, चितवन र जनकपुर तथा काठमाण्डू र पोखरा भिड्ने

काठमाण्डू, मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । यसैबीच आज दुई खेल हुँदैछन् ।

बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन र जनकपुर भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ ।

रंगेहात घुस सहित पक्राउ परेका असईलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार गयो सर्वोच्चमा

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो ।

सो सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो । आयोगले घूस रकमसहित पक्राउ गरेको प्रहरी सहायक निरीक्षक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो ।

यस्तै, आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो । प्रतिवादीले गैरकानूनी रूपमा घूस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो ।

सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि…….

काठमाण्डू, भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ ।

आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ ।

अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए ।

सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए ।

सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र, कार्यालय बन्द गर्नुको कारण खुलाउन माग

काठमाण्डू, सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनएं) को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।

फैसला कार्यान्वयन निर्देशनालयको उक्त पत्र शुक्रवार संघको सचिवालयका तर्फबाट अनिल ढुंगानाले बुझिसकेका छन् ।

निर्देशनालयको उक्त पत्रअनुसार गत मंसिर ४ गते एकताका लागि घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक बस्दा कार्यालय बन्द गर्न पर्नुको कारण पनि माग गरिएको छ ।

यसबारेमा ७ दिनभित्र लिखित जानकारी गराइ अन्य आवश्यक कामकारबाही गर्न कुनै पनि प्रकारको अवरोध नगर्न पत्रमा भनिएको छ ।

‘सर्वोच्च अदालतबाट मिति २०८०।१२।२१ मा भएको आदेशको कार्यान्वयनार्थ परराष्ट्र मन्त्रालयबाट समेत भएको निर्देशन र समन्वय अनुसार उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पहिलो बैठक बसेको ६ महिनाभित्र निर्वाचन सहितको महाधिवेशन गर्ने गराउने प्रयोजनार्थ सम्मानित सर्वोच्च अदालतको आदेशानुसार कार्यान्वयन गर्ने प्रयोजनको लागि सहजीकरण गर्नुपर्नेमा गैरआवासीय नेपाली संघको कार्यालय नै बन्द गरी सर्वोच्च अदालतको आदेशले तोकिए बमोजिमका क्रमका संयोजकहरूको उपस्थिति रहे भएको समयमा के कति आधार कारणले कार्यालय बन्द गरेको हो रु सोको जानकारी ७ (सात) दिनभित्र यस निर्देशनालयलाई दिई आवश्यक काम कारबाही गर्न कुनै पनि प्रकारको अवरोध सृजना नगर्न निर्देशानुसार अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।

सर्वोच्चको फैसलाअनुसार सचिवालयबाट सहयोग नभएको भन्दै यसअघि उच्चस्तरीय समितिका सदस्यद्वय रविना थापा र जानकी गुरुङले निर्देशनालयमा सहयोगका लागि निवेदन दिएका थिए ।

उक्त निवेदनअनुसार संघको कार्यालय बन्द भएपछि उच्चस्तरीय समितिको पहिलो बैठक कार्यालयमा बस्न नसकी बालुवाटारकै एक रेस्टुरेन्टमा बसेको थियो ।

उक्त बैठकले ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले एकताका लागि उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर) तयार गर्ने, मे २०२५ भित्र एकताको महाधिवेशन गर्ने, सचिवालय स्थापना गर्नेजस्ता निर्णय गरेको थियो ।

यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो ।

जसअनुसार मन्त्रालयबाट प्रतिनिधिको नाम आइसकेको र अब उच्चस्तरीय समितिको बैठक सोमबार सचिवालयमा नै बस्ने तय भएको समितिका एक सदस्य विनोद कुँवरले जानकारी दिए ।

उक्त बैठकबाट एकता सम्बन्धी थप निर्णय गरेर अघि बढने उनको भनाइ छ । तीन समूहमा रहेको एनआरएनएलाई मिलाउने गरी सर्वोच्चले गत चैत २१ मा फैसला गरेको थियो ।

तर, बद्री केसीको निर्देशनमा केन्द्रीय कार्यालयले समितिलाई असहयोग गर्दै आएको छ । चैत २१ को फैसलापछि परेको अर्को मुद्दामा सर्वोच्चले आफूलाई वैधानिकता दिएको केसी पक्षले दाबी गर्दै आएको छ ।

गत साउनमा सर्वोच्चले गरेको दोस्रो फैसलालाई देखाउँदै केसी पक्षले उच्चस्तरीय समितिलाई नमान्ने संकेत गर्दै आएको अवस्थामा फैसला कार्यान्वयन निर्देशनालयले तोकिएकै मितिमा एकताको महाधिवेशन गराउनका लागि पत्राचार गरेको हो ।

गत मंसिर ४ गते बसेको उच्चस्तरीय समिति बैठकमा समितिको सदस्य रहेका बद्री केसीले सहभागिता जनाएका थिएनन् ।

समितिको दोश्रो बैठक आउँदो सोमबार (पौष १ गते) संघको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त भएका छन् ।

राष्ट्रिय एकता हाम्रो मूलमन्त्र : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूलमन्त्र भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने मा जोड दिए ।

नेकपा (एमाले)का अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्प गरे ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गरे ।

एनपीएलमा चितवनविरुद्ध विराटनगरको सानदार जीत, प्लेअफ सम्भावना जीवितै

काठमाण्डू, विराटनगर किंग्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जीत निकालेको छ । विराटनगरले दोस्रो जीत निकाल्नेक्रममा शुक्रबार चितवन राइनोजलाई ५१ रनले हरायो ।

चितवनले भने आजको खेलमा खराब ब्याटिङ गर्‍यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।

उसका लागि अमर रौटेलाले ४२, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई, सुवास भण्डारी, लोकेश बम, बसिर अहमद र क्रिस सोलले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युवा अलराउन्डर बसिर अहमदले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेका उनले चार छक्का र चार चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् ।

यस्तै, मार्टिन गप्टिलले ३५ बलमा चार छक्का र एक चौकासहित ४५ रन जोडे । त्यस्तै, राजेश पुलामी मगरले २० बलमा तीन छक्का र एक चौकाको मद्दतमा अविजित ३३ रनको आक्रामक पारी खेले ।

यस खेलमा बसिर र राजेशले उत्कृष्ट फिनिसिङ गरे । उनीहरूबीच अन्तिम ६ ओभरमा ८१ रनको साझेदारी साझेदारी बन्यो ।

चितवनका लागि रिजन ढकालले दुई, सोहेल तनवीर, बसिल हमीद र कुशल मल्लले एक/एक विकेट लिए ।

यो जितपछि विराटनगर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फराकिलो जितपछि विराटनगरले प्लेअफ सम्भावना पनि जीवितै राखेको छ ।

विराटनगरले ६ म्याच खेल्दा चारमा हार तथा दुई खेलमा जीत निकालेको छ । यस्तै, चितवनले ६ म्याच खेल्दासम्म तीनमा जीत र तीन खेलमा हारको सामना गरेको छ ।

प्लेअफ सम्भावना बलियो बनाउन चितवन पनि जित्नैपर्ने दबाबमा छ । ऊ अहिले ६ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

दक्षिणी भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु

एजेन्सी। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो । आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको बताइएको छ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।

आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुत गतिमा अन्य तलाहरूमा फैलिएको थियो । उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो ।

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सुनसरी । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । 

आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेका हो ।

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिहेको छ ।

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।

उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेका छन्।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङफे राजदूतमा नियुक्त भएका हुन्।