विश्वासको मत फकाउन पार्टी एकताको प्रस्ताव

  Sampatti News Online

January 9, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको छ । संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् । प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उहाँले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहनुभएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

सरकारमा सहभागी दलहरूबाटै विश्वासको संकट देखेपछि दाहालले सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूलाई विभिन्न आश्वासन देखाएर संसद्बाट विश्वासको मत फुत्काउने प्रयास गरिरहनुभएको छ । प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गर्नुभएको छ । शुरूमा कांग्रेससँग गठबन्धन तोड्नैपर्ने स्थिति आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

नेपालले प्रधानमन्त्रीसँग पहिलोपटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा र दोस्रोपटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा नेपाल–दाहालबीच तेस्रो भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गर्नुभएको माधव नेपालको सचिवालयले जनाएको छ । दाहालले आइतबार शुरूमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेट गर्नुभएको हो । विश्वासको मत लिनेबारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको नेताहरूले बताएका छन् ।
पार्टी अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन पटकपटक आग्रह गर्नुभएको छ । तर, हामीले के गर्ने भन्ने निर्णय गरिसकेका छेनौं । यस विषयमा निर्णय लिन अझै २ दिन बाँकी नै छ । राजनीतिकले कस्तो कोर्ष लिन्छ त्यही अनुसार निर्णय गर्छौं ।’माओवादीसँगको एकताभन्दा अघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच एकता गर्ने गरी पत्र पठाएकोे नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

नेकपा माओवादीले वाम एकताको प्रयासलाई सफल बनाउन पार्टीका नेताहरूसमेत लागिपरेको नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ,’ माओवादीका एक नेताले भने–‘त्यसका लागि आवश्यक परे पार्टी एकता गर्नुपरे पनि पछि नहट्ने बताउनुभएको छ ।’ त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेका दाहालप्रति कांग्रेस आक्राोशित बनेको छ । २६ गते विश्वासको मत दिने भन्नुभएका प्रधानमन्त्री दाहाललाई कांग्रेसले मत नदिने प्रष्ट पारिसकेको छ । कांग्रेसले मत नदिने मात्रै होइन प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको मतसमेत घटाउने प्रयासमा लागेको सत्ता गठबन्धनले अनुमान गरेको छ । सत्ता गठबन्धनका मुख्य खेलाडीका रूपमा रहेका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कांग्रेस यो सरकार ढाल्न प्रयत्नमा रहेको आरोप लगाउनुभएको छ ।

अहिलेको सरकारलाई जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरको अवस्थामा रहेको तर विश्वासको मत दिने पक्षमा रहेको छ । आइतबारको भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका गर्नुका साथै पार्टी एकताबारे पनि छलफल गरेको स्रोतको दाबी छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच पार्टी एकता गर्ने विषयमा शनिबार नै सहमति भइसकेको छ ।

उता लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतनदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आइतबार बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो । पुस २६ मा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले समय लिनुभएको छ । सोही दिनसम्म साना दलहरूलाई स्थिर राख्न र आफ्नो पक्षमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले अनेकन कसरतहरू गरी नै रहनुभएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति:January 9, 2023