विवाहित छोरीले समेत अंश पाउने

  Sampatti News Online

December 2, 2022

अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ ।

आफ्ना बुबा र आमाको मृत्यु भएपछि भारतमै रहेका दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन समेत हजुरआमाले अंशियार नरहेको भनी झूठो दाबी लिइ आफ्नो नाममा बनाएको भन्दै नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा अदालतले विवाह भए पनि वा नभए पनि छोरीहरूले समेत अंश पाउने गरी फैसला सुनाएको हो ।

२०७५ साल फागुन १२ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा ४ वर्षपछि २०७९ भदौ २७ गते न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरूलाई समेत अंश दिनुपर्ने ठहर गरेको हो ।

प्रकाशित मिति:December 2, 2022