देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु

  Sampatti News

November 8, 2021

जनकपुरधाम– देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ ।

तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो ।

छठको पहिलो दिन ‘नहाय–खाए’ अर्थात आज शरीर शुद्ध गर्न नुहाउने दिन हो ।

आजको दिन छठ पर्वको सुरुवातको रुपमा रहेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन जनकपुरधामसहित तराई मधेसका छठ व्रतालुहरु नुहाएर ‘अरबा अरबाइन’ खान्छन्।

आजदेखि ‘मरुवा’ (कोदो), ‘मसुरीको दाल’ लगायत प्याज, लसुन छठ अवधि भरीका लागि बर्जित रहेको छ ।

काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाईने भएको छ ।

निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाईने छैन् ।

तर गहना पोखरी, नाग पोखरी, वाग्मती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ ।

पोखरी, नदी, कुवालगायतका स्थानलाई मिलाएर साजसज्जाको काममा स्थानीय लागेका हुन् ।

त्यस्तै छठको दोस्रो दिन मंगलबार दिनभर उपवास रही रातमा ‘खीर’ बनाई देउतालाई चढाएर व्रतालुले खान्छन् ।

यस विधिलाई ‘खरना’ भनिन्छ। खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाइने गरिन्छ।

त्यस्तै छठको मूल दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

त्यसको भोलिपल्ट बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् । जसलाई ‘पारन’ भनिन्छ।

प्रकाशित मिति:November 8, 2021