विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले पाँच विकेटको क्षतिमा १८१ रनको फराकिलो स्कोर खडा गरेको हो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।

राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे।

मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे। तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए। कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए।

चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।

बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ ।

देशकै जेठो अस्पताल वीरमा करिव ९ करोडमा किनिएका भेन्टिलेटरसहित आईसीयू उपकरणमा माकुराको जालो

काठमाण्डू, वीर अस्पतालले झन्डै ९ करोड रुपैयाँमा किनेका अत्याधुनिक २३ वटा आईसीयू बेड र ३१ वटा भेन्टिलेटर वर्षौंदेखि थन्काएर राख्दा गम्भीर अवस्थाका बिरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् ।

कैयौं बिरामीलाई चिकित्सकले अन्य अस्पतालमा रेफर गर्दै आएका छन् । बागबजारकी पूर्णदेवी शाहीलाई अचानक श्वासप्रश्वासमा समस्या आयो ।

आफन्तले वीरको इमर्जेन्सीमा पुर्‍याए । उनको मुटुलगायत विभिन्न अंगको शल्याक्रिया गराइसकेकाले आईसीयूमै उपचार गर्नुपर्ने चिकित्सकले बताए ।

तर, आईसीयू बेड नभएका कारण इमर्जेन्सीमै छटपटिनुपर्‍यो । अस्पतालमा मंगलबार भेट भएका उनका आफन्त शाहीको हृदयविदारक अवस्थाका कारण निकै चिन्तामा देखिन्थे ।

आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थाकी रामेछाप मन्थलीकी ७० वर्षीया पार्वती माझी पनि इमर्जेन्सीमै छटपटाइरहेकी थिइन् ।

रामेछाप जिल्ला अस्पतालबाट रेफर गरिएकी दमकी बिरामी उनलाई आईसीयू बेड अभावमा औषधि र अक्सिजनका भरमा इमर्जेन्सीमै राखिएको छ ।

चिकित्सकका अनुसार आईसीयूमै उपचार गर्नुपर्ने अवस्थाका बिरामी वीरमा दैनिक ४–५ जना आउँछन् ।

तीमध्ये केहीलाई चिकित्सकले महाराजगन्जस्थित शिक्षणलगायतका अस्पतालमा रेफर गर्ने गरेका छन् भने कतिपय बिरामीलाई आफन्तले नै अन्य अस्पतालमा लैजान्छन् ।

वीरमा ६७ वटा आईसीयू बेड छन् । तीमध्ये सर्जिकल भवनको पहिलो तलका ९ र दोस्रो तलाका ९ आईसीयू तथा ३१ वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।

चौथो तलामा रहेको सर्जिकलका १८ र न्युरोका ९ गरी २३ आईसीयू बेडमध्ये ५ वटा आईसीयू पनि सञ्चालनमा छैनन् ।

आईसीयू र भेन्टिलेटरका यी अत्याधुनिक उपकरण कोभिड महामारीका बेला सरकारी बजेटबाट खरिद गरिएको हो ।

वीरका खरिद शाखाका एक कर्मचारीका अनुसार कोभिडका बेला सर्वत्र हाहाकार भएकाले सबै उपकरण महँगोमा किनिएको थियो ।

त्यतिबेला खरिद गर्दा प्रतिभेन्टिलेटर करिब २५ लाख रुपैयाँ र प्रतिआईसीयू बेड ५ लाख रुपैयाँ परेको छ ।

करिब १ करोड १५ लाख रुपैयाँमा किनिएका आईसीयू बेड र ७ करोड ७५ लाखमा खरिद भएका भेन्टिलेटर उपयोगविहीन भएर थन्किएका छन् ।

आईसीयू, भेन्टिलेटर जडित वार्डमा ताला लगाइएको छ । दूरदराजबाट आएका गम्भीर रोगका गरिब सर्वसाधारण बिरामीले उपचार नपाएर बिजोग अवस्था छ ।

इमर्जेन्सीमै बसेर औषधि र अक्सिजनका भरमा उपचार गराउन बाध्य छन् । केहीलाई चिकित्सकले रेफर गर्छन् भने कोही आफैं अन्य अस्पतालमा जान्छन् ।

आईसीयु र भेन्टिलेटर अभावका कारण विशेष गरी दीर्घ तथा घातक रोग लागेका बिरामी मर्कामा छन् ।

जटिल रोग लागेका बिरामी महँगो शुल्क तिरेर निजीमा जानुको विकल्प छैन । गरिब सर्वसाधारण निःशुल्क पाउने सेवाबाट पनि वञ्चित भएका छन् ।

न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झाले आईसीयू र भेन्टिलेटर अभावका कारण बिरामी भर्ना गर्नेरनगर्नेदेखि लिएर शल्यक्रियासम्मका उपचार सेवा प्रभावित भएको बताए ।

चिकित्सकले भेन्टिलेटर र आईसीयू बेड संख्या हेरेर मात्र बिरामीको शल्यक्रिया गर्ने योजना बनाउनुपर्ने हुन्छ ।

आईसीयू र भेन्टिलेटर सञ्चालनमा नल्याइएकै कारण शल्यक्रिया पनि हुन सकिरहेका छैनन्,’ उनले भने, ‘आपत्कालीन शल्यक्रिया समेत अस्पतालभित्रकै अर्को विभागले आईसीयू वा भेन्टिलेटर उपलब्ध गराएमा मात्र सम्भव हुन्छ, नत्र रेफर गर्नु वा फर्काउनुको विकल्प छैन ।’

‘गम्भीर अवस्थाका कतिपय बिरामीलाई समयमै आईसीयूमा राख्न नसकेमा ज्यान नै जाने जोखिमसमेत हुन्छ,’ उनले भने ।

राजधानीमा रहेका प्रायः निजी अस्पतालमा आईसीयूको दैनिक शुल्क १२ देखि १५ हजार रुपैयाँ छ ।

त्यो पनि डाक्टरको चार्ज, इन्सुलेसन, अक्सिजनलगायतका सेवाका शुल्कबाहेक । वीरमा भने सबै गरेर आईसीयू शुल्क दैनिक ३ हजार रुपैयाँ मात्र छ ।

वीरकै केही चिकित्सक भने अस्पतालका सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याएमा निजी अस्पतालको व्यापार घट्ने भएकाले चलाउन नदिन ठूलो चलखेल रहेको आरोप लगाउँछन् ।

वीरमा ५ सय बेडको सर्जिकल भवनसहित ९०६ बेड सञ्चालन गर्ने सरकारको योजना छ । त्यसमा सय बेडको आईसीयू सञ्चालन गर्ने लक्ष्य छ ।

अस्पतालले भने जनशक्ति अभावका कारण सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको जनाएको छ ।

वीरका निर्देशक डा. सन्तोष पौडेलले स्वास्थ्य मन्त्राययले एकै पटक अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २२१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाइएकाले सेवा बन्द गर्न बाध्य भएको बताए ।

बीचमा केही कर्मचारी करारमा भर्ना लिएर सेवा पुनः सुचारु गर्ने प्रयास गरेका थियौं,’ उनले भने, ‘अस्पतालका सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन अझै २ सयभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक छ ।’

उनले स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तरता दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेकाले सेवा बन्द गर्नुपरेको बताए ।

स्वास्थ्य मन्त्रालयले भने अस्पताललाई करारमा कार्यरत कर्मचारी आन्तरिक स्रोतबाट राख्नुपर्ने बताउँदै आएको छ ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले उपकरण खरिद गर्दा वा कतैबाट प्राप्त गर्दा सञ्चालन गर्न सक्ने स्थिति भएरनभएको बारे यकिन गरेर मात्र लिनुपर्ने बताए । ‘

सञ्चालन गर्न सक्ने क्षमताको मूल्यांकन नगरीकन उपकरण खरिद गरेकाले समस्या आएको हो,’ उनले भने, ‘अस्पतालले आफ्नै आम्दानीबाट कर्मचारी करारमा भर्ना गर्नुपर्छ ।’

उनले केही कर्मचारी लोक सेवाबाट पनि माग गरिसकेको बताए ।

कान्तिपुर दैनिकबाट

रास्कोट अस्पतालको खर्च रवि लामिछाने फाउन्डेसनले लुकायो, ४ वर्षदेखि ताकेता गर्दै नगरपालिका

कालीकोट, कालीकोटको रास्कोटमा अस्पताल बनाउन देश–विदेशबाट आएको चन्दा र सरकारी अनुदान गरी ११ करोड लगानी भएको दाबी गरेको रवि लामिछाने फाउन्डेसनले खर्च विवरण लुकाएको छ ।

रास्कोट नगरपालिकाले पटक–पटक ताकेता गरेको छ । तर, अस्पताल हस्तान्तरण गरेको ४ वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन ।

रास्कोटमा अस्पताल बनाउन भन्दै आफ्नै नाममा गैरनाफामूलक कम्पनी खोलेका लामिछानेले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेर रकम जम्मा गरेका थिए ।

अस्पताल निर्माण सम्पन्न गरी २०७७ चैतमा नगरपालिकालाई हस्तान्तरण गरेका उनले ऋण लागेको भन्दै २०७८ मा ‘लबिइङ’ गरेर तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान पनि लिएका थिए ।

यसका लागि संघीय सरकारले अन्तर्राष्ट्रिय मुद्राकोष ९आईएमएफ० बाट आएको विशेष ऋण ९ईसीएफ० बाट ४ करोड ९० लाख दिएको थियो भने कर्णाली सरकारबाट ३२ लाख र रास्कोट नगरपालिकाबाट ३० लाख पनि फाउन्डेसनले प्राप्त गरेको थियो ।

तर, प्रदेश र स्थानीय तहको अनुदानबारे फाउन्डेसनले कहीँकतै उल्लेख नगरेको देखेपछि नगरपालिकाले पत्र काटेको थियो ।

लामिछानेले आफ्नै नाममा खोलेको फाउन्डेसनबाट पत्नी निकिताको खातामा रकम सारेको पनि भेटिएको छ ।

प्राइम बैंकमा रहेको फाउन्डेसनको खाताबाट कम्तीमा दुई पटक गरी ४० लाख सिद्धार्थ बैंकमा रहेको निकिताको व्यक्तिगत खातामा सारिएको पुष्टि हुने बैंक स्टेटमेन्ट कान्तिपुरले बुधबार प्रकाशित गरिसकेको छ ।

नगर प्रमुख धर्मराज शाहीले अस्पताल निर्माणमा अनियमितता भएको प्रश्न उठेपछि खर्च विवरण माग गर्दै पत्राचार गरिएको तर त्यसको उत्तर नपाएको बताए ।

अस्पताल निर्माणमा नगरपालिकाको ३० लाख बराबरको योगदान छ, कर्णाली सरकारले समेत ३२ लाख दिएको छ । तर यी दुवै रकमबारे फाउन्डेसनले कहीँकतै उल्लेख गरेको छैन,’ उनले भने ।

अस्पताल हस्तान्तरण गर्ने क्रममा नै आम्दानी र खर्चबारे सार्वजनिक सुनुवाइ गर्न माग गर्दा लामिछानेले अस्वीकार गरेको तत्कालीन मेयर काशीचन्द्र बरालको भनाइ छ ।

रवि लामिछानेले आफ्नो घर–खेत बेचेर अस्पताल बनाइदिएजस्तो प्रचार गरेको तर सर्वसाधारण र सरकारले दिएको रकमको विवरण लुकाएको भन्दै उनले आपत्ति जनाए ।

‘यसमा स्थानीय समुदाय, सरकार, देशरविदेशका दाताको योगदान छ । अस्पताल नगरपालिकालाई हस्तान्तरण गर्दा सार्वजनिक स्नुवाइसमेत गरिएन,’ उनले भने, ‘रास्कोट अस्पतालका नाममा भएको आम्दानी र खर्चको विवरण पारदर्शी हुनुपर्छ ।’

त्यसपछि स्थानीय प्रतिनिधिहरूले लामिछानेसँग यस विषयमा पटक–पटक चासो राखेका थिए ।

तर, सुनुवाइ नभएपछि रास्कोट नगरपालिकाले २०८० पुस १८ मा निर्णय गरेर आम्दानी र खर्चको विवरण उपलब्ध गराउन फाउन्डेसनलाई पत्र लेखेको थियो ।

‘रास्कोट कम्युनिटी हस्पिटलका नाममा रवि लामिछाने फाउन्डेसनले विभिन्न निकायबाट सहयोग उठाई सञ्चालन गरेको रास्कोट कम्युनिटी हस्पिटलको स्थापनाकालदेखि रास्कोट नगरपालिकालाई हस्तान्तण हुँदासम्मको आय–व्यय विवरण रास्कोट अस्पतालमा समेत नभएकाले, सोधपुछ गर्दा फाउन्डेसनसँग भएको जानकारी हुन आएकाले सो अवधिभित्र भएको आम्दानी र खर्चको वास्तविक विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ । कार्यपालिकाको बैठकबाटै निर्णय गरेर अस्पतालको सम्पूर्ण हिसाब माग गर्दासमेत उत्तर नआउनु विडम्बनापूर्ण रहेको नगर उपप्रमुख मनिराज बरालले बताए ।

अस्पताल व्यवस्थापक कौशल न्यौपानेले रास्कोट अस्पताल निर्माण र दाताले गरेको सहयोगबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सबै रकम फाउन्डेसनकै खातामा जम्मा भएको हो । कहाँ केमा कति खर्च भयो, उतै सोध्नुहोला ।’

स्थानीय अगुवा तुलाराज सिम्खडाको अध्यक्षतामा रहेको नाफारहित संस्थाका रूपमा रास्कोट कम्युनिटी हस्पिटल दर्ता गरिएको थियो । सिम्खडाले पनि अस्पताल निर्माणमा भएको खर्चबारे प्रस्ट बताउन सकेनन् । ‘

रवि लामिछाने फाउन्डेसनमै सोध्नू । सबै हिसाब किताब रवि लामिछानेलाई नै थाहा होला,’ उनले भने ।

रास्कोट–४ का वडाध्यक्ष दिनेश सन्ज्यालका अनुसार गौतुकोटको पाखो बाहुन स्युनाका बासिन्दाले भोगचलन गर्दै आएको सामुदायिक वनको करिब १० हजार वर्गमिटर क्षेत्रफल अस्पतालका नाममा उपलब्ध गराइएको थियो ।

त्यस्तै स्थानीय ५ जनाले ५ हजार ५ सय वर्गमिटर जग्गा अस्पताललाई दिएका थिए । ‘जग्गा धेरै भएर होइन, गाउँमै रोगी–बिरामीले उपचार पाउलान् भनेर दिएका हौं ।

धेरैतिरबाट पैसा उठाएर सही रूपमा लगानी नगरेको सुन्दा दुःख लागेको छ,’ स्थानीय चन्द्रखर सन्ज्यालले भने ।

अस्पताल निर्माणमा रकमको सही उपयोग नभएको रास्कोट–३ का सामाजिक अभियन्ता अशोकनाथ योगीले बताए ।

‘मेरै घरछेउमा अस्पताल बनेको छ,’ उनले भने, ‘स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका व्यक्तिबाट रकम लिइएको छ, तर के काममा कति रकम खर्च भयो भन्ने कतै उल्लेख छैन ।’

कुन स्रोतबाट कसले, कसरी, कति सहयोग गरे भनेर अस्पतालमा हिसाबकिताबको बोर्ड राखिनुपर्ने उनले बताए । ‘अस्पतालका लागि आएको रकम दुरुपयोग भएको छैन भन्ने कुनै आधार छैन,’ उनले भने ।

लामिछानेले आफ्नै नाममा स्थापना गरेको फाउन्डेसन गैरनाफामूलक संस्थाका रूपमा २०७५ पुस १६ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको थियो ।

त्यसको ११ दिनपछि अर्थात् २०७५ पुस २७ मा उनले कालीकोटको रास्कोटमा अस्पताल बनाउने घोषणा गर्दै देशरविदेशबाट सहयोगको अपिल गरेका थिए ।

सामाजिक परियोजनाका लागि दाताबाट आर्थिक सहयोग संकलन गर्दा फाउन्डेसनले समाज कल्याण परिषद्बाट प्रमाणपत्र पाएकै थिएन ।

२०७५ चैत ७ मा मात्रै फाउन्डेसनले समाज कल्याणबाट प्रमाणपत्र पाएको हो ।

त्यतिबेला लामिछानेले अस्पताल निर्माणको अनुमानित लागत ८ करोड ७१ लाख ५८ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा रहेको घोषणा गरेका थिए । करिब त्यति नै रकम उनले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेका थिए ।

देश–विदेशका संघसंस्था र नागरिकस्तरबाट मात्रै नभएर सरकारबाट समेत ठूलो रकम खन्याएर बनाइएको रास्कोट अस्पतालको भविष्यबारे स्थानीय नै शंका गर्छन् ।

नगरको ३ किमि क्षेत्रफलभित्रै स्युना स्वास्थ्य चौकी छ । आरसीपी बजारमै १५ शय्याको नगर अस्पताल बनिरहेको छ ।

त्यहाँ १८ करोड रुपैयाँ लागतमा साढे तीनतले पक्की भवन बन्दै गरेको हो । रास्कोट अस्पतालमा प्रयोग गरिएको प्रिफ्याब, यूपीभीसी र जस्तापाताको छानाको टिकाउ अवधि १० वर्ष मात्र भएकाले त्यहाँ नगर अस्पताल सञ्चालन नगरेर नयाँ निर्माण गर्नुपरेको नगर उपप्रमुख मनिराज बरालले बताए ।

उनका अनुसार फाउन्डेसनले बनाएको अस्पतालको संरचनासमेत त्यहीं सार्ने तयारी छ ।

कान्तिपुर दैनिकबाट

नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षकको पदस्थापन र काज सरुवा

काठमाण्डू, नेपाल प्रहरीमा बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले जिम्मेवारी पाएका छन्।

सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरूलाई जिम्मेवारी दिइएको हो।

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरूको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

रावललाई गण्डकी प्रदेश र चन्दलाई सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउत पदस्थापन भएका छन्।

महत्त्वपूर्ण मानिने विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई लगिएको छ।

सुशीलसिंह राठौर प्रबन्ध निर्देशनालयमा र उमाप्रसाद चतुर्वेदी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिमालयकुमार श्रेष्ठ र कार्य विभागमा डम्बरबहादुर विक पदस्थापन भएका छन्।

उनीहरूको पदस्थापनसँगै १० जना डीआईजीको पनि सरुवा गरिएको छ। एकसाथ चारवटा प्रदेश प्रहरी प्रमुख हेरफेर गरिएको छ।

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो

काठमाण्डू, विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १५ अर्ब २७ करोड रहेकामा गत कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वृद्धि भई रु १६ अर्ब ७० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले वृद्धि भई रु २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा २८ दशमलव चार प्रतिशतले वद्धि भई रु दुई खर्ब ४७ अर्ब २० करोड कायम भएको छ ।

गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

एनपीएलमा लुम्बिनीको अन्तिम खेल आज कर्णालीसँग, दिउँसो विराटनगर र चितवन भिड्ने

काठमाण्डू, काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) पनि दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग खेल्दै छ।

लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहन्छ।

५ खेलबाट ६ अंक बनाएर चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहन्छ।

जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ।

जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले बाँकी तीन स्थानका लागि ५ टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ।

५ खेल हारिसकेको विराटनगर पनि प्लेअफमा पुग्न अझै चामत्कारिक नतिजाको पर्खाइमा छ। यसका लागि उसलाई बाँकी चारै टोली हारे पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यक छ।

दिउँसो १ बजे हुने आजको दोस्रो खेलमा चितवन र विराटनगर भिड्दै छन्।

यो खेल हारे विराटनगर औपचारिक रूपमा लिगबाट बाहिरिनेछ। विराटनगरले अबका दुवै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ।

तर चितवनसँग अन्तिम दुई खेलअघि नै ६ अंक छ। रनरेटमा समेत अगाडि रहँदै ऊ तालिकाको शीर्ष ३ मा छ।

पहिलो खेलमा कर्णाली र दोस्रो खेलमा चितवन विजयी भएमा अन्तिम चारमा पुग्ने भिडन्त थप पछि धकेलिनेछ।

तर अघिल्लो खेलमा लुम्बिनी र यो खेलमा विराटनगर विजयी भए सुदूरपश्चिमलाई सहज हुनेछ।

अब लुम्बिनी र जनकपुरबाहेक सबै टोलीले छैटौँ खेल खेल्दै छन्। अहिलेसम्म पनि ८ अंकबाट शीर्ष चार तय हुने कि ६ अंकबाटै भन्ने निश्चित भइसकेको छैन।

दाबेदार टोलीले आआफ्ना खेल जित्दै गए नेट रनरेटका आधारमा मात्रै शीर्ष चारका टोली छानिने अवस्था बन्दै गएको छ।

यस्तो छ अंक तालिका

जारी पहिलो संस्करणको एनपीएलमा पाँच खेलमा जित र एक खेलमा हार भोग्दै १० अंक बनाएको जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

तर, जनकपुर शीर्ष २ मै रहेर क्वालिफायर्स खेल्ने कुरा भने निश्चित भइसकेको छैन। यसको छिनोफानो अन्तिम चरणका खेलबाट मात्रै हुन सक्ने अवस्था छ।

जनकपुरभन्दा एक खेल कम खेलेको सुदूरपश्चिम रोयल्स चार खेलमा जित र एक खेलमा हार भोग्दै ८ अंकमा दोस्रो स्थानमा छ।

समान खेल र उस्तै नतिजा निकालेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ। तर, नेट रनरेटमा अघि रहँदै चितवन अंक तालिकाको तेस्रो र कर्णाली चौथो स्थानमा छन्।

पाचौँ र छैटौँ स्थानमा रहेका काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सको समान ४ अंक छ।

कर्णाली र चितवनले अबका दुई खेलमा हार भोगे र काठमान्डु र पोखराले जित निकाल्दै नेट रनरेटमा अघि रहे यी दुई टोलीको प्लेअफ पुग्ने सम्भावना पनि उत्तिकै छ।

यी दुई टोलीले २ खेलमा जित हासिल गरेका छन् भने ३ खेल हारेका छन्। प्लेअफ दौडबाट बाहिरिएको लुम्बिनी ५ खेलमा हार र १ खेलमा जित गर्दै २ अंकसहित सातौँ स्थानमा छ।

लुम्बिनीभन्दा एक खेल कम खेलेको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ।

मंसिर २८ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष : काममा अल्छी नगर्नुस् । भाग्योदयका साथै पुरस्कार–धन लाभ हुने सम्भावना छ ।

वृष : पूर्वाह्न नोक्सानी, चोटपटकको भय छ तर दिउँसोदेखि उत्तम भोजन, कार्य सफल होला ।

मिथुन : पूर्वाह्न शुभ भएकाले लाभ होला । दिउँसोबाट विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।

कर्कट : दिनभरि समय शुभ छ । आर्थिक लाभ, सुख–सन्तोष, कार्य सिद्धि, प्रसन्नता होला ।

सिंह : दिन बलवान् छ । सानै प्रयासमा लाभ, राजनीतिक सफलता, प्रतिष्ठामा वृद्धि होला ।

कन्या : दिउँसोसम्म स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसपछि लाभ, प्रतिष्ठा वृद्धि हुन सक्छ ।

तुला : बिहान शुभ भएकाले लाभ, सम्मान होला । दिउँसोबाट भने काममा बाधा, धन हानि हुन सक्छ ।

वृश्चिक : समय शुभ छ । विजय, खेलकुद–परीक्षामा सफलता, प्रेम–सम्बन्धमा प्रगाढता होला ।

धनु : सानै प्रयासमा कार्य सफलता, सुख–सन्तुष्टि, आर्थिक लाभ, विजयको सम्भावना छ ।

मकर : शुरुमा पेटमा समस्या आउन सक्छ तर दिउँसोबाट भने कार्य सिद्धि, सन्तान–सुख होला ।

कुम्भ : दिउँसोसम्म शुभ छ, लाभ होला । त्यसपछि पेटको स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : दिनभरि भाग्योदय हुनेछ । धन लाभ, उन्नति, सुखानुभूति, मान–सम्मान, सुख–सन्तोष होला ।

नेपाल पत्रकार महासंघको निर्वाचन आज

काठमाण्डू, नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन आज हुँदै छ। महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।

निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा।.चिरञ्जीवी खनालले जानकारी दिए ।

महासंघको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ ।

समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।

त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच गठबन्धन बनाएर प्यानल घोषणा गरेको हो।

उक्त समूहको नेतृत्व प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष, महासचिव, उपाध्यक्ष, सचिवमा प्रेस युनियनका तर्फबाट दीपक आचार्य, रामप्रसाद दाहाल, उमिद बागचन्द, सोनी शर्मा, रमेश खतिवडा, प्रकाश धौलाकोटीसहितको टिम चुनावी मैदानमा छ।

महिला उपाध्यक्ष र कोषाध्यक्षमा चौतारीका नितु पण्डित र रामकृष्ण ज्ञवाली छन् ।

अर्को समूहमा प्रेस सेन्टरले निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई अघि सारेको छ।

वरिष्ठ उपाध्यक्षमा रोशन पुरी र महासचिवमा लेखनाथ न्यौपानसहितको समूह चुनावी मैदानमा छन्।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ।

केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलावी रङको मतपत्र रहेको छ।

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन्। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।

मतदान स्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्विरसहितको परिचय पत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।

देशभरका पत्रकार केही दिनयता चुनावी अभियानमा व्यस्त छन्।

त्रिविलाई मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको बिहीबार कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाए ।

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय सचिवालयले जनाएको छ ।

“सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्‍यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्नुपर्छ ।

त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो ।”, प्रधानमन्त्री ओलीले भने, “त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ ।

त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन् । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन् । तर, मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।”

प्रधानमन्त्री ओलीको प्रश्न थियो, “उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ? ”

उनले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई आग्रह गरे ।

सिनेटका सदस्यहरूले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यविना प्रस्तावहरू प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूमा भएका समस्या र मागहरू छन्, ती मागहरूको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे ।

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेको छ ।

जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित

काठमाण्डू, जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

नेपाल प्रिमियर लिगको जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।

जनकपुरले आफ्नो ६ खेल मध्ये ५ खेलमा जीत निकालेको थियो । बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित हुनु पुगेको थियो ।

उदघाटन खेलमा जनकपुरले विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएर अपराजित यात्रा निकालेको थियो ।

अपराजित यात्रामा निस्केको जनकपुर यसअघिको खेलमा भने सुदुरपश्चिमसँग पराजित भएको हो, जुन एक पराजित खेल मात्रै हो ।

अबको अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

अदालतले छाड्ने बितिक्कै दुर्गा प्रसाई फेरि पक्राउ

काठमाण्डू, बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाइ अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार अब आपराधिक लाभसबन्धी मुद्दामा थप अनुसन्धान हुनेछ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।

जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाइ पक्राउ परेका हुन् ।

दुर्गा प्रसाईंलालाई धरौंटीमा रिहा गर्न अदालतको आदेश

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।

एडीबीले यान्त्रिक सिँचाइ र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि नेपाललाई २१ अर्ब २३ करोड सहयोग गर्ने

काठमाण्डू, नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि र२१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर०)ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ ।

त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो।

सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ।

जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ। यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ।

परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो।

त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ।

यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए।

एडीबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्दै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडीबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए।

यी सम्झौता नेपाललाई दिगो विकास हासिल गर्न र जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप

काठमाण्डू, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ ।

अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।

यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तात्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।