September 7, 2021
यो ब्रह्माण्ड सहअस्तित्वमा संचालित छ । एउटा जीवनको निमित्त अर्को जीवनले निरन्तर कार्य गरिरहेको छ । सन्तुलनमा राख्नको निमित्त किटपतंग वनस्पति देखि सुर्यचन्द्र तारा नक्षत्र सबैको आफ्नो आफ्नो भूमिका छ । वनस्पति जगतलाई चाहिने कार्वनडाइअक्साइड मानवले दिन्छ भने मानवलाई चाहिने अक्सिजन वनस्पति जगतले दिन्छ । यहाँ निरन्तर विनिमय कार्य भैरहेको छ । त्यो विनिमय कार्यलाई उत्कृष्ट बनाउनको निमित्त धन्यवाद भाव आवश्यक पर्दछ ।
यो जगत उर्जानै उर्जाले भरिएको छ । उर्जाको सिद्धान्त अनुसार उर्जालाई सहिरुपमा परिचालन गर्न जान्नु जीवन हो भने कम परिचालन गर्नु दुःख हो । उर्जा जव विषयसंग ठोक्किन्छ तव यसले रुप लिन्छ । यदि सकारात्मक विषयसंग ठोक्किन्छ भने यो सृजनात्मक बन्छ, सबैको हित गर्छ तर यसको विपरित यदि नकारात्मक विषयमा ठोक्किन्छ भने यसले विनाशतिर लैजान्छ ।
हाम्रा ५ ज्ञानेन्द्रिय र ५ कर्मेन्द्रियहरुले निरन्तर उर्जाको आदान प्रदान गरिरहेका हुन्छन् । यी इन्द्रीयहरूप्रति हामीले कसरी व्यवहार गर्छौं, त्यसमा भर पर्छ । यिनीहरुको क्षमता बढ्ने घट्नेमा हाम्रो क्रियाकलाप महत्वपूर्ण बन्छ । प्राकृतिक दृश्य, हरियाली वातावरण संग निरन्तर सम्पर्कमा रहन्छौं भने आँखाको क्षमता बढ्छ, त्यस्तै संगीत वा अरु वार्तालापहरु सकारात्मक भाव भएका छन् भने कानको क्षमता बढ्छ त्यसैगरी प्राकृतिक खानपान गर्न सक्यौं भने जिब्रोको क्षमता बढ्छ ।
नाक र त्वचाको पनि त्यहि अनुरुप हुन्छ । हाम्रा इच्छा चाहना पुरा गर्न यि इन्द्रियहरुले निरन्तर कार्य गरिरहेका हुन्छन् । यदि हामी यी इन्द्रियहरुप्रति प्रेम भावले भरियौं, यिनीहरुले गरेको कार्य प्रति धन्यवाद दियौं भने यिनीहरुको क्षमता निरन्तर बढ्न जान्छ तर अहिलेको परिपेक्षमा कोलाहल युक्त जीवनशैली बढ्दो आधुनिकताले यी इन्द्रियहरुको क्षमता निरन्तर घट्दै गइरहेको छ । इन्द्रीयहरूप्रति सद्भाव राख्दै धन्यवाद भावले भरिनु छ ।
जीवन विज्ञानमा प्रवेश संगै हामी धन्यवाद भावको महत्व बुझ्छौं किनकि हामीले टिपोट गर्न प्राप्त गर्ने पुस्तिकाको नाम नै अनुग्रह गीता छ । सबैको रहस्यलाई खोतल्दै खोतल्दै मनलाई त्यहि अनुरुपको प्रशिक्षण दिंदै सद्गुरुदेवद्वयले अध्यात्मका खुड्किला चढाउनु हुन्छ । कति अन्धकारमा फसिरहेका छौँ हामी सद्गुरुदेवसंगको सानिध्य पछि बुझ्न सक्छौं । हाम्रो जीवन कस्तो हुनुपर्ने कस्तो बनाएका छौँ । के बन्न आएका थियौं के बनिरहेका छौँ । असली आनन्द खुशी, शान्ति, होशमा छ, धन्यवाद भावमा छ त्यो हामीले बुझ्न सक्दैनौं तर सद्गुरुदेवको कृपाप्रसादसंग निरन्तर जोडिंदै गएपछि बुझ्छौं । बेहोशीको भोगमा आनन्द खुशी देख्यौं तर त्यहि भोगलाई महाभोगमा रुपान्तरण गर्ने सकिने रहेछ होशको माध्यम द्वारा त्यो स्पष्ठ रुपमा सद्गुरुदेवसंगको सत्संगले हामी बोध गर्न समर्थ बन्छौं । विभिन्न किसिमका धारणाहरु बनाएका छौँ । ती धारणाहरु एक एक गर्दै सद्गुरुदेव संग निरन्तर जोडिएर साधना गर्दा खण्डित बन्छन् । किनकि अध्यात्म ‘म’ देखि ‘म’ सम्मको यात्रा रहेछ । यहाँ खोजी बाहिर होइन आफूभित्र नै गर्नुपर्ने रहेछ । जान्नु, बुझ्नु, सुधार्नु सबै आफुलाई रहेछ यो संसार त मेरै फैलावट रहेछ । बोधमा उपलब्ध नभएसम्म अरुलाई जान्न सकिँदो रहेनछ ।
यदि हामीले सानो बच्चा देखिनै धन्यवाद सिकाउन सक्यौं भने उनीहरुको जीवन कति सार्थक र उन्नत बन्थ्यो होला । अध्यात्म त सानो बच्चा देखि चाहिने रहेछ । किनकि जति व्यक्ति शान्त हुन्छ त्यतिनै सक्रिय र सृजनशील बन्छ ।
सम्पूर्ण प्रतिभा, सृजनशिलता आफु भित्रैबाट आउने रहेछ बाहिरबाट होइन । कुन भावले व्यक्त गरौँ सद्गुरुदेवको कृपालाई शब्द अपुरो लाग्छ । सम्पूर्ण जीवन र जगतको रहस्य बोध पश्चात जान्न शेष केहि रहँदैन । त्यसैले हामीले जीवनलाई धन्य बनाउनु छ भने सद्गुरुदेवलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नुपर्दछ ।
सबैले आफुलाई प्रेम गर्न सकुन्, आफ्नो शरीरप्रति, मनप्रति, भावप्रति अनुग्रह भावले भरिन सकुन् । यो भावलाई फैलाउँदै अन्त्यमा परमात्मा प्रति अनुग्रहित बन्दै सद्गुरुदेवको कृपाप्रसादलाई जीवनमा आत्मसाथ गर्न सकून् ।
२०७८ भदौ २२ गते प्रकाशित
प्रकाशित मिति:September 7, 2021
November 24, 2024