उम्मेदवारी दर्ताका बेला केही विचित्र घटना

  Sampatti News Online

October 12, 2022

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको बाबुका लागि दलले दिएको टिकट छोरालाई दिनेदेखि पार्टीको टिकट अन्तिम समयमसम्म होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने सम्मका घटना भएका छन्।

त्यस्तै एउटा पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका उम्मेदवार बीचमै अर्को पार्टी प्रवेश गरेर फरक पार्टीबाट उम्मेदवारी दर्तासम्म गराएका छन्। अदालतले तोकेको २ हजार रुपैयाँ जरिवाना बिर्सिएर वा जानाजानी नतिर्दा सत्ता गठबन्धनबाट पाएको टिकट रद्द भएको छ। प्रतिनिधि सभामा उठ्ने चक्करमा एक जनाले राष्ट्रिय सभाको उम्मेदवारी गुमाएका छन्।

मुस्ताङमा बाबुले दिए छोरालाई टिकट

मुस्ताङमा नेपाली कांग्रेसका सभापति रोमी गौचन थकालीलाई प्रतिनिधि सभा र प्रदेश सभाको टिकट केन्द्रले पठाएको थियो। त्यसमा उम्मेदवारको नाम भने समावेश थिएन। सबैले उक्त टिकटमा रोमी आफैं चुनाव लड्ने आँकलन गरेका थिए। तर रोमीले त्यस टिकटमा छोरा योगेश गौचनको नाम लेखेर उम्मेदवारी दर्ता गर्न लगाए।

छोरालाई आफ्नै बलमा टिकट भने नदिएको उनको दाबी छ। एमालेका उम्मेदवारसँग भिड्न पार्टीका कोही तयार नभएपछि छोरालाई उम्मेदवार बनाएको तर्क उनले गरेका छन्।

‘म प्रतिनिधि सभामा लड्ने विचारमा थिइनँ। साथीहरूसँग सल्लाह गर्दा एमालेका उम्मेदवार प्रेम तुलाचनसँग भिड्न कोही तयार भएनन्। साथीहरूले नै छोरालाई उठाउन सल्लाह दिएपछि मैले टिकट दिएको हुँ,।

२८ वर्षीय योगेश प्रतिनिधि सभातर्फ कांग्रेसबाट उठेका उम्मेदवारमध्ये कान्छा हुन्। त्यस क्षेत्रमा उनले नाताले भिनाजु पर्ने एमालेका प्रेम तुलाचनसँग प्रतिस्पर्धा गर्नेछन्।

पार्टीको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी

रौतहट-३ मा प्रभु साहले एमालेको टिकट पाएका थिए। अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन। जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिवद्धता अध्यक्ष केपी ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

‘नेतृत्वबाट प्रतिवद्धताको पालना भएन म अब एमालेको रहिनँ, स्वतन्त्र भइसकें,।

एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएको घटनालाई अध्यक्ष केपी ओलीले गद्दारी भन्दै टिप्पणी गरेका छन्।

‘उहाँको योजना पार्टीलाई मधेस प्रदेशमै निल बनाउने थियो। सबै टिकट माग्नुभएको थियो। केही दिनदेखि उहाँले संदिग्ध गतिविधि गरेको खबर आएका थिए तर विश्वास गरेर पार्टीले टिकट दियो। उहाँले गद्दारी गर्नुभयो,’ ओलीले प्राइम टाइम्स टेलिभिजनसँग भनेका छन्। साहसहित उनी समर्थित आठ नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जसपाबाट मनोनयन दिन हिँडेका यादव बाटैमा बने कांग्रेसका उम्मेदवार

कपिलवस्तुमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका सहश्रराम यादव कांग्रेसको उम्मेदवार बने। यादव यसअघि जसपाबाटै लुम्बिनी प्रदेशको सांसद तथा भौतिक पूर्वाधार मन्त्री थिए। अघिल्लो दिनको छलफल अनुसार उनलाई एमालेको समर्थनमा जसपाको उम्मेदवार बनाउने भनेर पार्टीले टिकट समेत दिएको थियो। तर निर्वाचन अधिकृतको कार्यालय बाणगंगा पुगेर उनले कांग्रेसबाट उम्मेदवारी दिए। यादव कपिलवस्तु १ को (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका हुन्।

बैंकिङ कसुरको २ हजार रुपैयाँ जरिवानाको नतिर्दा उम्मेदवारी रद्द

रूपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरूङको उम्मेदवारी रद्द भएको छ। बैंकिङ कसुरमा २ हजार रुपैयाँ जरिवाना नतिर्दा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरूङको उम्मेदवारी रद्द भएको हो।

गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितको नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरूङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो। त्यो जरिवाना तिरेको प्रमाण पेश गर्न नसक्दा गुरूङको उम्मेदवारी रद्ध भएको हो।

खिमलाल भट्टराईले गुमाए हुँदाखाँदाको सांसद पद

एमालेको क्षेत्र र जिल्लाले खिमलाल भट्टराईलाई नै रूपन्देही-५ को प्रतिनिधि सभा सदस्यका रूपमा एकल सिफारिस गरेको थियो। विष्णु पौडेलनिकट भनेर चिनिने भट्टराईको उक्त क्षेत्रमा राम्रो प्रभाव रहेको मानिन्छ। पौडेलको सिफारिस पनि भट्टराईलाई नै उम्मेदवार बनाउने भन्ने थियो। तर अध्यक्ष केपी ओलीले राष्ट्रिय सभामा भट्टराईको कार्यकाल अझै डेढ(दुई वर्ष बाँकी रहेकाले उनलाई बनाउन नमिल्ने जवाफ दिएका थिए।

भट्टराईले प्रतिनिधि सभामा टिकट नपाउने भएपछि रूपन्देही-५ मा अर्को उम्मेदवारको खोजी भयो। यस क्रममा नेता पौडेलले तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई अघि सारे। घिमिरेलाई रूपन्देही-५ को टिकट दिएर पठाएलगत्तै भट्टराई अध्यक्ष ओलीकहाँ पुगे। उनले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभाबाट राजीनामा दिएको ओलीलाई स्मरण गराए।

त्यसपछि ओलीले पार्टीको आधिकारिक उम्मेदवार भट्टराई नै भएको निस्सा दिए। एमालेले निर्वाचन कार्यालयलाई पनि चिठी लेखेर वासुदेव घिमिरेको उम्मेदवारी भूलवस भएकाले भट्टराईको टिकटलाई मान्यता दिनु भन्यो। पार्टीले दिएको टिकट र चिठी लिएर भट्टराई आइतबार दिउँसो उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगे। तर आयोगले सुरूमा उम्मेदवारी दर्ता गराएका घिमिरेलाई नै आधिकारिकता दिएपछि भट्टराई उम्मेदवार हुन पाएनन्। उनी पुग्दासम्म घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका थिए।

एकै क्षेत्रमा एउटै दलबाट दुई जना उम्मेदवारको नाम हाम्रो कम्प्युटरमा इन्ट्री हुँदैन, रूपन्देही-५ का निर्वाचन कार्यालय प्रमुख चिन्तामणि शर्माले भने, भट्टराई आउँदासम्म घिमिरेको उम्मेदवारी दर्ता भइसकेको थियो। भट्टराई पनि पार्टीको पत्र लिएरै आउनुभएकाले हामीले यसबारे छुट्टै निर्णय गर्नुपर्ने भयो।

निर्वाचन कार्यालयले कानुनअनुसार जसले पहिले उम्मेदवारी दियो उसैको कायम हुनेु निर्णय सोमबार दिउँसो सुनायो। यसरी राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार बन्न गएका भट्टराईको दुवै पद गुम्यो भने यही कारणले एमालेले राष्ट्रिय सभामा एक सिट गुमायो।

प्रकाशित मिति:October 12, 2022