सजिलो छैन कृषि व्यवसाय

  Sampatti News

April 25, 2022

काठमाडौं – बाँझो जग्गामा सुरु गरिएको कृषि व्यवसाय व्यवसायी कमोद महतोका लागि सहज छैन ।
सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उहाँ बताउनुहुन्छ ।

हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उहाँजस्ता स्थानीय कृषकको भनाइ छ ।

कमला नगरपालिकाको कमला नदि किनारमा रहेको खेतमा व्यवसाय गर्दै आउनुभएका कमोद महतोको घर कमला नदिको किनारमा रहेको छ ।

महतो यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउनुहुन्छ । धनुषाको कमला नगरपालिका –७ निवासी कमोद महतोले आफ्नो आठ कठ्ठा जग्गामा खोर्सानी र गोलभेडाको खेती गरिरहनुभएको छ ।

यस वर्ष लगभग खेतमै आएका व्यापारीलाई खोर्सानी प्रतिकेजी रु १०० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु २०० मा बिक्री गरिहेका पाइन्छ ।उहाँ भन्नुहुन्छ, “ हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।”

तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक महतो काममा मेहनती, लगनशील देखिनुभएको छ ।

कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ ।

प्रकाशित मिति:April 25, 2022