सुरक्षा योजनाबारे जानकारी लिदै: प्रधानसेनापतिसहित रक्षा सचिव शर्मा

  Sampatti News Online

November 7, 2022

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमण गरेको छ । शर्माले रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा भरतपुरस्थित रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा उनले पृतना हेडक्वार्टरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयसहित आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाबारे जानकारी हासिल गरेका थिए । साथै गणको वस्तुस्थितिका बारेमा जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्। आजै, प्रधान सेनापति शर्माले निर्वाचनको सुरक्षार्थ कपिलवस्तुको चन्दौटा इलाकामा स्थापना भएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गरेका छन् ।

रक्षा सचिव किरणराज शर्माको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपक कुमार काफ्ले तथा रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले सोमबार सुर्खेतको निमारेस्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरलगायतको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति:November 7, 2022