अध्यक्ष दाहालको कार्यब्यस्तताले माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाण्डू, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगन भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको कार्यब्यस्तताका कारण आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगन भएको हो । अब बैठक भोली बस्नेछ ।

गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा ब्यस्त भए पछि आजको बैठक स्थगित गरिएको जनाइएको छ ।

गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो ।

सो बैठकले पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने आंकलन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वापा सभापति लामिछानेलाई अन्तिम पटक म्याद थपको तयारी, ९ दिनको समय माग्दै प्रहरी अदालतमा

पोखरा, सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।

प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो ।

रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ ।

रविसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइएको छ ।

पत्रकार महासंघको चुनाव शुक्रबार, केन्द्रीय समितिको अध्यक्षका लागि ४ जना उम्मेदवार

काठमाण्डू, मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।

निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरन्जीवी खनालले जानकारी दिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ ।

सपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ ।

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् । मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् ।

मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।

अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा

काठमाडौँ/कालिकोट — सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ ।

कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए ।

दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान लिएका थिए । तर, फाउन्डेसनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ ।

रवि लामिछाने फाउन्डेसनका नाममा दाता र राज्यमाथि भएको धोका र ठगीका विस्तृत विवरण खुलाउने दस्ताबेज कान्तिपुरले प्राप्त गरेको छ ।

फाउन्डेसनले समाजकल्याण परिषद्मा बुझाएको लेखापरीक्षण प्रतिवेदन, फाउन्डेसनलाई ऋण लागेको भन्दै लामिछानेले सरकारलाई पटकपटक लेखेका पत्र, सरकारबाट निकासा भएको रकमबारे महालेखा नियन्त्रक कार्यालयमा अभिलिखित भुक्तानी विवरण र प्राइम बैंकमा रहेको फाउन्डेसनको खाताबाट सिद्धार्थ बैंकमा रहेको निकिता पौडेलको व्यक्तिगत खातामा सारिएको रकमको बैंक स्टेटमेन्टसहितका दस्ताबेजबाट पुष्टि हुन्छ– लामिछानेले परोपकारका नाममा जम्मा गरेको चन्दा मात्र होइन, राष्ट्रिय ढुकुटीको बजेट पनि अपचलन गरेका छन् ।

कर्णालीका विपन्न जनताको उपचारका नाममा हारगुहार गरेर जम्मा गरिएको रकम लामिछानेले रेस्टुरेन्टका बिल तिर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका प्रयोजनमा आफ्नै तजबिजमा खर्च गरेको भेटिएको छ ।

फाउन्डेसनको प्राइम बैंकमा रहेको खाताबाट कम्तीमा दुई पटक गरी ४० लाख रुपैयाँ लामिछानेकी पत्नी निकिताको नाममा सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा सारिएको बैंक स्टेटमेन्टबाट पुष्टि हुन्छ ।

फाउन्डेसनको खाताबाट १९ नोभेम्बर २०२१ (२०७८ मंसिर ३) मा २० लाख रुपैयाँ र १३ जुन २०२२ (२०७९ जेठ ३०) मा २० लाख रुपैयाँ निकिताको व्यक्तिगत बैंक खातामा सारिएको देखिन्छ ।

पछिल्लो कारोबारको एकसातापछि २०७९ असार ७ मा लामिछानेले सुशासनको अभियानसहित रास्वपाको घोषणा गरेका थिए ।

राजनीतिमा सक्रिय भएसँगै लामिछानेले फाउन्डेसनको अध्यक्षमा श्रीमती निकितालाई नियुक्त गरेका छन् ।

फाउन्डेसनमा सचिव रवि सापकोटा, कोषाध्यक्ष अम्बिका केसी र सदस्यमा गीता रेग्मी, अनिशा पौडेल र प्रजिता रेग्मी घिमिरे छन् ।

‘सरकार होस् या व्यक्ति, राष्ट्रिय संस्था होस् वा अन्तर्राष्ट्रिय, जोकोहीबाट फाउन्डेसनमा प्राप्त रकम फाउन्डेसनकै संस्थापकहरूले समेत आफ्नो खातामा सार्न र प्रयोग गर्न पाउँदैनन्,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो सामाजिक रूपमा बेथिति र आर्थिक रूपमा ठगी र भ्रष्टाचार हो, यसमा विस्तृत अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ ।’

आफ्नै नामको फाउन्डेसन स्थापना गरेका लामिछानेले गैरनाफामूलक संस्थाका रूपमा २०७५ पुस १६ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेका थिए ।

त्यसको ११ दिनपछि अर्थात् २०७५ पुस २७ मा उनले कालिकोटको रास्कोटमा अस्पताल बनाउने घोषणा गर्दै देशविदेशबाट सहयोगको अपिल गरेका थिए ।

तर सामाजिक परियोजनाका लागि दाताबाट आर्थिक सहयोग संकलन गर्दा फाउन्डेसनले समाजकल्याण परिषद्बाट प्रमाणपत्र पाएकै थिएन । २०७५ चैत ७ मा मात्रै फाउन्डेसनले समाजकल्याणबाट प्रमाणपत्र पाएको हो ।

इस्टिमेटअनुसार अस्पताल बनाउन कुल आठ करोड ७१ लाख ५८ हजार एक सय ५५ रुपैयाँ ३२ पैसा लाग्ने घोषणा उनले गरेका थिए ।

करिब त्यति नै रकम उनले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन पनि गरे ।

अस्पताल निर्माण सम्पन्न भएपछि २०७७ चैत ३१ मा लामिछानेले स्थानीय रास्कोट नगरपालिकालाई हस्तान्तरण पनि गरेका थिए ।

तर, अस्पताल बनाउँदा करिब १२ करोड लागेको र आफ्नो फाउन्डेसन ऋणमा परेको दाबी पनि उनले भिडियोमार्फत गरेका थिए ।

‘दुई वर्षदेखिको सञ्चालन खर्च हिसाब गर्दा १२ करोड पुग्नेवाला छ । भनेजस्तो अस्पताल बनाउन अझै रकमको आवश्यकता छ ।

तर, हामी तपाईंसँग माग्दैनौं, दिएको चाहिँ थाप्छौं, हिजो पनि हामीले मागेका होइनौं, भोलि पनि माग्दैनौं,’ उनले भिडियोमा भनेका थिए ।

यसरी समाजसेवाका लागि नमाग्ने भन्दै भिडियो सन्देश जारी गरेका लामिछानेले अस्पताल बनाउँदा ऋण लागेको भन्दै सरकारसँग भने अनुदान माग्दै ‘लविङ’समेत गरे ।

फाउन्डेसनका तर्फबाट अध्यक्ष लामिछानेले हस्ताक्षर गरी २०७८ कात्तिक ४ मा अनुदान माग्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका थिए ।

पत्रमा भनिएको थियो, ‘करिब ११ करोड लगानी भएको अस्पताल निर्माण सम्पन्न भइसके तापनि हाल फाउन्डेसनले निर्माण तथा सुपरभिजन कम्पनीलगायत विभिन्न व्यक्ति तथा संस्थालाई ४ करोड ९० लाख रकम भुक्तानी गर्न बाँकी रहेकाले सो रकम सरकारद्वारा फाउन्डेसनलाई अनुदान उपलब्ध गराइदिन वा सोझै निर्माण कम्पनीलाई भुक्तानी गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

२१ दिनपछि लामिछानेले अर्को पत्र लेखे । ‘अर्थ मन्त्रालयलाई अनुदान सहयोगका लागि सिफारिस गरिदिनुहुन अनुरोध गर्दछु,’ भन्दै लामिछानेले स्वास्थ्य मन्त्रालयलाई दोस्रो पत्र लेखका थिए ।

पत्र प्राप्त भएको एक सातामा स्वास्थ्यले रकम उपलब्ध गराइदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

तर, अर्थले ‘यस प्रकृृतिको कार्यक्रम र बजेट विनियोजन नभएको’ जानकारी गराएको थियो ।

बरु, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटबाट नै व्यवस्थापन गर्ने गरी कार्यक्रम संशोधन तथा रकमान्तरको प्रस्ताव पठाउन,’ अर्थ मन्त्रालयले स्वास्थ्यलाई जवाफ पठाएको थियो ।

राजनीतिक पहुँच प्रयोग गरेर लामिछानेले ‘लबिङ’ गरेपछि सरकारले २०७८ चैत २९ मा चार करोड ९० लाख निकासा दिएको थियो ।

तर, फाउन्डेसनलाई सरकारले दिएको अनुदान नियमित बजेटमा थिएन । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट आएको विशेष ऋण ९एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ० को बजेट रकमान्तर गरेर फाउन्डेसनलाई अनुदान उपलब्ध गराइएको थियो ।

सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमएफले ईसीएफ उपलब्ध गराउँछ ।

कोभिडपछि संकटमा पर्न लागेको नेपालको अर्थतन्त्रलाई बचाउन भन्दै आईएमएफले कठोर सर्त राखेर २०७८ पुस ३० मा ऋण स्वीकृत गरेको थियो ।

‘कोषबाट ऋणको पहिलो किस्ता पाउनेबित्तिकै रकमान्तर गरी रवि लामिछाने फाउन्डेसनलाई निकासा गरिएको थियो,’ अर्थका अधिकारी भन्छन्, ‘उक्त ऋण नेपाल सरकारले आईएमएफलाई फिर्ता गर्नुपर्छ ।

यस्तो रकम फाउन्डेसनलाई दिने र त्यो पनि हिनामिना भएको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्छ । हिनामिना भए भ्रष्टाचारको विषय हो ।’

संघीय सरकारको खाताबाट रास्कोट नगरपालिकामा निकासा भएको उक्त रकम नगरपालिकाबाट जस्ताको त्यस्तै रवि लामिछाने फाउन्डेसनले पाएको थियो । ‘उक्त रकम ऋण तिर्न भनेर लगिएको हो ।

तर, त्यसका बारेमा हामीलाई विस्तृत जानकारी छैन, संघीय सरकारबाट फाउन्डेसनलाई नै दिनु भनेर आएको रकम नगरपालिकाले दिएको हो,’ रास्कोटका तत्कालीन अधिकारीले कान्तिपुरसँग भने ।

उता, लामिछाने फाउन्डेसनले कर्णाली प्रदेश सरकारबाट ३२ लाख र रास्कोट नगरपालिकाबाट पनि ३० लाख रुपैयाँ लगेको रास्कोटका अधिकारीको भनाइ छ ।

यसरी सरकार आफैंले बनाउनुपर्ने अथवा बनाउन सक्ने अस्पताल निर्माण गरिदिने भन्दै अघि सरेका लामिछानेले दाताबाट उठाएको रकमबाहेक राज्यबाट पनि पाँच करोड ५२ लाख रुपैयाँ लिएको पुष्टि भएको छ ।

यसरी बेथितिको जगमा लामिछानेले बनाएको रास्कोट अस्पताल आफैं पनि अहिले संकटमा छ ।

स्पतालको ३ किलोमिटर क्षेत्रभित्र स्युना स्वास्थ्य चौकी छ भने सरकारको योजनाअनुसार १५ शय्याको नगर अस्पताल पनि बनिरहेको छ ।

जहाँ १८ करोड लागतमा साढे ३ तले पक्की भवन निर्माण हुँदै छ ।

उता, फाउन्डेसनले बनाएको अस्पतालमा करिब ११ करोड लागत कसरी लाग्यो भन्ने पनि अनुसन्धानको विषय छ ।

किनकि प्रिफ्याभ, यूपीभीसी र जस्तापाता प्रयोग भएको एकतले संरचनामा ११ कोठा छन् ।

रास्कोट नगर उपप्रमुख मनिराज बराल भन्छन्, ‘रवि लामिछाने फाउन्डेसनबाट निर्माण गरिएको रास्कोट अस्पतालमा जस्तापाताको छानो छ, यसको अवधि १० वर्ष मात्र भएकाले पक्की अस्पताल बनाउनुपरेको हो ।’

कान्तिपुर दैनिकबट

आज सुनचाँदीको मूल्य स्थिर

काठमाण्डू, आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार पनि १ लाख ५२ हजार २०० ले नै कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रधानमन्त्रीको कागजात मैले बनाएको होइन, कम्बोडियामा बस्ने नेपालीले पठाएका हुन् : मेडिकल ब्यावसायी प्रसाईं

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’ 

ओलीले कम्बोडिया स्थित स्मार्ट आजियटा कम्पनीमा लगानी गरेको भन्ने कागजात र फोटोहरू कम्बोडियामा बस्ने एकजना नेपालीले आफूलाई पठाएको जिकिर गरेका छन् । कम्बोडियामा बस्ने नेपालीले पठाएको कागजात आफूले पत्रकार सम्मेलन गरेर सार्वजनिक मात्र गरेको प्रसाईँले बयानमा खुलाएका हुन् । 

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेखित बयानमा प्रसाईँले भनेका छन्, ‘जनतालाई त्यसबारे प्रस्ट पार्न भनेर मिडियाका साथीहरूलाई बोलाएर प्रेशमिट गर्दा मैले पाएको फोटो र भिडियो देखाएको हुँ ।’

प्रसाईँको बयान :
नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक सङ्कट, युवाहरू विदेश पलायन, सामान्य नागरिकको महँगीको मारमा झेल्नु परेको पीडा मर्कालाई बुझी नेपालीहरुको अभिभावकको रूपमा मैले विगत ३ वर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु । 

सो कार्यहरू गर्नमा अवरोध सृजना गर्ने नेपालको वर्तमान सङ्घीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलासरहको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा  प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको त्यसको नेपाली अन्दाजी रू.साढे बत्तिस अर्ब लगानी गरेको भनेको कारण  सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०५**** मा मलाई फोन सम्पर्क गरी गरी खड्ग प्रसाद शर्मा ओलीको smart axiata company limited   कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए ।

त्यसो भए तपाईंसँग के प्रमाण छ भनी निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदाखेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मलै प्रयोग गर्न नेपाली नम्बर ९८०१०५**** को WhatsApp मा पठाई देऊ भनेकोमा निजले पठाई दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो व्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामु प्रस्ट पारौँ भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गर्दाको क्षणमा मैले “यहाँका नेताहरूको पैसा कम्बोडिया, मङ्गोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुबई, सिंगापुरमा छ ।

मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नुभयो मलाई यिनीहरूले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाई बिक्दैन, संसारमा दुर्गा प्रसाईँ मर्छ बिक्दैन संसारमा दुर्गा प्रसाईँ झुक्छ तर बिक्दैन किनभने नेपालीहरू रोएको नेपाली चेलीबेटीहरू रोको देखेको छु ।’ 

भन्ने लगायतको शब्दहरूमा बोल्दै सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले Smart Axiata Company Limited कम्बोडियामा लगानी गर्नुभएको रकम सहितको कागजातहरू देखाउँदै सोसँग सम्बन्धित विषयमा संवाद गदै गर्दाको भिडियोलाई मैले प्रयोग गदै आइरहेको सामाजिक सञ्जाल फेसबुकको वालबाट ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ भन्ने लगायतको  स्ट्याटसहरूको साथमा भिडियो समेत पोस्ट गरेको हुँ ।

एनपीएलमा सुपर ओभरमा पुगेको खेलमा विराटनगरलाई हराउँदै पोखरा विजयी

काठमाण्डू, नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जीत हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो।

सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो।

जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन बनायो।

विराटनगरका लागि मार्टिन गप्टिलले दुई निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त एक रन प्राप्त भयो।

विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

यसअगाडि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

व्यवसायीले गरे सिमेन्ट र छटको मनलाग्दी मूल्यवृद्धि, उपभोक्ता मारमा

काठमाण्डू, केही हप्ता अगाडिदेखि सिमेन्ट छटको मूल्यवृद्धिमा सरकार मूकदर्शक भएर बसेको पाइएको छ।

सिमेन्ट प्रयोग हुने सिजन आएसँगै व्यवसायीले सिमेन्टमा अचाक्ली मूल्यवृद्धि गरे पनि सरकार मूकदर्शक भएर बसेको हो।

हप्ता दिन अगाडिसम्म ५ सय ८५ प्रति बोरामा पाइने ओपीसी सिमेन्टको मूल्य ८ सय ४० र ७२ रुपियाँ प्रति केजी छड ९४ रुपियाँ भएको निर्माण व्यवसायीले बताएका छन्।

उपभोक्ता संरक्षण ऐन र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०४३ अनुसार कारबाही गर्ने सरकारसँग अधिकार भएपनि व्यवसायीसँगको मिलेमतोमा मूल्यवृद्धि भएको पाइएको हो।

उपभोक्ता संरक्षण ऐनमा आफूखुसी मूल्य वृद्धि गर्न नपाउने व्यवस्था छ।

त्यसै गरी उपभोक्तवादी माधव तिमल्सिनाले सरकार भएको अनुभूति जनताले गर्ने हो भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई कारबाही गर्नुपर्ने बताए ।

यसरी आफूखुसी व्यवसायी हुँदा उपभोक्ता मर्कामा परेको बताए । सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीले भाउ बढाएको पाइएको छ।

धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई ‘कार्टेलिङ’ भनिन्छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकारका नियामक निकाय मौन बस्नु सरकारकै मिलेमतो रहेको उपभोक्तावादीले बताएका छन् ।

खास गरी, क्लिंकर उत्पादक ठूला उद्योगको पहलमा सबै उद्योगले मिलेर भाउ बढाएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले व्यवसायीले मूल्य वृद्धि गरेको हुनाले गत आइतबार जस्टिफिकेससहित पेस हुन अनुरोध गरेको बताए ।

उनले मूल्यवृद्धि गर्नुको कारणसहित पेस नगरे उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही गरिने बताए ।

विभागले अब आउँदो आइतबारसम्ममा मूल्यवृद्धि गर्नुको कारण पेस नगरे कारबाहीको प्रक्रियामा जाने बताएको छ ।

मूल्य वृद्धि भएर उपभोक्ताकहाँ सिमेन्ट छट लामो समयसम्म सरकारको निकायले काम गर्न नसक्नु आफैंमा शंका रहेको उपभोक्तावादीले बताएका छन् ।

एक वर्षदेखि सिमेन्ट उद्योगीले भाउ बढाउन प्रयास गरिरहेका थिए । तर, चिनियाँ लगानीका ठूला उद्योग होङ्सी र ह्वासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको प्रयास सफल हुन नसकेको उद्योगीले बताउँदै आएका छन्।

तर, यसपालि होङ्सी र ह्वासिन सिमेन्ट पनि भाउ बढाउन तयार भएपछि मिलेमतोमा सिन्डिकेट गरिएको पाइएको छ।

तर, भाउ बढेपछि ठूलो मात्रामा ऋण भएका उद्योगी ‘ब्रेक इभन’ (खर्च–आम्दानी बराबर) को अवस्थामा पुग्ने ती उद्योगीको दावी छ ।

अहिले नेपाली उद्योगको कुल सिमेन्ट उत्पादन क्षमता प्रतिवर्ष ५० करोड बोरा रहेको संघले जनाएको छ । तर, उद्योगीहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको पाइएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीलाई समस्या हुनेबताए ।

उनले काठमाडौंमा ७ सय रुपियाँमा ओपीसी सिमेन्ट उपलब्ध गराउने भनेर जनाएको प्रतिबद्धता पालना नगरेका जनाए ।

उनले भनेजस्तो ७ सय भएपनि पहिलेको मूल्यमा भने उपभोक्ताले सिमेन्ट नपाउने भएका छन्।

यस्तै छडको मूल्य वृद्धि भएको विषयमा निर्माण व्यवसायीसँग छलफल नभएको अध्यक्ष सिंहले जानकारी दिए ।

धेरै बढाएर थौरै घटाउने सहमति

बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् ।

उनले भनेको जस्तो व्यवसायीले बढाएको जति घटाएको पाइएको छैन्। हप्ता दिनअगाडि ५ सय ८५ बाट ८ सय ४० पुगेको ओपीसी सिमेन्टको मूल्य ७ सयमा काठमाडौंमा उपलब्ध गर्ने सहमतिमा उल्लेख गरिनुप्रति नै शंका उत्पन्न भएको छ।

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७ सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताएका छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा अब ६ सय रुपियाँमा पीसीसी सिमेन्ट उपलब्ध हुनेछ ।

आफूहरूले सिमेन्ट उद्योगीहरू धराशयी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ।

यस्तो छ तपाईंको मंसीर २७ गते बिहीबारको राशिफल

मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ ।

वृष : सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न ।

मिथुन : लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजनको प्राप्ति हुने देखिन्छ ।

कर्कट : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

सिंह : समय उत्तम भएकाले राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा हुने देखिन्छ ।

कन्या : रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्ने हुँदा सजग रहनुस् ।

तुला : समय बलवान् छ । धन लाभ, सम्मान, सफलता, समस्या समाधान हुने देखिन्छ ।

वृश्चिक : समय शुभ भएकाले कर्म गर्नुस्, द्रव्य लाभ, विजय, खेलकुद–परीक्षामा सफलता होला ।

धनु : समय उत्तम छ । कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सन्तोष हुने देखिन्छ ।

मकर : खानपानमा सजग हुनुस्, झाडापखाला, ग्यास्ट्रिकले पेटमा समस्या आउन सक्छ ।

कुम्भ : दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

मीन : सभय शुभ छ । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलोसँग दिन बित्ला ।

एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम

काठमाण्डू, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।

४ खेल खेलिसकेका पोखरा र विराटनगरले समान एकरएक खेलमा जित निकालेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जीत आवश्यक छ।

यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ। नेटरनरेटका आधारमा विराटनगर अन्तिममा रहँदा पोखरा सातौँ स्थानमा छ।

यता काठमाडौंले हालसम्म दुई खेल जितेको छ भने पाँच खेल खेलेको जनकपुर चार खेलमा विजयी भएको छ।

पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजेदेखि सुरु हुनेछ।

देशभर जाडो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम झर्‍यो ३ डिग्री सेल्सियस नजिक

काठमाण्डू, काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए ।

आज यनको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

देशभर जाडो बढ्दो क्रममा छ ।

जाजरकोटको नलगाड -३ बासकोटमा बोलेरो जीप दुर्घटना, ५ जनाको मृत्यु, २ जना घाइते

जाजरकोट, जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राति ९ बजे बासकोटको मोडवाट सडकवाट करिब ८ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन, लक्ष्मी पुनको छोरा, शारदा थापा, रहेका छन् ।

जीप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको डाँगीले बताए ।

घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

तेह्रथुम, प्रधानमन्त्री केपी ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् ।

आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताए ।

“एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ। एसइईभन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ।

विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।” प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ ।

विद्यार्थीहरूले मेहनत गर्नुपर्छ।पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन्।

म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउन्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दर्ता

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ ।

साइबर ब्यूरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१)अनुसार सजाय माग गरेको छ ।

त्यस्तै, उपदफा (२) अनुसार बारम्बार अपराध गरेको ठहर भएपछि थप सजायको माग गरिएको छ।

प्रसाईंविरूद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यसैगरी, बारम्बार अपराध दोहोर्‍याएको आरोपमा डेढी सजायसमेत माग गरिएको छ ।

दफा ४७ को उपदफा २ अनुसार, अपराध दोहोर्‍याउने व्यक्तिलाई अघिल्लो सजायको डेढी सजाय हुने प्रावधान छ ।

त्यसअनुसार, पाँच वर्ष कैद हुने अवस्थामा डेढी सजाय थप गरी सात वर्षसम्म कैद सजाय हुन सक्छ । यही मंसिर ४ गते उनी भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

उनीमाथि धानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ ।

एनपीएलमा काठमाडौँसँग लज्जास्पद हार खेप्दै बाहिरियो लुम्बिनी

काठमाण्डू, लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो ।

जीतसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ । बलर जमेको दिन लु्म्बिनीले जीतका लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याए पनि सफल हुन सकेन् ।

लुम्बिनी १९।२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो । काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।

यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कप्तान करण केसीले चार विकेट लिए ।

उनले पूरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए । करण प्लेयर अफ दि म्याच बने । यस्तै दीपेश कँडेलले तीन तथा जेराल्ड इरास्मसले दुई र रसिद खानले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए ।

बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए ।

काठमाडौँको यो दोस्रो जीत हो । जीतसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।

काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ । ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोड्दै बाहिरिएको छ ।

लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ । लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो । सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमशस् तेस्रो र चौथो स्थानमा छ ।