विद्यालय सञ्चालन हुन थाले

  Sampatti News

September 2, 2021

यहाँका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कोरोना सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको बताएका छन् ।

कार्यपालिकाको निर्णयअनुसार १० वटा माविसमेत सबै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन÷अध्यापन सुरु भएकोमा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

एउटा कक्षाकोठामा २०–२५ जना बढी विद्यार्थी नभएकाले कोरोना भाइरसको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय पूरै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् ।

केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

“विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ” उनले भने,“जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।

गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन् । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् ।

‘‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भने,‘‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं ।’’

प्रकाशित मिति:September 2, 2021