अस्पताल भएका संस्थाले मात्र नर्सिङ पढाउन पाउने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो ।
परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो ।
आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।
ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताउनुभयो ।
परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् ।
ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् ।
चिकित्सा शिक्षा ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रूपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था छ।
सोही व्यवस्था अनुसार सरकारले मापदण्ड पूरा गरेका र आफ्नै अस्पताल भएका कलेजले मात्र पठनपाठन गर्न पाउने गरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
पिसिएल नर्सिङ पढाउने ९० भन्दा बढी कलेजको आफ्नै अस्पताल छैनन् ।
ती कलेजले अब भर्ना लिन नपाउने भएका छन् । ऐनविपरीत ती कलेजलाई पनि भर्ना खुलाउने खेल सुरु भएको थियो ।
तर, त्यसको चौतर्फी विरोध भएपछि सरकारले कानुन अनुसार नै अगाडि बढ्ने निर्णय गरेको शिक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९८ वटा कलेजको आफ्नो अस्पताल छैन ।
यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन् ।
अस्पताल भएका संस्थाले मात्र नर्सिङ पढाउन पाउने