न्यायाधीश-अधिवक्ता घुस डिल काण्ड : अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्य, तामाङ पूर्व सांसद

  Sampatti News Online

June 23, 2022

काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो बाहिर आएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हुन् । पोखरेलले कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।

सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । मंगलबार साँझ उक्त अडियो सार्वजनिक भए पछि बोलाइएको न्यायपरिषद्को आकस्मिक बैठकको मुख्य एजेण्डा अडियो टेप प्रकरणको विषय रहेको न्याय परिषद्का एक सदस्यले बताए । उनले भने, ‘आजको मुख्य एजेण्डा भनेको अडियो टेप प्रकरण नै हो ।

आजको बैठकले यस विषयमा तत्कालै केही निर्णय गर्नेछ । सम्भवतः न्यायाधीशलाई आजै जिम्मेवारीबाट मुक्त गरी तीन सदस्यीय जाँचबुझ समिति बनाएर छानबिन गर्न सक्नेछ ।’ नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थाल्दा पोखरेल राणाको पक्षमा थिए ।

अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्य

घुसको डिल गर्ने अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्यसमेत हुन् । इच्छाराज तामाङ पनि एमालेका पूर्व सांसद हुन् । उनी दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए ।

पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ । त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध छ ।
यो घुसको डिल भएको समय, २०७८ पुसमा उनी नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् । उक्त समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै उनको राजीनामा मागेर आन्दोलनमा थियो । अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए ।

अडियोमा न्यायाधीश कोइरालाले घुस लिने सम्बन्धमा डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भन्ने लगायतका कुरा गरिरहेका छन् । तर अधिवक्ता पोखरेलले भने ‘त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने’ आश्वासन दिएका छन् । बाहिरिएको अडियो टेपमा अधिवक्ता पोखरेलले सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् ।

जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ ।

अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए । काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाएको यो प्रकरणलाई नजिकबाट हेरेका एक अधिवक्ताले बताए ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । न्यायाधीश कोइरालाई घुसको अफर गर्ने कानुन व्यवसायी पोखरेलमाथि नेपाल बार एसोसिएसनले कारबाहीको तयारी गरेको छ ।

प्रकाशित मिति:June 23, 2022