सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह

  Sampatti News Online

January 4, 2023

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । दलको नेतामा रहेका अन्य आकांक्षीहरुलाई पछि पार्दै उनी सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

हिजाे बसेको प्रदेश पदाधिकारीको बैठकबाट दलको नेताका आकांक्षीहरूलाई सर्वसम्मत निर्णय गर्न सुझाव दिइएको थियो । तर, सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।

समितिले बुधबार दिउँसो साढे २ बजेसम्म उमेदवार मनोनयनको समय तोकेको थियो । त्यो समय सकिने बेलामा नेताहरूबीच शाहलाई दलको नेता बनाउने सहमति भएको हो ।

निर्वाचन समितिका संयोजक अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयनपत्र दर्ता गराएको जानकारी दिए ।

प्रकाशित मिति:January 4, 2023