अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचेको नेपाल आयल निगमले १ पुसदेखि १५ पुससम्म मात्रै एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको छ । १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा हुने अनुमान छ । तर, पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ ।
भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ । त्यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिन्छ । निगमले भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।
आन्तरिक हवाई इन्धनमा निगमले प्रतिलिटर ४८.८१ रुपैयाँ नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९.३५ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले नियमित रूपमा नोक्सान खेप्दै आएको छ । प्रतिसिलिन्डर १८ सय रुपैयाँ बिक्री मूल्य तोक्दा निगमलाई सिलिन्डरमा ३५९.५० रुपैयाँ घाटा छ । निगमले १४ सय ९५.९९ रुपैयाँ प्रतिसिलिन्डर ग्यास खरिद गरिरहेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी खेपेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकदेखि भने निगमले नाफा कमाउन थालेको हो । १ देखि १५ मंसिरसम्म नौ करोड ८० लाख तथा १६ देखि २९ मंसिरसम्म ५८ करोड ७१ लाख आर्जन गरेको नाफाले ‘ब्रेक इभन’ (नाफामा जाने अवस्था)मा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घटेको, तर नेपाली बजारमा समायोजन नगरेका कारण निगमले १ देखि १५ पुससम्म एक अर्ब ३२ करोड नाफा गरको छ । त्यस्तै, १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा आर्जन गर्ने अनुमान छ । यो प्रक्षेपण पूरा भए पुसमा मात्रै निगमले दुई अर्ब ३१ करोड १२ लाख नाफा कमाउने छ ।
निगमलाई आइतबार दिउँसो भारतीय आयल निगम (आइओसी)ले पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्य आउँदा पेट्रोल २.५४ रुपैयाँ, डिजेल २.९५ रुपैयाँ, हवाई इन्धन ४.१३ रुपैयाँ प्रतिलिटर र ग्यास ७८.२२ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढेर आएको निगमले जनाएको छ । तर, त्यसअघि नै निगमले चर्को नाफा राखेर मूल्य निर्धारण गरेका कारण यसपटक बढेर मूल्य आए पनि निगमको नाफादर केही खुम्चिएको मात्र छ ।
पुरानो ऋण बाँकी रहेकाले तत्काल मूल्य घटनाउन नसकिएको निगमको भनाई छ । तर, अधिकारकर्मीहरू ऋण तिर्ने बहानामा चर्को नाफा राख्नु उपभोक्ताको हित प्रतिकूल भएको बताउँछन् । ‘एकैपटक ऋण तिर्छु भनेर पेट्रोलियमजस्तो अत्यावश्यक वस्तुमा चर्को नाफा राख्नु आपत्तिजनक छ । यो उपभोक्ताहित प्रतिकूल निर्णय हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सरकारी स्वामित्वको निगमले ऋण बिस्तारै तिर्दै जाने गरी मूल्य पनि घटाउँदै ल्याउनुपर्छ । एकाधिकारप्राप्त बजारमा निगमले स्वेच्छाचारी निर्णय लिन्छ भने सरकारले हस्तक्षेप गर्नुपर्छ ।’
तर, निगम भने एक वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्दा पनि मूल्य समायोजन गर्न नपाउँदा लागेको ऋण तिर्न अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली बजारमा नघटाइएको तर्क गर्छ । डेढ वर्षदेखिको १८ अर्ब बक्यौता र ऋण तिर्न बाँकी रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘महँगोमा तेल किनेर सस्तोमा बिक्री गर्दाको बक्यौता र ऋण गरेर अझै १८ अर्ब तिर्न बाँकी छ । तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्नुपर्ने बाध्यताका कारण अहिले मूल्य घटाउन नसकिएको हो,’ उनले भने ।